२९ साउन, वीरगञ्ज । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको काम तीब्र गतिमा भइरहेको छ ।
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १६ किलेामिटर खण्डमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ ।
परियोजना अन्तर्गत रक्सौलबोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलो मिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर पाइप विछ्याउनुपर्ने हुन्छ ।
१५ महिनामा सक्ने लक्ष्यका साथ २०१७ को डिसेम्बरबाट काम सुरु गरिएको परियोजनाले ८ महिनामा झण्डै आधा काम सम्पन्न गरिसकेको छ । भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म २४ किलोमिटर क्षेत्रमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ ।
बाँकी क्षेत्रमा अवरोध नहटेका कारण काम अघि बढ्न सकेको छैन । परियोजनाको ठेक्का पाएको भारतीय कम्पनीले धमाधम काम गरिरहेको भएपनि स्थानीय स्तरमा देखिएका अवरोध नहट्दा कामले गति लिन नसकेको नेपाली अधिकारीहरु पनि बताउँछन् ।
परियोजनाका इन्जिनियर सरद पौडेलले अवरोध नभएको ठाउँमा पाइप गाडिसकेको र अवरोध भएका ठाउँमा हटाउन पहल भइरहेको बताउँछन् । ‘अवरोध नभएको ठाउँमा पाइप बिछ्याउने काम सकियो । कतै कतै खन्ने वित्तिकै पानी आइरहेको छ । बाँकी ठाउँमा अवरोध हटाउन पहल गरिरहेका छौं,’ उनले भने, ‘अहिले अमलेखगञ्जको ट्याङकी मर्मतको काम भइरहेको छ । अबरोध हट्ने वित्तिकै धमाधम काम अघि बढ्छ । डि्रलिङ गरेरे भएपनि अर्को वर्षसम्म काम सकिन्छ ।’
पाइपलाइनमार्फत आउने पेट्रोलियम पदार्थ भण्डारणका लागि ४ वटा पुरानै ट्याङकीलाई मर्मत गरेर भण्डारण योग्य बनाउने काम भइरहेको छ ।
मोतिहारीदेखि अमलेखगञ्जसँग पाइपलाइन निर्माणको जिम्मा पाएको भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्राइभेट लिमिटेड भारतका इन्जिनियर जाफर इमाम विभिन्न ठाउँमा अवरोध देखिएकोले काममा समस्या भइरहेको बताउँछन् ।
कहाँ-कहाँ छ समस्या ?
पाइपलाइन विस्तार गर्ने रुटमा रहेका व्यावसायिक तथा आवासीय भवन, धार्मिक सम्पदा, वनजंगल र भौगोलिक बनावट अबरोधका रूपमा देखा परेका छन् ।
परियोजना अन्र्तगत ३६ किलोमिटरमा २० किलोमिटरमा काम गर्न सहज छ । त्यसमा १७ किलोमिटर काम सम्पन्न भइसकेको छ । तीन किलोमिटरमा वर्षायामले गर्दा पानी निस्केर समस्या छ । गण्डक चोकदेखि परवानीपुर बजार क्षेत्रमा पाइप गाड्ने ठाउँमा पानी जमेर समस्या देखिएको छ ।
पथलैयाँदेखि अमलेखगञ्ज ८ किलोमिटर जंगलमा पाइपलाइनको काम सुरु गर्नसमेत नसकेको अवस्था छ ।
त्यसैगरी पथलैयादेखि सिमरासम्मको जंगल क्षेत्रमा पनि काम हुन सकेको छैन ।
शंकराचार्यगेटदेखि रजतजयन्ती चोकसम्म १ किलोमिटर खण्ड, परवानीपुर र जीतपुर बजारमा समस्या भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनीले तीव्र गतिमा काम अघि बढाइरहेको भएपनि अवरोध नहटाइएका कारण काममा ढिलाइ भइरहेको गुनासो भारतीय पक्षको छ ।
पाइप लाइनमार्फत पेट्रोलियम पदार्थको आपूर्ति सहज हुनुको साथै ढुवानी लागत र चुहावट लगायतका अन्य नोक्सानी जोगिएर वाषिर्क अर्बौ रुपैयाँ जोगिने अनुमान छ ।
नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत वीरगञ्ज-रक्सौल नाका हुँदै ट्याङकरमा भित्र्याउने गरिएको छ ।
रक्सौल रेल्वे क्रसिङ, सीमा क्षेत्रमा हुने जाम लगायतका विविध कारणले यसमा ढुवानी लागत बढी पर्दै आएको छ भने चुहावटले गर्दा नोक्सानी हुने गरेको छ ।
प्रतिक्रिया 4