१३ पुस, काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबरालाई संसदीय सुनुवाइ समितिले आइतबार बोलाएको छ । उजुरीकर्ताहरूसँग शुक्रबार छलफल गरेपछि समितिले जबरासँग छलफल गर्न लागेको हो ।
प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध संसदीय सुनुवाई समितिमा ९ वटा उजुरी परेका छन् । जसमध्ये ८ वटा जबराले विगतमा गरेका फैसला र एउटा व्यक्तिगत जीवनसँग सम्बन्धित छ । कतिपय आरोप भने गालीगलौजले भरिएका पनि छन् ।
अपराधीलाई जोगाएको आरोप
उजुरीकर्तामध्येकी एक माइली तामाङले जबरालाई माफियाको संज्ञा दिँदै पदबाटै हटाउन माग गरेकी छन् । काठमाडौं महानगरपालिका-६ की ७२ वर्षीया माइली तामाङका नाममा संसदीय सुनुवाई समितिमा परेको उजुरीमा भनिएको छ, ‘चोलेन्द्र शमसेरलाई प्रधानन्यायाधीश त कुरै छाडौं, न्यायाधीशमा पनि एकछिन राख्न मिल्दैन । आपराधिक पृष्ठभूमि भएकालाई कसरी न्यायाधीश पदमा राख्ने ? निजलाई हटाउनुपर्छ ।’
माइलीका वारेसमार्फत दर्ता गरिएको उजुरीमा जबरा माफियाहरुद्वारा सञ्चालित रहेको आरोप लगाइएको छ । ‘प्रेरणा राज्यलक्ष्मी सिंहको रामकुमार प्रसाद साहलाई गुमराहमा पारी ज्ञानेन्द्र शाहको फुपूका छोरामार्फत वासिङ्टन डीसीमा आफ्नो मानिस र आफ्नो नाममा बैंकमार्फत घुस लिएको कुरा पुष्टि भई आएको छ’, उजुरीमा लेखिएको छ, ‘ज्ञानेन्द्र शाहको फुपूका छोरा मार्फत १५ करोड असुल्नु र उक्त समय अथवा मिति ६ असार ०७२ का दिन चोलेन्द्र समशेर माफियाद्वारा फैसला हुनु र प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो कायम गराउनुले उनी माफिया र घुसखोरी भन्ने कुरामा विवाद छैन् ।’
तामाङले जबरालाई संसारका भ्रष्टहरुमध्ये एक भनेकी छन् । ‘विश्वभरका न्यायकर्मीमध्येको भ्रष्ट भन्दा माफिया चोलेन्द्र भ्रष्ट भन्ने छर्लङ्ग भएको छ, जसलाई भ्रष्टाचार अनियमितता मुद्दा पर्छ’, उनले अगाडि लेखेकी छिन्, ‘चोलेन्द्र शमसेर भेटेपछि भ्रष्टाचारी उम्कने मात्र होइन, सफाइ पनि पाएका छन् ।’
‘आफैंलाई राजा ठान्ने व्यक्ति’
प्रधानन्यायाधीशमा सिफारिस भएका जबरा विरुद्धको अर्को उजुरी पनि निकै आक्रामक छ । जबरालाई रामेछाप, दुरागाउँका माधवप्रसाद पौडेलको उजुरीमा ‘आफूलाई राजा ठान्ने व्यक्ति’ भनिएको छ ।
‘चोलेन्द्र शमसेर जबरा मानसिकरुपमा आफूलाई राजा ठान्ने व्यक्ति हुन् । न्यायाधीशले नियम कानुन पालना गर्नुपर्दछ’, समितिले शुक्रबार खोलेको उजुरीमा पौडेलले लेखेका छन्, ‘तर राजाको बोली नै कानुन हो भन्ने मानसिकता उनमा विद्यमान छ । सुशीला कार्कीउपर गरिमामय संसदले महाभियोग दायर गरेपछि चोलेन्द्रले आफूलाई संविधानभन्दा माथि ठानी अन्तरिम आदेश जारी गरे ।’
हाल बुढानीलकण्ठ बस्दै आएका पौडेलले सुनुवाई समितिका सदस्यको विवेकमा समेत प्रश्न उठाएका छन् । ‘तपाईहरू न्यायाधीश छान्न बस्नुभएको छ, स्वस्थानी कथाको नवराज राजा छान्न पक्का पनि बस्नुभएको छैन । जुन व्यक्ति जुवालाई बैधता दिने र संसदको विशेषाधिकार निस्कृय पार्ने आदेश दिन सक्छन्, ती व्यक्ति कसरी प्रधान न्यायाधीश हुन सक्छन् ?’ पौडेलले प्रश्न गरेका छन् ।
यस्तै, जबरामाथि नातावादका आधारमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता कायम गरिदिएको आरोप लागेको छ । उजुरी अनुसार वीरगञ्ज महानगरपालिकाको छपकैया पोखरीको जग्गा नाता पर्ने सुरेन्द्र शाहका नाममा कायम गर्न उनले सर्वोच्चबाट आदेश जारी गरेका थिए ।
ऐतिहासिक धरोधर तथा सार्वजनिक संपदा संरक्षण अभियान तथा जिल्ला अदालत पर्सामा आवश्यक मुद्दा दायर गरी छपकैया पोखरी सार्वजनिक गर्न माग गर्न गरेको फिरादीका संयोजक जफरुल हसेन अन्सारी जफरले शुक्रबार पत्रकार सम्मेलन नै गरेर वीरगञ्जको छपकैया पोखरीका जग्गा नाता पर्ने शाहका नाममा कायम गरेको बताए ।
त्यसैगरी जबराविरुद्ध न्यायालयको इजलास बहिस्कार प्रकरणमा समेत उजुरी परेको छ । ०७४ सालमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादको सुनुवाइ नसकी बीचैमा राणा उठेर हिँडेको भन्दै उजुरीकर्ताको प्रश्न छ, ‘आफूखुसी एक्लै आदेश जारी गरी बहिस्कार किन गरेको ?’
एउटा उजुरी चाहिँ व्यक्तिगत भन्दै संसदीय सुनुवाई समितिले सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया 4