
२० असोज, काभ्रे (ठकुरी गाउँ) । माथि महाभारत पहाडको लेक, घरमुन्तिरका बस्ती । अनि अविच्छिन्न बगिरहेको रोशी खोलाको रहरलाग्दो गति । पनौती नगरपालिका–२, ठकुरी गाउँका पूर्णबहादुर शाही (५५) सडक नजिकै नयाँ घर बनाएर बसेका थिए ।
नजिकै खुलेको क्रसर उद्योगमा काम गर्न थालेपछि शाहीले आम्दानीको बाटो पनि पाएका थिए । ऋणधन गरेर ३ वर्षअघि एउटा टिपर किनेपछि परिवारमा अझ सुविस्ता थपिएको थियो ।
११ असोजको राति आएको बाढीले बस्ती नै बगरमा परिणत गरिदिएपछि शाही परिवार सहित पुरानो घरमा नै उक्लिएका छन् । तर अब त्यहाँबाट देखिने दृश्य बदलिएको छ ।
घर वरिपरिका सबै पाखो अत्याशलाग्दो गरी पहिरोले कोपरेको छ । रोशी खोला खोला जस्तै देखिंदैन । उनको घरमुनिको बस्तीको नामोनिशान छैन । त्यहाँ केवल रोडाढुंगाको बगर मात्रै देखिन्छ । र, देखिन्छ–बाढी पहिरोबाट बच्न बस्ती छोडेर शहर झरिरहेका छिमेकीहरुको लस्कर ।
‘बल्लबल्ल बनाएको घर सबै बगर बन्यो । धन्न पुरानो घर केही नगरेकाले ओत पाइएको छ’, शाहीले खोलातिर हेर्दै भने, ‘बाउबाजेले बनाएको यो घर नभइदिएको भए कहाँ जान्थ्यौं होला !’
काम गर्दै आएको क्रसर उद्योग पनि बाढीले क्षति पुर्याएपछि एक हप्तादेखि फुर्सदमा छन् । शुक्रबार (१८ असोज) को दिउँसो अनलाइनखबरको टोली पुग्दा शाही दम्पती घरमै थिए । उनका छोरा बाढीले पुरेको टिपर खोलाबाट बाहिर निकाल्न बगर झरेका थिए । ‘२५ लाखमा किनेको टिपर बाढीले उत्तानो पारिदियो । ऋण अझै तिर्नै बाँकी नै छ । बीमा गरेको भएर अलिअलि दिन्छ कि भनेर छोराले आश गरिरा’छ’, शाहीले भने ।
शाहीका अनुसार ठकुरी समुदायको बाहुल्य भएको हुनाले त्यो गाउँको नाम नै ठकुरी गाउँ रह्यो । गाउँमा ५० भन्दा बढी घरगोठ थिए ।
सडक नजिक बनेका घरहरु रोशी खोलाको बाढीले लग्यो । आफ्नै घर र जमिन कहाँ थियो भनेर पुर्जा पल्टाउनुपर्ने अवस्था आयो । बचेका घरहरु पनि पहिरो र बाढीको क्षतिले बस्न लायक रहेनन् ।
बाढी पहिरोले घरजमिन लगेपछि गाउँ छोड्नेको ताँती लागेको छ । आँगनमा बसेर उनी गाउँ छोड्नेहरुलाई हेरेर दिन कटाइरहेका छन् । शाही दम्पती बीच गाउँ छाड्ने कि बस्ने भन्ने बहस छ ।
पूर्णबहादुरकी श्रीमती अनिता शाहीलाई एकछिन पनि यहाँ बस्न मन छैन । तर, पूर्णबहादुरलाई बुढेसकालमा पुस्तौंदेखि बस्दै आएको थातथलो छोडेर अन्त जानै मन छैन ।
‘हेर् बुढी काल भनेको जीवनमा एकपटक मात्रै आउँछ । काल आएको भए हामी मरिहाल्थ्यौं । जीवन देख्नु रैछ बाँच्यौं, अब जाने कुरा नगर्’, अन्त कतै बास व्यवस्था गर्न अनिताले कर गरेपछि उनी झोक्किए, ‘त्यहाँ (शहरी क्षेत्र) तँलाई कसैले भात खुवाउँछ ?’

अनिताका अनुसार गाउँमै सबैभन्दा बढी आलु फल्ने बारी थियो । पोहोर साल ६० बोरा बेचेका थिए । यो वर्ष खन्ने बेला भएको थियो । ‘खन्नेबेला भएको आलु सबै लगेर गयो’, उनले भनिन्, ‘हुन त जमिन नै गयो, त्यही पनि त्यत्रो दु:ख गरेको अन्नको बढी माया लाग्ने रैछ ।’
तलबाट बाढीले खाएको छ, माथिबाट पहिरो । हेर्दाहेर्दै यो गाउँमा १०/१२ मात्रै भएपछि अनितालाई बजारतिर सुरक्षित बस्न पाए हुन्थ्यो भन्ने छ । श्रीमानतिर हेर्दै भनिन्, ‘मान्छेहरु बस्तुभाउ त्यतिकै छोडेर हिंडिसके । हामी मात्रै चिहानघारी भएको गाउँ रुँघेर के गर्ने हो र ?’
पूर्णबहादुर फेरि कर्के नजर लगाउँदै श्रीमतीलाई सम्झाउन थाल्छन् । ‘सबैले छोडेर गएपछि यो गाउँ कसले बनाउँछ ? बजारमा गएपछि चाहिँ नमरिने हो र ? आत्तिनु हुँदैन, यो गाउँ हामीले नै बनाउने हो,’ उनले भने, ‘पहिरोले लिएर गए नि जाओस्, अरुको शरण लिन त गइँदैन ।’
श्रीमान्को कुरा भुइँमा खस्न नपाउँदै अनिताले जवाफ फर्काइन्, ‘पहिले मान्छे बाँच्नुपर्यो । मान्छे विनाको गाउँ पनि के गाउँ ? छिमेकी सबै सकिइसके ।’
****
२०७२ वैशाखको विनाशकारी भूकम्पअगाडिसम्म पूर्णबहादुर भक्तपुरको एक डेरी कम्पनीमा काम गर्थे । कामको सिलसिलामा मेसिनमा परेर उनको हातको एउटा औंला नै काटियो ।

त्यसबेला साहुको साथ पाउनुको साटो अपसज खेप्नुपर्यो । त्यसैले पनि शाहीको शहरबजारसँग नमिठो चित्त दुखाइ छ । ‘एक महिनाको तलब नलिएरै आएँ । माग्न पनि गएको छैन । जाँदिनँ पनि,’ उनले भने ।
गाउँ आएको केही समयमै भूकम्पले घर चर्कायो । बस्न सक्ने स्थिति त थियो तर, जोखिम मोलेर बस्न सकेनन् ।
त्यसपछि नै हो, सरकारबाट भूकम्प पीडितको अनुदान लिएर उनीहरुले नयाँ घर ठड्याएको पनि । नयाँ घर बनाउन ७ लाख रुपैयाँ लागेको शाही बताउँछन् । त्यसमध्ये ३ लाख रुपैयाँ सरकारबाट भूकम्प पीडितले पाउनुपर्ने अनुदानवापत् पाएका थिए ।
शाहीको परिवार तल खोला पनि नजिकै भएको र समथर भाग भएकाले पुर्ख्यौली घर छोडेर नयाँ घरमा सरे । ‘त्यो ३ लाखले के हुन्थ्यो र ? माथि डाँडाबाट सालको रुख ल्याएर अझ राम्रो घर बनाएका थियौं । खायो, खायो सब्बै खायो’, पूर्णबहादुरले भने, ‘बेकार दुःख पाउनु लेखेको रैछ ।’
उनीहरुले गाउँमुनि घर बनाउनुअघि २ वटामात्रै घर थिए । ६ वटा घर भूकम्पपछि मात्रै बनेको शाही बताउँछन् ।
ठकुरी गाउँ रोशी खोलाको सिरान क्षेत्र भएकाले बाढी आए पनि ठूलो क्षति नपुर्याउने स्थानीयको आकलन थियो । तर, नसोचेको भयो । ८ वटा घरमध्ये अहिले त्यहाँ गोवर्द्धन भुजेलको घर आधामात्रै बचेको छ । त्यहाँ उनले सःमिल र कुखुरा फार्म खालेका थिए । १०० वटा कुखरासहितको फार्म र सःमिल बाढीले बगाएको छ ।
पूर्णबहादुर ०३८ सालमा पनि यस्तै गरी ठूलो बाढी आएको सम्झन्छन् । ‘त्यतिबेला यति ठूलो क्षति भएको थाहा थिएन । तलतिर खासै बस्ती पनि थिएन’, शाही भन्छन्, ‘अहिले त बाढी पनि पहिरो पनि एकैचोटि आएर धेरै क्षति गर्यो । हेर्दाहेर्दै सबै बगर बनाइदियो ।’
११ गतेबाटै बिजुली नहुँदा पूरै बस्ती सम्पर्कविच्छेदको अवस्थामा छ । गाउँ पुग्ने बाटो भत्किइसकेको छ, फोन टिप्दैन । तर यस्तोबेला पनि कोही जनप्रतिनिधि हालखबर सोध्न नआउँदा उनीहरुको मन झै पिरोलिएको छ । ‘कम्तीमा कोही सोधिखोजी गर्न आएपनि मन शान्त हुन्थ्यो, हामीले आफ्नो दुःख पोख्न पाउँथ्यौं’, अनिता शाहीले भनिन्, ‘नभए कम्तीमा मान्छे हिँड्न मिल्ने बाटो बनाइदिए केही भयो भने सजिलो हुन्थ्यो ।’
तस्वीरहरुः चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4