
१० जेठ, काठमाडौं । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल (ड्याम) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जेठ २१ गतेपछि लामाबगरको हेडवर्क्सस्थित बाँधस्थलमा पानी थुनेर परीक्षण थाल्ने तयारी गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण अन्तरगतको तामाकोसी हााइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठकाअनुसार बाँधको हाइड्रोलिक गेट जोड्ने काम लगभग सकिएको छ ।
परीक्षणपछि बाँधमा लिकेज रहे/नरहेको पत्ता लाग्नेछ । ‘हामी अब इम्पाउन्डिङको तयारी गरिरहेका छौं । यो भएपछि तामाकोशीमा क्रमैसँग विभिन्न संरचनाहरुको परीक्षण थाल्ने बाटो खुल्नेछ,’ श्रेष्ठले भने ।
बाँधपछि बालुवा छान्ने संरचनाको परीक्षण हुनेछ । सुरुङमार्गमा पानी भर्ने काम भने सबै भौतिक संरचनको काम सकिएपछि मात्रै सुरु हुनेछ ।
आगामी १५ पुस २०७६ (३१ डिसेम्बर २०१९) भित्रै तामाकोसी आयोजनाको ६ मध्ये ७६ मेगावाटको पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य छ । त्यसका लागि गर्नुपर्ने कामहरुको कार्यातालिका नै बनाइएको छ ।
कार्यतालिकाअनुसार काम भए/नभएको हेर्न विद्युत प्राधिकरणको टोली प्रत्येक महिना निर्माणस्थलमै पुगेर समीक्षा गर्ने गरेको छ । आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिलाई प्राधिकरणले समयमै काम सक्न खबरदारी गरिरहेको छ ।
बाँधस्थलको हाइड्रो मेकालिकलतर्फ काम गरिरहेको भारतीय ठेकेदार टेक्सम्याकोलाई प्राधिकरण प्रमुख कुलमान घिसिङले पटक–पटक चेतावनी दिएका थिए । लगाताको खबरदारीपछि टेक्सम्याकोले बाँधस्थलमा हाइड्रोलिक गेट जोड्ने काम पछिल्लो कार्यतालिका बमोजिम नै सकाएको छ ।
आयोजनाको बाँध स्थलमा अन्तिम चरणमा ‘फिनिसिङ’को काम भइरहेको छ । सुरुङभित्रको काम पनि लगभग सकिने क्रममा छ । आयोजनाको ‘सर्ज’ टनेललाई फिनिसिङ दिन सिभिल निर्माणका जिम्मा पाएको सिनो हाइड्रोले काम तीव्र गरेको छ ।
स्थानीय भैँसे खोलाको पानी तामाकोसीको सुरुङमा खसाउन संरचना तयार हुँदैछ ।
आयोजनाको माथिल्लो र तल्लो पाइपसहित ठाडो सुरुङ (पेनस्टक साफ्ट)मा ७३२ मिटर पेनस्टक पाइप जडानको काम पनि भइरहेको छ । तल्लो सफ्टमा भइरहेको कामको गति भने सन्तोषजनक छैन । भारतीय टेक्सम्याकोकाले काम गर्न ढिलाई गरेपछि इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई जिम्मा दिइएको छ । तर, एन्ड्रिजले पनि ढिलाई गरेको छ ।
माथिल्लो पेनस्टकको काम भारतीय कम्पनी टेक्सम्याकोले नै गरिरहेको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम बाँडफाँटको त्रिपक्षीय सम्झौता भएको थियो ।
आयोजनाका लागि अहिले पेनस्टक साफ्टको काम नै बढी अप्ठ्योरो र चुनौतिपूर्ण मानिएको छ ।
तामाकोसीमा भूमिगत विद्युत गृहमा टर्वाइन, जेनेरेटर लगायतका उपकरण जडान भइसकेको छ भने प्रसारण लाइन तथा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
आयोजनामा कर्मचारी संचय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २÷२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैयाँ नेपाल सरकारले ऋण लगानी गरेका छन् । थुप्रै अवरोधका बाबजुद आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ र यो आयोजना बनेपछि उर्जामा नेपालले ठूलो फड्को मार्ने सरकारको विश्वास छ ।
प्राधिकरण प्रमुख घिसिङका अनुसार तामाकोसी बनेपछि पिक आवर (सबैभन्दा बढी विजुली माग हुने विहान–बेलुकीको समय) मा यो आयोजनाबाट ४५६ मेगावाट उत्पादन गर्न सकिन्छ । सुख्खा याममा साँझको समयममा ४ घण्टासम्म (पिकिङ) पानी थुनेर चलाउने योजना छ । अहिले नेपालमा पिक आवरको व्यवस्थापन गरेरै लोडसेडिङ हटेको हो । अन्य समयमा नेपालको सबै उत्पादित बिजुली पनि खपत हुने अवस्था छैन ।
माथिल्लो तामाकोसी साँझमा चलाए पिक आवरमा समेत भारतबाट बढीमा सय मेगावाट विद्युत ल्याउँदा पुग्छ । ‘हामी अन्य आयोजनाबाट ६ सय मेगावाट जति पिकिङ गर्छौं,’ उनी भन्छन्, ‘त्यसो गर्दा हिउँदको पिक आवरमै भारतबाट न्युनतम् विजुली ल्याउँदा पुग्छ ।’
यो आयोजना बनेपछि वर्षाको समयमा नेपालले विजुली बेच्न पनि सक्छ । त्यो परिमाण हिउँदमा नेपालले भारतसँग किन्नेभन्दा बढी हुने विद्युत प्राधिकरणको अनुमान छ ।
भारतको पावर एक्सचेन्ज मार्केटमा विजुली बेच्ने सम्झौता भएकाले बढी उत्पादन भएको दिन भारतीय बजारमा विजुली बेच्न सक्ने घिसिङले बताउँछन् । ‘यो आयोजना आएपछि प्राधिकरणको मात्रै हैन, समग्र ऊर्जा क्षेत्रको आत्मविश्वासले नयाँ उचाई लिन्छ,’ उनी भन्छन्, ‘प्राधिकरणको आयमा मात्र वृद्धि हुँदैन, विजुली आयातमा भइरहेको ठूलो खर्च पनि बचत हुन्छ ।’
प्रतिक्रिया 4