+
+
Shares

प्रदर्शन उग्र बनेपछि देखिन थाल्यो लुटपाटको शैली

व्यक्तिहरु भिडमा हुँदा आफ्नो चेतना र व्यक्तिगत पहिचान गुमाउन पुग्छन् । सामान्य अवस्थामा नगर्ने व्यवहार समेत गर्नसक्ने जोखिम मब साइकोलोजीमा हुन्छ । जसकारण सचेत मानिसहरू पनि गर्न नहुने काम गर्न पुग्छन्, र चोरी लुटपाटका घटनाहरू हुन्छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असोज २ गते २०:४५

२ असोज, काठमाडौं । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा, भ्रष्टाचार, बेथितिको अन्त्य र सुशासनको माग गर्दै जेनजीले २३ भदौमा काठमाडौं लगायत देशभर प्रदर्शन गरे ।

यसदिन सुरक्षाकर्मीले चलाएको गोली लागेर २१ जना प्रदर्शनकारी मारिए । यो दिन आन्दोलन प्रदर्शनकारीका तर्फबाट संसद् भवन प्रवेश बाहेक उग्र र कुनै ठूलो तोडफोड, आगजनी भएन । २१ जना मारिएपछि भोलिपल्ट २४ भदौमा बिहानदेखि आन्दोलनमय भयो ।

२४ भदौको आन्दोलनमा जेनजी मात्रै थिएनन्, अरु व्यक्तिहरू पनि मिसिए । मध्यान्ह हुँदासम्म आन्दोलन उग्र बनिसकेको थियो । प्रहरीका ब्यारिकेटहरू तोड्नेदेखि, कर्फ्यु समेतको प्रवाह नगरी निषेधित क्षेत्र नै तोडर आन्दोलन चर्काइयो ।

ठूलो संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न थाले । त्यसपछि सिंहदरबारदेखि, संसद् भवन, सर्वोच्च अदालत, जिल्ला अदालतमा समेत आगजनी गरियो ।

सरकारी वकिलको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, नागरिक उड्यन प्राधिकरणको कार्यालय पनि प्रदर्शनकारीको निशानामा परे ।

प्रहरीका भवनहरू जलाइए । त्यसपछि प्रदर्शनकारीहरूले नेताहरूका घर आगजनी र तोडफोड गर्न थाले । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका शीर्ष नेताहरुको घरमा आगजनी र तोडफोड गरियो । साँझसम्म सरकारी कार्यालयदेखि नेताका घरहरूमा आगजनी र तोडफोड गरेका प्रदर्शनकारी मध्ये केही रात पर्न थालेपछि लुटपाटमा संलग्न हुन थाले ।

व्यक्तिको घर-घरमा पसेर लुटपाट गर्नेदेखि मार्टहरूमा आगजनी, तोडफोड गर्दै लुटपाट भयो । कतिसम्म भने बैंक नै फोडेर लुटपाट समेत गरियो ।

जेनजीको आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको नोक्सान भएको बताइएको छ । बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँ लुटिएको बताइएको छ ।

आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी गरी ३८ करोड रुपैयाँ बराबरको सुन तथा नगद लुटेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीले बताएका छन् ।

कतिसम्म भने यो बैंक लुटेको भिडियो खिच्ने एक व्यक्तिलाई समेत ५ लाखको बिटो दिएर फरार भएका थिए ।

प्रहरीलाई बताएअनुसार ललितपुर घर भएका सुरेश देउलाले यो बैंक लुट्दै गरेको भिडियो खिचेका थिए । यो देखेपछि लुटेरा समूहले ‘तैंले यही खोजेको हो’ भन्दै उक्त पैसाको बिटो फालेर हिँडेको बताइएको छ ।

लुटेराले फालेको ५ लाख १० हजार ५ सय रुपैयाँ ती युवकले बुझाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । यो बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको थियो । नेपाल बैंकर्स संघका अनुसार देशभर बैंकहरूका ६१ वटा कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका थिए ।

बैंकमात्रै होइन भाटभटेनी सुपर मार्केटमा पनि ठूलो मात्रामा लुटपाट भएको थियो । भाटभटेनीका लत्ताकपडादेखि, मदिरा, खाद्यान्नहरू ठूलो मात्रामा लुटेर लगियो ।

अन्य सरकारी कार्यालयहरूका सरसामानहरु पनि प्रदर्शनकारीहरुले लगे । जेनजी आन्दोलनमा ठूलो मात्रामा लुटपाट भएपछि सामानहरू फिर्ता गर्न आग्रह गर्दै सूचना तथा विज्ञप्तिहरू पनि निकालियो ।

प्रहरीले त पटक पटक सूचना निकाल्दै बिल बिजक बिनाका सामानहरू किनबेच नगर्न आग्रह पनि गर्‍यो । जेनजी आन्दोलनमा लुटिएका सामानहरू किनबेच हुनसक्ने भन्दै प्रहरीले यस्तो सूचना निकालेको थियो ।

०००

जेनजीको आन्दोलनमा मात्रै होइन यसअघि गत १५ चैत २०८१ मा भएको राजवादी प्रदर्शनमा पनि लुटपाट भयो । दुर्गा प्रसाईंले कमाण्ड गरेको उक्त आन्दोलन उग्र बनेपछि व्यक्तिका घरहरू तोडफोड गर्नेदेखि आगजनी गर्नेसम्मका कामहरू भए ।

सो क्रममा ठूलो मात्रामा लुटपाट भएको बताइएको छ । त्यतिबेला विशेषगरी कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट भयो । भाटभटेनीका फलफूलदेखि मदिरा, पाउरोटी, कपडाहरू लुटिए । लुटपाट गर्न आउनेहरुलाई त्यहाँका सुरक्षा गार्डले लट्ठीले हान्दै लखेटेका थिए । पछि ती सुरक्षागार्डलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले नगदसहित सम्मान समेत गरेका थिए ।

यसरी व्यक्तिका घर, गाडी तोडफोड र आगजनी गर्दै लुटपाट गर्नेहरूलाई त्यतिबेला प्रहरीले पक्राउ गरेर मुद्दा समेत चलाएको थियो । पाउरोटी चोर्ने महिलादेखि, स्याऊ सुन्तला टिप्नेसम्मलाई जिल्ला प्रहरी परिसर भद्रकालीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

पछि उनीहरू साधारण तारेखदेखि धरौटी तिरेर रिहा भएका थिए । त्यसपछि लुटपाटमा संलग्नहरूलाई समाएर कारबाही गरे पनि यो प्रवृत्ति अहिले फेरि दोहोरिएको छ ।

जेनजी आन्दोलनमा त्यो भन्दा बढी लुटपाट र तोडफोड भएको छ ।

०००

यसअघि १ फागुन २०७९ मा काठमाडौंकै गोंगबुमा पनि यस्तै प्रकृतिको लुटपाटको आतंक मच्चिएको थियो । यातायात व्यवसायी तथा मजदुरहरुले विभिन्न १० बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलन उग्र बन्यो । तोडफोडमा परिणत भयो । प्रहरीका भ्यान जलाउनेदेखि ल्होत्से मलमा तोडफोड गर्दै लुटपाट गर्नेसम्मको काम भएको थियो ।

त्यतिबेला ठूलो मात्रामा मोबाइलहरु चोरी भएका थिए । चोरी गर्नेहरूमा चालक, सहचालकदेखि मजदुरहरू थिए । पीडित व्यवसायीहरूले प्रहरीमा जाहेरी दिए ।

भिडिओ, फोटो तथा सीसीटिभी फुटेज हेर्दै प्रहरीले चोरी तथा लुटपाटमा संलग्नहरूलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

ल्होत्से मलदेखि जेनजी आन्दोलनसम्म आउँदा भएका तीन ठूला प्रदर्शनमा तीन वटैमा चोरी तथा लुटपाटका घटनाहरू भएका छन् । पछिल्लो समय देखिएका यस्ता चोरी तथा लुटपाटका घटनाले समाज अराजकतातर्फ उन्मुख रहेको देखाएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लको बुझाइ छ ।

पहिला पनि यस्ता धेरै ठूला आन्दोलन तथा प्रदर्शन भए पनि लुटपाट नहुने गरेको उनी बताउँछन् । ‘पहिला पनि प्रदर्शनहरू हुन्थे । तोडफोड र आगजनीलाई सामान्य रूपमै लिइन्थ्यो । तर अहिलेको जस्तो व्यक्तिका निजी घर, मार्टमा प्रवेश गरेर चोरी, लुटपाट हुँदैन थियो’ मल्ल भन्छन्, ‘यस्तो किन हुन्छ भन्ने विषय अध्ययन गर्नुपर्ने बेला आएको छ ।’

उनको बुझाइमा विशेषगरी अहिले सामाजिक सञ्जाल तथा मोबाइलबाटै सबै कुरा थाहा हुने भएकाले व्यक्तिका घर, मार्टको बारेमा सबै जानकारी हुने भएकाले पनि निशानमा पर्ने गरेको हुनसक्छ । यसका अन्य कारणहरू पनि हुनसक्ने भएकाले अध्ययनकै विषय रहेको उनी बताउँछन् ।

समाजशास्त्रीहरू भने यस्तोमा मब साइकोलोजी (भिड मनोविज्ञान) हाबी हुँदा यस्तो हुने गरेको बताउँछन् । यसको अर्थ व्यक्तिहरू भिडमा हुँदा आफ्नो चेतना र व्यक्तिगत पहिचान गुमाउन पुग्छन् । सामान्य अवस्थामा नगर्ने व्यवहार समेत उनीहरूले गर्नसक्ने जोखिम भिडको मनोविज्ञानमा हुने गर्छ ।

भिडले घेरिएपछि आलोचनात्मक सोच घट्छ र मानिसहरू सजिलै प्रभावित भएर भिडकै पछि लाग्ने गर्छन् । भिडले जे गर्‍यो त्यही गर्ने र विनाशकारी हिंसात्मक रुप समेत लिन सक्ने जोखिम रहन्छ ।

भिडमा एउटा लुट्न गयो भने त्यतै दगुर्ने जोखिम भिडको हुन्छ । अर्थात् भीमा व्यक्तित्व विहीनता हुने भएकाले यस्ता घटनाहरू हुनसक्ने सामाजशास्त्रीको बुझाइ छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?