
३० भदौ, काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) मिलन राय २४ भदौ मध्याह्न न्युरो अस्पताल गए ।
प्रहरी वृत्त महाराजगञ्जमा क्राइम सिन अफिसर (सोको) का रूपमा कार्यरत राय एक व्यक्तिको मृत्यु भएको खबर आएपछि मुचुल्का गर्ने सहायक लिएर न्युरो अस्पताल पुगेका थिए ।
सहायकले मुचुल्काको काम गरे । रायले क्राइन सिनको काम गरे । काम सकेर उनी कार्यालय फर्किए । त्यतिन्जेलसम्म महाराजगञ्ज वृत्त वरपर ठूलो मात्रामा जेन-जी प्रदर्शनकारीको भिड जम्मा भइसकेको थियो ।
प्रधानमन्त्रीदेखि प्रहरीविरुद्धसमेत नाजाबाजी गर्दै सडकमा तोडफोड भइरहेको थियो । असई राय कार्यालय छिरे । र, ग्राउन्ड फ्लोरकै बाहिरतर्फको कुर्सीमा बसे ।
उग्र बनेका प्रदर्शनकारीले सरकारी तथा प्रहरीका भवनमा तोडफोड र आगजनी गर्न थाले । प्रहरी नै असुरक्षित हुने अवस्था आएकाले हिरासतमा रहेका थुनुवा छाड्दै आफू सुरक्षित हुन काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्कुलर जारी गर्यो ।
प्रदर्शन चर्किएर प्रहरी केन्द्रित हुन थालेपछि महाराजगञ्ज वृत्तले पनि आफ्नो हिरासतमा रहेका थुनुवा छाड्यो । यतिन्जेलसम्म असई राय सुरक्षित थिए । सोको अफिसर सिभिल पोशाकमै हुने भएकाले उनलाई प्रदर्शनकारीले प्रहरी भनेर चिनेका थिएनन् ।
तर, जब हिरासतमा रहेका थुनुवा छाडियो, त्यसपछि भने राय आक्रमणको निशानामा परे । ‘यो पनि प्रहरी हो’ भन्दै उनीमाथि आक्रमण भयो ।
थुनुवा नछोड्दासम्म प्रदर्शनकारीले उनलाई प्रहरी हो भनेर नचिन्नु र आक्रमण नगर्नु तर थुनुवालाई छाड्ने बित्तिकै आक्रमण हुनुले धेरै आशंका जन्माएको प्रहरीको बुझाइ छ । घटनालाई प्रत्यक्ष नियालेका एक प्रहरी अधिकृत भन्छन्, ‘थुनुवाबाटै राय प्रहरी हो भन्ने खबर फैलिएको हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो ।’
सादा पोशाकमा रहेका असई रायमाथि त्यसपछि अन्धाधुन्दा आक्रमण भयो । खुकुरीले टाउकामै प्रहार भयो । भाँटाले हानियो । अनुहार चिन्न नसक्ने गरी रगताम्मे भयो ।
हत्या गरिसक्दा पनि भिड रोकिएन । शव घिसार्दै सडकमा ल्याइयो । शवमाथि नै पिसाब फेर्नेसम्मको घृणित काम भयो । असई रायको हत्या गरिसकेपछि पनि किन यस्तो घृणित काम भयो भन्नेबारे प्रहरी अधिकारीहरू नै अचम्मित छन् ।
राय यसअघि पक्राउ परेका अभियुक्त वा आपराधिक पृष्ठभूमिका व्यक्तिको निशानामा परेका हुन् कि भन्ने आशंका प्रहरी अधिकारीहरूको छ । प्रहरीको काम नै अपराधीलाई कठघरामा ल्याउनु भएकाले कुनै आपराधिक व्यक्तिले प्रतिशोध साँधेर यतिसम्म क्रुर हत्या गरेको हुनसक्ने विश्लेषण प्रहरीहरूले गरिरहेका छन् ।
राय न्युरो अस्पताल जाँदासम्म अवस्था सामान्य थियो । तर फर्किँदा अवस्था भयावह भइसकेको थियो । उनीसँग सञ्चार सेट नहुने भएकाले पनि घटनाको स्थितिबारे उनी जानकार थिएनन् । नर्मल अवस्था नै सोचेर कार्यालय फर्किए । केहीबेरमै कार्यालयमै ज्यान गुमाए ।
राय २०७४ सालमा असईमा भर्ना भएका व्यक्ति हुन् । रामेछाप दरबन्दी भएका उनी इमान्दार प्रहरी रहेको वृत्त महाराजगञ्जकै निमित्त प्रमुख तथा इन्स्पेक्टर सुदर्शन पन्थी बताउँछन् । ‘मैसँग काम गरेको केटा हो । इमान्दार र मिहिनेती थियो । निर्मम तरिकाले हत्या भयो,’ इन्स्पेक्टर पन्थी भन्छन् ।
सिन्धुलीको दुधौली नगरपालिका-८ खोरभञ्ज्याङ घर भएका रायले डेढ वर्षकै उमेरमा बुवा गुमाए । ब्लड क्यान्सरका कारण बुवा बितेपछि उनी आमाकै रेखदेखमा हुर्किए ।
पठनपाठनमा भने काका केशवले सहयोग गरे । गाउँबाटै एसएलसी उत्तीर्ण गरेपछि उनी काठमाडौं आए, प्लस टु पास गरे । त्यसपछि असईमा भर्ना भए ।
करिब एक वर्षअघि विवाह गरेका रायकी श्रीमती ४ महिनाअघि मात्रै जापान गएकी थिइन् ।
विभत्स हत्या गरिएका रायको सदगत भइसकेको छ । काका केशवले भतिजको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । भतिजको हत्यारालाई कारबाही नगरेसम्म आफूहरूले न्याय नपाउने पीडित परिवारले बताएका छन् ।
०००
रायसँगै वृत्त महाराजगञ्जका अर्का प्रहरी पनि जेन-जी आन्दोलनमा मारिए । दार्चुला घर भएका उत्तम थापालाई कुटीकुटी मारिएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।
‘यो डीएसपी हो’ भन्दै कुटीकुटी मारेको भिडियोमा देखिन्छ । तेरो सेकेन्डम्यान (ट्वाइसी, इन्स्पेक्टर) खै भन्दै विभिन्न रूपमा कुटपिट गरेको भिडियोमा देखिन्छ ।
डीएसपी भन्दै कुटेर रक्ताम्य बनाउँदै मारिएका व्यक्ति भने डीएसपी नभई जवान थापा थिए । उनी पनि सादा पोशाकमै थिए । दार्चुला लेकम गाउँपालिका- ३ गुमाखोलीका थापालाई गोली चलाउन आदेश दिने तैं हैन भन्दै अमानवीय तरिकाले कुटपिट गर्दै हत्या गरियो ।
उनी विगत ९ वर्षदेखि प्रहरी सेवामा थिए । उनी घरको जेठो सन्तान हुन् । उनका भाइ करिब ७ महिनाअघि मात्रै बितेको परिवारले प्रहरीलाई बताएका छन् । भिरबाट खसेर उनका भाइको मृत्यु भएको थियो ।
भाइको मृत्यु भएको ७ महिनापछि दाइको विभत्स हत्या भयो ।
जेन-जी आन्दोलनको अघिल्लो दिन मात्रै २२ भदौमा उनले अब घर आउन ४ दिन बाँकी छ भन्दै युनिर्फमसहित टिकटक भिडिओ बनाएर हालेका थिए ।
‘झल्को आउँदा यही फोटो हेरी, जोवन धानी बस है मयाले’ गीतमा आफ्नो युनिफर्मको तस्बिर र श्रीमतीको तस्बिर राख्दै टिकटक बनाएका थिए । अब उनी कहिल्यै नआउने गरी अस्ताए ।
केही समयअघि गौरा पर्वको सन्दर्भमा उनले भाइलाई सम्झिँदै फोटोको क्याप्सनमा लेखेका थिए- मेरो भाइ, तिमी कहाँ छौ ? गौरा आगई ।
उत्तमले बुवा पहिल्यै गुमाएका थिए । ७ महिनाअघि भाइ गुमाए । अहिले आफैं बिते । सात महिनाको अन्तरमा दुई छोरा र केही समयअघि श्रीमान् गुमाएको पीडाले उत्तमकी आमा बेहोस छिन् ।
घरको मुख्य सहारा नै उत्तम थिए । उनी बितेसँगै सबै सहारा गुमेको छ ।
०००
कास्की घर भई प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी सहायक हवल्दार अमृत गुरुङको पनि उनीहरू जस्तै विभत्स हत्या भयो । जेन-जी आन्दोलनको इपिसेन्टर नयाँ बानेश्वर नजिकै रहेको कोटेश्वर प्रभाग आन्दोलनकारीको निशानामा पर्यो ।
सुरुमा १५-२० जना आएर प्रहरी कार्यालय अगाडि नारा-जुलुस गर्न थाले । प्रदर्शनकारीको संख्या थपिँदै गयो । त्यसपछि तोडफोड र आगजनी सुरु भयो ।
चारैतिर आगो दन्किसकेकाले कोटेश्वर प्रभागका प्रहरीले भागेर ज्यान जोगाउनुको विकल्प देखेनन् । उनीहरू कार्यालय छाडेर भागे । लखेट्दै पछाडिबाट हानेको धारिलो हतियारले सहायक हवल्दार गुरुङलाई लाग्यो । भुईंमा ढलेपछि आन्दोलनकारीले कुटीकुटी उनको हत्या गरे ।
आन्दोलनकारीबाट मारिएका गुरुङले ९ महिनाअघि मात्रै आमा गुमाएका थिए । गुरुङका ७ महिनाका एक छोरा, श्रीमती र ६० वर्षका बाबु छन् । उनीहरू कास्कीमै बस्छन् । सबैको सहारा गुरुङ नै थिए । उनी पनि ढलेपछि परिवारको सहारा गुमेको छ ।
सहायक हवल्दार गुरुङको शव सदगतका लागि परिवारले कास्की लगेको छ ।
प्रभाग कोटेश्वरमा रहेको ५९ दरबन्दीमध्ये १३ जना प्रहरी घाइते भए । दुईजनाको अवस्था अझै गम्भीर छ । प्रहरीको बर्दी फुकालेर हुलिया बदलेर भागेकाले उनीहरू ज्यान जोगाउन सफल भए ।
आन्दोलनकारीले प्रभागलाई तोडफोड र आगजनी गरेर तहसनहस बनाए । हतियार लुटे । बर्दी डढाए । अहिले ढडेको कालो भवन बाहेक प्रभागमा केही छैन ।
तीन प्रहरीले ज्यान गुमाएको प्रभाग कोटेश्वर र वृत्त महाराजञ्जमा पुगेर प्रधानमन्त्री सुशीला कार्कीले निरीक्षण गरेकी छिन् । तर प्रहरीलाई के भनिन्, सार्वजनिक भएको छैन ।
प्रहरीका हत्यारालाई अनुसन्धान गरेर कारबाही नगरी पीडित परिवारले न्याय पाएको महसुस नगर्ने प्रहरी अधिकारीहरू बताउँन् । तीन सहकर्मी आँखै अगाडि विभत्स तरिकाले मारिएपछि प्रहरी त्रसित छ ।
तीन प्रहरी मारिएको जेन-जी आन्दोलनमा प्रहरीतर्फ ठूलो क्षति भएको छ । भवन जलेर नष्ट भएका छन् । लत्ताकपडा, बन्दोबस्तीका सामान, सवारी साधान जलेका छन्, हतियार लुटिएका छन् । अहिलेसम्म प्रहरीतर्फ कति क्षति भयो भन्ने यकिन विवरण आएको छैन ।
उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको छ । अन्य ठाउँको विवरण संकलन गर्ने काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरे बताउँछन् । जेन-जी आन्दोलनमा ३ प्रहरीसहित ७२ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया 4