+
+
Shares

जेनजी प्रदर्शन : निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते २०:४२

२४ भदौ, काठमाडौं । सोमबारदेखि सुरु भएको जेनजी प्रदर्शनमा एकै पटक १९ जनाको ज्यान गएपछि बिच्किएका प्रदर्शनकारी आज मंगलबार ध्वंसात्मक हिसाबमा उत्रिँदा सरकारी सम्पत्तिमात्र नभई निजी सम्पत्तिमाथि पनि तोडफोड, लुटपाट र आगजनी हुन पुगेको छ ।

पहिलो दिन शान्तिपूर्ण प्रदर्शन भनेका जेनजीमाथि सुरक्षाकर्मीले गोली चलाएपछि १९ जनाको ज्यान गएको थियो । त्यसैको आवेशमा आएका जेनजी मंगलबार थप उग्र भएका थिए । सरकारले बिहानैदेखि काठमाडौं चक्रपथभित्र कर्फ्यु आदेश जारी गरे पनि जेनजी स्वस्फूर्त सडकमा पुगेका थिए ।

सुरुमा ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरेको जेनजीमाथि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेपछि थप उत्तेजित भिडले सरकारी कार्यालयलाई मात्र निशाना बनाएन, निजी सम्पत्तिमाथि पनि एक्कासि तोडफोड, लुटपाट र आगजनी गर्न थाल्यो ।

मंगलबार बिहान प्रदर्शनकारीले नक्सालस्थित हिल्टन होटलमा तोडफोड गरेर आगजनी गरेको थियो । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीले प्रहरी प्रधान कार्यालय नजिकै रहेको हिल्टन होटलमा आगजनी गरेका थिए ।

त्यसपछि उनीहरूले काठमाडौं सतुसंगलस्थित चौधरी ग्रुप (सीजी) को घरायसी सामग्री उत्पादन तथा एसेम्बल गर्ने उद्योग सीजी इलेक्ट्रोनिक्समा आगजनी गरे । उनीहरूले उद्योगभित्रबाट सामानहरू बाहिर सडकमा ल्याएर जलाए ।

सीजीको यो कारखानामा टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रो ओभन, वासिङ मेसिन लगायत घरायसी उपकरण उत्पादन तथा एसेम्बल गरिन्छ । सीजी इलेक्ट्रोनिक्स एलजीको नेपालस्थित आधिकारिक वितरक पनि हो ।

यो उद्योग उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको हो । यस्तै प्रदर्शनकारीले सीजीको थापाथलीस्थित सीजी मोटर्सको शोरुम पनि तोडफोड गरेका छन् ।

त्यस्तै जेनजी प्रदर्शनकारीले तीनकुनेस्थित सिम्रिक एयरको कार्यालय पनि तोडफोड र आगजनी गरेका छन् । सिम्रिक एयर क्याप्टेन रामेश्वर थापाको हो । सिम्रिक एयर हेलिकप्टर सेवा प्रदायक कम्पनी हो । थापालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट व्यवसायी मानिन्छ ।

यसैगरी प्रदर्शनकारीले बत्तीसपुतलीस्थित मारवाडी सेवा समितिले सञ्चालन गरेको व्यावसायिक भवनमा पनि तोडफोड र आगजनी गरेका छन् ।

यतिमै नरोकिएका जेनजी प्रदर्शनकारीले व्यवसायी मीनबहादुर गुरुङले सञ्चालन गरेको नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा तोडफोड, लुटपाट र आगजनी गर्न पुगे । गुरुङलाई पनि नेकपा एमाले अध्यक्ष ओलीनिकट मानिन्छ । उनले केही महिनाअघि एमाले पार्टी कार्यालय निर्माण गर्न राजधानीको बल्खुमा १० रोपनी जग्गा दान गरेका थिए ।

भाटभटेनी चेनको यो पहिलो स्टोर हो । आगो लगाउनुअघि प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटपाट गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले बताए।

प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्,’ सीओओ पौडेलले अनलाइनखबरसँग भने, ‘क्षतिबारे यकिन भएको छैन, स्टोरमा पूरै आगो लगाइएको छ।’

भाटभटेनी नक्साल २०४३ सालमा व्यवसायी गुरुङले स्थापना गरेका थिए । यसअघि राजावादीको आन्दोलन क्रममा कोटेश्वर भाटभटेनीमा लुटपाट भएको थियो ।

त्यसैगरी प्रदर्शनकारीले चितवन र विराटनगरमा रहेका भाटभटेनी सुपर स्टोर पनि तोडफोड गरेर लुटपाट गरेका छन् ।

जेनजीको शान्तिपूर्ण आन्दोलनमा हामी निजी क्षेत्रको पनि समर्थन थियो र छ, तर यसरी निजी क्षेत्रको सम्पत्ति तोडफोड, लुटपाट र आगजनी हुनु अराजक कदम हो,’ एक उद्योगपतिले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अनलाइनखबरसँग भने, ‘हामीले हजारौंलाई रोजगारी दिएका छौं, यसरी अराजकता मच्चाएपछि हामी कसरी माथि उठ्न सक्छौं ? अर्थतन्त्र कसरी उँभो लाग्छ ? शान्तिपूर्ण प्रदर्शन गर्न जेनजीहरूलाई आग्रह गर्न चाहन्छु ।’

निजी कर्पोरेट हाउसहरू तोडफोड, लुटपाट र आगजनी हुँदा त्यसको प्रत्यक्ष असर रोजगारी, आम्दानी, कर, राजस्व लगायतमा पर्ने उनको भनाइ छ । यसरी अर्थतन्त्रमै प्रभाव पर्ने गरी प्रदर्शन नगर्न उनले आग्रह गरे ।

जेनजीले देशभरि गरेको प्रदर्शन क्रममा भएको जनधनको क्षतिप्रति निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले दुःख व्यक्त गरेको छ ।

मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी–व्यवसायीले तिरेको राजस्वको सदुपयोग लगायत विषयमा युवापुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन सरकार, राजनीतिक दल लगायत सम्बन्धित सबैलाई महासंघले आग्रह गरेको छ ।

मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीँ कतैबाट पनि सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलन र त्यस क्रममा अनावश्यक बल प्रयोग नहुनेतर्फ सचेत हुन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

सामाजिक न्यायसहित उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेरमात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव छ,’ महासंघले भनेको छ, ‘आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभरि प्रवाह गर्न सबै संयमित हुनुपर्ने अवस्था छ ।’

महासंघले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार लगायत सम्पूर्ण राजनीतिक दल एवं जेनजीसँग अपिल गरेको छ ।

त्यसैगरी युवाको चाहना अनुरूप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चिततासँगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?