कुनै पनि चीजको लत लाग्नुलाई राम्रो मानिदैन । लत अति भयो भने त्यसले मानिसलाई बर्बाद गरिदिन सक्छ ।
त्यसो त लत भन्नेवित्तिकै हाम्रो दिमागले मदिरा, धुम्रपान, लागुपदार्थ, तास र यहाँसम्म कि सेक्सलाई सम्भिmन्छ । तर, यी बाहेक अरु पनि यस्ता धेरै लत हुन्छन् जसको बारेमा कमै मानिसहरुलाई थाहा छ । यी लतहरु पनि मदिरा र धुम्रपानको लत जस्तै खतरनाक हुन्छन् । जस्तै कोही मानिसहरुलाई अरुको सामान चोर्ने लत हुन सक्छ ।
कुनै पनि चीज वा काममा धेरै बेरसम्म एकोहोरिएर लाग्नाले त्यसको लत बस्छ । लतले कुनै पनि मानिसलाई एकोहोरो बनाइदिन्छ र उनीहरु त्यो कुरालाई लिएर पागल नै हुन्छन् । यसले स्वास्थ्य, पैसा, सम्बन्ध र मानिसको सम्मानको हानी पुर्याउँछ ।
यस्तै लतहरुमध्ये एक हो, गेमिङ । हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ कि विश्व स्वास्थ्य संगठनले गेमिङको लतलाई मानसिक विकृति मानेको छ । के साँच्चै नै गेमिङ यति खतरनाक हुन सक्छ त ? आउनुहोस् थाहा पाइराखौंः
के हो गेमिङ ?
गेमिङ भन्नाले कम्प्युटर गेमहरु वा कुनै विद्युतीय ग्याजेटहरु जस्तै फोन, ट्याब्लेट, ल्यापटप, प्ले स्टेशन आदिमा खेलिने खेलहरुको कुरा गर्न खोजिएको हो । ५-६ वर्षका बच्चादेखि युवाहरु मात्रै होइन, ४० वर्ष कटिसकेका मानिसहरुलाई पनि गेमिङको लतले सताएको पाइन्छ ।
यस्ता मानिसहरु आफ्नो विद्युतीय ग्याजेटमा अनलाइन वा अफलाइन गेमहरु खेल्ने गर्छन् । गेमिङको मजामा भुल्दै जाँदा यसले उनीहरुलाई एकोहोरो बनाउँछ र दिनरात त्यसैमा भुल्न थाल्छन् । यस्तै बच्चाहरु घरबाहिर विभिन्न प्रकारका खेलहरु खेल्नको सट्टा सोफा वा ओछ्यानमा बसेर आफ्नो ग्याजेटमा विभिन्न गेमहरु खेल्न मन पराउँछन् ।
यसले उनीहरु शारीरिकरुपले सक्रिय हुँदैनन् र शारीरिक विकास ठिकसँग हुन पाउँदैन । धेरै बेरसम्म गेम खेल्ने बानीले उनीहरुलाई आँखाको समस्याले पनि सताउन सक्छ ।
गेममा भुल्ने मानिसहरु आफ्नो वरिपरिका मानिसहरुसँग धेरै बोल्दैनन् र उनीहरु एक्लै बसेर घन्टौंसम्म खेल्न थाल्छन् । यसले उनीहरुलाई अरुसँग घुलमिल हुने मौका दिँदैन र असामाजिक बनाउँछ । अध्ययनहरुका अनुसार महिलाहरुको तुलनामा पुरुषमा गेमिङको लत धेरै हुन्छ ।
गेमिङ कसरी लत बन्छ ?
गेमिङको लतका केही लक्षणहरु छन् । आफ्नो धेरै समय गेम खेल्दै बिताउने र यसको असर पढाई, जागिर र सम्बन्ध आदिमा पार्नुलाई लतको रुपमा लिन सकिन्छ ।
यदि तपाईं आफ्नो दैनिक जीवनलाई नजरअन्दाज गरेर पनि गेममा लागिरहनुहुन्छ भने केही समयमै तपाईंमा यसको लत लाग्छ । गेम धेरै खेल्नाले मानिसहरुको सिर्जनात्मकतामा ह्रास आउन थाल्छ । उनीहरुले सकरात्मक चीजलाई गुमाउन थाल्छन् । गेमिङको लतले उनीहरुको मस्तिस्कको स्वास्थ्यमा पनि असर गर्न थाल्छ ।
१८ जुन २०१८ मा विश्व स्वास्थ्य संगठनले पनि गेमिङको लतलाई मानसिक विकृति घोषणा गरेको छ । विशेषज्ञहरुका अनुसार यो एक समस्या हो जसको तुरुन्त उपचार गर्नुपर्ने हुन्छ ।
मानसिक रोग विशेषज्ञका अनुसार कग्नेटिभ बिहेवरियल थेरापी, डि-एडिक्सन थेरापीका साथै औषधिहरुको सेवनले यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
प्रतिक्रिया 4