Comments Add Comment

प्रधानमन्त्रीको प्रस्तावपछि बामदेवले थाले संवैधानिक परामर्श

१९ वैशाख, काठमाडौं । पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीबाट अचानक प्रधानमन्त्रीको प्रस्ताव आएपछि उत्साहित भएका नेकपा उपाध्यक्ष बामदेव गौतमले आफू संसदमा जाने प्रक्रियाबारे कानुनी तथा राजनीतिक परामर्श थालेका छन् ।

बुधबारको सचिवालय बैठकमा ओलीले आफूले राजीनामा गर्नुपर्ने हो भने पुरानालाई होइन नयाँलाई मौका दिने भन्दै बामदेवको नाम अघि सारेका थिए । त्यसपछि गौतमले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् । बरु उनी आफू प्रधानमन्त्री बन्ने प्रक्रियाबारे परामर्शमा छन् ।

संविधानको किताब लिएर बसेका गौतमले सकेसम्म उपचुनाव लडेर जाने प्रक्रियाभन्दा संविधान संशोधनका प्रक्रियामै जोड दिएको नेकपा निकट एक वरिष्ठ अधिवक्ताले बताए । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गर्नेमै गौतमको जोड छ ।

उनले भने, गौतमले परामर्श लिइरहनुभएको छ, तर संविधान संशोधन उहाँले सोचे जस्तो सजिलो छैन । पहिलो कुरा त नेकपाको दुई तिहाइ बहुमत छैन र गौतमका लागि दुईतिहाइ पुर्‍याउन अन्य पार्टीले सहमति जनाउने पनि देखिन्न । फेरि यो भनेको अलोकप्रिय कुरा पनि हो ।

गौतम भने एक कदम अघि बढेर प्रतिनिधिसभामा दुई तिहाइ बहुमत नभएको अवस्थामा राष्ट्रियसभामै संविधान संशोधन विधेयक लगेर भने पनि दुई तिहाई बहुमतले पारित गर्नेसम्मको छलफलमा छन् । ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ४९ सांसद छन् । त्यो भनेको दुई तिहाइभन्दा माथि हो ।

संविधानको धारा २७४ मा संविधान संशोधनसम्बन्धी व्यवस्था छ । जसमा संविधानका अपरिवर्तनीयबाहेक अन्य धारा संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ भनिएको छ ।

सोही धाराको उपधारा ३ मा पेश भएको विधेयकसम्बन्धित सदनमा प्रस्तुत भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने भनिएको छ । गौतमले संविधानको यही व्यवस्था समातेर आफ्नो लागि संविधान संशोधन गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन् ।

सरकारले त्यस्तो विधेयक राष्ट्रियसभामा दर्ता गरेर पारित भए पनि प्रतिनिधिसभामा पेश गर्नैपर्छ । प्रतिनिधिसभाको पनि दुईतिहाइ बहुमतले पारित हुनुपर्छ । गौतमले भने दुवै सदनको दुईतिहाइ बहमुत नभनिएकाले राष्ट्रियसभा वा संयुक्त सदनबाट पारित गर्न सकिन्छ कि भन्ने परामर्श समेत लिएका छन् ।

गौतम निकट एक नेताले भने– ‘केपी ओलीले चालबाजीमात्र गरेका होइनन् भने संविधान संशोधनकै प्रक्रियामा जान सकिन्छ । उहाँले दुवै सदनको दुईतिहाइ बहुमतबाट संविधान संशोधन गर्न सकिन्छ कि भनेर कानुनी राय लिनुभएको हो । बामदेव कमरेडले त आफू प्रधानमन्त्री बनेपछि के गर्ने भनेर नीति कार्यक्रम समेत बनाइरहनुभएको छ ।

संविधान संशोधनको बाटो जान नमिलेको खण्डमा मात्र उपचुनाव लड्ने सोचमा गौतम छन् । संविधान संशोधन कार्यदल समेत गठन भएर जनस्तरबाट विरोधपछि नेकपा पछि हटेको थियो । ओलीनिकट स्रोतले भने गौतमलाई कोरोना महामारीपछि कुनै निर्वाचन क्षेत्र खाली गरेर उपचुनाव लडाउने सोच प्रधानमन्त्रीले राखेका बताएको छ ।

गौतमका लागि आफूले राजीनामा दिन तयार रहेको कास्की १ का नेकपा सांसद खगराज अधिकारीले बताइसकेका छन् । संविधान संशोधन गर्नेतर्फ भने नेकपा नजाने नेताहरूले बताएका छन् । गौतमले त अध्यादेशबाट संविधान संशोधन गर्न सकिन्छ कि भन्ने सम्मको छलफल चलाइरहेको निकटवर्तीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment