१३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयहरुलाई प्राथमिकता दिएका छन् । कुनैले भ्रष्टाचार बढ्नुको कारणबारे चर्चा गरेका छन् भने केहीले नेताका नाममा संस्थालाई बजेट दिइएको, नेकपा प्रदेश कमिटीको टुंगो लागेकोलगायत समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
त्यसैगरी, निजगढ विमानस्थल निर्माणका लागि ३ चरणमा २२ लाख रुख काट्न लागिएको, अनलाइन तारेख अप्रभावकारी बनेको, दैलेख जीप दुर्घटनामा ५ जनाको मृत्यु भएकोलगायत समाचारलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा समेटेका छन् । साथमा जनप्रतिनिधिको गाडीमोहदेखि नेपाल आयल निगममा व्याप्त इन्धन चोरीको विषय पनि छ ।
मुख पृष्ठमा रुकुमपूर्वका स्थानीयले जिल्ला प्रशासन कार्यालयमा बुझाएको भरुवा बन्दुकको तस्वीर छापेको कान्तिपुरले नेताका नामका संस्थालाई बजेट दिइएको लेखेको छ ।
प्रदेश १ सरकारले नेता तथा राजनीतिकर्मीका नाममा खोलिएका प्रतिष्ठानका लागि पुँजीगत अनुदान भन्दै ठूलो रकम दिएको हो । यस आर्थिक वर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रतिष्ठानलाई ७ करोड १० लाख रुपैयाँ विनियोजन गरेको कान्तिपुरको समाचारमा उल्लेख छ ।
कान्तिपुर लेख्छ– बजेट भाषणमै प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम दिने तयारी गरेको गरेको छ । मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको समाचारमा उल्लेख छ ।
प्रदेश सरकारले मनपरी नेताका नामका संस्थालाई बजेट बाडिरहँदा र दमकल अभावमा आगलागीका घटना बढिरहेका बेला कान्तिपुरले जनप्रतिनिधिको गाडीमोहबारे पनि पहिलो पृष्ठमा समाचार लेखेको छ ।
कान्तिपुर लेख्छ– झापाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शर्मा यही वर्ष किनेको ७० लाखको ईसुजु डिम्याक्समा हुइँकिन्छन् । उपमेयर भोजकुमारी नेपाल टाटासुमो छढ्छिन् । तर, नगरपालिकामा एउटा दमकलसमेत नहुँदा शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति परिवारका चारै जनाको मृत्यु भयो ।
एनसेल कर विवादमा रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको सर्वोच्चमा १० महिनापछि मुद्दा सुनुवाइको पालो आएकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा महत्त्व दिएर छापेको छ ।
‘निजगढ विमानस्थलः २२ लाख रुख तीन चरणमा काटिँदै’ शीर्षक दिएर नयाँ पत्रिकाले मुख्य समाचार लेखेको छ ।
एकैपटक २४ लाख रुख काट्न थालिएको भन्दै व्यापक विरोध भएपछि मन्त्रालयले तीनपटक गरेर २२ लाख ३५ हजार रुख काट्ने प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा पेस गरेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।
नेपालमा कार्बन व्यापारसम्बन्धी क्रियाकलाप सञ्चालन हुन थालेको १० वर्ष भइसकेको छ । तर, नेपालले वन संरक्षण गरी कार्वन व्यापारमार्फत् एक पैसा पनि नपाएको विषयलाई पनि नयाँ पत्रिकाले आज उठाएको छ ।
कांग्रेसको शेरबहादुर देउवा र रामचन्द्र पौडेल गुट आज बस्न लागेको केन्द्रीय समिति बैठकमा आफू अनुकूलको विधान बनाउने रणनीतिमा जुटेको, मदिराको प्रचारमा अंकुशको तयारी गरिएकोलगायत समाचारलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा समेटेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशमा बढ्दो भ्रष्टाचारबारे निकालेको निष्कर्षमा टेकेर अन्नपूर्णले मुख्य समाचार बनाएको छ ।
सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनले देखाएको समाचारमा उल्लेख छ ।
अध्ययनअनुसार, भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन् । १७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार छन् ।
एडीबीको ठेक्कामा नेपाली वञ्चित गरिएकोलाई पनि अन्नपूर्णले आज उठाएको छ ।
अन्नपूर्ण लेख्छ– एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालन हुने आयोजनाको ठेक्का नेपालीले नपाउने भएका छन् । बोलपत्रमा उल्लेखित मापदण्ड नपुग्ने भएपछि नेपाली ठेकेदार प्रतिष्पर्धामै परेनन् ।
झण्डै ३६ अर्ब रुपैयाँको नारायणघाट–बुटवल र कञ्चनपुर–सडकको बोलपत्रमा विदेशी ठेकेदार मात्र सहभागी छन् ।
ऋण सहयोगमा सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले पूर्व–पश्चिम राजमार्ग विस्तार गर्दैछ । उच्च मापदण्ड राखिएका कारण ठेक्का चिनियाँ कम्पनीको पोल्टामा पर्ने भएको अन्नपूर्णको समाचारमा उल्लेख छ ।
नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डीपोमा भने चुहावट बढेको नागरिकले लेखेको छ । उक्त डीपोमा निगम सञ्चालक समितिले तोकेको लस टार्गेटको सीमा नाघेको हो ।
समाचार अनुसार विराटनगर डीपोबाट ४ महिनामा सवा करोड नोक्सान भएको छ ।
नागरिकमै जनप्रतिनिधिको गाडीमोह, जीप दुर्घटनालगायतका खबर पनि छन् ।
राजधानीले संसदको हिउँदे अधिवेशन पुस पहिलो साताका लागि प्रस्ताव गरिएको लेखेको छ भने गोरखापत्रमा नेकपाले प्रदेश कमिटीको टुंगो लगाएकोलगायत खबर छन् ।
प्रतिक्रिया 4