Comments Add Comment

कालीकोट आगलागी अपडेटः ८० घर खरानी, नियन्त्रणको प्रयास विफल

९ पुस, कालिकोट । कालीकोटको पलाता गाउँपालिका-  १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

१३२ बढी घर रहेको न्यौपाने बस्तीका ८० बढी घर आगोले खरानी भएको स्थानीय कुशराज प्याकुरेलले जानकारी दिए । यद्यपि, मानवीय क्षति भने नभएको बताइएको छ ।

स्थानीय नवीन न्यौपानेको घरबाट सल्केको आगो खरको छानो भएको सिंगो बस्तीमा फैलिएको छ । तथापि, क्षतिको यकिन विवरण आइसकेको छैन ।

सुख्खा क्षेत्र भएको र फुसको छाना भएका घर भएकाले आगो निभाउन नसकिएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले प्रहरीलाई घटनास्थलमा पठाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । प्रजिअ कार्कीका अनुसार आगलागी भएको स्थान जिल्ला सदरमुकामबाट ३२ कोषको दुरीमा पर्दछ । नजिकको प्रहरी कार्यालयबाट पनि न्यौपाने बस्ती पुग्न चार घण्टा पैदल हिँड्नु पर्छ । सो बस्ती नजिक इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी कार्यालय पर्छन् ।


स्थानीयबासीलाई उद्धार तथा राहतका लागि नजिकका प्रहरी र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली खटाइएको छ । आगलागी भएको स्थान पलाता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेको गाउँ हो ।

त्यहाँ गएरातिदेखि नै टेलिफोन सम्पर्क राम्रो नभएका कारण घटनाको एकिन विवरण बुझ्न कठिन भएको छ । सो क्षेत्रमा सोलार प्रणालीबाट टेलिफोन सेवा पुर्याइएको छ, तर त्यहाँ घाम नलाग्दा व्याट्री चार्ज नहुने भएकाले सम्पर्क स्थापित हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment