५ पुस, काठमाडौं । काठमाडौंको न्युरोडको धर्मपथस्थित भूगोलपार्कमा आधुनिक पार्किङ बनाउने योजना सुस्ताएको छ । ०७३ असोजमा काठमाडौं महानगरपालिकाले न्युरोडमा लिफ्ट सिस्टमको बहुतले पार्किङ निर्माण गर्ने योजना अघि सारेको थियो । तर, दुई वर्ष बित्दा पनि सम्भाव्यता अध्ययनसम्मको काम समेत भएको छैन ।
न्युरोड क्षेत्रमा व्यवस्थित पार्किङ नहुँदा अत्यधिक जाम र बजार नै अस्तव्यस्त बनेपछि महानगरपालिकाका तत्कालिन प्रमुख कार्यकारी अधिकृत रूद्र सिंह तामाङले यो बहुतले पार्किङको अवधारणा ल्याएका थिए ।
भुगोलपार्कमा लिफ्ट सिस्टमको बहुतले पार्किङको सम्भाव्यता अध्ययनका लागि एक निजी कम्पनी छनोट गर्ने भनिएको थियो । तर, जनप्रतिनिधि आएसँगै महानगरपालिका आफ्नै प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गराउने निश्कर्षमा पुगेको छ ।
महानगरपालिकाका सार्वजनिक नीजि साझेदारी महाशाखा निर्देशक हरि महेश काफ्लेका अनुसार आधुनिक पार्किङ निर्माणको सम्भाव्यता अध्ययन र मुल्याकंनका लागि सहसचिव भगत अर्यालयको नेतृत्वमा समिति गठन गरिएको छ ।
उक्त समितिलाई पार्किङको मोडालिटीदेखि ठेकेदार कम्पनीको मुल्याकंन समेतको कार्यभार दिइएको छ । समितिले कहिले प्रतिवेदन दिन्छ भन्ने टुंगो छैन । तर, काफ्ले अबको १५ दिनभित्र पार्किङ निर्माणका लागि बोलपत्र आहृवान गर्ने दाबी गर्छन् ।
झण्डै ८० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको यो पार्किङ भवनको निर्माण स्टिल स्ट्रक्चरको हुने उनले जानकारी दिए । यसअघि पार्किङ निर्माण गर्न २५ करोड रुपैयाँ लाग्ने बताइएको थियो । न्युरोडमा किनमेलका जानेहरुले पार्किङ स्थल नहुँदा धेरै समस्या भोग्ने गरेका छन् । त्यसैले सार्वजनिक निजी साझेदारी अवधारणामा पार्किङ निर्माण गर्ने महानगरपालिकाको योजना छ ।
निर्माता कम्पनीलाई कति वर्ष सञ्चालन गर्न दिने र कहिले महानगरले आफ्नो स्वामित्वमा लिने भन्ने टुंगिएको छैन । बहुतले पार्किङ बनेपछि न्युरोडमा पार्किङ व्यवस्थापनका लागि रहेको समस्यामा निकै सहयोग पुग्ने छ ।
डेढ रोपनीमा बन्ने पार्किङ भवनमा विभिन्न तलामा गरेर ठूलो संख्यामा गाडी पार्किङ गर्न सकिने छ । स्वचालित पद्धतिको लिˆट सिस्टमसहितको यो पार्किङ निकै उपयोगी हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4