+
+

साम्राज्ञीको फोटोका पछाडि दौडधूप किन ?

कालिका सिवाकोटी कालिका सिवाकोटी
२०७६ साउन १९ गते १८:४९

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका इन्डोनेसियाको बालीस्थित समुन्द्र किनारमा अनेक पोजमा खिचिएका तस्वीरहरु भाइरल बने । साम्राज्ञीको तस्वीरलाई लिएर समाचार नबनाउनेहरु सायदै होलान् । उनको पोजबारेमा यति समाचार बने कि, साम्राज्ञीले दिक्क मानेर प्रतिक्रिया दिइन् ।

यस्ता समाचारबाट साम्राज्ञीले चर्चित हुनुको फाइदा उठाइन् वा घाटा बेहोरिन् ?

साम्राज्ञीको समुन्द्र किनारमा रमाइरहेको तस्वीरका पछाडि सञ्चार माध्यममात्र होइन, हाम्रो पुस्ता अर्थात् २० पार गरेर ३० नकटेका युवतीहरु पनि लागे । खासगरी ‘भर्चुअल’ समाजमा रमाइरहेका युवतीहरुलाई नजिकबाट हेरियो भने यो निचोडमा पुग्न सकिन्छ, उनीहरु साम्राज्ञीका बलिया समर्थकहरु हुन् ।

केही समयअघि नेपाली चेली कञ्चन अमात्यले संयुक्त राष्ट्र संघमा नेपाली महिलाहरुको आर्थिक सशक्तीकरणका बारेमा विश्वको ध्यान तान्ने गरी बोलिरहेकी थिइन् । तर, त्यतिबेला कञ्चनका बारेमाकसैले चासो राखेन । ‘भर्चुअल’ संसारमा रमाइरहेका कसैले पनि कञ्चन जस्तो बन्ने सपना देखेनन् ।’

बलिउडका कट्रिना कैफ र अनुष्का शर्माहरुको प्रेम कथा कण्ठ भएका हाम्रो पुस्ताका युवतीहरु बर्दियाकी जुवेदा खातुन र सप्तरीकी गुलावदेवी राम चमारका बारेमा पुरै बेखबर छन् । ‘जुवेदा खातुन र गुलावदेवी राम चमार को हो ?’ भनेर सोध्यो भने सायद यसको उत्तर कमैले मात्रै दिन सक्छन् । भलै उनीहरुका कथा बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयको पाठ्यक्रममा समावेश छन् । यी दुईको संघर्षको कथा हाम्रो पुस्ताका बेलायती युवायुवतीहरुले पढिरहेका छन् ।

मैले यहाँनेर साम्राज्ञीलाई गलत भन्न खोजेको हुँदै होइन । उनी आफ्नो क्षेत्रमा स्थापित एकजना सम्मानित अभिनेत्री हुन् । हामीले उनलाई सम्मान गर्नुपर्छ ।

यहाँ त ‘भर्चुअल’ संसारमा पहुँच भएकाहरु हाम्रा पुस्ताका बहुसंख्यक युवायुवतीहरुको रुचि कता छ ? वा उनीहरुको आदर्श के छ ? त्यो मात्रै तुलना गर्न खोजिएको हो ।

ती युवती, यी युवती

हामीलाई थाहा छ, समाज वर्गीय छ । हाम्रो पुस्ताका युवतीहरुले पनि दुई खालको संसारमा रमाइरहेका छन् । पहिलो जो दुरदराजका पहाडी बस्तीहरुमा, तराई मधेसका वस्तीहरुमा बिहान बेलुकी पसिना बगाइरहेका छन् । अनेकौं अवरोध र समस्याका बीच पनि उनीहरु अलिकति समय बचाएर पढ्न चहान्छन् ।

यतिमात्रै होइन, मुम्बईको कोठीमा खाँशु बगाउँदै देश फर्किने दिन कुरिरहेका हाम्रा दिदीबहिनीहरु पनि छन् । उनीहरुले चाहेर पनि यो समयसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । उनीहरु विभेदविरुद्ध बोल्न चहान्छन्, तर समस्याको धेरै ठूलो चाङ छ । उनीहरुले नहुनुको पीडा भोगिरहेका छन् ।

ठीक त्यसैगरी अर्को संसार पनि छ ।

जो दैनिक फेसबुक र इन्ष्टाग्रामहरुमा ‘सेल्फी’ तस्वीर हाल्छन् । टिकटकमा अलि भद्दा पोशाकसहित दैनिकजसो अभिनय गरेर भिडियो पोष्ट गर्छन् । उनीहरु मध्यम र उच्च वर्गको प्रतिनिधित्व गर्छन् । उनीहरुसँग पढ्नका लागि अलिकति समय चोरिरहनुपर्ने बाध्यता छैन । उनीहरुसँग समय मात्र छैन, मनैदेखि केही गर्न खोज्दा सबैखालका अवसरहरु पनि छन् ।

तर, यो समूह न संविधानको धाराबारेमा जानकार छन् । न विश्वले पढिरहेको जुवेदा खातुनहरुको कथाका बारेमा नै चासो राख्छन् । उनीहरुलाई मात्र थाहा छ, ‘फेसबुक, इन्स्टाग्राम र टिकटक । अनि त्यसमा को ‘हिट’ भइरहेको छ र हुने कसरी ?’

आदर्श को हो ?

पछिल्लो समयमा आम सञ्चारको आयम बदलिएका छन् । खासगरी सामाजिक सञ्जालहरुको बिकास र प्रयोगले गर्दा सञ्चारको परिभाषा नै बदलिएको छ । फेसबुक, इन्स्टाग्राम युट्युवहरुमा यो वा त्यो प्रकारले हिट हुनेहरु नै समाजको आइकनको रुपमा उभिरहेको हुन्छ । ‘भर्चुअल’ संसारमा हिटहरुको पछाडि कुद्ने ठूलो जमात छ । तर, हाम्रो ‘भर्चुअल’ संसारले हिट बनाइरहेकाहरु हाम्रा आदर्श हुन् वा होइनन् ? कम्तीमा हामीले यो खुट्याउनुपर्छ ।

हामीकहाँ पछिल्लो अवस्थामा यस्तो एउटा ठूलो जमात तयार भइरहेको छ, जो अवसर र आर्थिक रुपमा बलियो छन् उनीहरु । यदि उनीहरुले चाहना राख्ने हो भने सबैखालका वातावरण तयार छ । हुन्छ । तर, उनीहरुलाई समाजमा के भइरहेको छ ? कुनै मतलब छैन । हिजो जे भएको थियो, त्यसको पनि उनीहरुलाई कुनै वास्ता गर्दैनन् ।

उनीहरु साहना प्रधान, विद्यादेवी भण्डारी, सुशीला कार्कीहरु कोही चिन्दैनन् । अष्टलक्ष्मी शाक्य, ओनसरी घर्ती, भवानी राणा, पार्वती थापा, रामकुमारी झाँक्री, पम्फा भुसाल, जयपुरी घर्ती, पुष्पा भुसाल, अमृता थापाहरुले के बोलिरहेका छन्, केही मतलब छैन ।

त्योभन्दा बढी टिकटकको पछिल्लो हिट अनुहारबारे सबै थाहा पाउँछन् । निलम कार्की ‘निहारिका’ शिवानी सिंह थारु, सरस्वती प्रतीक्षा, सरस्वती ज्ञवाली, अर्चना थापाहरुले केही लेखिरहेका छन् उनीहरुलाई कुनै मतलब हुँदैन । इन्स्टाग्राममा कसको टु पीसले हिट खाइरहेको छ ? त्योबारेमा उनीहरु अपडेट हुन्छन् ।

आज नेपाली महिलाहरुको अवस्था एक हिसाबले संघर्षको अवस्था नै हो । जनआन्दोलनको जगमा बनेको आन्तरिम संबिधान र संबिधानसभाले निर्माण गरेको संविधानले महिलाहरुको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरेको छ ।

नेपालको संविधानको धारा १८ ले समानताको हकबारे भन्छ, ‘कानुनका दृष्टिमा सबै समान हुनेछन् भन्दै राज्यले नागरिकबीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, भाषा, क्षेत्र, वैचारिक आस्था वा कुनै आधारमा भेदभाव गर्ने छैन ।’

तर, अवस्था त्यस्तो छैन । संबिधानमा ग्यारेन्टी गरिएको अधिकार कार्यान्वयनको लागि जागरण अनिवार्य छ । यस कारण पनि टिक टकमा भाइरल भएका कुनै युवती भन्दा नवीन सोचमार्फत विश्वमा परिवर्तनको सन्देश दिएर फोब्र्सको सूचीमा दरिने आयुषी केसीहरु हाम्रो आदर्श बन्नुपर्छ ।

स्विमिङ्ग पुलमा टु पीसमा पोज दिएर हिट खाइरहेकाहरुलाई भन्दा अल्ट्रा रेसमा दौडिएर विश्व च्याम्पियन बनिरहेकी मिरा राईहरुको कथाले हामीलाई छुनुपर्छ । हाम्रो आदर्श उनीहरु हुनुपर्छ ।

हामी नेपाली महिलाहरुलाई हाम्रो समय र समाजले समुन्द्र किनारतिरको पोजतिर ढल्किने सुविधा दिइरहेको छैन ।

त्यसैले अहिलेलाई हाम्रो आदर्श बदल्ने कि ?

(सिवाकोटी पत्रकार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?