+
+

रक्षक नै भक्षक ! सम्पदा पुनर्निर्माणमा पशुपति क्षेत्र विकास कोषको मनोमानी

विशाल सापकोटा विशाल सापकोटा
२०७५ माघ २४ गते १९:४७

२४ माघ, काठमाडौं । भूकम्पले क्षति पुर्‍याएका सम्पदा पुनर्निर्माणमा राज्यका निकायको मनोमानी र लापरवाहीको पछिल्लो उदाहरण हो, विश्वरुपा मन्दिर ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुपा मन्दिर भूकम्पले क्षति भएको लामो समयसम्म पुनर्निर्माण हुन सकेन । तर, बल्लबल्ल पुनर्निर्माण हुन लागेको मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषको लापरवाही भेटिएको छ ।

प्राचीन सम्पदा पुनर्निर्माण गर्दा स्वरुप बिगार्न पाइँदैन । तर, विकास कोषले मन्दिरलाई ‘टेको लगाउन’ भन्दै कंक्रिटको पिल्लर ठड्याउन ५ फिट गहिरो खाल्डो खनेको छ ।

हात्तीको पाइलाजस्तो देखिने गरी यो खाल्डो मन्दिर अड्याउन नभई जगका रुपमा बनाउन लागिएको हो ।

खाल्डो पुर्नू, स्वरुप नबिगार्नू !

विस १९१९ मा जंगबहादुर राणाले स्थापना गरेको ऐतिहासिक विश्वरुपा मन्दिर परिसरमो जथाभावी खाल्डो खनेपछि काठमाडौं महानगरपालिकाले चासो देखाएको थियो ।

कामपा–८ का वडाध्यक्ष दिनेशकुमार डंगालले त्यसो नगर्न पत्र लेखे पनि कोषले टेरेन । मन्दिरको जगमै असर पर्ने गरी ५ फिट गहिरो ५ वटा खाल्डो खन्यो । त्यसमा छड हालेर सिमेन्टको ढलान गर्ने तयारी छ ।

बिहीबार काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी, प्रदेशसभा सदस्य नरोत्तम वैद्य सम्पदा संरक्षण अभियान्तासहित पशुपति क्षेत्र पुगेर मन्दिरको अवलोकन गरेका छन् ।

त्यसक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले खाल्डो खनिएको विषयमै अनभिज्ञता प्रकट गरे । तर, कोषका योजना शाखाका प्रमुख भरत मरासिनीले मन्दिरलाई अड्याउन पिलर खडा गर्न लागिएको प्रष्टिकरण दिए । मन्दिरको पुनर्निर्माण सकिएपछि सबै पिलर हटाइने उनको भनाइ छ ।

महानगरपालिकाको अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर खड्गीले मन्दिरको पुनर्निर्माणमा सिमेन्ट, छड, इट्टा प्रयोग गरेर सम्पदा क्षेत्रमा मनोमानी गरेको आपत्ति जनाइन् । ‘सर्वोच्च अदालतको आदेश नटेर्ने ? विश्व सम्पदा सूची परेको क्षेत्रमा सिमेन्ट, कंक्रिटको पिल्लर ठड्याउन मनपरी खाल्डो खन्ने ?’ उनले कोषलाई निर्देशन दिइन्, ‘यो कार्य तत्काल रोक्नुस् ।’

सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले भूकम्पले क्षति पुर्‍याएका पशुपति क्षेत्रका सम्पदा पुनर्निर्माणमा कोषले पटकपटक लापरवाही र मनोमानी गरिरहेको आरोप लगाए ।

संरक्षण गर्ने जिम्मेवारी पाएको निकाय नै सम्पदाको इतिहास मास्न लागिपरेको बताए । खाल्डो खनेर कंक्रिटको पिल्लर ठड्याउने कार्य तत्काल नरोके लापरवाही गर्नेलाई कारवाहीको दायरामा ल्याउन डटेर लाग्ने उनले चेतावनी दिए ।

पशुपतिमा राजतन्त्र !

भूकम्पले पशुपति क्षेत्रका साना ठूला गरी ७० वटा सम्पदामा क्षति पुर्‍याएको थियो । तर, धेरै सम्पदाको पुनर्निर्माणमा कोषले लापरवाही गरेको आरोप छ ।

श्लेषमान्तक वनमा कंक्रिट र सिमेन्टको ढलान प्रयोग गरेपछि सम्पदा संरक्षण अभियन्ताहरुले फुटाएका थिए । अहिले विश्वरुपा मन्दिरमा पिलर ठड्याउन थालेपछि केहीले कोषको अटेरी र मनोमानीलाई अनेक विम्ब प्रयोग गरेर आलोचना गरे ।

केहीले कोषको पुनर्निर्माण शैली ठेकेदारको जस्तो भएको टिप्पणी गरे भने केहीले व्यापारीको जस्तो भने ।

प्रदेश ३ का प्रदेशसभा सदस्य नरोत्तम वैद्यले भने राजतन्त्रसँग तुलना गरे । कोषले ऐन, कानुन, अदालत, पुरातत्व विभागलाई नटेरेको भन्दै उनले भने, ‘देशमा गणतन्त्र आयो तर, पशुपति क्षेत्र विकास कोष चाहिँ राजारानी जस्तो ?’

ऐतिहासिक, सांस्कृतिक महत्वका विश्वसम्पदामाथि कोषले पटक पटक धावा बोलेको वैद्यको आरोप छ ।

क्षेत्र विकास कोषको मनपरी

विश्व सम्पदामा सूचीकृत धार्मिक आस्थाको केन्द्र पशुपति क्षेत्रको नियमन र संरक्षणका लागि बनाइएको हो यो कोष ।

युनेस्कोले विश्व सम्पदामा सूचीकृत गरेको ७ मध्ये एक हो पशुपति क्षेत्र । तर, संरक्षक निकाय नै एक पछि अर्को गर्दै सम्पदा मास्न उद्यत रहेको अभियन्ताहरु बताउँछन् । पुनर्निर्माणमा देखिएको लापरवाहीले विश्व सम्पदा सूचीबाटै हट्ने खतरा रहेको सम्पदा संरक्षक अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन् ।

विश्व सम्पदा सूचीमा परेका सम्पदाहरुमा पुनर्निर्माण गर्दा अनुमति लिनुपर्छ । प्राचीन स्मारक संरक्षक ऐन, २०१३ अनुसार प्राचीन स्मारक स्थल तथा पुरातात्विक स्थलको संरक्षण गर्ने दायित्व पुरातत्व विभागको हो । तर, विश्वरुपा मन्दिरमा खाल्डो खन्दा कोषले विभागले अनुमति नै लिएन ।

कोषका योजना शाखाका प्रमुख मरासिनीले भने पुनर्निर्माण सकिएपछि हटाउने भएकाले खाल्डो खन्नुअघि पुरातत्वसँग अनुमति माग्न जरुरी नठानिएको बताए ।

विश्व सम्पदा सूचीमा रहेकाले पशपति क्षेत्रमा पुनर्निर्माण गर्दा सन् १९६४ मा पारित भएको इन्टरनेसनल भेनस चार्टर, एनएआरए डकुमेन्ट १९९४, युनेस्को अपरेसनल गाइडलाइनको पालना पनि जरुरी छ । भेनस चार्टरअनुसार माटोको सट्टा चुना प्रयोग पाइन्छ तर, सिमेन्ट, कंक्रिट प्रयोग गर्न हुन्न ।

तर, बिहीबार विश्वरुपा मन्दिर परिसरमा कोषले सिमेन्ट, छड, जाली, बालुवासमेत थुपारेको देखियो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?