+
+

पिपराको चुनावी सभामा बाबुराम र विश्वप्रकाशको हिन्दीमोह

श्रवण देव श्रवण देव
२०७६ मंसिर ४ गते २०:४५

४ मंसिर, महोत्तरी । पिपरा गाउँपालिकामा उपनिर्वाचनको माहौल छ । उम्मेदवारहरुमा मात्रै होइन, राजनीतिक दलका नेता कार्यकर्ता पनि गाउँपालिका अध्यक्षका निम्ति मंसिर १४ गते उपचुनावको प्रचार प्रसारमा जुटेका छन् । भोट माग्न प्रमुख दलका नेताहरु पनि आइरहेका छन् । बुधबार मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी पाटीले एकै ठाउँमा तर छुट्टाछुट्टै चुनावी सभा गरे ।

पिपरा बजारमा  आयोजित चुनावीसभामा नेताहरुको हिन्दी भाषा मोह भने गजब देखियो । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई होस् वा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा नै किन नहुन, सबैले हिन्दीमै भाषण ठोके । दुबै दलका नेताहरुले एकले अर्कालाई आरोप लगाए ।

यद्यपि कांग्रेसका उपसभापति बिमलेन्द्र निधीसहित समाजवादी पार्टीको चुनावी सभामा सहभागी भएका प्रदेशमन्त्री र नेताहरुले मैथिली भाषण दिएका थिए ।

प्रचण्डजीलाई धेरै लभ पर्छः बाबुराम

समाजवादी पार्टीले आयोजना गरेको चुनावी सभामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिनमा चार पटकसम्म लभ गर्न थालेको बताए । ‘उहाँ जहाँ जानुहुन्छ लभ परेकै भन्नुहुन्छ’ भट्टराईले भने, ‘मधेश जाँदा मधेशसँग, पहाड जाँदा पहाडसँग लभ छ भन्नुहुन्छ ।’

सबैसँग लभ गरिरहेको बताएपनि उनी संघीयता नचाहने कित्तामा उभिएको भट्टराईको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओली संघीयता नरूचाउने ब्यक्ति रहेको र प्रचण्ड त्यही ठाउँमा भएको भन्दै उनले लभ गरेको भन्दै जनतालाई ठगेको बताए । ‘केपी ओलीजी अहिले पनि संघीयता के ल्याइहाल्नुभयो भनेर आफूसँग कुरा गर्नुहुन्छ’ भट्टरईले भने, ‘कम्युनिष्टलाई अहिले पनि संघीयता राम्रो लागेको छैन ।’

अहिलेका कम्युनिष्टहरु कम्युनिष्ट नभएर ‘कमाउनिष्ट’ र सर्वहाराको नारा दिएर ‘सर्ब आहारा’ लिइरहेको उनले बताए ।

बिमलेन्द्रले भने–मधेसवादीको नामोनिशान छैन

कांग्रेस उपसभापति बिमलेन्द्र निधीले नेपालमा अब मधेसवादी पार्टी नभएको बताए । उनले भने, ‘म ठोकुवाको साथ भन्छु नेपालमा मधेसवादी पार्टी छैन् । मधेसवादीको नाममा जनतालाई झुक्याउने कामहरु मात्रै भइरहेको छ ।’

एमाले, माओवादी हराए झैं मधेशवादी पार्टीहरु पनि हराइसकेको उनले बताए । ‘आफ्नो अगाडि मधेस शब्द राख्ने अहिलेका समाजवादी र राजपाले समेत मधेश शब्द हटाइसकेका छन्,’ उनले भने, ‘लाज लागेपछि मधेस शब्द हटाउनेहरुले मधेसी पार्टी हो भनेर जनतालाई झुक्याउने काम मात्रै गरिरहेका छन् ।’

कांग्रेस मात्र मधेशका साथै समग्र देशको पार्टी भएको भन्दै उनले कांग्रेसले संविधान संशोधन गर्न चाहेपनि नेकपा र सत्तामा रहेको समाजवादी पार्टीले नचाहेको बताए । ‘नेकपाले त संविधान संशोधन गर्न चाहेकै छैन’ उनले भने, “नेकपासँगै सरकारमा रहेको समाजवादी पार्टी पनि त्यहीं कित्तामा उभिएका छन् ।”

विश्वप्रकाश भन्छन्–समाजवादीलाई सरकारमा रहेको सन्देश देऊ

सुरुदेखि अन्त्यसम्म हिन्दी भाषामा बोलेका कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले चुनावको समयमा संविधान संशोधन गराउने नारा बोकेको समाजवादी पार्टी अहिले सत्तामै रमाइरहेको बताए । उनले जनतालाई ठगेर सत्तामा जाने समाजवादी पार्टीलाई त्यस्तै किसिमको सन्देश दिनुपर्ने उनले बताए ।

‘चुनावताका संविधान संशोधन गराउने भन्ने समाजवादी पार्टीका नेताहरु बहमुतको नेकपा सरकारमा दुई तिहाईको मेहन्दी लगाउन गएका छन्’ उनले भने ।

एकै समयमा नजिकैको मञ्चमा भाषण गर्ने समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईप्रति इंगित गर्दै शर्माले ४० वर्षसम्म कम्युनिष्टमा रहेर धेरैको ज्यान लिने व्यक्ति अहिले आएर चोखो बन्न खोजेको बताए । उनले अरुलाई आरोप लगाउनुभन्दा आफ्नो मुखतिर हेर्नुपर्ने बताए ।

मन्सुरले भने–कांग्रेसले नै देश बचाएको छ

कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य फरमुला मन्सुरले समाजवादी पार्टी नेकपामा सटेर सबै कुरा बिर्सेको बताए ।

वर्तमान कम्युनिष्ट सरकार इतिहासकै भ्रष्ट सरकार रहेको बताउँदै उनले देशमा ठूला ठूला विकास गर्ने कांग्रेसले नै देश बचाएको र भविष्यमा बचाउने बताए ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?