+
+
Shares

नाफा बढ्दा पनि सुध्रिएन बैंकहरूको प्राथमिक पूँजी कोष दबाब

चालु आव असोजसम्म वाणिज्य बैंकहरूको नाफा ३९ प्रतिशत बढेको छ । तर, खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बढेपछि पूँजी कोषको दबाब झनै बढेको देखिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते २०:३३

९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा पनि बैंकहरूको पूँजी कोष दबाबमा सुधार आएको छैन । बैंकहरूको नाफा ३९ प्रतिशत बढ्दा पनि पूँजी कोष दबाब कायमै देखिएको हो ।

चालु आव असोजसम्म वाणिज्य बैंकहरूको नाफा ३९ प्रतिशत बढेको छ । तर, खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बढेपछि पूँजी कोषको दबाब झनै बढेको देखिएको हो ।

पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड खुद नाफा गरेका छन् । यो नाफा गत आव २०८२/८३ असोजको तुलनामा ४५.५१ प्रतिशत धेरै हो । त्यसबेला १३ अर्ब १४ करोड खुद नाफा गरेका थिए ।

चालु आव पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा बढे पनि उठ्न बाँकी र कर्जा नोक्सानी गर्नुपर्ने भएकाले पूँजी कोषमा योगदान नपुगेको पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीले बताए ।

‘गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेकाले पनि बैंकहरूको प्राथमिक पूँजीकोषमा असर गरेको छ,’ क्षेत्रीले भने, ‘बैंकहरूको वितरणयोग्य नाफाले पूँजी कोषमा योगदान गर्ने हो, तर त्यो घटेको छ ।’

चालु आव पहिलो त्रैमासमा बैंकहरूको वितरणयोग्य नाफा ९ अर्ब ७ करोड रुपैयाँले घटेको छ । गत आव सोही अवधिमा २१ अर्ब ६५ करोड थियो ।

त्यसैगरी चालु आव पहिलो त्रैमासमा बैंकहरूको खराब कर्जा बढेर ५.६४ प्रतिशत पुगेको छ । गत आव सोही अवधिमा ४.८५ प्रतिशत थियो । गत आव अन्त्य अर्थात् असारमा बैंकहरूको कुल कर्जामा खराब कर्जा अंश ५.५६ प्रतिशत थियो । यसले प्राथमिक पूँजी कोषमा दबाब बढेको क्षेत्रीको भनाइ छ ।

चालु आव पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत प्राथमिक पूँजी कोष अनुपात ९.६७ प्रतिशत कायम भएको छ । त्यसैगरी बैंकहरूको कुल पूँजी कोष औसतमा १२.४७ प्रतिशत छ ।

गत आव अन्त्यमा बैंकहरूको यस्तो औसत अनुपात ९.९६ प्रतिशत थियो । त्यस्तै गत आव पहिलो त्रैमासमा बैंकहरूको प्राथमिक पूँजी कोष अनुपात ९.९६ प्रतिशत थियो ।

कोरोना महामारी, आर्थिक मन्दी तथा प्राकृतिक विपत्तिका कारण कर्जा ‘डिफल्ट’ बढेपछि बैंकहरूको प्राथमिक पूँँजी कोष दबाबमा परेको हो । त्यसपछि भने निरन्तर पूँजी कोष दबाबमा बैंकहरू रहँदै आएका छन् ।

वित्तीय प्रणालीमा अधिक तरलता छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले दैनिकजसो मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । हाल केन्द्रीय बैंकसँग बैंक तथा वित्तीय संस्थामा अधिक भएको करिब १४ खर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत छ ।

यस्तो अवस्थामा पनि कर्जा मागमा अपेक्षित सुधार आउन सकेको छैन । साथै, बैंकहरूको प्राथमिक पूँजी कोष दबाबले पनि कर्जा लगानी नबढेको उनले बताए।

उनले बैंक तथा वित्तीय संस्थाको पुरानो लगानी समस्यामा परेका कारण पनि पूँजी कोषमा दबाब देखिएको बताए । उनका अनुसार विभिन्न विपत्तिका कारण ऋणी समस्यामा पर्दा कर्जा उठेन । कर्जा नउठेपछि आम्दानीलाई पनि नोक्सानी व्यवस्था गर्नुपर्‍यो । बैंकहरूले धितो सकार धेरै गरेको हुनाले पनि पूँजी कोष बढाउने आधारहरूमा असर गरेको बैंकरहरू बताउँदै आएका छन् ।

पछिल्लो समय बैंकहरूको पूँजी कोष दबाब कम गर्न केन्द्रीय बैंकले ऋणपत्र तथा हकप्रद सेयर जारी गर्न सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा बढाएको छ भने कर्जा जोखिम भारसमेत घटाएको छ ।

त्यसका साथै काउन्टर साइक्लिकल बफर सम्बन्धी व्यवस्था समेत कार्यान्वयन नगरी थप एक वर्षका लागि सारेको छ । यसले पनि बैंकहरूको पूँजी कोषको दबाब कम गरेको देखिँदैन ।

क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ ले बैंकहरूको प्राथमिक पूँजी कोष अर्थात् टियर वान क्यापिटल र जोखिम भारित सम्पत्ति अनुपात ८.५० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी कुल पूँजी अनुपात (कोर क्यापिटल र सप्लिमेन्टरी क्यापिटल गरेर) ११ प्रतिशत हुनुपर्छ । बैंकहरूले विगतका वर्षहरूमा अधिक कर्जा लगानी गरेका कारण पूँजी कोषभन्दा धेरै जोखिम भारित सम्पत्ति भएकाले पूँँजी कोष अनुपात घटेको हो ।

पूँजी कोष अनुपात तोकिएको सीमाभन्दा तल आएको खण्डमा बैंकहरूले कर्जा लगानी गर्न सक्दैनन् । लगानी बढाउन कर्जा असुली पनि बढाउनुपर्ने हुन्छ । कर्जा घटाएर वा पूँजी थप गरेर प्राथमिक पूँजी कोष बढाउन सक्छन् ।

चालु आव पहिलो त्रैमासमा हिमालयन बैंक, एनआईसी एसिया बैंक र प्रभु बैंकको प्राथमिक पूँजी कोष अनुपात फ्रेमवर्कले तोकेको सीमाभन्दा कम छ । यी बैंकहरूको क्रमश: ८.०३, ६.२७ र ८.१८ प्रतिशत छ ।

चालु आव पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्राथमिक पूँँजी कोष अनुपात सबैभन्दा धेरै १७.६१ प्रतिशत छ । त्यसैगरी दोहोरो अंकको प्राथमिक पूँजी कोष अनुपात हुने बैंकहरूमा नेपाल बैंक ११.२३, कृषि विकास बैंक १०.७९ र सिद्धार्थ बैंक १०.१६ प्रतिशत छन् । त्यसैगरी सिटिजन्स इन्टरनेसनल बैंकको प्राथमिक पूँजी कोष अनुपात ८.८३ प्रतिशत छ ।

पूँजी कोषको सीमा कायम नगर्ने संस्थालाई गरिने पहिलो कारबाही भनेको लाभांश वितरणमा रोक हो । बैंकहरूले चालु आव सकिएपछि वार्षिक साधारणसभा गरेर यो वर्षको नाफाबाट वा विगतको रिटेन्ड अर्निङबाट सेयरधनीलाई लाभांश दिन्छन् ।

केन्द्रीय बैंकका अनुसार पूँजी कोष सीमा कायम नगरेको वर्षमा संस्थाले सेयरधनीलाई लाभांश वितरण गर्न सक्दैन ।

केन्द्रीय बैंकले पूँजी कोषसम्बन्धी निर्देशन पालना नगरे बैंक तथा वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली २०७४ अनुसार कारबाही गर्छ ।

विनियमावली अनुसार लाभांश वितरणमा रोकदेखि व्यवस्थापन लिनेसम्मको कारबाही हुन्छ । त्यसैगरी पूँजी गणना गर्दा कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पूँजी कोष कायम गर्न नसकेको भए तापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पूँजी कोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा तथा वितरण गर्न नपाउने केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?