+
+

महरालाई ‘बाबु समान’भन्दा पनि किन धर पाइनन् रोशनीले ?

काठमाडौंजस्तै रौतहटमा पनि बयान फेर्नेको बिगबिगी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २६ गते १७:०४

२६ कात्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र निलम्बित सांसद मोहमद आफताब आलमविरुद्ध जाहेरी दर्ता गर्नेहरुले अदालतमा आफ्नो बयान फेर्ने प्रयास गरेका छन् । तर, अदालतले उनीहरुको फेरिएको बयानलाई भन्दा पनि सुरुकै बयानलाई प्रमाणका रुपमा लिएको छ । जुन, नेपालको फौजदारी न्याय प्रणालीमा निकै रोचक प्रशंग हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले सुरुमा आफूमाथि तत्कालीन सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणीको प्रयास गरेको र कुटपिट गरेको बताएकी थिइन् । पत्रपत्रिकालाई दिएको भिडियो रिपोर्ट र बानेश्वर प्रहरीको टोलीलाई दिएको मौखिक बयानमा शाहीले आफूमाथि महराबाट जबरजस्ती करणीको प्रयास भएको बयान दिएकी थिइन् ।

तर, जब महरालाई नेकपा सचिवालयले राजीनामा दिन भन्यो र महराले सभामुखबाट राजीनामा दिए, त्यसपछि रातारात रोशनीको बयान फेरियो । महरासँग बाबु-छोरीको जस्तो सम्बन्ध रहेको र उनले कुनै दुर्व्यवहार नगरेको रोशनीले अर्को भिडियो अन्तरवार्ता सार्वजनिक गरिन् ।

तर, रोशनीले आफूमाथि दुर्व्यवहार नभएको बताउँदा बताउँदै प्रहरीले महरालाई पक्राउ गर्‍यो र जवरजस्ती करणीको उद्योगअन्तरगत कारवाही अगाडि बढायो । हुन त रोशनीले अदालतमा पनि आफूमाथि दुर्व्यवहार नभएको बताएकी थिइन्, तर न्यायाधीशले उहाँको कुरा बयानमा परिसकेको छ भन्दै उनलाई फिर्ता लैजान सुरक्षाकर्मीलाई अह्राए । अन्ततः रोशनीले महरालाई ‘बाबु समानको अभिभावक’ भन्दाभन्दै पनि महरा अहिले डिल्लीबजार कारागारमा थुनिएका छन् । रोशनीको बयान आफैंविरुद्धको प्रमाण बनेको छ ।

आखिर, पीडित भनिएकी महिलाले स्वयं म दुर्व्यवहारमा परेकी छैन भन्दाभन्दै अदालतले किन महरालाई थुन्यो त ? सामान्य नजरले हेर्दा यो अनौठो जस्तो लाग्न सक्छ । तर, अदालतले प्रमाण ऐन २०३१ का आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएकाले रोशनीले फेरेको बयानलाई अदालतले टेरपुच्छर नलगाउनु कानून व्यवसायीहरु स्वाभाविकै मान्छन् ।

प्रमाण ऐन २०३१ को दफा ९ मा स्पष्टसँग लेखिएको छ, ‘मुद्दाका कुनै पक्षले व्यक्त गरेको कुरा निजका विरुद्ध प्रमाणमा लिन हुन्छ ।’

प्रमाण कानुनको यही दफाका आधारमा काठमाडौं जिल्ला अदालतले रोशनी शाहीद्वारा सुरुकै भनाइलाई कृष्णबहादुर महराविरुद्ध प्रमाणका रुपमा लिएको हो । रोशनीले पछि कुरा फेरे पनि अदालतले पहिले बोलेको कुरालाई प्रमाणका रुपमा लिएर महरालाई पूर्पक्षका लागि जेलमा पठाएको देखिन्छ ।

आलम प्रकरणमा पनि उस्तै

जसरी कृष्णबहादुर महराको हकमा पीडित भनिएकी महिलाले आफूमाथि दुर्व्यवहार भएको छैन भन्दाभन्दै मुद्दा अघि बढिरहेको छ, आफताब आलमको हकमा पनि यस्तै परिघटना दोहोरिएको छ । आलमविरुद्ध जाहेरीकर्ताहरुले नै अदालतमा बयान फेरेर ‘होस्टाइल’ बन्न खोजे पनि अदालतले पुरानै बयानलाई प्रमाण मानको छ । तथापि बयान फेर्ने मध्येका गौरीशंकरको घटनामा अर्को टि्वस्ट आइसकेको छ । उनले सोमबार अफताव आलमका मानिसले अपहरण गरेर बयान फेर्न लगाएको बताइसकेका छन् ।

भारतको विहार निवासी गौरीशंकर चमार आलमविरुद्धको मुद्दामा जाहेरीकर्तामध्येका एक हुन् । उनले आफूलाई बमकाण्डका घाइतेका रुपमा प्रहरीसमक्ष प्रस्तुत गरेका थिए । आइतबार चमार फिल्मी शैलीमा अदालतमा प्रस्तुत भए र उनले आफू स्टोभ पड्केर घाइते बनेको, प्रहरीले दबाव दिएर आलमविरुद्ध जाहेरी दिन लगाएको बताउँदै अदालतमा निवेदन दिए । गौरीशंकरले जस्तै इँटाभट्टामा जिउँदै जलाइएका भनिएका ओसी अख्तरकी श्रीमती अमना खातुनले पनि आफ्नो श्रीमान वैदेशिक रोजगारीमा गएको भन्दै पुरानो बयानलाई फेरेर अदालतमा प्रस्तुत भइन् ।

चमार र खातुनको फेरिएको बयानले आलम प्रकरणको मुद्दालाई गिजोलिने सम्भावना देखिएता पनि चमारको दाबी २४ घण्टा पनि टिकेन । सोमबार चमारले आफूलाई आलमका मानिसले दबाव दिएर बयान फर्के लगाएको अर्को बयान दिए । आफूविरुद्ध मुद्दा दायर गर्नेहरुलाई फकाएर वा धम्क्याएर बयान फेर्न लगाउने आलमका मानिसहरुको प्रयासका रुपमा चमार र र खातुनको अभिव्यक्तिलाई सरकारी पक्षले विश्लेषण गरिरहेको छ ।

सूत्रहरुका अनुसार रोशनी शाहीले महरालाई वचाऊ गर्दै अदालतमा दिएको बयानलाई काठमाडौं जिल्ला अदालतले मिसिलमा समावेश गर्नू भन्ने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतको यस्तो आदेशबाट उत्साहित बनेर रौतहटमा पनि आलमको मुद्दामा बयान फेर्ने खेलोफड्को भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?