११ मंसिर, काठमाडौं । गाईभैँसीको दाना, चोकर, औषधि लगायत पशुआहार र ढुवानी खर्च आकासिए पनि झन्डै चार वर्षदेखि सरकारी समर्थन मूल्य स्थिर रहेको भन्दै किसानले तत्काल दूधको भाउ बढाउन दबाब दिएका छन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डले विभिन्न प्रदेशमा स्थलगत अध्ययन गरी मूल्य बढाउनुपर्ने निष्कर्ष सहित प्रतिवेदन कृषि, वन तथा पर्यावरण मन्त्रालयमा बुझाइसकेको छ ।
दूधको भाउ बढाउने विषयमा सरोकारवालाबीच भने मूल्य कति र कुन आधारमा बढाउने भन्नेमा आ–आफ्नै तर्क र अडान देखिएका छन् ।
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले उपभोक्ताको क्रयशक्ति समेत हेरेर किसानले पाउने गरी प्रतिलिटर कम्तीमा १० रुपैयाँ थप हुनुपर्ने माग राखेको छ ।
अर्कातर्फ, निजी डेरी उद्योगीको छाता संस्था नेपाल डेरी एसोसिएसनले उद्योगी र किसानको लागत १४ रुपैयाँ हाराहारी देखिए पनि छिमेकी भारतको बजार दरसँग तालमेल मिलाएर मात्र भाउ तोक्नुपर्नेमा जोड दिएको छ ।
चार वर्षदेखि अड्कियो आधारभूत भाउ, चुलिँदो उत्पादन लागत
सहरबजारमा उपभोक्ताले प्रशोधित दूध किन्दा प्रतिलिटर १ सय २० रुपैयाँभन्दा बढी मूल्य तिरिरहनु परे पनि कच्चा दूध बेच्ने किसानले पाउने आधारभूत भाउ भने झन्डै चार वर्षदेखि बढ्न सकेको छैन ।
सरकारले २०७९ फागुन तेस्रो साता ४ युनिट फ्याट (चिल्लो) र ८ प्रतिशत एसएनएफ (ठोस पदार्थ) मापदण्ड तोक्दै कच्चा दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ६५ रुपैयाँ लागु गरेको थियो ।

त्यसयता सरकारी स्तरबाट आधारभूत दरमा कुनै फेरबदल भएको छैन । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले असारदेखि किसानलाई दिने दरमा लिटरको १ रुपैयाँ थप्दै ६६ रुपैयाँ पुर्याए पनि समग्र पशुपालन लागतको तुलनामा त्यो नगण्य रहेको किसानको गुनासो छ ।
पछिल्लो ४–५ वर्षमा दूध उत्पादनसँग प्रत्यक्ष जोडिएका मकै, भटमासको पिना, चोकर, ढुटो, मिनरल्स, औषधि उपचार तथा ढुवानी खर्चमा उच्च वृद्धि भएको छ ।
उत्पादन सामग्रीको भाउ निरन्तर उकालो लाग्दा ६५–६६ रुपैयाँको दरले लागत समेत नउठ्ने भएपछि किसान र जिल्लास्थित दुग्ध सहकारी संघहरूले मूल्य समायोजनका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
‘उपभोक्ता हेरेर किसानलाई १० रुपैयाँ थपिनुपर्छ’
नियमानुसार हरेक दुई–दुई वर्षमा समायोजन हुनुपर्ने दूधको मूल्य ४ वर्षसम्म नबढेको भन्दै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले किसानलाई प्रत्यक्ष राहत पुग्ने गरी प्रतिलिटर कम्तीमा १० रुपैयाँ वृद्धि हुनुपर्ने माग अघि सारेको छ ।
संघ महासचिव राम आचार्यका अनुसार अहिलेको महँगीमा १० रुपैयाँ थप्दा पनि किसानको वास्तविक उत्पादन लागत पूरै उठ्दैन । तर, आम उपभोक्तालाई समेत थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्तीमा १० रुपैयाँ, सके त्यसमा २–३ रुपैयाँ बढी किसानले पाउने गरी मूल्य तोक्न सरकारसमक्ष प्रस्ताव गरिएको उनले बताए ।
‘हरेक दुई वर्षमा बढ्नुपर्ने दूधको भाउ चार वर्ष हुँदा पनि बढेको छैन,’ आचार्यले अनलाइनखबरसँग भने, ‘किसानलाई लागत अनुसार मूल्य दिन त १० रुपैयाँले पनि पुग्दैन, तर हामीले उपभोक्तालाई समेत ध्यान दिनुपर्ने भएकाले कम्तीमा प्रतिलिटर १० रुपैयाँ किसानले पाउनुपर्छ भनेर स्पष्ट भनेका छौं ।’
केही दिनअघि कृषिमन्त्री गीता चौधरी र सचिव राजेन्द्रप्रसाद मिश्रसँग गरिएको छलफलमा मन्त्रालयबाट टिप्पणी उठाएर सदर गरी केही दिनभित्र मन्त्रिपरिषद्बाट मूल्य बढाउने आश्वासन पाइएको आचार्यले जानकारी दिए ।
‘मन्त्रीज्यू र सचिवज्यूले केही दिनमै दूधको मूल्य बढ्छ, तपाईंहरू आन्दोलन गर्नुपर्दैन, ढुक्क हुनुस् भन्नुभएको छ,’ उनले भने, ‘मन्त्रालयबाट टिप्पणी उठाएर सदर गरी मन्त्रिपरिषद् लगेर पास गराउँछु भन्ने प्रतिबद्धता जनाउनुभएको छ ।’
यद्यपि, सरकारी प्रतिबद्धता अनुसार छिटो निर्णय नआए किसान चुप लागेर नबस्ने चेतावनी उनले दिए । देशभरिका जिल्ला दुग्ध उत्पादक सहकारी संघले विज्ञप्ति निकालेर तल्लो तहसम्म आन्दोलनको तयारी गरिसकेको उल्लेख गर्दै आचार्यले अब पनि ढिलाइ भए सडक संघर्ष बाध्यकारी हुने बताए ।
‘हामी किसानलाई गाई पाल्न र कामधन्दा छाडेर आन्दोलनमा आउन रहर छैन, वार्ताबाट नै समस्या समाधान हुन्छ भने किन आन्दोलन गर्ने ?,’ उनले भने, ‘तर, सरकारले अझै पनि मूल्य बढाएन भने हामी बाध्य भएर आन्दोलन गर्नुपर्ने हुन्छ ।’

‘उद्योगीको लागत १४ रुपैयाँ, भारतको दरसँग तादात्म्य जरुरी’
निजी डेरी उद्योगीहरूले पनि लामो समयसम्म दूधको मूल्य नबढ्दा किसान र उद्योगी दुवै संकटमा परेको बताएका छन् । नेपाल डेरी एसोसिएसन अध्यक्ष प्रह्लाद दाहालले सरोकारवालासँगको अध्ययनबाट दूधको मूल्य बढ्नुपर्छ भन्ने सामूहिक निष्कर्ष निस्किए पनि कति र कहिलेदेखि बढ्ने भन्ने टुंगो लागिनसकेको बताए ।
‘लामो समय भइसक्यो, अरू सबै कुराको मूल्य बढिरहँदा दूधको मात्र नबढ्दा डेरी कसरी चल्ने, किसान कसरी चल्ने ?,’ दाहालले भने, ‘सबै सरोकारवालासँग अध्ययन गरेर दूधको मूल्य बढ्नुपर्छ भन्ने सामूहिक निष्कर्ष निस्किएको छ, कृषि मन्त्रालयमा हाम्रो कुराकानी भइरहेको छ, तर ठ्याक्कै कति बढ्ने र कहिले तोकिने भन्ने जानकारी चाहिँ आइसकेको छैन ।’
अध्ययन क्रममा उद्योगीको खर्च लागत प्रतिलिटर १४ रुपैयाँ निस्किएको र किसानको लागत पनि सोही हाराहारी आएको दाहालले जानकारी दिए ।
तर, मूल्य तोक्दा छिमेकी भारतको बजार दरसँग तुलना गरेर सन्तुलन मिलाउनुपर्ने उनको भनाइ छ । भारत र नेपालको मूल्य नमिले दुवैतिरबाट बजार बिग्रिने जोखिम उनले औँल्याए ।
‘उद्योगीको खर्च लागत १४ रुपैयाँ छ र किसानको पनि त्यही हाराहारीमा निस्किएको छ,’ अध्यक्ष दाहालले भने, ‘तर, भारतको दरसँग पनि दाँज्नुपर्छ, नत्र यताको दूध सस्तो हुँदा उता जान्छ र यहाँ झन् नपुग्ने समस्या हुन्छ, उताको दूध सस्तो हुँदा उताबाट यता आउँछ र यहाँ मिल्क होलिडे बढ्ने झन् ठूलो समस्या आउँछ ।’
बजारमा एकमुष्ट मूल्य बढेपछि विद्यमान मापदण्ड अनुसार किसान र उद्योगीको हिस्सा छुट्टिने उनले बताए ।
अध्यक्ष दाहालका अनुसार मुलुकभरि दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने गरेकामा औसत ३६ लाख लिटर व्यावसायिक संकलनमा आउने गरेको छ ।
पछिल्लो समय त्यसमा दैनिक २ देखि ३ लाख लिटर जति कमी आएको अनुमान छ । संकलित दूधमध्ये ४० प्रतिशत हिस्सा डीडीसी र सहकारीको तथा बाँकी ६० प्रतिशत निजी डेरी उद्योगको रहेको उनले बताए ।

चार प्रदेशको स्थलगत अध्ययनपछि बोर्डको निचोड
मूल्य समायोजनको विषयलाई लिएर राष्ट्रिय दुग्ध विकास बोर्डले स्थलगत अध्ययनपछि मूल्य बढाउनुपर्ने प्रमाण सहित प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले राजधानीमा टेबुलमै बसेर मूल्य बढ्छ भन्दा कसैले विश्वास नगर्ने भएकाले आफूहरू ‘अन द स्पट’ नै गाउँघर र जिल्लामा पुगेको बताए ।
‘टेबुलमा बसेर दूधको मूल्य बढ्छ भनेपछि त कसैले विश्वास गर्दैन,’ चौधरीले भने, ‘त्यसै कारणले हामी छोटो समयमा मुख्य–मुख्य ठाउँको गाउँघर र जिल्लाहरूमा स्थलगत रूपमै गएर भेटघाट गर्यौं, कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भागमा स्थलगत रूपमै गयौं र बाँकी ठाउँबाट भर्चुअल माध्यमबाट सूचना लियौं ।’
अध्ययन क्रममा ठाउँ अनुसार दाना लगायत सहायक सामग्रीको भाउ फरक–फरक रहेकाले प्रतिशतका आधारमा एउटै अंक तोक्न कठिन भए पनि लागत बढेकोमा दुई मत नरहेको उनले बताए ।
‘ठाउँ अनुसार फरक–फरक हुने भएकाले अन्य चिज यति प्रतिशतले नै बढेको छ भनेर संख्यात्मक रूपमा भन्न गाह्रो छ, तर मूल्य बढेको छ भन्नेमा दुई मतको कुरै छैन,’ उनले भने, ‘सरोकारवालासँग सरसल्लाह गर्दा सबैले दूधको मूल्य बढाउनुपर्छ नै भन्नुभएको छ र त्यसका थुप्रै प्रमाण संकलन भएका छन् ।’
बोर्डले सरोकारवालाको आवाज र प्रतिवेदन मन्त्रालयमा बुझाइसकेकाले अब कति बढाउने भन्ने निर्णय सरोकारवाला निकायको सहभागितामा मन्त्रालयले नै गर्ने चौधरीले बताए ।
‘हाम्रातर्फबाट दूधको मूल्य बढ्नुपर्दछ भन्ने सरोकारवालाको आवाज मन्त्रालयमा बुझाइसक्यौं,’ उनले थपे, ‘कति बढाउँदा ठिक हुन्छ भन्ने निर्णय सरोकारवाला निकायसँगको सहभागितात्मक हिसाबले मन्त्रालयले नै गर्ला ।’
सरकारी आँकडा हेर्दा मुलुकमा वार्षिक दूध उत्पादन क्रमश: विस्तार हुँदै गएको देखिन्छ । बोर्डको वार्षिक उत्पादन तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा करिब २ अर्ब ५३ करोड ७८ लाख ६४ हजार लिटर दूध उत्पादन भएको देखिन्छ ।

आव २०८०/८१ मा त्यो परिमाण बढेर करिब २ अर्ब ६० करोड ५८ लाख २५ हजार लिटर पुगेको थियो । २०८१/८२ मा कुल उत्पादन करिब २ अर्ब ६३ करोड ९० लाख ७ हजार लिटर पुगेको देखिन्छ ।
तीन वर्ष अवधिमा देशभरि करिब १० करोड ११ लाख ४३ हजार लिटर थप दूध उत्पादन भएको छ ।
दूध उत्पादनमा आत्मनिर्भरता बढाउन सरकारले ‘राष्ट्रिय दुग्ध विकास नीति २०७८’ कार्यान्वयनमा ल्याएको छ । उक्त नीति अन्तर्गत गाईभैँसीको नश्ल सुधार तथा कृत्रिम गर्भाधान विस्तार, पोषिलो पशुआहार प्रबन्ध, सहुलियत कर्जा, अनुदान प्रवाह र दूध संकलन तथा चिस्यान सम्बन्धी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।
मन्त्रिपरिषद् लैजाने मन्त्रालयको गृहकार्य
बोर्डको प्रतिवेदन र सरोकारवालाको माग प्राप्त भएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले दूधको मूल्य समायोजन सम्बन्धी प्रस्ताव तयार पार्ने काम गरिरहेको बताएको छ ।
मन्त्रालयका सूचना अधिकारी डा. मणिरत्न अर्यालले सम्बन्धित महाशाखामा यस विषयमा आन्तरिक छलफल भइरहेको र मन्त्रिपरिषद् पठाउने तयारी गरिएको बताए ।
‘मन्त्रालयका तर्फबाट अहिले छलफलमा छ र तयारी हुँदैछ,’ उनले भने, ‘प्रस्ताव बनाउने, विषय मिलाउने र मन्त्रिपरिषद् पठाउने गृहकार्य भइरहेको छ ।’
मन्त्रालयले प्रस्तावलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद् पठाउने तयारी गरिरहँदा यता लामो समयदेखि स्थिर रहेको दूधको भाउ छिट्टै समायोजन हुने अपेक्षा किसान र डेरी उद्योगीहरूले गरेका छन् ।
प्रतिक्रिया 4