
२२ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पदभार ग्रहण लगत्तै घोषणा गरेअनुसार जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन सरकारद्धारा गठित कार्यदलले सिफारिस गरेको छ ।
हवाई क्षेत्रका विविधि विषयमा सुझाव दिन सरकारले गठन गरेको कार्यदलले जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिँदा राज्यलाई ठूलो व्ययभार नपर्ने निष्कर्ष निकालेको हो ।
मन्त्रीको घोषणालगत्तै नेपाल एयरलाइन्सले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा छुट दिन थालेको थियो । श्री एयरलाइन्सले ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई मात्र ५ सय रुपैयाँ भाडामा उडाउने घोषणा गरेको थियो । ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई छुट दिने उसले जनाएको छ ।
तर, अन्य वायुसेवा कम्पनीहरुले भने मन्त्रालयमा लिखित र मौखिक रुपमा यस घोषणाको विरोध गरेका थिए । पछि कम्पनीहरु आफूलाई विपन्न स्वघोषणा गर्ने जेष्ठ नागरिकलाई छुट दिन तयार भए ।
एक महिनामा ४ सय ८१ लाभान्वित
कार्यदलले एक महिना अवधिको तथ्याङ्क लिएर हवाई यात्रुको विश्लेषण गरेको छ । २ असोज २०७६ देखि १ महिना अवधिमा आन्तरिक विमानस्थलमा उडान भर्ने वायुसेवा कम्पनीको तथ्याङ्क कार्यदलले निकालेको थियो ।
त्यसअनुसार एक महिनामा कूल ३ लाख ३३ हजार ८ सय ४ हवाई यात्रुले आन्तरिक उडानमा यात्रा गरेका छन् । त्यसमध्ये मात्र ४ सय ८१ जना यात्रु ७० वर्ष नाघेका जेष्ठ नागरिक थिए । यात्रु संख्याको आधारमा एक महिनामा सबैभन्दा बढी आन्तरिकमा बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले मान्छे बोक्छन् । कूल हवाई यात्रुको संख्यामध्ये मात्र ०.१४ प्रतिशत यात्रु जेष्ठ नागरिक रहेको भन्दै कार्यदलले छुट दिने निर्णय कार्यान्वयनबाट राज्यलाई ठूलो भार नपर्ने निष्कर्ष निकालेको हो ।
कार्यदलले सबैभन्दा व्यस्त (चाडबाड)को मौसममा उडेका यात्रुको संख्या लिएर तथ्याङ्क विश्लेषण गरेको थियो । त्यसका लागि कार्यदलले ४ वटा विमानस्थलबाट बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, नेपाल एयरलाइन्स, सिम्रिक एयरलाइन्स र सौर्य एयरलाइन्सले बोकेका यात्रुको संख्या विश्लेषण गरिएको थियो । त्यसअनुसार ४ विमानस्थलमा एक दिनमा १ हजार ६ सय ९० यात्रुले सेवा लिएकोमा ७० वर्ष नाघेका यात्रु मात्र ७९ जना रहेका थिए ।
यस्तो छ कार्यदलको सिफारिस
पर्यटन मन्त्रालयको प्रमुख प्राथमिकताका कार्यक्रममा घोषणा गरिएको जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने नीतिप्रति वायुसेवा सञ्चालक संघले असहमति जनाएको छ । कम्पनीको तर्फबाट त्यस्तो छुट दिन नसकिने भनि उसले लिखित तथा मौखिक जानकारी गराएपछि मन्त्रीको घोषणा कार्यान्वयनमा आशंका उब्जेको छ ।
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार ७० वर्ष र सोभन्दा माथिका जेष्ठ नागरिकको संख्या कुल जनसंख्याको ३.३१ प्रतिशत रहेको छ । ७५ वर्ष र सोभन्दा माथिको नागरिकको संख्या १.७ प्रतिशत रहेको छ । २ असोज २०७६ मा बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयरलाइन्स र सौर्य एयरलाइन्सबाट नेपालगन्ज, पोखरा, भरतपुर र चन्द्रगढी विमानस्थल प्रयोग गरी १ हजार ६ सय ९० जनाले यात्रा गरेकोमा ७० वर्षभन्दा बढी उमेर पूरा गरेका ३९ जना जेष्ठ नागरिक छन् ।
यस तथ्याङ्कअनुसार त्यस दिन यात्रा गरेका यात्रुमध्ये २.३१ प्रतिशत मात्र जेष्ठ नागरिकले नेपालगन्ज, पोखरा, भरतपुर र चन्द्रगढी विमानस्थल प्रयोग गरी यात्रा गरे । त्यस्तै एक महिनाको वायुसेवा कम्पनीहरुको तथ्याङ्क हेर्दा ३ लाख ३३ हजार ८ सय ४ जना यात्रुमध्ये ७० वर्षभन्दा बढी उमेर भएका मात्र ४ सय ८१ जना जेष्ठ नागरिकले यात्रा गरेका र जम्मा यात्रुमध्ये ०.१४ प्रतिशत जेष्ठ नागरिकले मात्र यात्रा गरेको देखियो । यसलाई आधार मान्ने हो भने जेष्ठ नागरिकको हवाई यात्रा गर्ने संख्याको अनुपात उल्लेख नहुने देखिन्छ । त्यस्ता जेष्ठ नागरिकलाई राज्यले हवाई भाडामा सहुलियत प्रदान गर्दा दायित्वभार खासै बढी नहुने कार्यदलको निस्कर्ष छ ।
प्रतिक्रिया 4