+
+

मकवानपुरगढी नेपाल एकीकरणको कोशेढुङ्गा : राष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १० गते १७:३३

१० माघ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खाली सेनाले विदेशी फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला मकवानपुरगढीको संरक्षण र सम्बर्द्धन गर्नुपर्नेमा जोड दिएकी छन् ।

मकवानपुर गढीमा २५६ औं विजय उत्सवको उद्घाटनमा सहभागी राष्ट्रपति भण्डारीले मुलुकको ऐतिहासिक धरोहरको रुपमा रहेको मकवानपुर गढी नेपालको एकीककरण अभियानको कोशेढुङ्गा सावित भएको बताइन् ।

गढीमा विदेशी फौजलाई पराजित गरेकाले नेपालको एकीकरण अभियान अगाडि बढेको बताउँदै नेपाल र नेपालीको स्वतन्त्रता र स्वाभिमान अक्षुण रहेको उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले मकवानपुरगढी नेपाली सेनाको गौरवपूर्ण इतिहाससँग गाँसिएको बताइन् । राष्ट्रपति भण्डारीले चुरे क्षेत्रभित्र पर्ने यस स्थानको ऐतिहासिक र पुरातात्विक विषयलाई समेटर संरक्षण गर्दै अगाडि बढ्न सके पर्यापर्यटन विकासमा टेवा पुग्ने बताउँदै दिगो विकासको सिद्धान्तलाई आत्मसाथ गर्दै गढीको विकासमा लाग्न सुझाव दिइन् ।

विजयउत्सवको सन्दर्भ पारेर आयोजित हाफ म्यारथनका विजेता तथा उपविजेतालाई नगद तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । मकवानपुर गढीको संरक्षण र सम्वर्द्धनमा योगदान पुर्‍याउँदै आएका बद्रीप्रसाद खतिवडा र केदार न्यौपानलाई कदर पत्र प्रदान गरिएको थियो ।

राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले पृथ्वीनारायण शाहको पालाको शैलीमा सलामी अर्पण गरेका थिए । नेपालको राष्ट्रिय झण्डातोलन तथा गढीमा निर्माण गरिएको संघीय नेपालको नक्सासमेत भण्डारीले अनावरण गरिन् ।

विजयोत्सवमा प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलाल र गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले गढीको इतिहासबारे चर्चा गरेका थिए ।

विदेशी फौजमाथि विजयप्राप्त गरेको खुशीयालीमा मकवानपुर गढीमा विगतका वर्षदेखि माघ १० गते विजयोत्सव मनाउन मनाउदै आएको छ ।

मकवानपुरगढीको इतिहास

सेनंवंशीय मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेन मकवानपुरगढी अन्तर्गत रहेकेा हरिहरपुर गढीको लडाई हारेपछि वंगालका नवाब मीर कासिम अलीसंग सहयोग माग्न गएका थिए ।

नबाव अलिकेा सहयोगमा २ हजार लडाकु र एक हजार वन्दोवस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा विक्रम सम्व्त १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।

मकवानपुरगढीमा रहेका नन्दु शाहको नेतृत्वको फौज र पृथ्बीनारायण शाहले दहचोकवाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएका थिए । वंगालबाट आएका विदेशी फौजलाई पराजित गर्न नसकेकेा भए नेपाल एकिकरणको अभियानमा मात्र धक्का लाग्ने थिएन, अहिलेको नेपाल प्राप्त गर्न सक्ने थिएनौ गापा अध्यक्ष विदूर हुमागाईले बताए ।

नेपाली फौजले मीर कासिम फौज पराजित भएपछि उनीहरुवाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले राष्ट्रको रक्षााका लागि सैनिक संगठन संरचना निर्माणको अभ्यास सुरु गरेका हुन ।

पृथ्वीनारायण शाहले त्यतिबेला श्रीनाथ गण, सवुज गण, पुरानो गोरख गण, बर्दंबहादुर गण र कालिवक्स गण गठन गरेका थिए । ती गण अहिले पनि छन् । नेपाली सेनाको इतिहासमा मकवानपुर गढीको वीरताको ऐतिहासिक पृष्ठभूमि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?