२६ मंसिर, बुटवल । प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरू भएको छ । चार महिनापछि बसेको तेश्रो अधिबेशन अर्थात हिउँदे अधिबेशन कानून निर्माणमा केन्द्रित गर्न प्रदेश सांसदहरुले माग गरेका छन् ।
यो अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने चारवटा विधेयक प्रदेश सभामा दर्ता गरेको छ । दोश्रो अधिवेशन सकिएको करिब चार महीनापछि हिउँदे अधिवेशन सुरु भएको हो ।
बैठकमा प्रदेश-५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश-५ मा संघसस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ ।
त्यस्तै प्रदेशको नामाकरण र स्थायी राजधानी सिफारिस गर्ने विशेष समितिको संयोजक चयन गरेको तथा विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सम्बन्धमा पनि सभामुखले प्रदेशसभालाई जानकारी गराएका छन् ।
प्रदेश सभाले अझै प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न सकेको छैन । बुधबारको संसदमा नेकपाका सचेतक भूमिश्वर ढकाल, कांग्रेस सभासद डिल्ली चौधरी, संघीय समाजवादी फोरमका सांसद सन्तोष पाण्डे, तुलाराम घर्तीलगायतले बोलेका थिए ।
यस्तै प्रदेशसभाको बैठक स्थललाइ थप रंगरोगन गरि नयाँपन दिइएको छ । सभामुखको आसन पछाडि प्रदेशको लोगो राखिएको छ ।
प्रतिक्रिया 4