+
+
Shares
एमाले बैठक ब्रिफिङ :

राजीनामाको प्रस्ताव आएपछि ओली रक्षात्मक, बचाउमा उभिए शंकर

जेनजी विद्रोहका कारण प्रधानमन्त्री पद त्यागेर गुन्डु बस्दै आएका ओलीले बहुसंख्यक पदाधिकारीबाटै राजीनामाको दबाब झेल्दै आएका छन् ।

सइन्द्र राई सइन्द्र राई
२०८२ असोज २४ गते २२:५०

२४ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा ६ नेताले पद छाडेर सहज निकासको प्रस्ताव गरेपछि अध्यक्ष केपी शर्मा ओली रक्षात्मक बनेका छन् ।

जेनजी विद्रोहका कारण प्रधानमन्त्री पद त्यागेर गुन्डु बस्दै आएका ओलीले बहुसंख्यक पदाधिकारीबाटै राजीनामाको दबाब झेल्दै आएका छन् ।

गत १३ असोजमा बसेको सचिवालय बैठकमै नेताहरूले पार्टी पुनर्गठनको प्रस्ताव ल्याएका थिए । तर त्यो बैठकले कुनै निर्णय नगरी केन्द्रीय कमिटी बैठक बोलाउने सहमति गर्‍यो । सोही अनुसार केन्द्रीय कमिटीको एजेण्डा तयार गर्न गुन्डुमा सचिवालय बैठक सुरू भएको छ ।

पहिलो दिनको बैठकमा सचिवालयका ९ जनाले आफ्नो धारणा राखेका छन् । त्यसमध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, रामबहादुर थापाले पार्टी पुर्गठनको अडान लिए । पुनर्गठनको अडान लिएका नेताहरूमध्ये अष्टलक्ष्मी शाक्यले लिखित रुपमै पहिलोपटक ओलीको राजीनामा मागिन् ।

उपाध्यक्ष गुरु बराल र महासचिव शंकर पोखरेलले ओलीको बचाउमा बोलेका छन् भने उपमहासचिव प्रदीप ज्ञवालीले मध्यमार्गी प्रस्ताव राखेका छन् ।

‘गुरु बरालले संकटका बेला नेतृत्व जोगाउनुपर्छ भन्ने मोटामोटी कुरा राख्नुभयो । प्रदीप ज्ञवालीले महाधिवेशनबाट पार्टी पुनर्गठनको कुरा उठाउनुभयो,’ बैठक स्रोत भन्छ, ‘महासचिव शंकर पोखरेलले भने ओलीलाई स्थापित गरेरै अगाडि बढ्नुपर्ने लामो व्याख्या नै गर्नुभएको थियो ।’ उनका अनुसार ओलीको बलियो बचाउमा पोखरेलले सशक्त तर्क गरेका छन् ।

लिखित मन्तव्य राखेकी उपाध्यक्ष शाक्यले ओली सहित पुराना सबै नेताले विदा लिनुपर्ने प्रस्ताव गरेकी छन् । तर कुन तहसम्मको पुराना भने नखुलाएको एक पदाधिकारीले बताए ।

‘नैतिक जिम्मेवारी लिएर पुराना जति सबैले विदा लिने प्रस्ताव गर्नुभएको छ,’ उनी भन्छन्, ‘तर कुन तहसम्मको पुराना भन्ने चाहिँ भन्नुभएन ।’

उनले भोलिपल्ट सरकार जाँदैछ भन्ने तपाईंलाई थाहा भएन भन्दै प्रश्न गरिन् । ‘अब षडयन्त्र भनेर मात्र हुँदैन । तपाईंले सहज निकास दिनुस्’, शाक्यले भनिन् ।

बैठक शुरू गर्ने क्रममा ओलीले सार्वजनिक रुपमा भनेकै जस्तै आफूविरुद्ध षडयन्त्र भएको ब्रिफिङ गरेका थिए । जेनजीका नाममा आफू नेतृत्वको सरकार ढाल्ने र एमालेलाई कमजोर पार्ने षडयन्त्र भएको तर्क ओलीले गरेका थिए । तर शाक्यले नयाँ पुस्तालाई पार्टीको भविष्य जिम्मा लगाउनुपर्ने प्रस्ताव राखिन् ।

पार्टी पुनर्गठनको प्रस्ताव गरिरहँदा उनले ओलीलाई साथ दिइरहेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालहरूप्रति कटाक्ष नै गरेका थिए ।

अष्टलक्ष्मीसँग मिल्दोजुल्दो तर्क बिष्णु पौडेलले गरेका थिए । दोष अरुलाई दिएर उम्कन नमिल्ने पौडेलको तर्क थियो ।

‘सरकारको नेतृत्व हामीले गरिरहेका थियौं । तर सुरक्षाको जानकारी भएन, परिस्थितिको मूल्यांकन गर्न सकिएन,’ उपाध्यक्ष पौडेलले भने, ‘सावधानी अपनाउन सकेनौं । यसको कमजोरीको समीक्षा नगरी हुन्न ।’

कमजोरीको समीक्षा गर्दै पुनगर्ठित एमाले अबको कोर्ष हुने पनि पौडेलले बताए । पार्टी पुनर्गठनको प्रस्ताव गरिरहँदा उनले ओलीलाई साथ दिइरहेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालहरूप्रति कटाक्ष नै गरेका थिए ।

‘सधैं ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थितिको मूल्याकंन हुँदैन । यहाँ बोकेको ल्यापटपले तलको स्थिति बुझ्न सकिँदैन,’ पौडेलले भनेका थिए, ‘तलको परिस्थिति भनेजस्तो छैन ।’ पौडेलले कार्यकर्ता पंक्तिमा भयंकर ठूलो निराशा र अन्योल रहेको रिपोर्टिङ प्रस्तुत गरेका थिए ।

जेनजी विद्रोह हुनुभन्दा निकै अघिबाटै ओलीलाई नेतृत्व छोड्न दबाब दिइरहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने आज तुलनात्मक नरम कुरा गरेका थिए । ‘पार्टी पुनर्गठनको एजेण्डा उहाँले पनि उठाउनुभयो, तर यसअघि जसरी सशक्त रुपमा कार्यबाहक छोड्नुस् चाहिँ भन्नुभएन,’ बैठकमा सहभागी अर्का एक नेता भन्छन् ।

ईश्वर पोखरेलले ओलीलाई नेतृत्व छोड्न दबाब दिने भन्दा पनि पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणको एजेण्डामा जोड दिएका थिए । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता यही केन्द्रीय कमिटी बैठकबाट नवीकरण गरेर जानुपर्ने उनको प्रस्तावमा उपाध्यक्षहरू विष्णु पौडेल र बादलले समेत साथ दिएका थिए ।

पार्टीभित्र विकसित विभाजित मनोविज्ञानलाई एकताबद्ध गर्न पनि भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने बादलले तर्क गरेका थिए । ओलीले नेतृत्व छोड्नुपर्ने पूर्वअडान बादलले आजको सचिवालयमा पनि राखेका छन् । तर महाधिवेशन मार्फत् नेतृत्व छोड्ने सक्ने विकल्प राखेका थिए ।

बैठक स्रोतका अनुसार बादल र उपमहासचिव प्रदीप ज्ञवालीको प्रस्ताव नजिक–नजिक थियो । ज्ञवालीले पनि महाधिवेशनमा जाने र त्यहीँबाट फेरि अनुमोदित हुने अथवा बिदा लिने भन्ने तय गर्नुपर्ने तर्क गरेका थिए ।

सुरेन्द्र पाण्डेले जेनजी पुस्ताको मूल भावना वर्तमान राजनीतिक नेतृत्वको विदाइ रहेको विश्लेषण सुनाए ।

उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले भने ओलीले नेतृत्व छोडेर मात्र थप निकास तर्फ जानुपर्ने अडान लिएका छन् । ‘प्रधानमन्त्री छोड्नुभयो, अब अध्यक्षबाट पनि मार्ग प्रशस्त गर्नुस्,’ ज्ञवालीको प्रस्ताव थियो ।

जेनजी पुस्ताले गरेको आन्दोलनका पछाडि ओलीको नेतृत्व शैली प्रमुख जिम्मेवार रहेको उनको निष्कर्ष थियो । ‘शासन गर्ने तरिकाले, पार्टी चलाउने तरिकाले असन्तुष्टि बढेर गयो । आजको स्थिति आयो,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘गरीबी, बेरोजगारी र भ्रष्टाचारले आगो झोस्न काम गर्‍यो ।’ अब नेतृत्वले सहज निकास दिएर अगाडि बढ्नुपर्ने उनले बताए ।

अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेनजी पुस्ताको मूल भावना वर्तमान राजनीतिक नेतृत्वको विदाइ रहेको विश्लेषण सुनाए ।

‘जसले आन्दोलन गरे, उनीहरूको माग तीन जनाले (शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड) बिदा लिनुपर्छ भन्ने थियो,’ पाण्डेले सावधानी गराए, ‘अस्ति त सत्ताबाट हटाए । अझै अटेर गरियो भने उनीहरूले अर्को अभियान शुरु गर्न बेर छैन । यो कुरा हामीले बुझ्नुपर्छ ।’

सत्ताको नेतृत्व गर्नेविरुद्ध नेपालको इतिहासमा सधैं षडयन्त्र हुने गरेको लामो ब्रिफिङ पाण्डेले गरेका थिए ।

‘कसको विरुद्ध षडयन्त्र भएन ? षडयन्त्र चिरेरै सत्ता चल्दै आएको बिर्सन मिल्दैन,’ उपाध्यक्ष पाण्डेले भने, ‘षडयन्त्र हुन्छ र भइरहेको छ भन्ने बुझ्न नसक्नु कमजोरी हो ।’

कर्पोरेट हाउसहरूले अमेरिकाकै सत्तामा हल्लाउने तथ्य बुझ्न नसक्नु, कूटनीतिक सम्बन्ध बिग्रनु, मुलुकभित्रको आन्तरिक संकटलाई नजर अन्दाज गरिनु जस्ता समस्याले आजको स्थिति आएको टिप्पणी पनि उनले गरे ।

सँगै, नयाँ शक्तिसँग प्रतिस्पर्धा गर्न पनि एमाले पुनगर्ठित हुनुपर्ने पाण्डेको तर्क थियो । ‘नयाँ पार्टी भन्दा माथि पुर्‍याउँछु भन्नलाई पनि उमेरले साथ दिँदैन । अनि किन बस्नुपर्छ पदमा ?,’ पाण्डेले भनेका थिए ।

यसरी एकोहोरो पार्टी पुनर्गठनको तर्क सुनेका ओलीलाई उपाध्यक्ष गुरु बरालले सान्त्वना मिल्नेगरी तर्क गरेका थिए । ‘संकटका बेला नेतृत्वलाई ढालेर हुँदैन । साथ दिनुपर्छ,’ बरालले भनेका थिए ।

महासचिव पोखरेलले चाहिँ ओलीलाई कसरी फेरि एमाले र मुलुकको नेतृत्वमा स्थापित गराउन सकिन्छ भन्ने उदाहरणहरू समेत प्रस्तुत गरे । ‘इतिहासमा नेतृत्वलाई कसरी स्थापित गरियो, र अब कसरी केपी ओलीलाई फेरि स्थापित गर्न सकिन्छ भनेर लामै व्याख्या गर्नुभयो,’ स्रोत भन्छ ।

ओलीलाई स्थापित गराउन सकिने उदाहरण दिदा ईश्वर पोखरेलको विगत कोट्याएका थिए । ‘प्रतिगमन आधा सच्चियो भनेर सरकारमा जाँदा ईश्वर पोखरेलमाथि पनि प्रहार भएको थियो । तर त्यसलाई हामीले प्रतिवाद गरेर अगाडि बढ्यौं,’ महासचिव पोखरेलले भने, ‘नेतृत्व सिध्याउन प्रहार हुँदा पनि फेरि स्थापित गराउन सकिने उदाहरण हामीसँगै छ ।’

सार्वजनिक मन्तव्यहरूमै ओलीलाई बलियो साथ दिदै आएका शंकर पोखरेलले ओलीलाई बिस्थापित गर्ने सोच बदल्न आग्रह गरेका थिए । ‘हामीले अहिले नेतृत्वलाई बिस्थापित गर्ने होइन, कसरी स्थापित गर्न सकिन्छ भन्ने सोच्नुपर्छ,’ पोखरेलले भनेका थिए ।

चुनावमै जान जोड

बिहीबार गुन्डुमै सार्वजनिक कार्यक्रम गरेर ओली सहित नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्नेबारे दिएको मन्तव्यमा पनि नेताहरूले असहमति जनाएका छन् ।

उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र विष्णु पौडेलले चुनावमा केन्द्रीत भएर जानुपर्ने तर्क गरेका छन् ।

ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको माग राखेर आँधी तुफान सिर्जना गरिने घोषणा गरेका थिए । तर ओलीको घोषणालाई उनी निकटै पदाधिकारीहरूले समेत साथ दिएनन् ।

महासचिव पोखरेल र उपमहासचिव ज्ञवालीले प्रतिनिधि पुनस्र्थापनाको माग राख्दा थप राजनीतिक कोर्स संकटतिर धकेलिन र एमाले एक्लिने खतरा औल्याएका छन् ।

‘आन्दोलन त भनिन्छ, तर भोलि एक्लै परिने परिस्थिति आउने खतरा होला,’ महासचिव पोखरेलले भनेका छन् । उपमहासचिव ज्ञवालीले पनि चुनाव हुने स्थिति नदेखिए पनि जोड चुनावमै गर्नुपर्ने तर्क गरेका थिए ।

तर प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्ने ओलीको घोषणालाई उपाध्यक्ष बादलले भने बलियो साथ दिए । उनले व्याख्या गरेरै प्रतिनिधि सभा पुनर्स्थापना हुनुलाई ‘क्रान्ति’को संज्ञा दिए ।

‘प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ । प्रतिक्रान्तिलाई यसले रोक्छ । हामीले बल गर्दा फागुनसम्म पुनस्र्थापना भएर क्रान्ति हुन्छ,’ बादलले भनेका थिए । उपमहासचिवहरू पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल सहित सचिवालयहरु भने आफ्नो कुरा राख्न बाँकी छ ।

शनिबार ११ बजे फेरि बस्ने सचिवालय बाँकी पदाधिकारीहरूले कुरा राखेपछि निर्णय हुनेछ ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?