६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले धर्मपथ (न्यूरोड) मा ‘अटोमेटेड भर्टिकल पार्किङ’ निर्माण गर्ने निर्णय गरेको छ । निर्माण कम्पनी छान्न महानगरले एक हप्ताभित्रै आशयपत्रका लागि सूचना निकाल्ने भएको छ ।
न्युरोड क्षेत्रमा अस्तव्यस्त पार्किङ व्यवस्थित गर्ने योजना तयार पारिएको हो । सार्वजनिक-निजी साझेदारीमा भर्टिकल पार्किङ निर्माण गर्न एकहप्ताभित्रै आशयपत्रका लागि सूचना सार्वजनिक गर्ने महानगरका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आशयपत्र मागेपछि कम्पनीको सर्ट लिस्टिङ गरिनेछ । र, प्राविधिक/आर्थिक क्षमता हेरेर निर्माणको जिम्मा लगाइनेछ । महानगर आफैं भने यो परियोजनामा लगानी गर्ने योजनामा छैन । निजी कम्पनी छनोट गर्ने र उसैलाई लगानी गर्न लगाउने योजना रहेको ढकालले बताए ।
‘डिजाइन त हामीले पनि तयार गरेका छौं । तर, इच्छुक कम्पनीको प्रस्ताव पनि हेर्छौ,’ ढकालले भने,’जुन उपयुक्त हुन्छ त्यस्तै पार्किङ स्वीकृत गर्छौं ।’
निश्चित अवधिसम्म निर्माण गर्ने कम्पनीले नै सञ्चालन गरेपछि महानगरलाई हस्तान्तरण गर्नेछ । छनोटमा परेको कम्पनीको प्रस्तावअनुसार सञ्चालन मोडालिटी तय गर्ने महानगरको तयारी छ । धर्मपथको आफ्नै जग्गामा पार्किङ भवन निर्माण हुनेछ ।
अहिले नै तीन वटा कम्पनीले सम्भाव्यता अध्ययनको रिपोर्ट पेश गर्दै निर्माण गर्न चासो देखाएका थिए । पाँच तलाको पार्किङ भवन बनाउने महानगरको योजना छ, लागत भने डिजाइन फाइनल भएपछि मौ तय हुनेछ ।
झण्डै ५ सय सवारी पार्किङ गर्न सकिने गरी भर्टिकल पार्किङ बनाउने योजनामा महानगर छ । असन, इन्द्रचोक र वसन्तपुर जानेहरुका लागि त्यो बढी उपयोगी हुने छ ।
प्रतिक्रिया 4