+
+
Shares

त्रसित प्रहरीको मनोबल उकास्ने कसरी ?

आफ्ना आँखै अगाडि सहकर्मीलाई कुटीकुटी मारिएको दृश्य ताजै छ । बर्दी फुकालेर आत्मसमर्पण गरेर बाँच्नु परेको पीडा आलै छ । ढल मिसिएको खोलैखोला भाग्दा पनि किनारबाट ढुंगा बर्साएको कुरूप दृश्य पनि आँखै अगाडि नाचिरहन्छ । यी घटनाले प्रहरी झस्किरहन्छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असोज २३ गते २२:०४
प्रदर्शन नियन्त्रणमा खटिएको नेपाल प्रहरीको टोली । अनलाइनखबर अर्काइभ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि प्रहरीको मनोबल गिरेको छ।
  • सुरक्षा चुनौती बढेको अवस्थामा प्रहरीलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउन नसकिएको छ।
  • सरकारले पक्राउ परेका प्रदर्शनकारीलाई छाड्न निर्देशन दिएपछि प्रहरीको मनोबल झन् गिरेको र सुरक्षा जोखिम बढेको हो।

२३ असोज, काठमाडौं । जेनजी आन्दोलनमा भौतिक र मानवीय क्षति बेहोरेर मनोबल गिरेको प्रहरी अहिले पनि त्रसित छ ।

सकेसम्म काठमाडौं उपत्यकाभन्दा बाहिरका जिल्लामा सरुवा हुने चाहना एकातिर छ भने अर्कातिर आवश्यकताले उपत्यकामै बढी प्रहरीको माग गरिरहेको छ ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण अहिले दिनहुँ विभिन्न नाम गरेका समूह सडकमा देखिन थालेका छन् । जेनजी समूह नै अहिलेसम्म आफ्नो आन्दोलन नरोकिएको बताउँदै आवश्यक परे सेप्टेम्बर ८ ब्युँताउने अभिव्यक्ति दिँदै आएको छ ।

जेनजी आन्दोलनको एक महिना बित्दा विभिन्न समूह र दलका भ्रातृ संगठनलेसमेत सडक गतिविधि बढाउन थालेपछि उपत्यकाको शान्ति सुरक्षा थप जटिल बन्ने संकेत देखिएको छ । यस्तो अवस्थामा भौतिक रूपमा हातहतियार, स्रोत–साधनबिनाको प्रहरी (सुरक्षा निकाय)ले कसरी काम गर्ला ?

यसबारे न राज्यले पर्याप्त पहलकदमी लिन सकेको छ न भौतिक रूपमा हातहतियार र स्रोत–साधन नै पर्याप्त उपलब्ध गराउन सकेको छ । गिरेको प्रहरीको मनोबल महिना दिन बित्दासम्म उठ्नुको साटो झन् गिर्दो छ ।

यही मनोदशा बोकेको प्रहरीलाई केपी शर्मा ओली र रमेश लेखकलाई तत्काल पक्राउ गर्न निर्देशन दिएपछि प्रहरी नेतृत्व नै झस्कियो ।

भौतिक संरचना त बन्लान् । तर गिरेको मनोबल कसरी उठ्छ ? माओवादी सशस्त्र द्वन्द्वका बेलासमेत प्रहरी यत्तिको नाजुक अवस्थामा पुगेको थिएन– पूर्वएआईजीपी विश्वराज पोखरेल

‘प्रहरीका हतियार लुटिएका छन् । गोली गट्ठा हराएका छन् । बर्दी गायब पारिएका छन् । अनि हतियार चलाउन जान्ने कुख्यात अपराधी जेल बाहिर छन् । यो अवस्थामा फेरि अर्को प्रदर्शन भयो भने कसरी भिड नियन्त्रण हुन्छ ? यसको सुरक्षा जोखिम कति हुन्छ ? लुटिएकै प्रहरीका बर्दी लगाएर गोली चलाए कसरी पहिचान हुन्छ ?,’ सोमबार राति प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसामु सुरक्षा निकायले सुरक्षा चुनौतीबारे स्मरण गराए ।

मनोबल उच्च बनाउन नसकेको प्रहरीले फेरि ओली, लेखकलाई पक्राउ गर्दा सुरक्षा भड्किएर अर्को आन्दोलन भए थेग्न नसक्नेतर्फ सचेत गराएका थिए । सुरक्षा निकायका प्रमुखले भनेजस्तै अहिले प्रहरीको मनोदशा निकै त्रसित छ ।

आफ्ना आँखै अगाडि सहकर्मीलाई कुटीकुटी मारिएको दृश्य ताजै छ । बर्दी फुकालेर आत्मसपर्मण गरेर बाँच्नु परेको पीडा आलै छ । ढल मिसिएको खोलैखोला भाग्दा पनि किनारबाट ढुंगा बर्साएको कुरूप दृश्य आँखै अगाडि नाचिरहन्छ । यी घटनाले प्रहरी झस्किरहन्छन् ।

पूर्वएआईजीपी विश्वराज पोखरेल भन्छन्, ‘प्रहरीका भौतिक संरचना त बन्लान् । तर गिरेको मनोबल कसरी उठ्छ ? माओवादी सशस्त्र द्वन्द्वका बेलासमेत प्रहरी यत्तिको नाजुक अवस्थामा पुगेको थिएन, जुन अहिले पुगेको छ ।’

मनोबल खस्काउने सरकारी कदम

आत्मविश्वास र दृढ संकल्प गिरेको अवस्थामा यसको असर नतिजामा प्रतक्ष्य देखिन्छ । तर प्रहरीको ‘मोरल बुस्टअप’ हुनुको साटो जेनजी प्रदर्शनपछिका घटनाबाट झनै गिर्ने अवस्थामा पुगेको छ ।

२४ भदौको हिंसात्मक प्रदर्शनमा सहभागी भएकाहरूलाई पहिचान गरी प्रहरीले धमाधम पक्राउ सुरु गरेको थियो । प्रहरीका हतियार लुट्नेदेखि बर्दी चोर्ने, कार्यालयमा आगजनी गर्नेहरू समातिए । तर त्यसको केही दिन/घण्टामै उनीहरू छाडिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ दुई थान पेस्तोल लुटेर कैलाली पुर्‍याइयो । प्रहरीले ती हतियारसहित चार जनालाई पक्राउ गरेर जहाजमार्फत काठमाडौं ल्यायो । गौरीगंगा नगरपालिका–१ बस्ने १९ वर्षीय समीर खड्का, १९ वर्षकै आभाष चन्द, गौरीगंगा–३ का २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य काठमाडौं ल्याइए । तर उनीहरूविरुद्ध मुद्दा चल्नुको साटो गृहमन्त्रालयको निर्देशनमा उन्मुक्ति दिइयो, उनीहरू छुटे ।

‘निकै मिहिनेत गरेर अनुसन्धान गरी हतियारसहित पक्राउ गर्‍यौं । तर कारबाही गर्नुको साटो उन्मुक्ति भयो । यो घटनाले प्रहरीले कसरी काम गर्ने भन्ने दुविधा मात्रै बनाएर काम गर्ने प्रहरीको मनोबल नै गिराउने काम भयो,’ एक प्रहरी अधिकृत भन्छन् ।

पक्राउ गरिएका अधिकांशजसोलाई सामान्य तारेखमा छाडिएको प्रहरी अधिकारीहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई पनि पक्राउ परेका धरैलाई छाडिएको स्वीकार्छन् ।

प्रहरी कार्यालयले जलाउने, तोडफोड गर्ने, प्रहरीलाई खोलैखोला लखेट्ने, हतियार लुट्ने, बर्दी लुट्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेको थियो । तर गृहमन्त्रालयले विज्ञप्ति नै जारी गरेर कारबाही नगर्न भनेको थियो ।

‘आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेका हुँदा आयोगबाट सो कार्यादेश बमोजिम रायसहितको प्रतिवेदन प्राप्त भएपश्चात् कानुन बमोजिम गर्ने बेहोरा जानकारी गराइन्छ,’ मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको थियो । छाड्न गृहमन्त्रीको निर्देशन र विज्ञप्ति नै निकालेर कारबाही नगर्न भनेपछि तीन प्रहरी हत्यामा पक्राउ परेका बाहेक अरू छुटे ।

प्रहरी स्रोतका अनुसार यो भन्दा पहिला त जेनजी अगुवा सुदन गुरुङ आफैं प्रहरी कार्यालय उपस्थित भएर पक्राउ परेकाहरूलाई छाड्न प्रहरीलाई दबाब दिएका थिए । त्यसपछि गुरुङ गृहमन्त्रालय पुगेका थिए । अनि हिरासतमा रहेकाहरू छुट्ने काम सुरु भएको थियो । सरकारको यो कदमले प्रहरीको मनोबल गिराउन थप बल पुगेको छ ।

सर्वसाधारणबाट प्रहरीमाथि आक्रमण

सरकारी पक्षको कदम मात्रै नभएर सर्वसाधारणको व्यवहारबाट पनि प्रहरीमाथि मनोवैज्ञानिक प्रहार भएको छ । जेनजी आन्दोलनपछि मनोबल खस्किएको प्रहरीलाई सर्वसाधारणले ड्युटीमै रहेका बेला अपशब्द प्रयोग गर्दै धम्की दिएका छन् ।

काठमाडौंको बुद्धनगरमा एक युवकले अपशब्द प्रयोग गर्दै प्रहरीलाई गाली, धम्की दिएका थिए । औलो ठड्याउँदै ड्युटीका प्रहरीलाई धम्क्याए पनि प्रहरीले उनलाई केही गर्न सकेन । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

त्यसपछि भने बल्ल १५ असोजमा प्रहरीले ती युवक सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङलाई पक्राउ गरेको थियो ।

यस्तै प्रकृतिको अर्को एउटा भिडिओ पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । सवारी चाप रहेका बेला कुनै सडकमा हल्का लेन क्रस भएको अवस्थामा एक सर्वसाधारणले बर्दीकै प्रहरीमाथि हातपात गरेका थिए ।

गाली गर्दै ती युवकले प्रहरीमाथि आक्रमण गरेको देखिन्छ । तर प्रहरी भने निरीह हुनुपरेको अवस्था थियो । जेन–जीको आन्दोलनपछि मनोबल गिरेको प्रहरीमाथि अहिले चौतर्फी आक्रमण हुँदा प्रहरीको मनोबल उक्सिनुको सट्टो झनै गिर्दो अवस्था छ ।

मनोबल गिरेको प्रहरीले दिनानुदिन थपिँदै गएको सुरक्षा चुनौती कसरी आफ्नो कन्ट्रोलमा राख्छ भन्ने प्रश्न अहिले पचिलो बनेको छ । गाउँ, टोल समुदाय, सरकार सबै मिलेर प्रहरीको मनोबल उकास्न ढिलो गर्न नहुने सुरक्षा निकायका जानकारहरूको बुझाइ छ ।

जेनजी घटनापछि प्रहरी प्रमुख तथा आईजीपी चन्द्रकुवेर खापुङले एक भिडिओ सन्देश जारी गर्दै नियमित काममा फर्कन प्रहरीलाई कठिनाइ भइरहेको बताउँदै समुदायको यो कामको प्रशंसासमेत गरेका थिए ।

प्रहरीलाई विस्थापित गराउन खोज्नेहरू अपराधी मात्रै हुन् भन्ने कुरा समुदायको यी कामहरूले पुष्टि उनको भनाइ थियो ।

कोभर्टमा काम गर्ने त्रसित

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार मंगलबार दिउँसो ३ बजेसम्म ४ हजार ९१९ कैदीबन्दी र सुधारगृहतर्फ ६१८ गरी ५ हजार ५३७ कैदीबन्दी अझै फरार छन् ।

उनीहरू सामान्य अपराधदेखि गम्भीर अपराधमा दोषी ठहर भएका तथा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति छन् । जेनजी प्रदर्शनको मौकामा कारागारमा आगजनी तथा तोडफोड गरेर भागेका उनीहरू महिना दिन बित्दासम्म बाहिरै छन् ।

अर्कोतर्फ आन्दोलनका क्रममा लुटिएका प्रहरीका साना–ठूला गरी ८०० बढी हतियार अझै गायब छन् । ठूलो संख्यामा कैदीबन्दी र थुनुवा फरार हुनु तथा प्रहरीका हतियारसमेत अझैसम्म गायब हुनुले कोभर्ट (भेष बदलेर, सादा पोशाक) मा काम गर्ने प्रहरी अझै असुरक्षित महसुस गरिरहेका छन् ।

‘कतिपय अपराधीलाई गोली नै हानेर पक्राउ गरिएको पनि अवस्था छ । कतिपय कुख्यात अपराधी छन्, अहिले ती व्यक्ति बाहिर रहेको र हाम्रा हतियारसमेत अझैसम्म गायब रहेको हुँदा त्रसित हुने अवस्था छ,’ कोभर्ट अपरेसनमा काम गर्ने एक जना प्रहरी नायव निरीक्षक (सई)ले अनलाइनखबरसँग भने ।

उनका अनुसार कोभर्टका काम गर्ने केही प्रहरीले अहिले भने कोठा सरेर वा आफन्तकोमा बसेका छन्, केही कार्यालयमै बस्ने गरेका छन् । सादा पोशाककै प्रहरीले अनुसन्धान गरेर आरोपी पक्राउ गर्ने हुँदा उनीहरू थुनुवा तथा कैदीबाट बढी जोखिममा परेको विश्लेषण प्रहरीको छ ।

प्रहरी प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार अहिले १ हजार ४०० थुनुवा फरार छन् ।

अझ महाराजगञ्ज वृत्तमा प्रहरीलाई कुटीकुटी मारिएको घटनामा त थुनुवाकै संलग्नता हुनसक्ने आशंका गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । सादा पोशाकमा रहेका प्रहरीलाई थुनुवाले नै यो प्रहरी हो भनेर चिनाएको र त्यसको केही समयमै कुटेर हत्या गरिएको प्रहरी स्रोत बताउँछ ।

महाराजगञ्ज वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको जेनजी आन्दोलनको क्रममा हत्या भएको थियो ।

फ्रन्टलाइनरको मनोबल उकास्न ढिला नगरौं

जेनजी आन्दोलनपछि मनोबल गिरेको प्रहरी अझै तंग्रिन सकेको छैन । केही समुदाय तथा विभिन्न संघस्थाले प्रहरीको मनोबल उकास्न काम पनि गरिरहेका छन् ।

विस्थापित प्रहरी चौकीलाई पुनर्स्थापित गर्नेदेखि प्रहरी कर्मचारीलाई फूलमालाले स्वागत गर्नेसम्म काम भएका छन् । तर त्यतिले मात्रै प्रहरीको मनोबल उठिहाल्ने अवस्था छैन ।

प्रहरीको मनोबल उकास्न ढुक्क भएर स्वतन्त्र तवरले काम गर्ने वातावरण बनाउनुपर्ने सुझाव सुरक्षाका जानकारहरूको छ । यसका लागि समुदायदेखि सरकारको मुख्य दायित्व रहन्छ । राज्यले स्रोत–साधनयुक्त बनाएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण प्रहरीलाई बाउनुपर्ने हुन्छ ।

‘हरेकजसो आन्दोलनमा प्रहरीमाथि दमन र आक्रमण हुँदै आएको छ । फ्रन्ट लाइनर भएर पनि प्रहरी सबैभन्दा बढी मारमा पर्ने गर्छ । कानुन कार्यान्वयको मुख्य जिम्मेवारी पाएको प्रहरीको मनोबल गिरेको अवस्थामा राज्यमा दण्डहिनता मौलाउने, अपराधीले टाउको उठाउने जोखिम बढ्छ । सबै पक्षले प्रहरीको मनोबल उकास्न काम जतिसक्दो चाँडो काम गर्नुपर्छ,’ पूर्वएआईजीपी प्रद्युम्न कार्की भन्छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?