९ पुस, काठमाडौं । आगलागी पीडितहरुलाई राहत लिएर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पलाता गाउँपालिका- १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा पुगेका छन् ।
सोमबार बिहान लागेको आगोले ठूलो क्षती भएपछि मुख्यमन्त्री शाही, कालीकोटका प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावतलगायतको टोली सुर्खेतबाट राहत लिएर कालीकोटको आगलागी भएका न्यौपानेबस्तीमा पुगेको हो ।
प्रदेश सरकारले पहिलो चरणमा अत्यावश्यक सामानहरुसहित प्रतिपरिवार २० हजारका दरले नगद राहत वितरण गर्ने घोषणा गरेको थियो ।
आगलागीबाट १३२ बढी घर रहेको न्यौपाने बस्तीका ८० बढी घर नष्ट भएका छन् । मानवीय क्षती नभएपनि भौतिक र पशुचौपाएको ठूलो क्षती भएको छ । केही घाइतेसमेत भएका छन् । क्षतीको पूर्ण विवरण भने आएको छैन ।
पीडितहरूका लागि स्थानीयस्तर र काठमाडाैंमा समेत सहयोग संकलन अभियान सुरू भएको छ । जुम्लाको हिमा गाउँपालिकाले एक लाख सहयोग घोषणा गरेको छ भने कालीकोटकै सान्नी त्रिवेणि गाउँपालिकाले दुईलाख सहयोग घोषणा गरेको छ ।
प्रतिक्रिया 4