News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल डेरी एसोसिएसनको २७औं वार्षिक साधारणसभा तथा नवौं राष्ट्रिय महाधिवेशनबाट प्रह्लाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
- बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले उत्पादनमुखी नीति अपनाउनुपर्ने र सरकार व्यवसायी र कृषकसँग हातेमालो गर्न तयार रहेको उल्लेख गरे।
- महाधिवेशनमा दुग्ध व्यवसायीले भोग्नुपरेका नीतिगत झन्झट र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने विषयमा छलफल भएको थियो।
७ माघ, काठमाडौं । नेपाल डेरी एसोसिएसनको २७औं वार्षिक साधारणसभा, स्थापना दिवस तथा नवौं राष्ट्रिय महाधिवेशनबाट प्रह्लाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
एसोसिएसन महाधिवेशनले दाहाललाई पुनः आगामी कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
निर्वाचन समिति संयोजक प्रह्लाद महतका अनुसार नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपप्रसाद धमला, उपाध्यक्षमा मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी र रामभक्त दाहाल निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा हेमचन्द्र खनाल, सचिव शिवहरी आचार्य, कोषाध्यक्ष शिवलाल भुसाल, उपमहासचिव विजयप्रसाद चौरासिया, सहसचिव रमेश सञ्जेल र सहकोषाध्यक्षमा आशिषकुमार बुढाथोकी चयन भएका छन् ।
महाधिवेशनले विभिन्न प्रदेश र क्षेत्रको प्रतिनिधित्व हुने गरी २२ सदस्यीय केन्द्रीय सदस्य समेत निर्विरोध निर्वाचित गरेको छ ।
कार्यक्रम उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड पशुपालन र कृषि भएको उल्लेख गरे । उनले अबका सरकारी नीति अनुदानमुखी मात्र नभई प्रतिफल दिने खालका उत्पादनमुखी हुनुपर्नेमा जोड दिए ।
‘बर्सेनि उत्पादन घट्नु र आयात बढ्नु मुलुकका लागि चुनौती हो,’ मन्त्री पौडेलले भने, ‘उत्पादन बढाउन र दुग्ध क्षेत्रका समस्या समाधान गर्न सरकार व्यवसायी र कृषकसँग हातेमालो गर्न तयार छ ।’
कार्यक्रममा अध्यक्ष दाहालले नेपाली दुग्ध व्यवसायको वर्तमान अवस्था र व्यवसायीले भोग्नुपरेका नीतिगत झन्झटबारे जानकारी गराएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्य, बागमती प्रदेश कृषि मन्त्रालयका महानिर्देशक उमेश दाहाल, केन्द्रीय सदस्य डीबी बस्नेत लगायतले दुग्ध क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया 4