+
+

कार्यान्वयन हुन सकेन सुन्तला बगैंचा सुदृढिकरण कार्यक्रम

कृषकको आकर्षण र कार्यक्रमको प्रभावकारिता घट्दो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २९ गते १४:४१

२९ फागुन, गोरखा । सुन्तलाको पकेट क्षेत्र गोरखामा सुन्तला बगैंचा सुदृढिकरण कार्यक्रम कार्यान्वयनमा ढिलाइ भएको छ । माघ महिना भित्रै कार्यक्रम लागू गर्न उपयुक्त हुने भएपनि हालसम्म आवेदन संकलनको काम मात्र सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘फागुन महिनामा सुन्तलाको नयाँ पालुवा पलाइसक्छ त्यसैले माग महिना भित्रै सुदृढिकरणको काम गरिसक्नुपर्ने हो,’ केन्ऽका प्रमुख दुर्गा पण्डितले भने, ‘कार्यक्रम लागू गर्न ढिलाइ भएकै हो ।’ संघीय कार्यक्रम भएकाले प्रदेश हुँदै जिल्ला सम्म आउँदा केही प्रक्रियागत ढिलाइ भएको उनले बताए ।

कार्यान्वयनमा ढिलाइ हुदाँ यस वर्ष कृषकहरुले कार्यक्रम प्रति खासै रुची देखाएका छैनन् । कार्यक्रमको प्रभावकारिता पनि घट्दो छ ।

कार्यक्रम कार्यान्वयनका लागि केही दिनअघि कार्यालयले आवदेन माग गरेको थियो । तर, मात्र चार वटा कृषक समूहले निवदेन दिएका छन् ।

सुन्तलाको पकेट क्षेत्र रुपमा रहेका ठाउँका कृषकहरुले निवेदन दिन रुचाएको देखिएन । कार्यान्वयनमा ढिलाइ भएका कारण उल्लेख्य मात्रामा निवेदन नआएको कार्यालयको भनाइ छ ।

समयमै कार्यक्रम आएपनि ढिलाइ गरी रकम आउँदा कार्यान्वयनमा ढिलाइ भएको केन्द्र प्रमुख पण्डित बताउँछन् । ‘रकम नआएसम्म सूचना जारी गर्न मिलेन, रकमका कारण सूचना जारी गर्न पनि ढिलाइ भयो,’ उनले भने ।

बगैंचा सुदृढिकरण गर्न यसवर्ष ढिला भइसकेको मनकामनाको डाँडबारी कृषि सहकारी संस्थाका अध्यक्ष ऋषि आले बताउँछन् । ‘पहिले गर्नुपर्ने थियो तर अहिले बोटमा फुल फुल्न सुरु भइसक्यो अव गरेर काम छैन,’ उनले भने ।

ढिलाइ भएकै कारण निवेदन नदिएको उनी बताउछन् । अघिल्ला बर्षहरुमा पनि वगैचा सुदृढिकरणका लागि कृषि कार्यालयले दिएका सामग्रीहरु प्रयोग गरेपनि प्रभावकारी नभएको उनको भनाइ छ । ‘बोडो मिक्चर र बोडो पेष्टले ठिकै काम गर्‍याथ्यो तर रासायनिक मल, पोटास, यूरियाले बोटलाइ असर गर्‍यो,’ उनले भने ।

बगैंचा सुदृढिकरण कार्यक्रमका लागि चालु आर्थिक वर्ष चार लाख ७८ हजार रकम बिनियोजन भएको छ । कुल आठ हेक्टर क्षेत्रफलमा उक्त कार्यक्रम लागू हुने कार्यालयका प्राविधिक सहायक नारायणप्रसाद घिमिरेले बताए । ‘एक हेक्टर बराबर ५९ हजार रकम पाउने प्रावधान छ,’ उनले भने, ‘जम्मा चार वटा समूहको आवेदन परेको छ, दुई/दुई हेक्टरमा बिभाजन गरेर उनीहरुलाई प्रति समूह एक लाख १९ हजार रकम बराबरको सामान उपलब्ध गराउँछौ ।’

बगैंचा सुदृढिकरणका लागि गोठे मल, कम्पोष्ट मल, निलो तुथो, चुना, करौती, बिषादी, यूरिया लगायतका सामग्री उपलब्ध गराइने उनले जानकारी दिए । बुधवारबाट वितरणको काम सुरु गर्ने उनले दावी गरेका छन् ।

जिल्लाको आठ सय भन्दा बढी हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । गोरखाको सुन्तला भनेपछि देशबिदेशमा प्रख्यात छ ।

ठूलो र रसिलो दाना भएकाले यसले छुट्टै पहिचान समेत बनाएको छ । तर, पछिल्लो समय बोट मर्दै जाने, टुप्पा सुक्ने र राम्रो दाना नलाग्ने भएपछि सुन्तला कृषकहरु चिन्तित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?