
२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउनुभन्दा अघिल्लो दिन शुक्रबार अपरान्ह भारतको तामिलनाडू राज्यको समुद्री तटमा अवस्थित महाबलीपुरम जाँदैछन् । राष्ट्रपति सीले आज एक दिन मोदीसँग बिताउनेछन् र शनिबार अपरान्ह काठमाडौं आइपुग्नेछन् ।
आखिर मोदी र सीवीचको दोस्रो अनौपचारिक बैठक तामिलनाडूको महाबलीपुरममै किन आयोजना गरियो ? यसका पछाडि ऐतिहासिक सन्दर्भ रहेको भारतीय मिडियाले लेखेका छन् ।
महाबलीपुरममा प्रशस्त मन्दिरहरु छन् । यो ठाउँको ऐतिहासिक नाता चीनसँग पनि जोडिएको छ । यहाँका शासकले विगतमा तिब्बतको सीमा सुरक्षाका लागि चीनसँग सम्झौता गरेका थिए ।
समुद्रको किनारमा रहेको महाबलीपुरम शहर पल्लव वंशकका राजा नरसिंहदेव बर्मनले बसाएका थिए । यहाँ पाइने गरेका पुराना चीनी सिक्काले पनि चीनसँगको पुरानो व्यापारलाई पुष्टि गर्छ ।
चीनले तिब्बतको सीमा सुरक्षाका लागि विगतमा पल्लव बंशका तेस्रो राजकुमार बोधिधर्मका साथ सम्झौता गरेको इतिहास छ । पछि उनी बौद्ध भिक्षु बने । यही कारण चीनमा समेत बोधि सम्प्रदायले सम्मानित स्थान पाएको छ ।
महाबलीपुरममा सीको कार्यतालिका
शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सी जिनपिङलाई अर्जुनको तपस्या स्थल, गणेश रथ र पञ्चरथ, शोरे टेम्पल आदिको भिजिट गराउने छन् ।
मोदी १२ बजे चेन्नेई एयरपोर्टमा ओर्लिएका छन् । चेन्नेईबाट उनी हेलीकोप्टरमार्फत महाबलीपुरम एयरपोर्टमा पुग्नेछन् ।
चिनियाँ राष्ट्रपति दिउँसो डेढ बजे चेन्नेई एयरपोर्टमा उत्रँदा विमानस्थलका अन्य उडानहरु रोकिनेछन् । विमानस्थलबाट सी होटल आइटीसीका लागि प्रस्थान गर्नेछन् । र, त्यहाँ केहीबेर आराम गरेपछि उनी महाबलीपुरमतर्फ प्रस्थान गर्नेछन् ।
अपरान्ह सी जिनपिङले मोदीसँगै अर्जुनको तपस्यास्थल, पंचरथ, मल्लमपुरमका मन्दिरहरुको भ्रमण गर्नेछन् ।
साँझ त्यहाँ सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ । त्यसपछि मोदी र सीले सँगै डिनर लिने कार्यक्रम छ ।
भोलिपल्ट शनिबार बिहान १० देखि १०ः ४० सम्म सी र मोदीवीच कुराकानी हुनेछ भने १०ः ५० देखि ११ः ४० सम्म भारत–चीनवीच प्रतिनिधिमण्डलवीच बैठक हुनेछ ।
बैठकपछि चिनियाँ राष्ट्रपतिको सम्मानमा दिवाभोजको आयोजना हुनेछ । अपरान्ह मोदी दिल्लीतर्फ लाग्नेछन् भने सी नेपालका लागि प्रस्थान गर्नेछन् ।
मोदी र सीवीच आज हुँदै गरेको यो दोस्रो अनौपचारिक भेटघाट हो । अघिल्लो वर्ष चीनको वुहानमा मोदी र सीवीच यस्तै अनौपचारिक छलफल भएको थियो । यस्तो अनौपचारिक छलफलले भारत र चीनको सम्बन्धलाई प्रगाढ बनाउने दुबै देशका अधिकारीहरुको विश्वास छ ।
प्रतिक्रिया 4