News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका क्रममा मोरङ जिल्ला अदालतमा आगजनी हुँदा १ हजार ४१ वटा विचाराधीन मुद्दाको मिसिल जलेका थिए।
- अदालतका ९ सय ९१ मिसिल विभिन्न स्रोतको सहयोगमा संकलन भइसकेका छन् भने ५० मिसिल अझै प्राप्त हुन बाँकी छ।
- अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख २५ हजार मिसिल जलेर नष्ट भएका थिए, तीमध्ये २ हजार ५ सय ४८ मिसिल संकलन भएका छन्।
१४ वैशाख, विराटनगर । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत मोरङमा आगजनी गरिएका विचाराधीन मुद्दाको अधिकांश मिसिल संकलन भएको छ । तर ५० वटा मिसिल अझै भेटिएको छैन ।
जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका अनुसार आगजनीको समयमा अदालतमा रहेका १ हजार ४१ वटा विचाराधीन मुद्दाको मिसिल जलेका थिया । तीमध्ये विभिन्न स्रोतको सहयोगमा ९ सय ९१ मिसिल संकलन भइसकेका छन् ।
अदालतको आफ्नै अभिलेख जलेर नष्ट भएपछि कानुन व्यवसायी, सरकारी वकिलको कार्यालय र अन्य सरोकारवाला निकायहरूको सहयोगमा मिसिल संकलन गरेको हो । उनका अनुसार चालु अवस्थाका ५० वटा मुद्दाको मिसिल अझै प्राप्त भएको छैन ।
भदौ २४ सम्म फैसला भइसकेको तर फैसला लेख्न बाँकी रहेका ७८ वटा मिसिलमध्ये ७५ वटा प्राप्त भएको छ । फैसला लेख्न बाँकी ३ वटा मिसिलको विवरण अझै प्राप्त भएको छैन ।
न्यायाधीश भुषालका अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख २५ हजार थान मिसिलहरू जलेर नष्ट भएका थिए । तीमध्ये २ हजार ५ सय ४८ वटा मिसिल संकलन गरिएको छ ।
अदालतको फैसला कार्यान्वयन गर्ने जिम्मा पाएको तहसिल शाखामा रहेका १ हजार ७ सय मिसिल जलेका थियो । तीमध्ये १ हजार ३ सय ५९ मिसिल संकलन भएको छ । ३ सय ४१ मिसिल संकलन हुन बाँकी छ ।
आन्दोलनको क्रममा आगजनी हुँदा अदालतको जिन्सी किताब, लगत किताब लगायतका अभिलेख जलेर खरानी भएको थियो ।
प्रतिक्रिया 4