Comments Add Comment

यो वर्ष ‘छक्का पन्जा-४’ नबन्ने, नयाँ टिमसँग काम गर्ने तयारीमा दीपकराज

यो वर्षको दशैंलाई रिलिज मिति तय गरिएको सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को चौथो सिरिजको निर्माण तत्कालका लागि स्थगित गरिएको छ । चलचित्रका निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले यो कुराको पुष्टि गरेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै भने–‘हो, हामीले छक्का पन्जा-४ यो वर्ष नबनाउने निर्णय गरेका छौँ । अहिले हामी नयाँ टिमको कथा सुनिरहेका छौँ । सायद, अब नयाँ टिमसँग सहकार्य गरेर चलचित्र बन्छ ।’

दीपकका अनुसार कोरोना भाइरसको कारण विश्वको बजार नै कमजोर भएकाले पनि ‘छक्का पन्जा ४’ निर्माणको काम स्थगित गरिएको हो ।

उनले भने–‘छक्का पन्जा-४ को कथा ठूलो क्यानभासमा निर्माण गर्नुपर्ने हुन्छ । यसपटक ३ करोड हाराहारीको लगानी छ । त्यसैले पनि ओभरसिज र नेपालकै बजार पनि कमजोर भएको अवस्थामा चलचित्र बनाउने निर्णय सही हुने देखेनौँ ।’

उनका अनुसार, यो वर्षको अन्तिम साता रिलिज गर्ने तयारीका साथ नयाँ कथामा चलचित्र बनाउने तयारी सुरु भएको छ । यसका लागि, दीपकको टिमले कथा सुन्न थालेको छ ।

दीपकले अर्को वर्षको दशैंमा ‘छक्का पन्जा-४’ रिलिज हुन सक्ने संकेत गरेका छन् । उनले भने–‘छक्का पन्जा-४ को कथा लकडाउनमा लक गरेर राख्ने निर्णय भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment