+
+

औषधिको कच्चा पदार्थ आयात गर्न ‘कठिन’, ४ उद्योग बन्द

सुरेश बिडारी सुरेश बिडारी
२०७६ चैत २३ गते २१:०५

२३ चैत, वीरगञ्ज । लकडाउनका कारण साना परिमाणमा औषधिको कच्चापदार्थ ल्याउन कठिनाइ भएको गुनासो औषधि उद्योगीहरुले गरेका छन् । ठूलो परिमाणमा आवश्यक कच्चा पदार्थ आयातमा समस्या नभए पनि उद्योगलाई कम परिमाणमा चाहिने कच्चा पदार्थ आयातमा समस्या भएको नेपाल औषधि उत्पादक संघले जनाएको छ ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुटाउन नसक्दा बारा-पर्सा औद्योगिक करिडोरका चार वटा उद्योग बन्द भएको नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष एवं मारुती फर्मास्युटिकलका प्रबन्ध निर्देशक प्रभात रुगंटाले जानकरी दिए । अवस्था यस्तै रहे कोरिडोरका धेरै औषधि उद्योग बन्द हुने उनको दाबी छ ।

‘रक्सौलमा लेवर पाइँदैन, ट्रक लोड नभएर समान आउन सकेको छैन, मिश्रति कच्चा पदार्थ र प्याकिङ मेटिरियल थन्केको छ,’ रुगंटाले भने, ‘१४ उद्योगमध्ये ४ वटा त बन्द नै छन् । बाँकी पनि एक हप्ताजति चल्ला त्यसपछि समस्या आउँछ ।’

करिडोरका प्राइम, समर, युनिक, जिडी फर्मास्युटिकल्स बन्द भइसकेका छन् । उद्योगीका अनुसार नेशनल हेल्थ केयर, क्वेस्ट, एनपीएल, म्याग्नस, एपेक्स, मारुति, सुप्रिम, आर्या र भाष्कर हर्बास्यूटिकल्स सञ्चालनमा छन् ।

भारतको रक्सौलतर्फ भन्सारमा पनि दुःख पाइरहेको उनले जानकारी दिए । ‘नेपालतर्फको भन्सार सकारात्मक छ । तर रक्सौलतर्फ समस्या देखिएको छ । सजिलै काम हुँदैन, आईसीपीबाट मात्रै ढुवानी गर्नुपर्ने भनिएको छ । कहाँबाट आएको ? के-के ल्याएको ? भनेर शंकास्पद हिसाबको व्यवहार गर्छन्,’ उनले भने, ‘फुल ट्रक सामान त सहजै आएको छ । तर कतिपय उद्योगका लागि खुद्रा सामान पनि चाहिन्छ । त्यो ल्याउन झन्झट भइरहेको छ ।’

नेशनल हेल्थ केयरका निर्देशक जगदिश रुंगटा कच्चा पदार्थ र प्याकेजिङ मेटेरियल ल्याउन समस्या भएको बताउँछन् ।
‘औषधि उद्योगमा धेरै ठाउँबाट ५ सय, १ हजार, दुई हजार किलो सामान ल्याउनुपर्छ । त्यो ल्याउन गाह्रो भइरहेको छ । पूरै गाडी भरेर समान बढी रकम तिरेर कहिलेकाहीँ ल्याइरहेका छौं,’ रुंगटाले भने, ‘आपतकालीन अवस्था नै होइन, तर सामान्य भन्दा ६० प्रतिशत मात्रै चलेको छ ।’

उनले थपे, ‘कतिपय समान लकडाउनभन्दा पहिला नै बाटोमा छ, त्यो आउन सकेको छैन । कतिपय समान रक्सौल भन्सारमै रोकिएको छ । चाइनाबाट समान मागाउन सक्ने अवस्था छैन ।’

आइतबारबाट एउटा जिल्लाबाट अर्कोमा जान समेत समस्या भइरहेको औषधि उद्योगीले बताएका छन् । प्रायः सबै उद्योग बारा जिल्लामा पर्छन् । एक जिल्लाबाट अर्को जिल्लामा मानिसहरु जानुपर्ने हुन्छ । ‘गाडीको त पास बनाउँला, मानिसहरुलाई आवत जावतमा कठिनाई भइरहेको छ,’ एक उद्योगीले भनेे, ‘दुई-चार जना कर्मचारीले मात्रै चलाउँला भनेर हुँदैन ।’

ढुवानी र वितरणमा समस्या

समान नआएर मात्रै होइन, ओसार प्रसार गरिदिने र व्यवस्थापन मिलाउन समस्या आइरहेको उद्योगीहरु बताउँछन् । उद्योगीहरूका अनुसार औषधिका कच्चा पदार्थ भन्सार कटाएर मात्रै पनि हुँदैन । कच्चा पदार्थ उद्योगसम्म पुर्‍याउनुपर्ने हुन्छ । त्यसका लागि ढुवानीका साध सहजै नपाइरहेको अवस्था छ । कोरोना संक्रमणको डरसँगै बाटोमा हुने सुरक्षा जाँचलाई झन्झट मान्दा धेरै चालकहरूले सवारीसाधन चलाइरहेका छैनन् ।

लोड अनलोड गर्ने मानिसको पनि अभाव छ । उत्पादित औषधि पनि बजार लैजान त्यस्तैगरी लोड-अनलोड गर्ने मानिस र ढुवानीका साधन आवश्यक पर्छ ।

यहाँ उत्पादित औषधि विराटनगर, जनकपुर, इटहरी, धरान, हेटौंडा, भरतपुर, काठमाडौं, पोखरा, बुटवल र धनगढीलगायतका शहरमा निर्यात हुन्छन् ।

प्रतिबन्ध अघि मगाइएका सामान समेत रोकियो

वीरगञ्ज-रक्सौलमा मात्रै नभएर भैरहवा नाकामा पनि ३/४ ट्रक औषधि भारतीय भन्सारमा रोकिएको औषधि व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेवालले बताए ।

‘पारासिटामोल, ओनिडाजोल, मेथोनिडाजोल लगायतका औषधि रोकिएको छ । हामीले हारगुहार गरिरहेका छौं । मन्त्रालयसम्म जानकारी गराइसकेका छौं,’ उनले भने, ‘अत्यावश्यकीय वस्तु त संसारभरी रोक नहुनुपर्ने हो, तर भारतमा रोकिएको छ ।’

‘ट्रान्सपोर्टसँग ट्रक हुँदैन, उनीहरुले भाडामा लिएर व्यवस्था मिलाउँछन् । गन्तव्यमा पनि औषधि झार्ने व्यवस्था हुनुपर्छ,’ खण्डेवालले भने, ‘धान चामल जस्तो होइन, एकै ठाउँमा झार्न मिल्दैन । १० कार्टुन, २० कार्टुन ठाउँ-ठाउँमा झार्नुपर्ने हुन्छ । त्यसको व्यवस्थापन स्थानीय प्रशासनले मिलाइदिनुपर्छ ।’

‘समस्याबारे जानकारी नै छैन’ 

भारतीय पक्षबाट औषधि र कच्चा पदार्थ रोकिएकोबारे कुनै जानकारी प्राप्त नभएको भन्सार विभागले जनाएको छ । भारतीय भन्सारसँग समन्वय निरन्तर भइरहेको र समस्या आएको कुरा अहिलेसम्म आफूलाई रिपोर्टिङ नभएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

‘मलाई समस्याबारे कुनै जानकारी आएको छैन्, त्यस्तो समस्या भएमा भारतीय दूतावासमा सहजीकरणका लागि कुरा गर्छु,’ महानिर्देशक दाहालले भने । अत्यावश्यक वस्तु आयात गर्दा समस्या भए भन्सार कार्यालय वा विभागमा सम्पर्क राख्न पनि उनले व्यवसायीलाई आग्रह गरे ।

उता वीरगन्ज भन्सार कार्यालयले पनि औषधि र त्यसका कच्चा पदार्थको आयात नियमित रहेको जनाएको छ । सामान्य अवस्थामा जस्तो नभए पनि भारतीय भन्सारकै कारण औषधि र यसका कच्चा पदार्थ रोकिएकोबारे आफूलाई कुनै जानकारी नआएको वीरगञ्ज भन्सार कार्यालय प्रमुख ढुण्डीराज निरौलाले जानकारी दिए ।

हरेक दिन बिहानको ९ बजे भारतीय भन्सार प्रमुखसँग आफूले समन्वयात्मक छलफल गर्ने गरेको बताउँदै उनले औषधि र कच्चा पदार्थ रोकिएको भन्ने कुरा थाहा नभएको बताए ।

‘औषधि र कच्चा पदार्थ आयातमा अधिकतम सहजीकरण गर्ने हो, तर व्यावसायी समस्या लिएर आउँदै आउदैनन्,’ भन्सार प्रमुख निरौलाले भने ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?