५ मंसिर, काठमाडौं । बाराको सिमरा घटना साम्य पार्नका लागि स्थानीय प्रशासन र जेनजी अगुवाहरूबीच छलफल हुने भएको छ ।
बुधबारदेखि तनाव बनेको सिमरा घटना साम्य पार्न जेनजी अगुवाहरूसँग शुक्रबार दिउँसो ३ बजे छलफल गर्ने समय तय भएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
मिश्रका अनुसार पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा छलफल हुनेछ ।
जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार नै प्रदर्शनकारीलाई औपचारिक वार्ताकामा आउन भनेको थियो । तर उनीहरूले सिमरा आसपास क्षेत्रमा वार्ता हुनुपर्ने माग राखेका थिए ।
प्रजिअ मिश्रले भने, ‘जिल्ला सुरक्षा समिति र जेनजी अगुवाहरूबीच हुन सक्ने आपसी असमझदारी हटाउन पनि दुवै पक्षबीच छलफल हुन लागेको हो । छलफलले आपसी असमझदारी हटाउन सयहयोग पुग्ने विश्वास छ ।’
प्रदर्शनको नेतृत्व गरिरहेका केही जेनजी अगुवाहरू छलफलका लागि आउने जानकारी आफूले पाएको प्रजिअ मिश्रले बताए ।
जेनजीहरूको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमा जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष र अर्का एक स्थानीय एमालेका युवा नेता छन् ।
बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि बारा अशान्त छ ।
कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधबार र बिहीबार दिनभरि नै वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया 4