
२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ-काठमाडौं-लुम्बिनी रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आफूले आयोजना गरेको रात्रीभोजलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सीमा वारपार कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने विषयलाई नेपालले जोड दिँदै आएको स्मरण गराइन् । ‘नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन्’, उनले भनिन्, ‘रेल्वेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि, उपलब्ध स्रोत र साधनको परीप्रेक्षमा नेपालीहरुको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
१५० राष्ट्र तथा संस्था पक्ष बनेको बेल्ट एण्ड रोड इनिसिएटिभमा हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क र रेलमार्ग समावेशमा खुसी व्यक्त गरिन् ।
लुम्बिनी गौतम बुद्धको जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको चर्चा गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने नेपालको लक्ष्यमा चीनको सहयोगको अपेक्षा गरेको पनि बताइन् ।
समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न चीनसँगको सहकार्यलाई नेपालले उच्च प्राथमिकतामा राखेको पनि राष्ट्रपति भण्डारीले बताइन् । अती कम विकसित मुलुकबाट स्तरोन्नती हुँदै सन् २०३० सम्म मध्यम आय भएको मुलक हुन नेपालको उद्देश्य पुरा गर्न वैदेशिक लगानीको खाँचो रहेको भन्दै उनले अघि भनिन्, ‘हामी चिनियाँ लगानीकर्ताहरुलाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत लगायतका सामाजिक क्षेत्रमा लगानी गर्न आहृवान गर्दछौं । लगानीको सुरक्षा सरकारले गर्नेछ ।’
२०७२ को विनाशकारी भूकम्पपछि चीनने गरेको सहयोगको प्रशंसा गर्दै उनले नेपाल भ्रमण वर्ष सफल बनाउन चीन सरकारको सहयोगको अपेक्षा गरेको बताइन् ।
समस्यारहीत सम्बन्ध
नेपाल चीन सम्बन्ध पारम्परिक विश्वास र हितमा आधारित र समस्यारहीत रहेको उनले बताइन् । ‘हाम्रो सम्बन्ध सागर जस्तै गहिरो र हिमाल जस्तो उच्च छ,’ राष्ट्रपति भण्डारीले भनिन् । चीनले सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रको सम्मान गरेको तथा नेपाली जनताले छनोट गरेको विकास पथलाई समर्थन गर्दै आएको भन्दै उनले भनिन्, नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध छ ।’
राष्ट्रपति भण्डारीले गत अपि्रलमा भएको आफ्नो चीन भ्रमणका क्रममा भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलले तीन भू र चार सामुन्दि्रक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको भन्दै खुसी व्यक्त गरिन् ।
उनले सी चिनफिङ विचारधारा जनता केन्दि्रत विकासको महत्वपूर्ण पक्ष बनेको धारणा राखिन् ।
प्रतिक्रिया 4