+
+
Shares

‘बालिकालाई आत्मरक्षाको तालिम होइन, जिस्क्याउनु हुँदैन भनेर बालकलाई सिकाउनुपर्छ’

लैङ्गिक समानताका लागि एकदम ठूलो र्‍याली गर्ने, तालिम चलाउने, ठूलो सभा सम्मेलन गर्नुपर्छ भन्ने छैन । साना-साना कुराबाट पनि समानता सिकाउन सकिन्छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ असोज २८ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लैङ्गिक समानता महिलामात्र होइन, सबै लिङ्ग र समुदायसँग जोडिएको विषय हो र पुरुषले यसमा बोल्नु आवश्यक छ।
  • नेपालमा बालकहरूको १८ वर्षभन्दा कम उमेरमा विवाह हुने दर धेरै छ । विश्वकै शीर्ष १० राष्ट्रभित्र पर्छ।
  • कार्यस्थल र शिक्षण संस्थामा यौन हिंसा रोक्न नीति, उजुरी प्रक्रिया र फोकल पर्सन अनिवार्य हुनुपर्छ।

लैङ्गिक समानता भन्ने शब्द सुन्नासाथ धेरैले यसलाई महिला मात्रसँग सम्बन्धित ठान्छन् । तर वास्तवमा यो महिलाको मात्र मुद्दा होइन यो त समाजका सबै मान्छे, सबै लिङ्ग, सबै पुस्तासँग जोडिएको विषय हो । समानता तब मात्र सम्भव हुन्छ, जब पुरुष र महिला दुवैले यो जिम्मेवारी महसुस गर्छन् ।

बालबालिकालाई जन्मेदेखि नै लैंगिक द्वेषी रङ, खेलौना र व्यवहारबाट मुक्त गर्दै परिवार, विद्यालय र कार्यस्थलमा समान दृष्टिकोण अपनाउन के गर्नुपर्छ ? लैङ्गिक विभेद अन्त्यमा पुरुषको सहभागिता किन र कसरी ? लगायतको विषयमा हामी दाजुभाइका संस्थापक अध्यक्ष, संजोग ठकुरीसँग गरिएको कुराकानी :

लैंगिक समानताको विषयमा पुरुषले बोल्नु पर्छ कि पर्दैन ? यदि बोल्नु पर्छ भने किन ?

लैंगिक समानता महिलाको मात्र विषय होइन । लैंगिकता पुरुषको पनि हुन्छ, साथै लैंगिक यौनिक अल्पसंख्यकको पनि । लैंगिक न्यायपूर्ण समाज भनेको जहाँ कसैमाथि पनि विभेद हुँदैन ।

पितृसत्ताले महिलालाई बढी असर गर्छ तर पुरुषलाई पनि असर गर्छ । त्यसैले पुरुषले बोल्नु पर्ने दुई कारण छन् पहिलो- पितृसत्तात्मक समाजमा पुरुषले भोगेका समस्याको निवारणका लागि । दोस्रो- पुरुषले महिलाको तुलनामा बढी अवसर र अधिकार पाएकाले उनीहरू बढी जिम्मेवार हुनुपर्छ । यी कारणले पुरुषले लैंगिक समानताका लागि बोल्नु आवश्यक छ ।

महिलाहरू लैंगिक विभेदमा बढी परेका छन् र संघर्ष गरेर केही अधिकार पाएका छन् । यस्तोमा पुरुषले लैंगिक समानताको विषयमा बोल्दा महिलाले पाएका अधिकार गुम्ने हो कि ?

यो जायज प्रश्न हो र यो धेरै अगाडिदेखि उठिरहेको विषय हो । पहिले ‘फेमिनिस्ट’ शब्द महिलाका लागि मात्र प्रयोग हुन्थ्यो, पुरुषलाई ’प्रो–फेमिनिस्ट’ वा समर्थक भनिन्थ्यो ।

तर पछिल्लो समयमा लैंगिक समानतामा बोल्ने सबैलाई फेमिनिस्ट भन्ने विषय आएको छ । यसमा बढी छलफल आवश्यक छ । समाजमा महिलाको तुलनामा पुरुषलाई बढी अवसर छ, त्यसैले महिलालाई अधिकार प्राप्त गर्न बढी संघर्ष गर्नुपर्छ ।

कहिलेकाहीं पुरुषहरूले ‘मैले श्रीमतीलाई यो-यो गरिदिएँ’ भन्छन् भने उनीहरूले महिलालाई समान व्यवहार गरेका छैनन् भन्ने बुझ्नुपर्छ । यसका लागि पुरुषको सहभागिता उत्तरदायी र जवाफदेहीपूर्ण हुनुपर्छ । एकातिर महिला अधिकारका लागि आवाज उठाउने, दोस्रो आफूले पाएका विशेष अवसरहरूबारे सचेत रहने । यो दुवै गरेमा पुरुषको सहभागिता राम्रो हुन्छ । जवाफदेहीता बिर्सियो भने समस्या आउँछ ।

पितृसत्तात्मक सोच पुरुषमा मात्र हुन्छ भन्ने धारणा कति सही हो ?

पितृसत्ता पुरुष सामर्थ्य मात्र होइन, यो एउटा संरचनागत विभेदको प्रणाली हो जसले पुरुषलाई बढी फाइदा दिन्छ तर महिलालाई पहरेदार बनाइदिएको हुन्छ । जस्तो: आमाको रूपमा, सासुको रूपमा वा दिदीबहिनीको रूपमा । पितृसत्तात्मक सोच महिलामा पनि हुन्छ, पुरुषमा पनि, लैंगिक अल्पसंख्यकमा पनि । उदाहरणः एउटा आमालाई छोरीभन्दा छोरा बढी महत्वपूर्ण लाग्न सक्छ, सासुले बुहारीलाई कम महत्व दिन सक्छन् ।

यो सबै पितृसत्तात्मक संरचनाको कारण हो । त्यसैले यो लडाइँ पुरुषविरुद्ध होइन, पितृसत्ताविरुद्ध हो । फेमिनिस्टहरूले यो कुरा लामो समयदेखि भन्दै आएका छन् । लैंगिक समानता पितृसत्ताविरुद्धको अभियान हो, पुरुषविरुद्ध होइन ।

बालिकामाथि बढी हिंसा हुन्छ, तर बालक पनि हिंसाबाट पीडित हुन्छन् र बोल्न सक्दैनन् यसलाई तपाईं कसरी हेर्नुहुन्छ ?

सानैदेखि लैंगिक सामाजिकीकरणबाट ‘तिमी केटा हो, तिमीले यो गर्नुपर्छ, तिमी केटी हो, तिमीले यो गर्नुपर्छ’ भनेर हुर्काइन्छ । महिलामाथि हिंसाको छलफल धेरै हुन्छ– गुड टच, ब्याड टच आदिको विषयमा सिकाइन्छ, पढाइन्छ, देखाइन्छ, विभिन्न मिडियाहरूमा सूचना आउँछ ।

तर बालक माथि हुने यौन हिंसा, दुर्व्यवहारको कुरा चाहिँ खासै आउँदैन । छलफलमा पनि आउँदैन । जसले गर्दा बालकले दुर्व्यवहार पहिचान गर्न सक्दैनन्, स्वीकार गर्न सक्दैनन् । परिवारले सोच्छ ‘केटालाई पनि हिंसा हुन्छ ? यो लज्जाको विषय हो बन्छ ।

बलात्कार भनेको त आफ्नो स्वीकार्यता बिना हुने हो । नेपालको कानुनमा बलात्कारको परिभाषा बालिकाका लागि मात्र छ । बालकको लागि ‘अप्राकृतिक मैथुन’ भनेको छ । बालकमाथि पनि यौन दुर्व्यवहार हुन सक्छ भन्ने कुरा कानुनमा पनि छैन । यसले समस्या बढाउँछ । बालकमाथि हुने हिंसाको बारेमा कुरा नहुनुको मुख्य कारण सामाजिक परिस्थिति हो ।

हरेक तीन जना मध्ये एकजना बालिका हिंसाको शिकार हुन्छन् । हिंसामा पर्ने बालकहरूको संख्या बालिकाको तुलनामा कम छ तर हरेक ७ जनामा १ बालक यौन हिंसाको शिकार हुन्छन् । त्यसैल बालकमाथि हुने हिंसाको विषयमा पनि कुरा हुनु जरुरी छ । हामीले बालकमाथि हिंसाविरुद्ध राष्ट्रिय सञ्जाल बनाएका छौं ।

बालविवाहको कुरा गर्दा प्रायः बालिकालाई मात्र सम्झिन्छौं, तर नेपालमा १८ वर्ष नपुग्दै विवाह गर्ने बालकहरूको संख्यामा पनि उत्तिकै छ । १८ वर्ष मुनिका बालकहरूको विवाह हुने देशमा नेपाल विश्वकै शीर्ष १० राष्ट्रभित्र पर्दछ । यद्यपि बालिकाको तुलनामा संख्यात्मक रूपमा कम भए पनि यो गम्भीर र महत्वपूर्ण विषय हो । तथ्याङ्क अनुसार नेपालमा हरेक १० जना बालकमध्ये एकजनाको विवाह १८ वर्ष नपुग्दै हुन्छ, जसले बालकको अधिकार कटौती भएको र उनीहरूलाई संरक्षणको आवश्यकता रहेको देखाउँछ।

बालकमाथि हुने हिंसा र भेदभावलाई सामान्य कुरा ठान्ने चलन छ । जस्तै:- छोरालाई कसैले दुर्व्यवहार गर्यो भने ‘छोरा मान्छेले अलिअलि पिटाइ खाइहालिन्छ नि’ भन्ने सोच । यसरी समाजमा छोरालाई कडा हुनुपर्छ, सहने हुनुपर्छ र रुनु हुँदैन भन्ने सन्देश दिइन्छ, जसले उनीहरूको भावनात्मक विकासमा नकारात्मक असर पार्छ ।

यी सबै कुरा हाम्रो समाजिकीकरण र पितृसत्तात्मक सोचका कारण उत्पन्न भएका हुन्, जसले बालक र बालिका दुवैमा फरक दृष्टिकोणले व्यवहार गर्ने प्रवृत्ति देखाउँछ। लैङ्गिक समानताको सन्दर्भमा यस विषयमा पनि ध्यान दिनु अत्यावश्यक छ ।

अहिले बेबी साबरको चलन धेरै छ, त्यसैले बेबी साबर र जन्मेदेखि नै छोरा–छोरीमा फरक व्यवहार रङ, खेलौनाको प्रयोग देखिन्छ । के यसले बालबालिकामा पितृसत्तात्मक सोच विकास गर्छ ?

छोरा छोरीलाई गरिने फकर व्यवहारले उनीहरूलाई असर गरिरहेको हुन्छ । मेरा दुई छोरी छन् ७ र ४ वर्षका । साना नानीहरूले गीत, कार्टुन, दन्त्यकथा हेर्छन् । यस्ता बाल कथा, गीतहरूमा एउटा राजकुमारी हुन्छ, उसलाई बचाउन राजकुमार आउँछ, राजकुमार घोडा चढ्छ, ऊ फाइट गर्छ, राजकुमारी लजाएर बस्छिन्, मेकअप गर्छिन्, यो त्यो चार वर्षको मेरो छोरीले सिकेर आउँछिन् युट्युबमा हेरेर ।

आजभोलि बेबि साबर गरेर गर्भमा छोरा भए निलो, छोरी भए गुलावी रङ्गको प्रयोग गरेको देखिन्छ । यस्तो बेबी साबरमा ठूला व्यक्तिहरू मात्र हैन बालबालिकाहरू पनि गएका हुन्छन् । यस्तोमा बालबालिकाले छोरा र छोरीका लागि रङ फरक हुन्छ भन्ने सिक्न सक्छन् ।

मिडिया, फिल्म, सांस्कृतिक अभ्यासले पितृसत्तालाई बलियो बनाउँछ । यसले ‘केटा भनेको यस्तो, केटी भनेको यस्तो’ भाष्य बनाउँछ । यसमा अटाएन भने समाजले लखेट्छ– ‘केटा भएर रक्सी खान सक्दैनस् ? केटी जिस्काउन सक्दैनस् ?’ यो भाष्यले पुरुषलाई हिंसाप्रति प्रेरित गर्छ र महिलामाथि हिंसा बढाउँछ । त्यसैले पितृसत्ताविरुद्ध लड्नु पर्छ जसले लैंगिक न्यायपूर्ण समाज बनाउँछ ।

जन्मेदेखि नै बच्चालाई लैङ्गिक सामानता सिकाउन अभिभावकले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?

आजभोलि अनलाइन व्यापार एकदमै प्रचलनमा छ । एकदमै युवा साथीहरू अनलाइन व्यापार गर्न आइरहनुभाएको छ । अनि कहिलेकाहीं मैले छोरीहरूका लागि लुगाहरू अनलाइनमा सोध्न खोजें भने ‘पिंक कलर छ नि’ भनिहाल्नुहुन्छ । यो सानो कुरा हो तर यसरी सोच्न छाडियो भने पनि त लैंगिक समानताको एउटा स्टेप हो ।

लैङ्गिक समानताका लागि एकदम ठूलो र्‍याली गर्ने, तालिम चलाउने, ठूलो सभा सम्मेलन गर्नुपर्छ भन्ने छैन । साना-साना कुराबाट पनि समानता सिकाउन सकिन्छ । यसमा पुरुषको भूमिका महत्वपूर्ण छ किनकि समाज पुरुषकेन्द्रित छ । घरको पुरुषले बोल्दा बढी प्रभाव पर्छ । पुरुषले आफ्नो शक्तिलाई सही प्रयोग गर्नुपर्छ । घरायसी काममा संलग्न हुने, कार्यस्थलमा समान वातावरण बनाउने ।

नयाँ पुस्तामा पनि समस्या छ । गालीमा स्त्री–द्वेषी शब्द बढी प्रयोग हुन्छ । त्यसैले लैङ्गिक समानताका लागि पुरानो पुस्तासँग मात्र होइन, सबै पुस्तासँग काम गर्नुपर्छ ।

अभिभावकको व्यवहारमा परिवर्तन ल्याएर बालबालिकालाई लैङ्गिक समानता कसरी सिकाउन सकिन्छ ?

समाजमा व्याप्त असमानता, अन्याय र अधिकार हननका कुराहरू धेरै हुन्छन् । खासगरी महिला र पुरुषहरूका लागि सामान्य जस्तै बनिरहेका तर विभेदपूर्ण चलनहरूलाई परिवर्तन गर्न अन्तरपुस्ता संवाद अत्यन्त महत्वपूर्ण छ । जसले घरमा नयाँ र पुरानो पुस्ताको दृष्टिकोण आदान-प्रदान गर्दै छलफलको मञ्च प्रदान गर्छ ।

बालकहरूमाथि पनि हिंसा र दबाब जस्तै कमाउनु पर्ने, एकदम स्मार्ट र प्रतिस्पर्धी हुनुपर्ने रहेको पाइन्छ । जसलाई सम्बोधन गर्न ‘दाजुभाइ’ जस्ता युवा नेतृत्वका फेमिनिस्ट संस्थाले पुरुषत्वमा केन्द्रित काम गर्दैछन्, किनकि यो पितृसत्तात्मक व्यवस्थाको उपज हो र यसविरुद्ध लड्न बालकहरूसँगै सहकार्य आवश्यक छ ।

अघिल्लो पुस्तासँग पनि छलफल जरुरी छ, जसले उनीहरूका गाह्रोसाह्रो र पितृसत्ताविरुद्धका प्रयासहरूको अनुभवबाट सिक्न सकिन्छ । पुरुष र पुरुषत्वसम्बन्धी अध्ययन अनुसन्धान कम भएकाले पुरुष स्रोत केन्द्र जस्ता पहलहरूबाट यौन प्रजनन स्वास्थ्य जस्ता विषयमा सामग्री विकास गर्नुपर्छ । अभिभावकसँग छलफलले सकारात्मक परिवर्तन ल्याउँछ ।

किन बालिकालाई मात्र सचेत हुन सिकाइन्छ र बालकलाई महिलाको सम्मान गर्न किन सिकाइँदैन ?

परिवार र विद्यालयमा बालिकालाई संरक्षणवादी दृष्टिकोण जस्तै सचेतता, लुगा प्रतिबन्ध अपनाउने सट्टा बालकहरूलाई दुर्व्यवहार नगर्ने र समान व्यवहार सिकाउनुपर्छ । बालिकालाई आत्मरक्षाको तालिम भन्दा बालिकाहरूलाई जिस्क्याउनु हुँदैन भनेर बालकहरूलाई तालिम दिनु प्रभावकारी हुन्छ ।

‘समाजले बनाइदिएको चौघेराको नियममा बस्नु पर्दैन, तिमी कस्तो हुनुपर्छ भन्ने कुरा तिम्रो आफ्नो आत्मनिर्णयको कुरा हो’ भनेर बालिका तथा महिलालाई सिकाउन सकियो भने पनि लैङ्गिक समानता विस्तारै कायम हुन्छ ।

लैंगिक समानतामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई किन समावेश गर्नुपर्छ ?

लैंगिक समानता भनेको महिला र पुरुषको मात्र कुरा होइन, यसमा लैंगिक अल्पसंख्यकहरू ट्रान्सजेन्डर म्यान, ट्रान्सजेन्डर उमेन, आदि पनि समावेश हुन्छन् । समाजमा महिला र पुरुषको सीमित दृष्टिकोण छ, जसले ट्रान्सजेन्डर व्यक्तिहरूको विविधतालाई अस्वीकार गर्छ ।

यसले संसारमा दुई लिंग मात्रै छन् भन्ने अवधारणा हटाउन मद्दत गर्छ र लैंगिकताको परिभाषा र अभ्यासमा विविधता स्वीकार गर्छ । बालबालिकालाई सानैदेखि सबैलाई समान व्यवहार गर्न सिकाउनुपर्छ, जसले समाजमा बहस बढाउँछ र विरोध भए पनि निरन्तर आवाज उठाउन आवश्यक छ ।

लैंगिक अल्पसंख्यकहरूले बढी हिंसा, भेदभाव, परिवारबाट बहिष्कार जस्ता समस्या भोग्नु परिरहेको हुन्छ । साथै नागरिकता लिन समस्या, रोजगारीका अवसरबाट वञ्चित हुने जस्तो पीडा उनीहरूको हुन्छ । त्यसैले नीति र कार्यक्रमहरूमा उनीहरूलाई प्राथमिकता दिनुपर्छ ।

परिवारमा लैंगिक समानता कायम गर्नका चाल्नुपर्ने आधारभूत कदमहरू के-के हुन सक्छन् ?

परिवारबाटै लैंगिक समानता सुरु गर्नुपर्छ । महिलाहरूले अफिस र घरको सबै काम एक्लै भ्याउने सोच पितृसत्तात्मक छ, जसमा गर्व गर्नुहुँदैन । पुरुषहरूले पनि घरको काम खाना पकाउने, भाँडा माझ्ने काममा संलग्न हुनुपर्छ, यसलाई ‘सहयोग’ होइन, दायित्व ठान्नुपर्छ । ‘सहयोग’ शब्दले काम महिलाको मात्र हो भन्ने अर्थ दिन्छ ।

महिलालाई होच्याएर, उडाएर हाँसो ठट्टा गर्ने जस्तो प्रवृत्तिविरुद्ध पनि आवाज उठाउनुपर्छ । अन्यथा लैंगिक समानता गफमै सीमित रहन्छ । बालबच्चा वा भाइबहिनी हुर्काउँदा लैंगिक द्वेषी विचारहरूबाट सजग रहनुपर्छ । महिलाहरूले संरक्षणवादी सोच जस्तैः महिला बेलुका हिँड्नुहुँदैन, कुनै ठाउँ जानु हुँदैन, कुनै कुरा गर्नुहुँदैन भन्ने तर्कहरूको विरोध गर्नुपर्छ ।

महिलालाई सबै काम भ्याउन सक्ने, धेरै हात भएका व्यक्ति भनी प्रसंशा गर्दै बनाइएका चित्रहरू पनि देखिन्छ । यो भनेको पुरुषलाई घरको कामबाट मुक्त गर्ने खालको भाष्य हो । यसमा प्रश्न उठाउनुपर्छ । लैंगिक दृष्टिकोण सचेत रूपमा प्रयोग गर्नुपर्छ ।

लैंगिक हिंसा रोकथाममा पुरुषको मुख्य भूमिका के हुन्छ ?

लैंगिक हिंसा सबैमा महिला, पुरुष, बालबालिका, लैंगिक अल्पसंख्यकमा पनि हुन्छ, तर लैंगिक न्यायपूर्ण समाजले सबै हिंसा अन्त्य गर्छ । पुरुषहरूले पहिले आफैं हिंसा नगर्नु मुख्य हो । दोस्रो, महिलाको दृष्टिकोणबाट आफ्नो जीवन हेर्नु पर्छ । आफ्नो स्वतन्त्रता र महिलाको स्वतन्त्रताको तुलना गर्नुपर्छ ।

तेस्रो, महिलाहरूले औंल्याएका गल्ती, कमजोरीबाट सिक्नु र आफूलाई सुधार्नु जरुरी हुन्छ । चौथो, घरको काममा सहयात्री बन्नु हो । भाँडा माझ्ने, बच्चा हुर्काउने, घुम्न जाँदा महिलालाई लैजाने गर्नुपर्छ । पाँचौं, लैंगिक विभेदका छलफलमा समर्थन गर्नु सर्भाइभरलाई सहयोग गर्ने, पीडकलाई कानुनी कारबाहीमा लाउने, सामाजिक सञ्जाल र संगठन प्रयोग गनुपर्छ।

कार्यस्थल, स्कुल, कलेजहरूमा यौन हिंसा रोक्न के गर्नुपर्छ ?

हरेक संस्थामा यौनहिंसा विरोधी नीति र कार्यविधि हुनुपर्छ । रिपोर्ट गर्ने ठाउँ, फोकल पर्सन, उजुरी प्रक्रिया । यो नीति महिलामा मात्र होइन, पुरुष र बालबालिकामा पनि लागू हुन्छ । त्रिभुवन विश्वविद्यालयले कमिटी बनाएको छ (प्राध्यापक डा. बिन्दु पोखरेलको नेतृत्वमा), तर अन्य विश्वविद्यालयमा छैन । शिक्षा मन्त्रीलाई अपिलः सबै विश्वविद्यालयमा यो नीति लागू गर्नुपर्छ ।

नेपाल सरकारको ऐनले कार्यस्थलमा फोकल पर्सन, उजुरी पेटिका र मापदण्ड अनिवार्य गरेको छ, तर धेरै संस्थामा छैन । सामाजिक संस्थाहरू सजक छन्, तर निजी क्षेत्र र निजी विद्यालयमा बढी ध्यान दिनुपर्। शिक्षा मन्त्रालयले बालबालिका संरक्षणका लागि कार्यविधि बनाएको छ, तर निजी विद्यालयमा कार्यान्वयन कम छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?