मानिसको स्वास्थ्य फगत शरिरसँग मात्रै जोडिएको हुँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्णरुपमा स्वस्थ हुनको लागि शारीरिकसाथै मानसिक र सामाजिकरुपमा समेत समस्यामुक्त हुनुपर्छ ।
शारीरिकसँगै मानसिकरुपमा स्वस्थ व्यक्तिले आफ्नो क्षमताको अधिकतम उपयोग गर्न सक्छ । चूनौतीहरुलाई सहजै सामना गर्न सक्छ । सृजनात्मक एवं उत्पादनमूलक काम गर्न प्रेरित बन्छ ।
हरेक मानिस दैनिकी चलाउनको लागि रोजगार वा ब्यबसायका सिलसिलामा कार्यक्षेत्रमा व्यस्त हुन्छन् । यस हिसाबले परिवारसँगभन्दा बढी समय कार्यक्षत्रमै बित्छ । त्यसैले, कामको समयमा स्वास्थ्यबारे विशेष शतर्कता राख्न जरुरी हुन्छ ।
सम्भावित समस्या
– पछिल्लो समय अत्यधिक कर्मचारीमा डिप्रेसन, एन्जाइटी, तनावजस्ता मानसिक समस्या देखिन्छन् । त्यस्तै लागूपदार्थ, दुव्र्यसनी, बाइपोलार डिसअर्डर, प्यानिक अट्याक डिसअर्डर र पर्सनालिटी डिसअर्डरको खतरा पनि बढिरहेको छ ।
– शरीरिक सिथिलता, अनिन्द्रा, मुड चेन्ज, बिनाकारण डर, नकारात्मकताबाट पनि कामदारहरु ग्रसित भएका छन् ।
– कामदार हरुमा अत्यधिक थकान, काममा नियमित अनुपस्थिति, काम गर्नै मन नलाग्ने, कार्यक्षेत्रमा झगडा, उत्प्रेरणाको अभाव, आत्मबलमा कमी, डर आदि समस्या पनि आउन सक्छन् । यस्ता मानिसले अफ्नो कुरा कसैलाई नभन्ने र उपचारमा पनि ध्यान नदिने गर्दा आत्महत्याको सोचसमेत आउन सक्छ ।
समस्याका कारक
– कर्मचारीमैत्री वा सहयोगी वातावरणको अभाव
– कार्यालयको कमजोर व्यवस्थापन
– नमिल्दो कार्यालय समय
– कर्मचारीहरुमा असमान ब्यबहार
– अव्यवहारिक कार्यसम्पादन
– ब्यबस्थापकीय धम्की तथा मनोवैज्ञानिक दवाव
– कार्यालयमै यौन दुव्र्यवहार
– स्वास्थ्य र सुरक्षा नीतिको अभाव
– कम तलव तर कामको चाप
– अनिच्छापूर्वक जिम्मेवारी हेरपफेर वा सरुवा
कार्यालयको जिम्मेवारी
– कर्मचारीलाई निरन्तर प्रोत्साहनको जरुरत हुन्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने कर्मचारीको समस्यालाई बुझ्ने, राम्रोे काम गरेबापत पुरस्कृत गर्ने, कार्यक्षमताअनुसार बढुवा गर्ने कम्पनीहरु निकै सफल हुन्छन् ।
– त्यस्तै समय-समयमा ब्यक्तित्व बिकास, तनाब ब्यबस्थापन जस्ता तालिमको पनि आयोजना गर्न जरुरी हुन्छ । यस्तो गतिविधिले कार्यालयमा काम गर्ने कर्मचारीको आत्मबल बढ्नुका साथै काममा पनि उर्जा मिल्ने गर्छ ।
कार्यक्षेत्र र नीजि जीवनबीच सन्तुलन
– कर्मचारीले कार्यक्षेत्र र आफ्नो नीजि जीवनबीच सन्तुलन कायम गर्न निकै जरुरी हुन्छ । कार्य क्षेत्रको कामले नीजि जीवनलाई र नीजि जीवनको कामले कार्यक्षेत्रमा असर गर्नु हुँदैन ।
– कर्मचारी पटक-पटक बिरामी भइरहने समस्या पनि हुन सक्छ । यस्तो अवस्थामा कार्यालय पुग्न नसक्दा कार्यक्षेत्रमा ठूलो असर पुग्छ । त्यसैले व्यवस्थापकीय टिमले कर्मचारीलाई कसरी शारीरिक, मानसिकरुपमा स्वस्थ बनाउने भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ ।
स्वास्थ जीवनशैलीको अभ्यास
– शारीरिक ब्यायाम, सन्तुलित भोजन र सकारात्मक सोचलाई दैनिकीसँग जोड्न अति नै जरुरी हुन्छ । मद्यपान, धुम्रपान, सूर्ती, लागूपदार्थ कुलतबाट टाढै रहने प्रयास गर्नुपर्छ ।
– तनाब ब्यबस्थापनको लागि योग, ध्यान, प्राणायाम, बिश्रामको अभ्यास नियमित गर्दा परिणाममुखी काम गर्न सक्षम भइन्छ ।
– कार्यालयमा नियमित काम गर्दा दिमाग र पारिवारिक सम्बन्ध पनि बोझिलो बन्दै जान सक्छ । त्यसैले, समय-समयमा परिवारसँग भ्रमणमा पनि निस्कनुपर्छ । जसले ताजापनको महसुस हुन्छ ।
– यदि मानसिक समस्याबाट ग्रसित हुनुहुन्छ भने मनोचिकित्सकसँग परामर्श गर्नुको विकल्प हुँदैन ।
मानसिक स्वास्थ्यतिर नजर
– व्यवस्थापनले कर्मचारीहरुको मनोबिज्ञान बुझेर काम गराउन जरुरी हुन्छ । सबै कर्मचारी एकै प्रकृतिका हुँदैनन् । त्यसैले, सबैबाट समान परिणामको आशा राख्नु हुँदैन ।
– आफ्नो कर्मचारीको मानसिक स्वास्थ्यको उचित ख्याल राख्न जरुरी हुन्छ । नत्र सम्पूर्ण कार्यक्षेत्रमै असर पुग्न जान्छ ।
– मुनाफाका केही क्षेत्रलाई कटौती गरेर भए पनि कर्मचारीको मानसिक स्वास्थमा लगानी गर्न आवश्यक छ । किनभने कर्मचारी भनेकै कार्यालयको सबैभन्दा ठूलो सम्पति हो । उनीहरुकै क्षमताले कार्यक्षेत्र र कामको गुणस्तर बढेर जाने गर्छ ।
(मनोविज्ञ प्रधान धापासीस्थित होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टरसँग सम्वन्धित छन्)
प्रतिक्रिया 4