
३ बैशाख, पोखरा । लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गर्दा पोखरा महानगरपालिकाले वडा नम्बर १७ को घारीकुलो टोलमा पनि राहत बाँड्यो ।
तर, राहतको नाममा गरिएको रमिताले लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत होइन, थप आहत तुल्याएको छ ।
महानगरपालिकाकाअनुसार मजदुरी गरेर दैनिक गुजारा चलाउने परिवारलाई राहतको व्यवस्था गरिएको छ । तीन जनासम्म सदस्य भएको परिवारलाई एक हजार रुपैयाँ बराबर र तीनभन्दा बढी सदस्य भएको परिवारलाई दुई हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको महानगरको दाबी छ ।
तर, वडा नम्बर १७ को घारीकुलो टोलमा भने राहत वितरणमा रमिता गरेको पाइएको छ ।
एक प्याकेट नुन चार परिवारलाई बाँडिएको छ भने एक लिटर तेल पनि धेरै परिवारलाई बाँडिएको छ । ७२ वर्षका चक्रबहादुरको भागमा एक डाडु तेल परेको छ, दुई मुठी मुसुरोको दाल परेको छ । ‘चार जनाले खाने हो यो’ उनी भन्दै थिए ।
एक पोको नुन तीन/चार परिवारलाई बाँडिएको छ । त्यो पनि कतिपयले पाएका छैनन् । ‘बरू त्यो अध्यक्षले नै खाओस्, फिर्ता गर्नुस्’ पोखराको फेवा टीभीमा स्थानीय भन्दै थिए ।
राहत दिनुअघि फोटो खिचेर फारम भराइएको छ । तर, राहत नाममात्रको आएको छ । घारीकुलो टोलमा १५ बोरा चामल र १५ पोका तेल ४१ परिवारलाई वितरण गरिएको टोल विकास संस्था अध्यक्ष विजयप्रसाद आचार्यले जानकारी दिए । ‘नौ जनासम्म सदस्य भएको परिवारलाई १/१ पोका दिएर पठाएका थियौं । ४/५ जना परिवारलाई भने आफैँ बाँड्नुस् है भनेर दिएका थियौँ’ उनले भने, ‘उनीहरुले आफैँआफैँ कसरी बाँड्ने हामीलाई थाहा भएन ।’
पोखरा महानगरकाअनुसार राहत वितरणका लागि वडा कार्यालयलाई जिम्मा दिएको थियो । वडाले आफ्नो कार्यक्षेत्र ठूलो र बसोबास पनि ठूलो भएको कारण देखाउँदै टोल विकास संस्थालाई जिम्मा दियो । तर टोल विकास संस्थाले सावधानी नपनाउँदै आफूहरुको ‘बेइज्जत’ भएको वडाध्यक्ष तीर्थ अधिकारीले बताए ।
‘हाम्रो वडा ठूलो छ । ७०/८० हजारको बसोबास छ । सबै ठाउँमा वडा पुग्न गाह्रो हुने भएपछि यहाँका चारवटा टोल विकास संस्थालाई जिम्मा दिएका थियौँ,’ वडाध्यक्ष अधिकारीले अनलाइनखबरसँग भने, ‘उहाँहरुलाई हामीले सर्वपक्षीय बैठक बसेर जिम्मा लगाएका थियौँ । तर खोइ के भयो !’
टोल विकास संस्थाले गरेको काम ठिकै भएको तर, पोका तेलले विवाद निम्त्याएको उनले दाबी गरे ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने वडाले दामासाही तरिकाले राहत बाँड्दा समस्या भएको प्रतिक्रिया दिए । ‘राहत महानगर आफैँ बाँड्न जाने होइन । वडाले दामासाही तरिकाले बाँड्दा समस्या भयो’ उनले भने, ‘अब महानगरले त्यसरी राहत बाँड्दैन । जसको चुल्हो निभ्छ, हामीलाई सम्पर्क गर्छन् । हामी घरघरमै पुर्याइदिन्छौँ ।’
प्रतिक्रिया 4