+
+
Shares

धर्मको कर्म : ३६ वर्षमै श्रीमती गुमाए, छोराछोरीलाई डाक्टर, इन्जिनियर र नर्स बनाए

१७ वर्षअघि श्रीमती गुमाएका धर्मले अर्को बिहे गरेनन् । बरु, एक्लो प्रयासमा ३ छोरी र १ छोरा हुर्काए, बढाए, पढाए र उज्वल भविष्यको बाटोतर्फ अग्रसर गराए । उनका ४ छोराछोरीमध्ये २ जना डाक्टर, एक जना इन्जिनियर र एक छोरी बिएन नर्स छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते ११:३७
छोरा-छोरीको साथमा धर्म ।

११ मंसिर, चितवन । ‘महिला मर्दा पुरुषले अर्को बिहे गर्ने अरे, पुरुष मर्दा महिलाले चाहिँ सेतै लगाउनुपर्ने अरे ।’

लोकगायक बद्री पंगेनीले गाएको यो गीतले नेपाली समाजमा श्रीमतीको निधन हुने वित्तिकै श्रीमान्ले अर्को बिहे गर्ने आम प्रवृत्तिलाई उजागर गरेको छ ।

तर, समाजमा यस्ता अपवाद पनि छन् जसले श्रीमतीको मृत्युपछि अर्को बिहे नगरी आफ्ना सन्तानको सफलताका लागि जीवन समर्पित गरेका छन् । यस्तै अपवादमध्ये एक हुन्, चितवनको भरतपुर महानगरपालिका–८ का धर्म कार्की ।

१७ वर्षअघि श्रीमती गुमाएका धर्मले अर्को बिहे गरेनन् । बरु, एक्लो प्रयासमा ३ छोरी र १ छोरा हुर्काए, बढाए, पढाए र उज्वल भविष्यको बाटोतर्फ अग्रसर गराए । उनका ४ छोराछोरीमध्ये २ जना डाक्टर, एक जना इन्जिनियर र एक छोरी बिएन नर्स छिन् ।

धर्मले श्रीमती कमला कार्कीलाई गुमाउँदा सानो छोरा ५ वर्षका थिए । उनी भन्छन्, ‘स्वर्गबाट मेरी श्रीमतीले दिएको आर्शिवाद, मेरो निरन्तर माया–ममता र छोराछोरीको मिहिनेतले उनीहरू सक्षम र सबल नागरिक बने ।’

उनका छोरा आकाश र छोरी सम्झना (माइली) डाक्टर बनेका छन् । जेठी छोरी जयन्तीले बीएन गरेकी छिन् भने कान्छी छोरी संगीता इन्जिनियर हुन् ।

अल्पायुमै श्रीमती गुमाएका धर्मले आमाको ममतासमेत दिएर छोराछोरी हुर्काउनु निकै कठिन काम भएको बताए । ‘मलाई समाजले परीक्षा लियो । म र मेरा छोराछोरीले त्यो परीक्षा दियौं । र, पास भयौं,’ उनी भन्छन्, ‘आज छोराछोरी देशका असल नागरिक बनेका छन् ।’

असार ४ गतेको त्यो कालो रात

कमला र धर्म श्री मावि गौरीगञ्ज प्रेमबस्तीमा पढ्थे । धर्मले २०४७ सालमा एसएलसी पास गरे । धर्म र कमलाले २०४८ सालमा प्रेमलाई मागी विवाहमा परिणत गरे । चार जना छोरीछोरीसहित धर्मदम्पतीको जीवन ठिकठाकै चलिरहेको थियो ।

२०५१ सालमा धर्मका बुवा बिते । त्यसपछि उनलाई पारिवारिक बोझ थपिन थाल्यो । २०५० सालमा जेठी छोरी जयन्ती जन्मिइन् । पछि अरू सन्तान पनि भए ।

उनी वीरेन्द्र क्याम्पसमा आईए भर्ना भए । पढ्दापढ्दै हिमालय फिडको बजार व्यवस्थापक भएर काम गरे । आफैंले गगन पोल्ट्री फार्म खोले । दुई बिघा जमिनमा खेतीपाती थियो । घरपरिवारको सबै चाँजोपाँजो श्रीमती कमलाले नै मिलाउँथिन् । परिवार सुखदु:ख चलेकै थियो ।

तर, ४ असार २०६७ धर्मको जीवनमा कालो रात बनेर आयो । त्यो रात कमला माइली छोरी सम्झना लिएर सुतिन् । धर्म अर्को खाटमा सुते । धर्मको गर्धनमा केही चिसो भएको जस्तो भयो । उनले हातले पन्छाए । फेरि चिसो भएको जस्तो भयो । बिहान ४ बजेतिर बत्ती बालेर हेर्दा सर्प देखे ।

घरमा जाली ढोका पनि थियो । तर सर्प कोठाभित्र सर्प छिरेर उनको गर्धनमा पुगेछ । धर्मको सातो गयो । उनले तत्कालै श्रीमतीलाई भने । उठेर श्रीमतीले धर्मको गर्धनतिर हेरिन् । सर्पले टोकेको कतै देखिएन । धर्मले सर्पलाई मारेर फालिदिए र दुवै जना सुते ।

कमलाको साथमा धर्म ।

बिहानीपख कमलाले पेट दुख्यो भनिन्, पानी खाइन् । शौचालय गइन् । असहज हुँदै गयोे । बिहान धर्मले कमलालाई मोटरसाइकलमा राखेर अस्पताल लगे । डा. विजय पौडेललाई देखाए । आँखाको परेलासमेत खसेको भन्दै डा. पौडेलले सर्पले टोकेको हुनसक्ने आशंका गरे ।

त्यतिञ्जेलसम्म गएरातिको घटना बिर्सिसकेका धर्म झस्याङ्ग भए । कमलालाई भरतपुर अस्पतालमा ‘अब्जरभेसन’मा राखियो । कमलालाई तिघ्रामा सर्पले टोकेको देखियो । गाह्रो हुँदै गएपछि आईसीयूमा राखियो । चिकित्सकले बचाउन निकै प्रयास गरे । तर विष शरीरभरि फैलिएका कारण कमलाको सोही दिन निधन भयो ।

श्रीमतीको अप्रत्याशित निधनले धर्मलाई आफ्नो संसार नै उजाडिएको जस्तो भयो । ‘जीवनमा कहिल्यै नसोचेको घटना भयो । अघिल्लो दिनसम्म सँगै रहेकी श्रीमतीलाई गुमाउँदा म सम्हालिन सकिनँ । संसार नै सकिएझैं भयो,’ धर्मले त्यो कहालीलाग्दो क्षण सम्झिए, ‘मैले कमलालाई सम्झें, उनीसँग बिताएका दिनहरू सम्झिएँ, चार जना साना लालाबालाको अनुहार सम्झिएँ । म यति रोएँ, त्यसको कुनै सीमा भएन । तर मसँग सहनुको विकल्प थिएन ।’

धर्मले त्यसै दिन संकल्प गरे, ‘मेरो बाँकी जीवन यिनै छोराछोरीको खुसीका लागि बाँच्छु, यिनीहरूलाई राम्रो बनाउँछु ।’

श्रीमतीलाई समयमै अस्पताल लैजान सकेको भए बाँच्थिन् कि भन्ने लागिरहन्छ धर्मलाई । ‘सर्पले मेरो गर्धनमा आएर तेरो श्रीमतीलाई टोकेको छु, समयमा नै अस्पताल लैजा भनेको पो थियो कि ?,’ उनी भन्छन्, ‘समयमै अस्पताल लगेको भए बचाउन सक्थें कि भन्ने अहिले पनि लाग्छ । तर ख्याल भएन, सर्पले झुक्यायो ।’

अस्पताल जाँदा गफ गर्दै गएकी श्रीमतीसँग आईसीयूमा जीवनका अन्तिममा क्षणमा भने केही कुराकानी गर्न नपाएकोमा उनलाई थकथकी लागिरहन्छ ।

कमलाकै सम्झनामा बाँकी जीवन सर्मपित

कमलाको निधन हुँदा जेठी छोरी जयन्ती पीसीएल नर्सिङ पढ्दै थिइन्, माइली छोरीले भरखरै एसईई दिएकी थिइन् भने कान्छी छोरी कक्षा ८ र छोरा कक्षा ४ मा पढ्दै थिए ।

दुई छोरी ठूलै भए पनि कान्छी छोरी र छोराका लागि आमाको ममता र बाबुको छहारीको बढी खाँचो थियो । धर्मकी आमाले हजुरआमा भएर पनि आमाले जस्तै स्याहार गरिन् । संस्कार सिकाइन् । उनको दुई वर्ष अगाडि निधन भइसकेको छ ।

‘मैले एकछिन पनि उनीहरूलाई आफ्नो नजरबाट पर हुन दिइनँ,’ धर्म भन्छन् ‘यिनीहरू लड्लान् पक, चोट लाग्ला कि, ममी सम्झेर रोलान् कि भन्ने चिन्ता हुन्थ्यो’

घरमा कहिल्यै पनि छोराछोरीलाई गाली गरेनन् । सधैं उस्तै माया दिए ।

धर्म बेलाबखतमा श्रीमतीका फोटाहरू फेसबुकमा राख्छन् । मिठा स्मृतिका क्याप्सनहरू हाल्छन् । श्रीमतीसँगका सीमित फोटाहरूलाई सामाजिक सञ्जालमा घुमाउँछन् ।

‘मनमा कहिलेकाहीँ अनेक सम्झना आउँछन्, कहिले मन दु:खी हुन्छ त कहिले खुसी । उनलाई सम्झन्छु,’ धर्म भावुक हुँदै भन्छन्, ‘कमलाको आशिर्वाद सदैव छ । उनले माथि बसेर हेरिरहेकी छिन् । हामीले गरिरहेको कर्मबाट उनी खुसी छिन् ।’

३६ वर्षकै उमेरमा श्रीमती गुमाएका धर्मलाई अर्को बिहे गर्ने सोच भने कहिल्यै आएन । उनलाई कतिले बुढेसकालामा दु:ख पाइन्छ भनेर सम्झाए । कतिले छोराछोरीको बिचल्ली हुन्छ भनेर सम्झाए ।

‘मलाई बुढेसकालमा दु:ख पाइन्छ, बिहे गर्नुपर्छ भनेर सल्लाह दिने धेरै छन् । हरिवंश आचार्य, माधवप्रसाद घिमिरे, राजा महेन्द्रको उदाहरण दिने पनि छन् । तर जसले जे भने पनि मेरो जीवन कमलाको लागि सर्मपित गरेको छु,’ धर्म भन्छन् ।

उनी ठान्छन्, ‘समाजमा कतिपय मान्छेले बिहे नै नगरी बसेका छन् । कतिपयले बिहे गरेर पनि बालबच्चा पाउन सकेका छैनन् । कृत्रिम तरिकाले सन्तान जन्माउने पनि छन् । मेरा त चार सन्तान छन् । संसारका मान्छेको जीवन फरक छ, अनुहार फरक छ, सोच फरक छ । मेरो मन पनि फरक छ ।’

सन्तानको खुसीका लागि आफ्ना सबै आवश्यकता पन्छाएको धर्मले सुनाए । भने, ‘कमलाको मृत्युपछि मैले गरेको प्रतिबद्धताबाट आज पनि रक्तिभर विचलित छैन । श्रीमतीको स्मृतिमा सन्तानका लागि पनि पुरुष बाँच्ने रहेछन् भन्ने उदाहरण बनोस् भन्ने चाहन्छु ।’

धर्मले हालसालै नयाँ घर बनाएका छन् । घरको नाम नै कमला स्मृति निवास राखेका छन् । बैठक कोठाको भित्तामा कमलाको पेन्टिङ फोटो राखेका छन् । घरभित्र पस्ने वित्तिकै पहिलो नजर नै उनको तस्वीरमा पुग्छ । धर्मलाई लाग्छ– कमला घरभित्रै छिन् । उनी घरको शोभा हुन् । उनको ठाउँ अरू कसैले लिन सक्दैन ।

मन भुलाउन समाजसेवा

धर्म भरतपुरका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय तथा वकिलहरूका कार्यालयमा प्राय: भेटिन्छन् । सामाजिक तथा शैक्षिक संघसंस्थाहरूमा विभिन्न काम गरेर मन भुलाउने र आफूलाई व्यस्त राख्ने गरेका छन् ।

अरूका अगाडि आफ्नो दु:ख र पीडा कहिल्यै नबताउने र नदेखाउने धर्म बाहिरबाट सधैं हँसिलो देखिन्छन् । अरूका लागि सहयोग गर्न हरसमय तत्पर रहन्छन् ।

श्रीमावि गौरीगञ्जको अध्यक्ष एक कार्यकाल, दुई कार्यकाल शरदपुर माविको अध्यक्ष भएका धर्मले श्रीमावि गौरीगञ्जमा भवन निर्माणमा श्रीमतीको स्मृतिमा ५ लाख ५ हजार ५५५ र अक्षयकोष ५ हजार ५५५ रकम सहयोग गरेका छन् । जिल्ला शिक्षा कार्यालय चितवनबाट अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७० मा शिक्षा क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै उनी सम्मानित पनि भए ।

१० वर्ष नारायणी लिफ्ट प्रशाखा नम्बर ८ को अध्यक्ष भएर समुदायमा काम गरेका धर्म बरण्डाभार वनदेवी सामुदायिक वनको सल्लाहकार, राधाकृष्ण मन्दिर निर्माण समितिको अध्यक्ष, विभिन्न सडक उपभोक्ता समितिको अध्यक्ष, विद्यालय बनाउने जस्ता अभियानमा समेत सक्रिय बन्ने गरेका छन् ।

सरकारले एकल महिला वा बिधवालाई भत्ता दिने गरे पनि पुरुषका लागि भने विभेद गरिएको उनको भनाइ छ । ‘मेरा लागि त चाँहिदैन तर म जस्तै पुरुषहरू समाजमा छन् । आर्थिक–सामाजिक रूपमा पछाडि पारिएका व्यक्तिहरूलाई बिधवा वा एकल महिला सरह सरकारले भत्ता दिनुपर्छ,’ धर्म भन्छन्, ‘पुरुषका पीडा र वेदनालाई समाज र सरकारले सहज रूपमा लिएको देखिँदैन ।’

धर्म कार्की ।

अझै छन् धर्मका कर्म

धर्मका चार सन्तानमध्ये जेठी छोरी जयन्तीको बिहे भइसकेको छ । उनले बीएन गरेकी छिन् । माइली छोरी डा. सम्झना, कान्छी छोरी संगीता र छोरा डा. आकाशलाई थप पढाउने र बिहेदान गर्ने दायित्व बाँकी नै छ । उनी आफ्ना कुनै पनि सन्तान विदेश नजाउन् भन्ने चाहन्छन् ।

धर्मका छोराले अध्ययन गरेको विद्यालय बाल्मिकी शिक्षा सदनका प्राचार्य प्रदीप पौडेल भन्छन्, ‘धर्म कार्की जस्तो परिवार र सन्तानका लागि रेखदेख र केयर गर्ने अर्को अभिभावक मैले देखेको छैन ।’

धर्मले माइली छोरीलाई किस्ट मेडिकल कलेजबाट एमबीबीएस गराए भने कान्छी छोरीले नेपाल पोलिटेक्निस इन्स्टिच्युटबाट इन्जिनियरिङ गरिन् ।

छोराछोरीमा गरेको लगानीले उनीहरूको जीवन र युग नै फेरिन्छ भन्ने बुझाइ धर्मको छ । एक समय राजनीतिमा सक्रिय धर्म छोराछोरीको पढाइ बिग्रने देखेर त्यसबाट पछाडि हटे । छोराछोरीलाई समय दिए । मिहिनेत गर्न सिकाए ।

‘म र मेरा सन्तानलाई कहिल्यै गलत बाटोमा जान नदिन कमलाले माथिबाट हेरिरहेकी छिन् भन्ने ठान्छु,’ धर्म भन्छन्, ‘कमलाले सुम्पिएका र छाडेका जिम्मेवारीलाई पूरा गर्ने संकल्प गरेको छु ।’

छोराछोरीलाई डाक्टर, इन्जिनियर र नर्स बनाएका धर्म आफैं पनि विद्यार्थी भएर पढिरहेका छन् । बालकुमारी कलेजबाट बीबीएस पढेका धर्म हाल वीरेन्द्र क्याम्पसमा बीए भर्ना भएर अध्ययन थालेका छन् ।

जहिले पनि खुसी भएर हिँड्ने, सामाजिक सेवा गर्ने धर्म भन्छन्, ‘कति बाँचिन्छ थाहा छैन, जति बाँचिन्छ अरूका लागि नै बाँच्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?