+
+
Shares

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउ : नागरिक अभियान

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते २०:३४

११ मंसिर, काठमाडौं । स्थानीय तहको आउँदो निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण माग गर्दै ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ।

शुक्रबार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलनमार्फत अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन संविधान र कानुनमा आवश्यक संशोधन गर्न माग गरेको हो ।

अभियानले दलीय प्रतिस्पर्धाका कारण स्थानीय सरकारमा राजनीतिक हस्तक्षेप, सिन्डिकेट, भ्रष्टाचार, पक्षपात तथा स्रोतसाधनको दुरुपयोग बढेको दाबी गरेको छ।

स्थानीय सरकार राजनीतिक दलका स्थानीय अखडा र विजयी दलका कार्यकर्ताको प्रभावमा सञ्चालन हुने गरेको भन्दै त्यसको अन्त्यका लागि गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको अभियानको भनाइ छ।

पत्रकार सम्मेलनमा कानूनविद् तथा लेखक डा. युवराज संग्रौलाले स्थानीय तहमा दलीय सिन्डिकेट अन्त्य गर्न गैरदलीय निर्वाचन आवश्यक रहेको बताए। उनले स्थानीय स्रोत र बजेट उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्नेमा भ्युटावरजस्ता अनुत्पादक संरचनामा लगानी भइरहेको टिप्पणी गरे। गैरदलीय निर्वाचनले स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी प्रवर्द्धनमा सहयोग पुर्‍याउन सक्ने उनको भनाइ थियो।

त्यस्तै, सामाजिक अभियन्ता तथा नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठले स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष नन्दराज घतानीले वर्तमान राजनीतिक नेतृत्व र स्थानीय सत्ताको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देशको संकट समाधानका लागि आमूल परिवर्तन आवश्यक रहेको बताए।

उनले निर्वाचनबाट सक्षम र इमानदार व्यक्तिहरू छनोट हुने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।

सामुदायिक विद्यालय अभिभावक संघका अध्यक्ष रामप्रसाद न्यौपाने इन्जिनियर थलबहादुर तामाङ लगायतले पनि निर्वाचनमा दलीय प्रतिस्पर्धा तथा राजनीतिक गतिविधिले अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे चिन्ता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?