+
+
Shares
इनमको उजुरी :

‘यातना दिएर जबर्जस्ती बयान गराइयो, परिवारलाई ज्यानको धम्की छ’

श्रीमती कविता पाण्डेमार्फत दिइएको उजुरीमा सापकोटाले हालसम्म उनीमाथि लाग्दै आएका आरोपको खण्डन गर्दै आफूलाई सुरक्षाकर्मीले गरेको ज्यादती र जबर्जस्ती गरेको उल्लेख गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १९:४४

११ मंसिर, काठमाडौं । अनधिकृत कारोबार र हाईप्रोफाइल व्यक्तिहरूसँग मिलेर फिक्सरको काम गर्दै आएको आरोपमा पक्राउ परेका इनम सापकोटाले शुक्रबार आफ्नो जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

श्रीमती कविता पाण्डेमार्फत दिइएको उजुरीमा सापकोटाले हालसम्म उनीमाथि लाग्दै आएका आरोपको खण्डन गर्दै आफूलाई सुरक्षाकर्मीले गरेको ज्यादती र जबर्जस्ती गरेको उल्लेख गरेका छन् ।

मानवअधिकार आयोगका एक सदस्यले दिएको जानकारी अनुसार सापकोटाको पत्नी कविताले आयोग अध्यक्ष तपबहादुर मगरसँग रुँदै जीवन रक्षाको आग्रह गरेकी थिइन् । उनीले घटनाको विवरण पनि उल्लेख गरेकी थिइन् ।

आयोगको टोली हिरासतमा रहेका सापकोटोको अवस्था बुझ्न सोमबार प्रहरी परिसर काठमाडौं जाने भएको छ ।

सापकोटा गत असोज १४ गते भारत जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाहरूमा अनावश्यक चलखेल गरेको भन्दै सरकारले उनलाई गत ११ असोजमा घरबाटै पक्राउ गरेको थियो ।

राति २ बजे पक्राउ गरी १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर जबरालाई केरकार गरिएको थियो । त्यसक्रममा जबरासम्म सम्पर्कमा सापकोटा पनि रहेको प्रहरीले थाहा पायो त्यसपछि सापकोटालाई पक्राउ गरेको हो । पक्राउ पछि उनले दिएको बयानका आधारमा विभिन्न व्यक्तिहरूलाई प्रहरी पक्राउ र निगरानी गरिरहेको छ ।

तर सापकोटाले आज आयोगमा दिएको उजुरीमा सबै काम सुरक्षाकर्मीको जबर्जस्तीमा आफूलाई गराउन लगाएको दाबी गरेका छन् ।

गत असोजको ११ गते विमानस्थलबाट आँखामा पट्टि बाँधेर अज्ञात स्थलमा आफूलाई लगिएको सापकोटाले उजुरीमा उल्लेख गरेका छन् ।

पूर्व प्रधानन्यायधीस चोलेन्द्र शमशेर जबरा, उनका भाइ–छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेस नेता तथा व्यबसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ्ग, हिमालय होटलका नवीन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशहरू विरुद्ध प्रमाण र बयान दिन लगाएको सापकोटाले दाबी गरेका छन् ।

‘उनीहरू विरुद्ध प्रमाण र बयान दिए छाडी दिने नत्र म मात्र हैन । मेरो परिवार समेतलाई नराम्रो हुन्छ भनि धम्की दिइयो,’ उजुरीमा लेखिएको छ ।
सापकोटाले ती मध्ये केहीलाई आफूले नचिनेको बताएका छन् । आफूले नियन्त्रणमा लिएका व्यक्तिले भने अनुसार बयान दिन अस्विकार गर्दा झुट्ठा मुद्दा लगाउने, आफ्नो र परिवारको जिउ ज्यानमै खतरामा पार्ने धम्की दिएको उनले दाबी गरेका छन् ।

‘मानसिक यातना दिई रहे । सो क्रममा मलाई फकाउने र तर्साउने काम गरिरहे,’ उजुरीमा सापकोटाले भनेका छन्,‘ एकातिरको आँखाको पट्टी माथि सारी सबैले सुन्ने गरि ठूलो स्वरमा पढ्न लगाए ।’
प्रहरीले जबरजस्ती पढ्न लगाएका कुराहरूलाई काँटछाँट गरेर अडियो बाहिर आएको आफूले जानकारी पाएको सापकोटाले उजुरीमा उल्लेख गरेका छन् ।

सोही अडियोको आधारमा बयान दिन भनि दबाब दिइरहेको सापकोटाले उजुरीमा दाबी गरेका छन् ।

प्रहरीले उक्त अडियो परिक्षणको नाममा सोही अडियोकै आधारमा बयान दिनु पर्ने भनि मानसिक दवाब र यातना दिइँदै आएको उनको दाबी गरेका छन् ।

एआईबाट निर्मित अडियोहरू समेत बाहिर ल्याइएको भनि आफूले थाहा पाएको सापकोटाले बताएका छन् ।

‘प्रहरीले मेरो मोबाइल समेत २ दिनसम्म अन्य अनधिकृत व्यक्तिलाई दिएको र ती व्यक्तिबाट म प्रहरीकै नियन्त्रणमा रहँदा छेडखानी गरी हुँदै नभएका विभिन्न प्रमाणहरू सिर्जना गरेको, एआईबाट सिर्जित कागजात समेत प्रमाणको रुपमा प्रस्तुत हुन थालेको समाचार आइरहेको कुरा आफन्त र कानुन व्यवसायीबाट जानकारी भएकाले म निवेदकलाई फसाउन प्रपञ्च तथा षडयन्त्र गरि रहेको’ सापकोटाको उजुरीमा उल्लेख छ ।

अनुसन्धानमा रहेका व्यक्तिले झुठा विवरणहरू बाहिर ल्याएको उनीहरू माथि पनि कानुन बमोजिम सापकोटाले कारबाहीको माग गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ११ असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई राति २ बजे पक्राउ गरी १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर केरकार गरिएको थियो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रले व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाललगायत छुटाउन अदालतमा चलखेल गरेको सूचनापछि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा चोलेन्द्र मध्यराति नै पक्राउ परेका थिए ।

१२ घण्टा नियन्त्रणमा लिएर दिउँसो २ बजे चोलेन्द्रलाई प्रहरीले छाडेको थियो । त्यतिबेला प्रहरीले चोलेन्द्रको मोबाइलसमेत नियन्त्रणमा लिएर हेरेको थियो । त्यसपछि चोलेन्द्र र इनमको कनेक्सन खुलेको थियो । चोलेन्द्रलाई नियन्त्रणमा लिएपछि सिनमा देखिएका उनै इनमलाई दिल्ली जान लागेका बेला १४ असोजमा प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

बिचौलियाको काम गर्ने इनम पक्राउ परेपछि उनीसँगै धेरै हाइप्रोफाइल व्यक्तिहरूको कनेक्सन देखिएको प्रहरीको दाबी छ । इनमसँग हाइप्रोफाइल व्यक्तिहरूको सम्पर्क देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी नरहरि रेग्मीको नेतृत्वमा अनुसन्धान गर्न छुट्टै समिति नै बनाइएको थियो ।

उनीसँगै कनेक्सन देखिएको आधारमा कांग्रेस नेता उमेश श्रेष्ठका भाई महेश श्रेष्ठ पक्राउ परेका छन् । त्यस्तै लगानी बोर्डका पूर्व सिइओ सुशील भट्ट पनि पक्राउ परेका छन् । इनमसँगै कनेक्सन देखिएपछि सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई जागिरबाटै बर्खास्त गरिएको छ ।

आयोगमा दर्ता भएको निवेदन अनुसार इनम सापकोटाले उल्लेख गरेका प्रसंग यस्ता छन् :

१. विमानस्थलबाट नियन्त्रण र आँखामा पट्टी

मिति २०८३/०६/१४ गते दिनको करिब १०:३० बजे नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको, बोर्डिङ पास लिएपछि २ वटा मोबाइल फोन खोसेर लिई गाडीमा राखी आँखामा पट्टी लगाएर लगेको र १४ गतेदेखि १५ गते साँझसम्म अज्ञात स्थलमा कालो पट्टीमै राखेको।

२. विशिष्ट व्यक्तिहरूविरुद्ध बयान र प्रमाण दिन धम्की

सोधपुछका क्रममा ‘तिम्रो विरुद्ध हाम्रो व्यक्तिगत केही छैन’ भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, उनका भाइ तथा छोरा, गगन थापा, उमेश श्रेष्ठ, मीनबहादुर गुरुङ, नवीन तुलाधर र सर्वोच्च अदालतमा कार्यरत केही श्रीमान्‌हरूविरुद्ध प्रमाण र बयान दिए छाड्ने, नत्र आफू मात्र होइन परिवारसमेतलाई नराम्रो हुने धम्की दिएको।

३. झुट्ठा मुद्दा र मानसिक यातना

आफूलाई जानकारी नै नभएको र परिवारकै जिउज्यानमा खतरा पर्ने गरी अरूविरुद्ध बोल्न नसक्ने बताउँदा लामो समय जेल बस्ने गरी झुट्ठा मुद्दा लगाउने तथा एकतिरको आँखाको पट्टी खोल्ने भन्दै फकाउने, तर्साउने र मानसिक यातना दिएको।

४. लेखेका कुरा पढ्न लगाइयो

प्रहरीले ‘धेरै कुरा बोल्न पर्दैन, हामीले यहाँ लेखेको पढ्नुस् अनि माथि सारी सबैले सुन्ने गरी पढ्नुस्’ भनेअनुसार पढेको र पछि तिनै कुरा उल्लेख गरिएको कागजमा सही गर्न भन्दा मलाई थाहै नभएका झुट्ठा कुरामा सही गर्न सक्दिनँ भनी दस्तखत गर्न इन्कार गरेको।

५. आँखामा पट्टी र चश्मा लगाई भद्रकाली पुर्‍याएको

सही गर्न नमानेपछि ‘अब यसलाई यत्तिकै छाड्ने होइन, मुद्दा लगाएर खोरभित्र हाल्नुपर्छ’ भन्दै आँखामा पट्टी र त्यसमाथि अर्को चश्मा लगाउन लगाई गाडीमा हालेर साँझ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुर्‍याएको, खल्तीमा २ वटा कागज हालिदिएको र थुनामा राखेको।

६. घर खानतलासी र सुटकेसको पैसा घरमा फेला परेको मुचुल्का

भोलिपल्ट १६ गते बिहान करिब ८:३० बजे हथकडी लगाएर पानीपोखरी हाइट्स होम्स अपार्टमेन्टमा लगेको, खानतलासीमा खासै केही नभेटिएपछि सुटकेसको साइड ब्यागबाट निकालिएको विदेशी मुद्रासमेत घरमा फेला परेको भनी मुचुल्का बनाएको तथा श्रीमतीको दस्तखत पहिले नै खाली पेजमा गराइएको

७. झुट्ठा बेहोरामा म्याद थप र सम्पत्ति शुद्धीकरण मुद्दा

विमानस्थलको सडकमा महिला तथा सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको भनी गलत म्याद थप गरिएको, कानुन व्यवसायीले राष्ट्र बैंकको परिपत्रअनुसार डलर राख्न पाइने कानुनी व्यवस्था देखाएपछि सम्पत्ति शुद्धीकरण मुद्दा थपेर झुट्ठा मुद्दा सिर्जना गरी थुनामा राख्ने प्रवृत्ति देखाएको।

८. पढ्न लगाइएका कुरा रेकर्ड र अडियो काँटछाँट गरी सार्वजनिक

पक्राउ परेको दिन पढ्न लगाइएका कुरा (कांग्रेसको आधिकारिकता विवाद, न्यायाधीशहरूको सेटिङ जस्ता विषय) रेकर्ड गरिएको, अडियो परीक्षणका नाममा काँटछाँट गरी सार्वजनिक गरिएको र सोही अडियोका आधारमा बयान दिन मानसिक दबाब र यातना दिइएको।

९. मोबाइल अनाधिकृत व्यक्तिलाई दिई छेडखानी र एआई कागजात

आफ्नो मोबाइल २ दिनसम्म अन्य अनाधिकृत व्यक्तिलाई दिई नियन्त्रणमा रहँदा छेडखानी गरिएको, हुँदै नभएका प्रमाण सिर्जना गरिएको र एआईबाट सिर्जित कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत हुन थालेको।

१०. मौलिक हक हनन: आरोप प्रमाणित नहुँदै देशकै सबैभन्दा ठूलो बिचौलिया, फिक्सर जस्ता उपनाम दिई मिडिया ट्रायल गरिएको, श्रीमतीले कागज गर्न जाँदा समेत प्रहरीको फन्दामा परेको जस्ता शब्द लेख्न लगाई बदनाम गराइएको तथा संविधानको धारा २० र धारा २८ विपरीत मौलिक हकमाथि आघात पुर्‍याएको ।

यस्तो छ उजुरी : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?