
बढैयाताल गाउँपालिका–४, खैरेनीकी १० वर्षीया राधा पासी विद्यालय भर्ना हुन नपाउँदा शिक्षा लिनबाट वञ्चित भएकी छन् ।
घर नजिकको विद्यालयले सुस्त श्रणव शक्ति भएको भन्दै भर्ना लिन इन्कार गरेपछि उनी पठनपाठनबाट वञ्चित भएकी हुन् ।
बालिकाका बुबा राधेश्याम पासीले विद्यालयले सुस्त श्रवण शक्ति भएको भन्दै भर्ना गर्न अस्वीकार गरेको गुनासो गरे ।
राधाको उमेर पाँच वर्ष पुग्नेबित्तिकै बुबा राधेश्याम पासीले नजिकैको ज्ञानदोय माविमा भर्ना गर्न लगेका थिए । तर विद्यालयले सुस्त श्रणव शक्तिका विद्यार्थीलाई पढाउने छुट्टै व्यवस्था नभएको र अन्य सामान्य विद्यार्थीसँग राखेर पढाउन नसकिने भन्दै भर्ना लिन मानेन ।
राधा अरु सामान्य मानिससरह प्रष्टसँग बोल्न सक्दिनन् । जन्मैदेखि उनको बोली आउँदैन । आवाजबाट उनीले आफ्ना कुरा अरुलाई भन्न सक्दिनन् । अन्य विद्यालयमा पनि पटक–पटक भर्ना गर्ने प्रयास गरे, बुबा राधेश्याम पासीले । तर पढाउन नसकिने भनेर फिर्ता पठाइयो ।
घर छेउबाटै गाउँका अरु बालबालिका कापीकलम बोकेर पढ्न गइरहेका हुन्छन् । राधाको पढने इच्छा भए पनि आँगनबाट उनीहरुलाई टुलुटुलु हरेर बस्नुको विकल्प छैन । उनीमा सुस्त श्रवण शक्ति छ । उनी साङ्केतिक भाषा मात्रै बुझ्दछिन् र बोल्दछिन् ।
नेपाल सरकारले विद्यालयमार्फत आधारभूत तहको शिक्षा अनिवार्य र विद्यालय जाने उमेरका बालबालिका अनिवार्य भर्ना गर्ने नीतिसहित अभियान चलाउँदै आएको छ । शिक्षाको लागि अभियान चालेको भए पनि राधाजस्ता बालबालिका ती नीति र अभियानभित्र पर्न सकेका छैनन् । उनीहरुका लागि आफ्नै घर नजिकको विद्यालयमा विशेष कक्षासहितको विद्यालय नहुँदा शिक्षाबाट वञ्चित हुनुपरेको छ ।
स्थानीयवासी गणेश विक यस अवस्थाले सरकारले भन्दै आएको सबैलाई अनिवार्य शिक्षाको नाराले साकार रूप पाउनेमा आशङ्का उत्पन्न भएको बताउँछन् ।
प्रतिक्रिया 4