
३, जेठ काठमाडौं । सिंहदरबारस्थित एक मन्त्रालयमा कार्यरत उपसचिवले सेयरबाट राम्रो कमाई हुने कुरा साथीबाट सुने । साथीले उनलाई बजार बढेने क्रममा रहेको र अहिले लगानी गरे टन्नै नाफा गर्न सकिने गफ दिए ।
नाम बताउन नचाहने ती अधिकारी साथीको कुरो सुनेर आफूले कर्मचारी सञ्चय कोषबाट ऋण काढेर करिब ३० लाखको सेयर खरिद गरेको बताउँछन् । तत्काल लगानी गर्दा केही महिनामै नाफा दोब्बर हुने कुरा साथीले उनलाई बताएका थिए ।
‘काठमाडौंमा एक टुक्रा घडेरी छ, लगानी दोब्बर भए सेयर बेचेर घर बनाउँला भन्ने सोच थियो,’ ती अधिकारी भन्छन् ।
अहिले उनी ४ वर्षअघि गरेको त्यो ३० लाख लगानी कति पुग्यो बताउनै नसक्ने अवस्थामा छन् । ती अधिकारीले सञ्चय कोषलाई तिरेको ब्याज र किनेको सेयरबाट प्राप्त प्रतिफल निकै टिठलाग्दो छ ।
उनी भन्छन्, ‘साथीले पनि अर्को अरुको लहैलहैमा हिँडेको रहेछ, उ र म दुवै डुब्यौं ।’ अब त्यो बेला खरिद गरेको सेयर कहिले बेच्ने उनलाई थाहा छैन् ।
ती अधिकारीले सेयर किनेको बिन्दुमा नेप्से परिसूचक पुग्न बजार अझै चार सय अकंले बढ्नु पर्छ । लहैलहैमा सेयर बजार पस्दा कसरी लगानीकर्ता डुबेका छन् भन्ने उनी एक उदाहारण मात्रै हुन् । सेयर बजारको यस्तै यस्तै भोगाइ भएका लगानीकर्ताहरु ठूलै संख्यामा छन् ।
नेपाली सेयर बजारमा हल्लाकै भरमा कुद्ने जमात निकै ठूलो छ । आफूले सेयर किन्न खोजेको कम्पनीको अवस्था नजानी लहडमा लगानी गर्ने धेरै छन् ।
नयाँ वर्ष २०७६ सुरुवातसँगै सेयर बजारमा केही सकारात्मक सुधार देखिएको छ । बजार पनि दुई सय अंकले उकालो लागेको छ भने कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । यही मौकामा कम्पनी विशेषको नाम लिएर पुनः सेयर बजारमा चलखेल सुरु भएको चर्चा सर्वत्र चल्न थालेको छ ।
बजार बढोत्तरीे नियमित
सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट निष्काशन लगभग अन्तिम चरणमा पुगेका कारण अहिलेको बजार बढोत्तरी परम्परागत नै रहेको ठूला लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । उनको बुझाईमा सेयर बजार बिकासका केही नयाँ आधार बनेका कारण बजार बढ्न रोकिनुपर्ने कारण छैन । बजारले बुलिस ट्रेन्ड समातेको उनको विश्लेषण छ ।
सेयर विश्लेषक विष्णु बस्याल पनि बजारले बुलिस ट्रेन्ड समातेको आंकलन गर्छन् । अबको केही महिना बजार सकारात्मक नै रहने भएता पनि यति नै अकंमा पुग्छ भनेर किटान गर्न नसकिने उनको धारणा छ ।
अहिले सेयर किन्ने बेला हो ?
दोस्रो बजारमा तीन थरी स्वभावका लगानीकर्ता छन् । एकाथरी ऋण धन गरेरै छोटो समयका लागि बजारमा सेयर खरिद बिक्री गर्छन् । तुलनात्मक रुपमा उनीहरु बजारबारे केही बढी नै जानकारी पनि राख्छन् । अर्काथरी लगानीकर्ताहरु बचेको पैसा सेयरमा लगानी गरौं भन्ने पनि हुन्छन् । उनीहरु बजारबारे केही मात्रै ज्ञान राख्छन् । तर ऋण गरेर सेयर किन्ने समूह बजारमा सबैभन्दा बढी प्रताडित छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेले कुन सेयर किन्ने र बेच्ने भनेर लगानीकर्तालाई निर्देशन गर्न सक्दैन । कम्पनीको आर्थिक अवस्था मुल्याङ्कन गरेर लगानीकर्ताले नै सेयर खरिद बिक्रीको निर्णय गर्ने हो । खासगरी लगानीकर्ताहरुले देशको आर्थिक, राजनीतिक वातावरण र कम्पनीको वित्तिय अवस्थालाई हेरेर लगानी गर्नुपर्ने हुन्छ ।
लगानीकर्ता रौनीयार पनि कम्पनीको अवस्थाबारे आफै गहिरो अध्यायन गरेर मात्रै लगानी गर्न सुझाब दिन्छन् । भरसक दोस्रो बजारमा ऋण गरेर लगानी नगर्न नयाँ लगानीकर्तालाई रौनियारको सुझाव छ ।
सेयर विश्लेषक बस्याल निस्क्रिय बसेको पैसा सेयरमा लगानी गर्न अहिले उत्तम समय भएको बताउँछन् । ऋण बिनाको लगानीले लामो समयमा प्रतिफल दिने उनको तर्क छ । हल्लाको भरमा अध्ययन नै नगरी कुनै पनि कम्पनीको सेयर किन्नु चै हानिकारक हुने उनीहरुले बताए ।
प्रतिक्रिया 4