+
+
WC Series
Oman
0/0
VS
Nepal
0/0
Shares
सीके लालसँग वार्ता   :

‘देउवा समयले साथ दिएका तर क्षमता नभएका महत्वाकांक्षी नेता’

प्रश्न गर्न दिएन भने मास बेस्ड पार्टी सकिन्छ। क्याडर बेस्ड अथवा कार्यकर्तामा आधारित पार्टीमा प्रश्न गर्न दियो भने नेतृत्व जोखिममा पर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट बाहिरिने निर्णय बाध्यताका कारण गरेको हुन् भन्ने राजनीतिक विश्लेषक सीके लालले बताए।
  • सीके लालले देउवाको नेतृत्वमा कांग्रेस संगठन कमजोर भएको र वैचारिक शून्यता रहेको उल्लेख गर्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याए।
  • देउवाको बहिर्गमनले कांग्रेसमा विभाजनको जोखिम बढ्ने र कम्युनिस्ट पार्टीहरूमा कुनै प्रभाव नपर्ने विश्लेषकले बताए।

अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय राजनीतिबाट बाहिरिने निर्णयमा पुगेका छन् । उनको निर्णयले कांग्रेस र अरू प्रतिस्पर्धी दलहरूमा कस्तो प्रभाव पर्ला ? यो बहिर्गमन उको इच्छाको निर्णय हो कि बाध्यताको ?

राजनीतिक विश्लेषक सीके लालले अनलाइनखबरसँग कुरा गर्दै देउवाको राजनीतिक करियरको समीक्षा गर्ने प्रयास गरेका छन् । प्रस्तुत छ, विश्लेषक लालसँगको सुदर्शन खतिवडाले गरेको कुराकानी :

कम्युनिष्ट नेताहरू टसमस नरहेको बेला कांग्रेस सभापति देउवा कार्यकारी भूमिकाबाट बाहिरिए । यसलाई कसरी लिनुभएको छ ?

यो राजनीतिक संस्कृति अनुकूल नै हो । प्रजातान्त्रिक व्यवस्थामा नेतृत्वले आफ्नो स्वीकार्यता गुमाएपछि आदरका साथ छोडिदिने प्रचलन छ। त्यसमा त कुनै अस्वाभाविक लाग्दैन।

कम्युनिष्ट पार्टीहरूमा सामान्यतया अध्यक्षको पद आजीवन हुन्छ। त्यसैले त्यो पनि आश्चर्यको कुरा होइन।

देउवाले आन्दोलन र युवाहरूको आवाज सुने भन्ने कि बाध्यता परेरै छोडे भन्ने?

आवाज सुनेको कुरा म चाहिँ पत्याउन तयार छैन। किनभने यस्तो किसिमको आवाजहरू त पहिलेदेखि नै आइरहेका थिए नि ! बाध्यताले गर्दा नै छोडेका हुन्। उनले देखे कि अब यो पदमा रहेर मैले गर्न सक्ने कामहरू गर्ने ठाउँ छैन। त्यही भएर आलोचना खेपेर बस्नुभन्दा बरू इज्जत साथ छोड्नु नै राम्रो हुन्छ भनेर छोडेका हुन्। बाध्यताको निर्णय हो यो। इच्छाको निर्णय होइन।

लामो लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको नेताले पिटाई नै खाएर अलि बाध्यतावश छोड्नु पर्ने अवस्था कसरी आयो? यसका लागि उनी आफै कति जिम्मेवार होलान् यस्तो बहिर्गमनको लागि?

व्यक्तिलाई जिम्मेवार बनाउनु भन्दा अगाडि राजनीतिमा परिस्थितिलाई हेर्नुपर्ने हुन्छ। शेरबहादुर देउवाले विद्यार्थी राजनीति गरेका हुन् तर राष्ट्रिय राजनीतिमा त उनलाई गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको प्रयत्नले स्थापित गरिएको हो नि ! उनले नेपाली कांग्रेसको संगठनमा खासै भूमिका निभाएका होइनन्। अलि-अलि संगठनमा लागेका थिए जब उनले कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए तर त्यसबेला पनि संगठन हेर्ने संगठनमै काम गरेको विमलेन्द्र निधि थिए। उनले संगठनमा काम गरेका होइनन्।

उनी राष्ट्रिय स्तरका नेता हुन्। जमिनी तहबाट उक्लिएका नेता होइनन्। त्यसैले उनलाई नेपाली कांग्रेसको संगठनसँग जानकारी कम छ। उनी अपेक्षाको राजनीति यो भएपछि म यो हुन्छु भन्ने किसिमको राजनीति गरेको मान्छे हुन्। म यो भएपछि यो गर्छु भनेर भएका राजनीतिकर्मी होइनन् शेरबहादुर देउवा।

सक्रिय राजनीतिमा रहिरहेका भए उनको सान्दर्भिकता कति बाँकी रहन्थ्यो ? उनले कांग्रेसलाई नयाँ सन्दर्भमा कुनै नयाँ दिशा अथवा गति दिन सक्दैनथे ?

एक हिसाबले भन्ने हो भने हो। के भइदियो भने, संगठनमा ध्यान नदिएको हुनाले नेपाली कांग्रेस अहिले अटो पाइलटमा चलेको पार्टी जस्तो छ । त्यसैले त्यो नेतृत्वमा उनी हुनु र नहुनुले अहिले तत्कालै फरक त परिहाल्दैन । तर एउटा चाहिँ के हुन्छ भने अझै पनि सायद उनमा पूरै पदको भोक गई नै सकेको देखिंदैन।

 बाध्यतामा उनले सक्रिय राजनीतिबाट अवकाश लिएको घोषणा गरेको जस्तो देखिए पनि संगठन बलियो नभएको हुनाले अहिलेका कार्यवाहक अध्यक्ष त उनकै शिष्य भइहाले, पछि हुने कार्यवाहक अध्यक्षको जुन प्रतिस्पर्धा हुन्छ त्यसमा पनि उनको प्रभाव कस्तो रहन्छ भनेर हेर्न बाँकी छ । किनभने नेपाली कांग्रेसको संगठन त असाध्यै कमजोर भइसकेको अवस्था छ ।

 यो पात्र बदल्दैमा प्रवृत्ति त नबदलिएला । राजनीतिक संस्कार त उही हो । अब पुस्तान्तरण र आन्तरिक लोकतन्त्र सबल बनाउन उनको भूमिका कस्तो होला ?

त्यो कठिन लाग्छ, तीनटा कारणले ।

पहिलो, अहिलेको दुई दिने आन्दोलनलाई छोड्दिने हो भने नेपालको नयाँ पुस्ता राजनीति निरपेक्ष हुँदै गएको छ । किनभने यो पानी जमेको फोहोर पोखरी जस्तो भयो डुङडुङ गन्हाउने । यसमा को पौडी खेल्न जान्छ भन्ने छवि निर्माण भएको छ, त्यसले नयाँ पुस्तालाई आकर्षित गर्न कठिन छ ।

दोस्रो, यो सामाजिक परिस्थिति भयो । राजनीतिक रुपमा हेर्ने हो भने नेपाली कांग्रेसले नयाँ केही विचारै दिन सकेको छैन । नेपाली कांग्रेसमा तीनपटक विचार आएको थियो ।

पहिलो, ७० को दशकमा राजासँग घाँटी जोडिएको बीपी कोइरालाको ।

दोस्रो, कम्युनिस्टसँग सहकार्य गर्ने भन्ने गणेशमान सिंहको ।

तेस्रो, माओवादीहरूलाई साथ लिएर भए पनि अब राजासँगको यात्रा सकियो भन्ने गिरिजाप्रसाद कोइरालाको ।

यो तीनटै विचार पूर्णतः सत्ता केन्द्रित हो। अर्थराजनीतिक विचार के हो? सामाजिक विचार के हो? भविष्यप्रतिको धारणा के हो? अहिलेको मुद्दाहरू- जलवायु परिवर्तन को कुरा के हो? गरिबी न्यूनीकरणका उपायहरू के हुन सक्छन? यस्तो किसिमको कुनै अर्थराजनीतिक अवधारणा नेपाली कांग्रेसमा नआएको युगौं भइसकेको छ।

युवा खाली व्यक्तिको पछाडि कुदेर आउने भन्ने चाकरी प्रवृत्तिका मात्रै हुन्छन्। तिनलाई नयाँ विचार दिन सक्नुपर्छ। त्यो विचारको अभावले गर्दा उसै पनि नेपाली कांग्रेस कमजोर, त्यसमा झन् शेरबहादुर बहादुर देउवा त विचार शून्यतालाई नै राजनीतिको मञ्च बनाएको बेला उनले कति आकर्षित गर्न सक्लान् नवयुवाहरुलाई ? त्यो शंकास्पद छ । प्रोत्साहन पनि गर्न सक्दैनन् खासै ।

उनको बहिर्गमनपछि यो वैचारिक रिक्ततालाई पूर्णता दिन सक्ने नयाँ नेतृत्व आउने सम्भावना देख्नु भएको छ ?

अहिले तत्काल शून्यताको अवस्था छ तर शून्यताको अवस्था खाली रहँदैन । जबसम्म नेपाली कांग्रेसमा अरू पेशामा लागेका केही व्यक्तिहरू अथवा समाजमा नाम कमाएका व्यक्तिहरु ल्याटरल इन्ट्री हुँदैन अथवा तलबाट दबाब बढ्दैन, तबसम्म त्यस्तो विचार आउने सम्भावना देखिंदैन ।

वैचारिक शून्यता मात्र हैन अहिले त एकप्रकारले राजनीतिक नेतृत्व शून्यता जस्तो पनि देखिन्छ ?

अहिले त अहिलेको अवस्थामा त राजनीतिक नेतृत्व शून्यता, संगठन पनि भताभुंग भएको अवस्था छ । सबै ठाउँमा कार्यालय जल्नु भनेको र कार्यकर्ता गएर घेर्न नसक्ने अवस्था त संगठन कहाँ गइसकेको छ भनेको हो नि त ! कुनै बेला त गोली थाप्न जान्थे नि नेपाली कांग्रेसका कार्यकर्ता । अहिले आफ्नो कार्यालय जल्दा जोगाउनलाई हातेमालो गर्नसम्म नपुग्ने अवस्था त संगठन भताभुंग भएको योभन्दा ठूलो प्रमाण कहाँ खोज्न जाने हो?

यही शून्यताको बीच एउटा स्थापित नेतृत्वको बहिर्गमन भएको छ । अब पार्टी कार्यवाहकको भरमा चल्ने, देशका मूल मुद्दामा कांग्रेस थप विभाजित हुने जोखिम कतिको देख्नुहुन्छ?

असाध्यै जोखिम छ किनभने कांग्रेस ओरालोमा छ । ओरालोमा कसैले धकेलेर तल पुर्‍याउनुपर्दैन । आफै त्यो तल गइरहेको हुन्छ। त्यसलाई रोक्ने शक्ति खोइ त ? नेपाली कांग्रेसले अहिले त्यो खोज्नु पर्छ । माथि पुर्‍याउनु परको कुरा भो, पहिले ओरालोबाट समथरमा ल्याइपुर्‍याउने शक्ति नै नेपाली कांग्रेसमा अहिले देखिराखिएको छैन।

देउवाको यो निर्णयले अरू पार्टीहरू खासगरी देशका दुइटा ठूला कम्युनिस्ट पार्टीहरुमा कस्तो सन्देश जाला ?

वर्ग शत्रु मान्ने कांग्रेसलाई कम्युनिस्ट पार्टी के सिक्लान् र ? उनीहरूको भाषामा त कांग्रेस भनेको बुर्जुवा पार्टी हो । बुर्जुवा पार्टीमा यसरी नै हुन्छ । हामी भनेको त एकदम सर्वहारा वर्गको क्रान्तिकारी पार्टी हौं । क्रान्तिकारी पार्टीमा युद्धमा रहेको बेला नेतृत्व फेर्नु हुँदैन । युद्धको मैदानमा नेतृत्व फेरिंदैन । हामी अझै पनि युद्धको मैदानमा संघर्ष गरिरहेका छौं । यो बेला नेतृत्व फेर्नु हुँदैन भन्ने कुरा त देखिहालियो नि त !

उनीहरूले भन्ने गरेको एउटा बुर्जुवा नेतृत्वले पनि देखाएको न्यूनतम राजनीतिक संस्कारबाट आफूलाई अब्बल वैचारिक नेता भन्ने कम्युनिस्ट नेताहरूले केही नसिक्लान् र ?

कम्युनिस्टको वैचारिकता के हो त्यो हेर्नु पर्छ। बुर्जुवा वैचारिकता अलिकति वृद्ध भएपछि सरसल्लाह दिने हो । अनि वयस्कलाई नेतृत्व दिनुपर्छ। युवाहरू कार्यकर्ता हुनुपर्छ। यो बुर्जुवा मान्यता हो।

सर्वहारा मान्यतामा युवाहरू भनेको लडाका हुन्, वयस्क भनेको सिकारु हुन्। तर यो नेतृत्व वा कमान्डर सबभन्दा अनुभवीलाई दिनुपर्छ । लेनिन, स्टालीन हुन् वा माओ, कि त पूरै अर्थराजनीतिक परिवर्तन भयो भने बाध्य भएर छोड्नु पर्ने कुरा बेग्लै हो । स्वेच्छाले कम्युनिस्ट राजनीतिमा पद छोड्नु भनेको पूरै परिदृश्यबाट गायब हुनु हो । गायब हुने चाहना सामान्यतयाः नेतृत्वमा हुँदैन ।

कांग्रेसमा त आन्दोलनको बाह्य दबाबसँगै पार्टीभित्रै पनि प्रश्नकर्ता छन् । उनीहरुले हस्ताक्षर अभियान नै चलाए। तर कम्युनिस्ट पार्टीमा त त्यस्तो प्रश्न गरेर नेतृत्वको आलोचना र विकल्प खोज्ने अभ्यास देखिएन । त्यसैले पनि सहज भएको होला नि टिकिराख्न ?

त्यही हो । राजनीतिक भाषामा भन्ने हो भने मास बेस्ड अथवा आम समर्थनमा आधारित पार्टीमा हरेक किसिमको मान्छे हुन्छ। प्रश्न गर्न दिएन भने मास बेस्ड पार्टी सकिन्छ। क्याडर बेस्ड अथवा कार्यकर्तामा आधारित पार्टीमा प्रश्न गर्न दियो भने नेतृत्व जोखिममा पर्छ ।

यो वैचारिक भिन्नता नै हेर्नु पर्ने हुन्छ।

त्यसैले क्याडर बेस्ड पार्टीहरूमा सामान्यतयाः नेतृत्वलाई प्रश्न गर्नु भनेको पार्टीलाई नै प्रश्नको घेरामा राख्नु हो ।

अन्त्यमा, देउवाको राजनीतिक करियरलाई कसरी समीक्षा गर्नुहुन्छ?

म उनको ठूलो प्रशंसक होइन। सन् १९९० सम्म पञ्चायतकालमा एउटा कार्यकर्ताको रूपले उनले निभाएको भूमिका एक हदसम्म त्यतिबेलाको समयको लागि उपयुक्त थियो। तर त्यसपछि सन् १९९० पछि गृहमन्त्री हुँदा गोलीको आँखा हुँदैन भने वक्तव्य दिने त उनी नै हुन् । त्यसपछि गोर्खाली राजाबाट न्याय पाए भन्ने उनी नै हुन् । त्यो सेनाले संकटकाल नलगाए हामी परिचालित हुँदैनौं भन्दा संकटकाल लगाउने पनि उनी नै हुन्। सेनाले भनेपछि संसद भंग गराउने उनी नै हुन्।

स्थानीय तहको म्याद नथप्ने पनि उनी नै हुन् । हुन त एमालेसँग काम गर्नुपर्छ भन्ने निर्णय सुशील कोइरालाको थियो। उनको पनि म प्रशंसक होइन। तर त्यसलाई निरन्तरता दिए । एमालेसँग जानु भनेको त कांग्रेसको स्वत्वलाई एमालेमा समर्पण गर्नु थियो । त्यसैले उनलाई सायद इतिहासले एउटा महत्वाकांक्षी पात्रको रूपमा सम्झनेछ जसलाई समयले साथ दियो तर उनमा पार्टी बनाउने वा देशलाई नेतृत्व दिने क्षमताको नितान्त अभाव थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?