+
+
Shares
स्थलगत :

दुई तलाबाट हामफालेका प्रहरी : आफू जोगिए, साथी गुमाए

शून्यबाट उठ्दै प्रहरी, जनताको सहयोगमा बसाउँदै कार्यालय

दिनेश गौतम दिनेश गौतम
२०८२ भदौ ३१ गते २१:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाराजगञ्ज प्रहरी वृत्तमा भएको आगजनीमा प्रहरी जवानले माथिबाट हामफालेर ज्यान जोगाएको बताए।
  • प्रदर्शनकारीले दुई प्रहरीलाई कुटेर मारेका थिए भने कार्यालयमा रहेका हतियार र सवारी साधन जलेर नष्ट भएका छन्।
  • काठमाडौं उपत्यकाका १५३ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको छ र क्षतिको विवरण संकलन भइरहेको छ।

३१ भदौ, काठमाडौं । ‘दुई तला माथिबाट हामफालेर ज्यान जोगाएँ,’ प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौंका एक प्रहरी जवानले मलिनो स्वरमा भने ।

मंगलबार दिउँसो वृत्तमा पुग्दा उनी जलेर खरानी भएको कार्यालय मर्मत र सरसफाइ गरिरहेका थिए ।

‘जनताको सेवामा फर्किएको छु । कार्यालय खरानी भएको छ,’ जलेर रुग्ण बनेको कार्यालय देखाउँदै ती प्रहरी जवानले भने । उनको मुहारमा अझै चमक छैन । स्मृतिमा गत २३ र २४ भदौको जेन-जी आन्दोलन घुमिरहन्छ ।

आन्दोलनको दोस्रो दिन उनीसँगै अरु प्रहरीहरू कार्यालयमै थिए । कोही प्रदर्शनकारी भाला बोकेर आएका थिए । कसैको हातमा बञ्चरो थियो । गुलेलीको प्रहार त सामान्य जस्तै थियो ।

‘घरेलु हतियारसहति आएको ठूलो समूहले एकाएक आक्रमण गर्न थाल्यो । हामीले हात जोडेर तोडफोड र आगजनी नगर्न भन्यौं तर मानेन्,’ ती प्रहरी जवानले भने ।

गेट बाहिरबाट नाराबाजी गर्दै प्रदर्शनकारी कार्यालय भित्र छिरे । प्राङ्गणमा रहेको सवारी साधन तोडफोड र आगजनी गरे ।

त्यसपछि त्यो अराजक समूह कार्यालय भित्रै छिरेर आगजनी गर्न थाल्यो । प्रहरीको टोली सबैभन्दा माथिल्लो तलामा पुग्यो ।

तलबाट धुवाँको मुस्लो आउन थाल्यो । प्रहरीहरू चिच्याउन थाले । कोही माथिबाट हामफाल्न थाले । कोही प्रहरीको माथिल्लो निकायमा उद्धारको लागि हारगुहार गर्न थाले ।

जे पर्ला, पर्ला भनेर पाँच जनाजति प्रहरी पाँचौ तलाबाट दोस्रो तलामा झरे । र, पछाडिबाट हामफाले । कसैको खुट्टा भाँचियो । कोहीका अन्य ठाउँमा चोट लाग्यो । ‘संयोग नै भन्नुपर्छ, दोस्रो तलाबाट हाम फाल्दा पनि मलाई केही भएन । तर साथीहरूको खुट्टा भाँचियो,’ उनले त्यो कालो दिन सम्झिँदै भने, ‘२०-२२ जना जतिको समूह त पाँचौ तलामै थियो ।’

माथि रहेको प्रहरीको टोलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

त्यसबेला प्रहरी वृत्त महाराजगञ्जको कल साइन नम्बरबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी (कल साइन भिक्टर वान) मा प्रहरीले फोनबाट हारगुहार गरेको अडियो पनि सार्वजनिक भइसकेको छ ।

केही प्रहरीले दोस्रो तलाबाट हाम त फाले तर अब बाहिर कसरी ज्यान जोगाउने ? ‘स्थानीयको घरमा पुगेँ, बर्दी फुकालेर अर्को लुगा लगाएँ,’ ती प्रहरी जवानले आफूले स्थानीयको घरमा लुकेर ज्यान जोगाएको बताए । तर उनले आफ्ना दुई साथी भने गुमाए ।

‘एक जना असई र एक जना प्रहरी जवानलाई प्रदर्शनकारीले तानेर कुटीकुटी मारे नि । यही गेटबाट तानेर लगेका हुन्,’ सहकर्मी गुमाएकोमा निराश हुँदै उनले भने, ‘एकजना त हालसालै सरुवा भएर आउनुभएको हो ।’

महाराजगञ्जका असई मिलन राय र प्रहरी जवान उत्तम थापालाई प्रदर्शनकारीले कुटेर मारेका थिए ।

दुई जना साथीसँगै कर्यालयमा रहेको हतियारदेखि सवारी साधनसमेत जलेर खरानी भयो । ‘ज्यान जोगाउनै मुस्किल परेको थियो । हतियार त कसरी झिक्न सक्नु । सबै जलेर खरानी भयो,’ ती प्रहरी जवानले भने ।

अहिले उच्च मनोबलका साथ प्रहरी जनताकै सेवामा खटिएका छन् । त्यसमा स्थानीयले साथ र सहयोग गरेका छन् । जलेर खरानी भएको वृत्तलाई सरसफाइ गरेर आवश्यक पर्ने सामग्री स्थानीयले उपलब्ध गराइरहेका छन् ।

‘स्थानीय र संघसंस्थाको सहयोग आइरहेको छ । स्थानीयसँग मिलेर उहाँहरूकै सहयोगमा पुनर्निर्माणको काम गरिरहेका छौँ,’ महारजगञ्जका प्रहरीले भने, ‘शून्यबाट काम थालेका छौँ ।’

प्रहरी वृत्त महाराजगञ्ज मात्र होइन । काठमाडौं उपत्यकाका अधिकांश भौतिक संरचना जलेर नष्ट भएका छन् । कति क्षति भएको छ, त्यसको यकिन तथ्यांक आएको छैन ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा मंगलबार पुग्दा प्रहरीहरू क्षतिको विवरण संकलन गरिरहेका थिए । ‘जल्न बाँकी केही छैन । यहाँ सुरक्षित हुन्छ भनेर धेरै सवारी साधन राखिएको थियो । कार्यालयै निशानामा पर्‍यो,’ क्षतिको विवरण संकलन गरिरहेका एक प्रहरीले भने ।

काठमाडौं उपत्यकामा मात्र साना ठूला गरेर प्रहरीको १५३ वटा कार्यालयमा आगजनी र तोडफोड भएको छ । कति हतियार र गाडी जलेर नष्ट भए त्यसको विवरण संकलन गर्ने काम प्रहरीले गरिरहेको छ ।

उपत्यकामा भने तीन जना प्रहरीले ज्यान गुमाए । महाराजगञ्जमा दुई जना र कोटेश्वरमा प्रहरी सहायक हवल्दार अमृत गुरुङलाई प्रदर्शनकारीले धारिलो हतियार प्रयोग गरेर मारेका थिए । यसरी शून्यमा पुगेको प्रहरी जनताकै सहयोगमा उठ्ने तरखरमा रहेको छ ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर 

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?