२४ मंसिर, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई लिएर सोमबार कास्कीको सिक्लेस पुगे ।
त्यो त्यही ठाउँ हो, जहाँ तत्कालीन विद्रोही माओवादीका नेता प्रचण्डसँगै डा. बाबुराम भट्टराईलाई लिन तत्कालीन गृहमन्त्री सिटौला हेलिकोप्टर लिएर पुगेका थिए । त्यही ऐतिहासिक दिनको सम्झनामा सिक्लेसमा शान्ति स्तम्भ बनेको छ ।
स्तम्भको आइतबार प्रचण्ड र सिटौलाले उद्घाटन गरे । त्यो दिन सम्झिदै प्रचण्डले भने ‘गृहमन्त्रीको पदमात्रै दाउमा राखेर होइन, उस्तै परेको भए ज्यानै जान सक्थ्यो । जनमुक्ति सेनाको विशाल पंक्ति थियो, हतियार थियो हामीसँग ।’
‘जोखिम उठाएर बिना पुलिस, एउटा शेखर कोइरालालाई लिएर आउनुभएको थियो, उहाँलाई गिरिजाबाबुको आडभरोसा थियो । उहाँको आफ्नै बुझाइ पनि शान्ति र लोकतन्त्रको लागि हामी अगाडि जानुपर्छ भन्ने थियो । संविधान बनाउने बेलामा पनि धेरै घेराबन्दी र अप्ठ्यारा थिए । उहाँले मस्यौदा समितिको संयोजकको हैसियतले उहाँको सक्रिय भूमिका त्यहाँ पनि रहृयो’ उनले थपे ।
शान्ति प्रक्रियामा कांग्रेसको योगदान भए पनि अहिले भूमिका शंकास्पद देखिएको प्रचण्डको गुनासो थियो । ‘कांग्रेस हिजो शान्ति प्रक्रिया अघि बढाउन नेतृत्वदायी भूमिका खेलेको पार्टी हो तर, कांग्रेसका कयौं नेताहरु यो परिवर्तनप्रति नाखुस छन्, उनीहरु यो संविधानप्रति खुशी छैनन् मात्रै होइन, खुलेआम वक्तव्य आउन थालेका छन्, यो के चिज हो ?’ प्रचण्डले प्रश्न गरे ।
गिरिजाप्रसादजस्तो टावरिङ पर्सनालिटी नभएको भए कांग्रेसले गणतन्त्र स्वीकार्थ्यो कि स्वीकार्दैनथ्यो भन्ने प्रश्न गरे । मञ्चमा रहेका सिटौलाले तत्काल जवाफ दिए, स्वीकार्थ्यो ।त्यसपछि प्रचण्डले थपे ‘सिटौलाजीले स्वीकार्थ्यो भन्नुभयो, धन्यवाद ।’
प्रचण्डले अगाडि भने ‘सिटौलाजीलाई धेरै समयदेखि सुगर छ, उहाँ फेरि धार्मिक प्रवृत्तिको मान्छे पनि हुनुहुन्छ, हामी आज आउँदा पोखरामा आएर पनि (खानेकुरा) थप्यौं, बाटोमा पनि खाँदै आयौं, उहाँले खानुभएन । उहाँको पनि यताउता भयो भने गाह्रो पो छ त । साँच्चै ठट्टाजस्तो लाग्ला तर कुरा गम्भीर छ ।’
अहिले पनि हामी ढुक्क भएर बस्न सक्ने स्थितिमा पुगिनसकेको प्रचण्डले बताए । ‘हामीसँग दुई तिहाइ बहुमत छ, सरकार छ, प्रदेश सरकार छ, औपचारिक हिसाबले सबै चिज छ तर, तराई मधेसमा अहिले पनि विखण्डनको सपना देखेर त्यहाँको जनतालाई भड्काउने कोशिस भइरहेको छ’ उनले भने ।
‘अर्कोतिर पहाडमा अतिवाद फैलाउन सकिन्छ कि भनेर हिजो दरबारबाट निकालिएका शक्तिहरु तिनीहरुलाई मलजल गर्ने कोशिस गरिरहेका छन्’ प्रचण्डले थपे ।
सिटौलाले पनि सम्झिए सिक्लेस
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले परिवर्तनको स्पिरिटअनुसार वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाए । नयाँ सरकार आएको एक वर्षमा जति हुनुपर्थ्यो त्यति नभएकोमा रोष प्रकट गर्दै उनले भने,’एक वर्षमा यो सरकारले जति प्रगति र विकास गर्नुपथ्र्यो त्यति हुन सकेको छैन, अपेक्षा अनुसार काम गर्न सकेन, त्यस्तै प्रतिपक्षले पनि जति विरोध गर्नुपर्थ्यो त्यो पनि गर्न सकेन ।’
सिटौलाले सिक्लेसमा प्रचण्ड भएको भेटको स्मरण गर्दै गिरिजाकै कारण शान्ति प्रक्रिया अगाडि बढ्न सम्भव भएको बताए । उनले भने, ‘गिरिजाबाबुजस्तो टावर पर्सनालिटी नभएको भए सायद नेपालको शान्ति प्रक्रिया र वार्ता के हुन्थ्यो थाहा छैन ।’ उनले आफूलाई प्रचण्डले वार्ता नमिले के हुन्छ भनेर सोध्दा आफूले सटिक जवाफ दिएको स्मरण गर्दै भने,’तपाई जहाँ जान चाहनुहुन्छ, म त्यहीँ लगेर छोड्छु ।’
प्रदेश सांसद मनबहादुर गुरुङले शान्तिको साक्षी सिक्लेस भएकाले उक्त शान्ति प्रक्रियाको प्रस्थान बिन्दु सम्झाउनका लागि शान्ति स्तम्भ बनाएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक मुद्धा सकिएकाले अब सबैको मुद्धा विकास र समृद्धि भएको बताए । त्यसका लागि सरकारले सहजीकरण गर्दै नीजि क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
१५ लाख लागतमा स्तम्भ निर्माण
सोमबार अनावरण गरिएको शान्ति स्तम्भ १५ लाखको लागतमा निर्माण गरिएको हो । मादी गाउँपालिकाको १० लाख, शान्ति स्तम्भ निर्माण गरिएको सम्बन्धित वडा मादी गाउँपालिका १ को १ लाख र स्थानीयको ४ लाखको श्रमदान गरी १५ लाखको लागतमा सिक्लेसमा शान्ति स्तम्भ निर्माण गरिएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए ।
करीब डेढ रोपनी क्षेत्रफलमा २० वटा भाव झल्कनेगरी स्तम्भ निर्माण गरिएको उनले बताए । ३ महिना लगाएर निर्माण गरिएको यस स्तम्भ परिसरमा अर्काइभमार्फत शान्ति प्रक्रियाका विभिन्न झलक देखाइने उनको भनाई छ ।
जनयुद्धबाट शान्ति प्रक्रियामा आउने वातावरण निर्माणका लागि तत्कालिन द्वन्द्वरत पक्ष नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता बाबुराम भट्टराई सिक्लेसमा आजभन्दा १२ वर्षपहिले पहिलोपटक सार्वजनिक भएका थिए । उनीहरु २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएका थिए ।
तत्कालिन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी नेताहरु प्रचण्ड र बाबुरामलाई भेटेका थिए । त्यसको २ दिनपछि उनीहरु कास्कीकै लामाचौरबाट हेलिकोप्टरमार्फत सिधै काठमाडौं पुगेका थिए ।
सो दिनलाई ऐतिहासिक दिन मान्दै मादी गाउँपालिकाले सोहि दिनको सम्झना स्वरुप शान्ति स्तम्भ निर्माण गरेको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले बताए । उनले भने,’शान्ति प्रक्रियाको लागि प्रचण्ड, बाबुराम सिक्लेसमा उत्रिएको ऐतिहासिक दिन हो, यो शान्ति प्रक्रियाको प्रस्थान बिन्दु हो, त्यहीँबाट विद्रोह शान्तिमा रुपान्तरण भएको हो, त्यसैले यसैको सम्झनास्वरुप हामीले शान्ति स्तम्भ बनाएका हौं ।’
अध्यक्ष गुरुङले शान्ति स्तम्भले विद्रोहको शान्तिपूर्ण रुपान्तरणको पाइलालाई चीरस्थायी रुपमा सम्झाउने उनले बताए । यसले द्वन्द्वको विभिषिकाबाट पाठ सिक्दै समाज रुपान्तरणका कामलाई पनि निरन्तरता दिन नेतृत्वलाई दवाब दिने उनको विश्वास छ ।
शान्ति स्तम्भले पर्यटक आगमनमा पनि सघाउ पुर्याउने उनले बताए । उनले भने,’शान्ति स्तम्भले नेपाल मात्र नभई नेपालको शान्ति प्रक्रियाको पहिलो पाइला चालिएको ठाउँ सिक्लेसलाई विश्वमै परिचित गराउनेमा हामी ढुक्क छौं ।’
प्रतिक्रिया 4