Comments Add Comment

ड्राइभरको गुनासो : हामी पनि जोखिममा छौं तर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मात्रै चिन्ता गरिन्छ

१९ वैशाख, काठमाडौं । कोरोनाको महामारी सुरु भएसँगै अत्यावश्यक सेवालाई फ्रन्टलाइन र ब्याकलाइनको रुपमा वर्गीकरण गरियो । कुनै पनि दस्तावेजविना नै गरिएको यो वर्गीकरणले बिस्तारै वैधानिकता पाउँदै गयो । जसमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई कोरोनाविरुद्ध फ्रन्ट लाइनका सिपाही मानियो ।

तर, ज्यानको जोखिम मोलेर अत्यावश्यक सामान ढुवानी गर्ने सवारी चालकहरूलाई कुन लाइनमा राख्ने ? लकडाउन सुरु भएदेखि अहिलेसम्म पनि फ्रन्टलाइनमा बसेर अत्यावश्यक सामान ढुवानी गर्न व्यस्त छन् सवारी चालकहरू ।

देशैभर आह्वान गरिएको लकडाउनका बीच पनि औषधि, खाद्यान्न, इन्धन, पानी ग्राहकको घरघरमा पुगिरहेको छ । यतिबेला आम मानिस घरभित्रै छन् । तिनै ग्राहकलाई सामान पुर्‍याउन घरघरमै पुगिरहेका छन् सवारी चालकहरू ।

लकडाउनको बेला अत्यावश्यक सामानहरूको ढुवानी गरिरहेका सवारी चालकहरूलाई कोरोना भाइरसको संक्रमणको त्रास पनि उत्तिकै छ । यस्तो अवस्थामा पनि यातायात चालकहरू जोखिम मोलेरै काममा खटिएका छन् ।

दैनिक जीवनमा अत्यावश्यक सामग्रीको रुपमा रहेको खाद्यान्न, पानी र अरू अत्यावश्यक सामग्री ढुवानी गर्ने चालकहरू संकटको बेलामा गरेको जोखिमपूर्ण कामलाई समस्याभन्दा पनि काँधमा थपिएको जिम्मेवारीको रुपमा बुझ्छन् । संकटको बेलामा पूरा गरेको जिम्मेवारीलाई उनीहरूले अवसरको रुपमा हेरेका छन् ।

अत्यावश्यक सामग्री ढुवानी गरिरहेका कृष्ण कार्की लकडाउन सुरुभएसँगै त्रासदीपूर्ण यात्रामा लागिरहेको बताउँछन् । सवारी चलाउने पेशा जोखिम त आफैँमा छ नै । तर, त्यसैमाथि कोरोनाको जोखिम झनै थपिएको उनी बताउँछन् ।

अनलाइनखबरसँग उनले भने,‘हामीहरू सामान ढुवानी गर्ने क्रममा धेरै मान्छेहरूको सम्पर्कमा पुग्छ । सेवा लिने ग्राहकको स्वास्थ्य अवस्था कस्तो छ थाहा हुँदैन । कोरोना संक्रमितसँग पनि सम्पर्कमा पुगेको हुनसक्छ, जोखिम धेरै छ ।’

कार्की भन्छन्, ‘जोखिम मोलेर सेवा दिइरहेका छौँ । तर पनि हामी अरूको नजरमा फ्रन्टलाइनर बन्न सकेका छैनौं । लकडाउन सुरु भएको ३८ औं दिनसम्म परिवारदेखि टाढा रहेर काम गरिरहेका छौं । हामी सवारी चालकहरूको त भत्ता पनि आउँदैन ।’  सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मात्रै चिन्ता गरेको तर चालकहरूलाई बेवास्ता गरेको उनको गुनासो छ ।

यो लकडाउनको समयमा पनि जोखिमपूर्ण रुपमा अत्यावश्यक सामग्री ढुवानी गरिरहेका भुवन थापामगरलाई पनि आफूहरूको कामलाई अरूले धेरै महत्व नदिएको गुनासो गर्छन् । उनी भन्छन् ‘देश पूरै लकडाउनको अवस्थामा हामीलाई भ्याइनभ्याइ छ । यस्तो अवस्थामा मेरै साथीहरू काम नपाएर बेरोजगार बस्नु परेको छ । घर चलाउन मुस्किल परिरहेको छ ।’ यस्तो बेला काममा खटिरहेका सवारी चालकहरू भने घर खर्च चलाउन सहयोग पुगेको बताउँछन् ।

मोबाइल एपमार्फत जोडिँदैछन् सवारी चालक

उपाय सिटी कार्गोले लकडाउनको बेला अत्यावश्यक सामानहरू ढुवानी गर्न सवारीसाधन उपलब्ध गराउँदै आएको छ । यसअघि कोठा, अफिसको सामान सार्नको लागि मोबाइल एपबाट सवारी साधन उपलब्ध गराउँदै थियो ।

यो एपमार्फत ग्राहकहरूलाई आवश्यक परेको गाडीहरू अर्डर गर्न सकिन्छ ।

फुडमान्डु, पठाओ, दराजलगायत अनलाइन कम्पनीहरूसँग सहकार्य गरेर खाद्यान्नको सामान ग्राहकसम्म पुर्‍याइरहेका छन् ।

उपाय सिटी कार्गोमा आवद्ध भएका सवारी चालकहरूले आफ्ना गाडीहरूमा ग्राहकले भनेकै ठाउँमा सामान ढुवानी गरिहेको कम्पनीका लजिस्टिक प्रमुख सन्दिप सुवेदीले बताए ।

‘यतिबेला धेरैलाई ढुवानीको सुविधा नपाएर खाद्यान्न ओसारपसार गर्न समस्या परिरहेको छ । हामीसँग जोडिएका गाडी चालकहरूलाई रोजगारी दिएका छौँ,’ उनले भने ।

सो एपबाट प्रदान गरिने सेवामा लकडाउन अघि झण्डै ४ सय सवारीसाधन जोडिएका थिए । लकडाउन अवधिभर समान ढुवानीका लागि कम्पनीमार्फत मात्रै झण्डै ३० जना चालकहरूले अत्यावश्यक सामग्री ढुवानी गरिरहेका छन् ।

लकडाउनको समयमा एप मार्फत अत्यावश्यक सामान ढुवानी गरिहेका दल बहादुर गौतम भन्छन्,‘विदेशमा जस्तै एपबाट घरमै बसेर गाडीहरू मगाउन सके यो अवस्थामा ड्राइभरहरू बेरोजगार भएर बस्नुपर्दैन थियो होला ।’

अहिले धेरै मान्छेहरूले गाडी पाउँदैनन्, यता ड्राइभरहरू ढुवानी गर्ने सामान नपाएर त्यसै बस्नुपरेको छ । एपमा जोडिएको भए धेरै यातायात मजदुर गाउँ जानुपर्ने अवस्था नआउने उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै उपाय सिटी कार्गोले आफ्ना पार्टनर ड्राइभरहरूलाई मास्क, पन्जा तथा सेनिटाइजर पनि उपलब्ध गराएको छ । साथै कम्पनीले उनीहरूलाई आफ्नै लागतमा कोरोना बिमा पनि गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment