शुक्रबार कैलालीको अत्तरियाबाट डोटीको दिपायलसम्मको यात्रा यादगार रह्यो । हामी जस्ता साधारण व्यक्तिहरुका लागि सार्वजनिक यातायात बाहेक अर्को कुनै विकल्प पनि हुँदैन यात्रा गर्नका लागि । झुण्डिए पनि, च्यापिए पनि, धक्का खाए पनि, जे गरे पनि, सार्वजनिक यातायातका साधनहरुनै हाम्रा मित्र हुन् । त्यही सार्वजनिक यातायातको प्रयोग गरी गरिएको यात्राका केही स्मरणीय दृष्यहरु रहे ।
शुक्रबार दार्चुलामा जीप दुर्घटनामा परी ११ जनाको दुःख निधन भयो । त्यसैदिनको कुरा हो, हामीले अत्तरियाबाट दिपायलसम्मको अर्को जोखिमपूर्ण यात्रा गरेको ।
सुदूरपश्चिम यातायातको एक “हाइस” अत्तरियाबाट नौ बजे बिहान हिँड्ने भन्ने काउण्टरले जानकारी दिएपछि करिब ८ः३० मा टिकेट काटियो । अब हिँड्ला, तब हिँड्ला गर्दा १०ः१६ मा बल्ल हाइसले अत्तरिया छोड्यो । सुनेअनुसार १५ जना यात्रुहरु मात्रै बस्न पाउने गरी सीट स्वीकृति हुन्छ रे । तर, सीट क्षमता कति हो, ठ्याक्कै थाहा भएन । तर, अत्तरियाबाट हामी १६ यात्रुहरु थियौं । तराईलाई वाईवाई गर्दै हाइस उकालो लाग्यो गोदावरीबाट ।
खानीडाँडाको खाना
नौ बजे हिँड्ने योजनाका साथ आएका यात्रुहरु पक्कै पनि भोकै थिए । खाना खानका लागि कैलालीको खानीडाँडामा पुगियो । जुन होटलमा खाना खान गाडी पार्क गरियो, त्यहाँ अर्को एक बस पनि थियो ।
‘भात खानेलाई भात, रोटी खानेलाई रोटी, बस्नुहोस् खाना तयार छ’ साहुनीले चर्कै स्वरमा सबै यात्रुले सुन्ने गरी कराईन । यात्रुहरु पनि खान बसे । चिसो मौसम भएर होला अधिकांशले रोटी खान रुचाए । दाल तरकारीसहितको एक रोटी सबैलाई पस्कियो । थप रोटी माग्दा जवाफ आयो- ‘रोटी त सकियो, भात खानुहोस् ।’
ग्राहकले केही भन्न मुख खोल्न नपाउदै साहुनीले थपिहालिन् “तपाई एक जना मात्रै हो र खाना खाने ? तपाईजस्तो सयौंलाई खाना खुवाउनुपर्छ हामीले । अनि कति पुगोस् त रोटी !” उनी यसरी कड्किन सायद उनले निशुल्क खाना बाँड्दैछन् । बिचरा यात्रुहरु, कति भात थप्न वाध्य भए, कति पुरा पेट नखाएरै भागे ।
बुझ्दै जाँदा सवारी चालकहरुले होटेलबाट पनि भत्ता पाउने भएका कारण खाना खाने निश्चित ठाउँ वनाएका हुन्छन् । त्यसैले होटेलभित्रै गाडी घुसाउँछन्, स्टाफहरुका लागि मीठो मसिनो पाकेको हुन्छ र निःशुल्क खान्छन् । त्यसकारण उनीहरुले यात्रुहरुको परवाह गर्दैनन् ।
तर, यात्रुहरुले भने सधैं यस्तै नियति भोग्नुपर्छ । कयौं यात्रुहरु खाना खाँदैनन्, चिया चना खाएर हिँड्छन् ।
सय रुपैयाँमा “रास्ता साफ”
खानीडाँडाको त्यो खानापछि करीव आधा घण्टाको यात्रा पार गरियो । सहजपुर वजार नपुग्दै ट्राफिक प्रहरीको टोलीले हाइस रोक्यो । चालकले साईडमा रोके, हत्त न पत्त गाडीबाट उत्रिए । ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक भएतिर कुँदे । उनी एक सेकेण्ड पनि त्यहाँ रोकिएनन्, तुरुन्तै फर्केर आइहाले । चालकको सीटमा बस्दै गर्दा उने भने ‘यो छैन, त्यो छैन भनेर झुलाउँछन् त्यो भन्दा त पहिले नै एक सय रुपैयाँको नोट थमाइदियो हिँड्यो ।’
उनी यसरी ट्राफिकलाई पैसा दिनु बाध्यता ठान्छन् । उनी थप्छन् ‘कहिले बेल्ट लाइनस् भन्छन्, कहिले यात्रु बढी भए भन्छन्, उनीहरुले खान खोज्छन् नभए हजार/पन्द्र सयको चलान काट्छन् ।’ चलान काटे साहुले पनि गाली गर्ने गरेको उनको भनाइ छ । उनको सय रुपैयाँको नोट यति शक्तिशाली थियो कि ट्राफिक प्रहरीले उनको गाडीमा कति यात्रु छन्, कागजातहरु छन् कि छैनन् भनेर हेर्ने हिम्मत पनि गरेन ।
बाटामा ९ यात्रु थपिए
धनगढीबाट डोटी आउदाको बाटो पनि रमाइलै छ । कैलालीबाट डोटी, डोटीबाट डडेल्धुरा र डडेल्धुराबाट डोटी । १६ जना हुँदा पनि हाईस खचाखच जस्तै थियो, कैलालीबाट डोटी प्रवेश गरेपछि जोरायल गाउँपालिका-२ छतिवनको मेलखोलाबाट फेरि ६ जना यात्रु थपिए । भित्रबाट यात्रुहरुले ठाउँ छैन भन्दाभन्दै पनि नयाँ यात्रुहरु गाडीमा उक्लिहाले । अनि धनगढीबाट आएका यात्रुहरुलाई गाडीको सहचालकले यता सर्न र उता सर्न भन्न थाल्यो । छुद्र भाषा, छुद्रै व्यवहार पद्रर्शन गर्न थाल्यो । यतिसम्म भयो कि सहचालकले यो सार्वजनिक यातायत हो, तपाईको निजी सवारी साधन होइन, यसमा त दुःख गरेर जानुपर्छ भन्न थाल्यो । यात्रुहरु चुपचाप रहे ।
‘यिनीहरुसँग मुख लाग्नु हुन्न, प्रहरीसँग मिलेका हुन्छन्, बोल्यो भने बाटोमै उतारेर जान बेर लाउँदैनन्’ अत्तरियाबाट सँगैको सीटमा यात्रा गरिरहेका एक व्यक्तिले भने ‘धेरै कचकच भयो भने गाडी फालिदिन पनि बेर लाउँदैनन्, आफू बाँचिहाल्छन्, मर्ने यात्रुहरु नै हो’ यी मित्रको सल्लाहले झसँग बनायो ।
अब हामी यात्रुको संख्या २२ पुगेको थियो । बुडर बजारमा रहेको ट्राफिक पोष्टमा ईन्ट्री त भयो । तर, गाडीमा कतिजना यात्रुहरु छन्, गाडीको सीट क्षमता कति छ, कागजातहरु छन् कि छैनन्, चालकको अनुमतिपत्र छ कि छैन भन्ने कुराको जाँच भएन ।
अत्तरियामा डडेल्धुरा बजारसम्म पुर्याउने बाचा गर्दै दुईजना यात्रुहरुलाई भित्र्याएका थिए सहचालकले । ती यात्रुहरु पनि सजिलै डडेल्धुरा पुग्ने आशमा थिए । तर उनलाई अर्को गाडीमा बस्न लगाइयो । बिचरा, कोचाकोच गर्दै अर्को हाइसमा बसेर गए । उनीहरु गएसँगै दिपायलका लागि तीनजना थपिए । अब यात्रुहरुको संख्या २३ भयो ।
हाँसो लाग्दो ट्राफिक निरीक्षण
“हाइवे चेकिङ्ग छ, सिधै १५ सय काट्दैछन्, अगाडिको मान्छे झारिहाल्” डडेल्धुराको दह ब्यारेक नजिक विपरीत दिशाबाट गइरहेको गाडीका चालकले सूचना दिए । नभन्दै चालकले आफूसँगै बसेका एक व्यक्तिलाई पछाडि बस्न लगाए, सिट बेल्ट कसे । पछाडि मुडामा बसेका व्यक्तिलाई मुडा खाली गरेर एकछिनका लागि सिटमै ‘एड्जस्ट’ गर्न भनियो । मुडा लुकाइयो । सायद मुडा नै ट्राफिक प्रहरीको सत्रु रहेछ ।
अब सुरु भयो एकैछिनका लागि सुरक्षित यात्रा ।
नभन्दै ‘हाइवे चेकिङ्ग’ रहेछ । ट्राफिक प्रहरीको सिट्ठीसँगै हाइसको गति धिमा भयो । ढोका खुल्नासाथ एक ट्राफिक प्रहरीले भित्रपट्टी हेरें । उनले सायद मुडा खोजेका थिए होलान्, भेटेनन् । पूर्ववतझैं उनले पनि गाडीमा कति जना छन्, कति जनाको क्षमता हो, कसरी बसेका छन् भन्ने कुराको खोजी गरेनन् । ‘ल जा’ उनले ठाडो आदेश गरे चालकलाई । चालक हुइँकियो ।
‘बाटोमा चेकिङ्ग छ, मिलाएर आउनु’ मोडहरुमा एक हातले स्टेरिङ्ग काट्दै अर्को हातले फोन कानमा लाउँदै चालकले अन्य चारजना सहकर्मीलाई सूचना दिए । विपरीत दिशाबाट आउने सबै गाडीहरुलाई पनि उनले हाइवे चेकिङ्गको सूचना दिए । “मामाहरु बसेका छन् बाटोमा, मिलाएर जाउ” उनी सबैलाई भन्दै थिए ।
प्रहरीले नै थपिदिए एक यात्रु
२३ यात्रु त गाडीमा थिए नै, डडेल्धुराको स्याउले बजारबाट डोटीका लागि ओरालो लाग्ने क्रममा नेपाल प्रहरीका एक हवल्दारले गाडी रोके । उनले गाडीमा कति यात्रु छन् भन्ने कुराको वास्ता गरेनन् । लामा कपाल पालेका, एक हातमा गितार र अर्को हातमा झोला बोकेका एक व्यक्तिलाई गाडीतिर सार्दै ती हवल्दारले भने ‘उहाँलाई दिपायल पुर्याइदिनू ।’
सहचालकले गाडीमा ठाउँ नभएको कुरा भन्दा पनि उनले ‘मिलाएर लैजाउ न’ भन्ने जवाफ दिए । ती कलाकार रहेछन् । दिपायलमा शुक्रबारदेखि सुरु भएको प्रादेशिक महोत्सवका लागि जान लागेका रहेछन् । ती कलाकार त्यो होचो हाइसमा निहुरिएरै दिपायल पुगे ।
यो प्रतिनिधिमूलक यात्रा मात्रै हो । सुदूरका पहाडी जिल्लाका यात्रा सधैं यस्तै हुन्छन् । अधिकांश दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोकेको र तिव्र गति भएको भन्ने आउँछ । तर, पनि न क्षमताभन्दा बढी यात्रु बोक्न छोडिएको छ, तिव्र गति कम भएको छ ।
गति सीमित गर्नका लागि प्रयोग भएको ‘टाइम कार्ड’ को मूल्य पनि जम्माजम्मी ५० रुपैयाँ निर्धारण भएको रहेछ । अर्थात ट्राफिक प्रहरीलाई ५० रुपैयाँ दियो भने सहजै टाइम कार्डको टाइम फेरिँदो रहेछ । यात्रुहरुको बाध्यताको मजाक उडाउँदैछन् सवारी धनीहरु र चालकहरु । र, त्यसैमा साथ दिँदैछ ट्राफिक प्रहरी ।
यस्तो असुरक्षित यात्राका पछाडिको कारण के हो ?
पहिलो कुरा, यी ‘हाइस’हरुको कतिजना यात्रु बोक्ने क्षमता छ, भन्ने कुराको खोजी हुनु जरुरी छ । भेडाबाख्रा ठेलेजस्तै यात्रु ठेल्ने चालक र सहचालकलाई कारवाही हुने गरी कानुन बनाउनुपर्छ ।
दोस्रो कुरा, निरीक्षण गर्ने ट्राफिक प्रहरीको पनि निरीक्षण हुनु जरुरी छ । गाडीमा कति यात्रु छन् भन्ने कुरासम्म नहेरी सय रुपैयाँमा काम चलाउने प्रहरीले दुर्घटनाको जिम्मेवारी लिने कि नलिने ? जहाँ दुर्घटना हुन्छ, त्यो क्षेत्रको ट्राफिक ईकाईलाई दुर्घटनाको मुख्य दोषी मानिनुपर्छ यदि क्षमताभन्दा बढी यात्रु भएर र तिव्र गतिका कारण दुर्घटना भएको हो भने ।
तेस्रो, क्षमताभन्दा बढी भएका यात्रुहरुलाई उतार्न लाउनुपर्छ । जरिवानाका नाममा चलान काटेर यात्रुहरु बोक्न दिने हो भने उताबाट असुल भएकै छ भन्ने सोच्छन् गाडीधनीले । यात्रुहरु उतार्ने, उनीहरुको टिकटको रकम फिर्ता गराउने र चालकलाई जरिमाना गर्ने गर्नुपर्छ । यसो गर्दा बाटोमै उत्रिनु पर्छ भनेर यात्रुहरु पनि चढ्दैनन् गाडीमा । चालकले पनि झमेलामा लाग्दैन ।
तर, यस्तो गर्न गार्हो छ, किनकि ‘सय रुपैयाँ’ को कुरा छ ।
चौथो, यात्रुहरुलाई पनि जरिमाना गर्ने व्यवस्था ल्याइनु जरुरी छ । सीट क्षमता अनुसार टिकट काटेका यात्रुहरुलाई गाडीमा राख्ने गाडीमा सीट नहुँदानहुँदै जबरजस्ती आएकाहरुलाई पनि कारवाहीको दायरामा ल्याउनु जरुरी छ ।
अन्यथा दुर्घटना हुँदै जाने, यात्रुहरु मर्दै जाने, अङ्गभङ्ग हुँदै जाने, सवारीधनी र ट्राफिक प्रहरी मोटाउँदै जाने हुन्छ । आफन्त गुमाएकाहरुले शोक मनाउँछन्, अङ्गभङ्ग भएकाहरु आफ्नै जीवनप्रति घृणा गर्ने तहमा पुग्छन् । यस्तो पीडाबाट मुक्त हुने बाटो कहिले सोच्ला सरकारले ?
प्रतिक्रिया 4