
२९ असोज, काठमाडौं । भदौ २३ र २४ गते सत्तापलट नै गर्नेगरी भएको जेनजी विद्रोहपछि त्यसको लाभ उठाउन विभिन्न स्वार्थ समूह र व्यक्तिहरू सक्रिय भएका छन् । यस्ता गतिविधि बढ्दै जाँदा सरकारी निकाय र सार्वजनिक ओहदामा बसेका व्यक्तिहरु त्रसित हुने अवस्था सिर्जना भएको छ ।
जेनजीका नाममा कम्पनीहरूमा सेयर माग्नेदेखि विभिन्न संघसंस्थामा धम्की दिँदै हिँड्ने, ‘आफू नै राज्य हुँ’ भन्ने शैलीमा गतिविधि बढाएका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।
जस्तो, जेनजी आन्दोलन लगत्तै भोटेकोशी पावर कम्पनीमा सेयर माग्ने जेनजीको नाम दुरुपयोग भएको विषय चर्चामा आयो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले उक्त हाइड्रो कम्पनीलाई दबाव दिँदै आएको थियो । भदौ २३–२४ गतेको जेनजी आन्दोलनको क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’को नाममा स्थानीयको एक समूहले आयोजना बन्द गराउँदै १० प्रतिशत सेयर पाए ।
कम्पनीले १० प्रतिशत सेयर दिन तयार भएको तर निशुल्क भने दिन नसकिने बताएको थियो, जसकारण उक्त आयोजना एक महिनासम्म ठप्प परियो ।
तर, केही सीप लागेन । जेनजीको नाममा आएका उक्त अराजक समूहसँग सम्झौता गर्न कम्पनी बाध्य बन्यो । त्यो समूहले भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत सेयर लियो ।
यसरी भोटेकोशी पावर कम्पनी र जेन-जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत सेयर लेन-देनमा सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको छ । सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् ।
०००
जेनजीको नाममा अर्को समूह विभिन्न कार्यालय जाने र धम्क्याउनमा सक्रिय छ । केही युट्युबरसहित विभिन्न कार्यालयमा अराजक शैलीमा प्रस्तुत भइरहेका ती पात्र हुन्- अर्जुनबहादुर शाही ।
कार्यालय अनुगमन गर्ने तथा ज्ञापनपत्र बुझाउने भन्दै यो समूह विभिन्न कार्यालय पुगेर कर्मचारीलाई धम्क्याइरहेको देखिन्छ ।
अनुगमनको नाममा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेका उनी आफूलाई जेनजी नेताका रूपमा चिनाउने गरेका छन् । सँगसँगै ज्ञापनपत्र दिँदै सम्बन्धित संस्थाका कर्मचारीसँग अनावश्यक नोकझोंक गर्छन् ।
कतै घरबाट थुतिदिन्छु भन्छन्, कतै राजीनामा दिनुस् भन्छन् । मानौँ, उनी अहिले सरकारको महत्त्वपूर्ण भूमिकामा छन्, अनि यो सबै गर्ने सर्वाधिकार राख्छन् । यसरी खुल्लमखुल्ला जेनजीको नाम बेच्दै आफ्नो स्वार्थअनुसार हिँडिरहेका यी समूह आफू नै सर्वेसर्वा ठानिरहेका देखिन्छन् ।
केही दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाहीको टोलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा नै मागेको थियो ।
हचुवाको भरमा संस्था घाटामा गएकोदेखि अन्य आरोप लगाए । किन घाटामा गइरहेको छ भन्ने शाहीको प्रश्नमा अधिकारीले ‘क्यान घाटामा नगएको बताउँदै प्रतिप्रश्न गरे । तर, उनलाई त्यो सुन्नुछैन, राजीनामा माग्न तम्सिए, त्यो पनि उग्र शैलीमा ।
बरु नागरिक उड्ययनका ती अधिकारीले प्रमाण ल्याए आफू कारबाही भोग्न तयार रहेको बताए । शाहीको उत्तेजना कम हुँदैन । ‘ठाउँ खाली गर्नुस्, काम गर्न अर्को आउँछ,’ उनले आदेश दिए । स्वेच्छिक राजीनामा दिनुस् भन्दै धम्क्याएको भिडियोमा देखिन्छ ।
शाही टोली यहीँ सीमित छैन । यो समूहले नेपाल वायु सेवा निगमका युवराज अधिकारीलाई पनि उसैगरी धम्काएका छन् । केही दिनअघि वायु सेवा निगमको कार्यालय पुगेर शाहीले प्रमुखहरूलाई यहाँ बोलाउनुस् भनेर थर्काएका थिए । धम्कीको भाषा प्रयोग गर्दै उनले भनेका थिए, ‘यो सबै नाटक हो, बोलाउनुस् । नत्र थुतेर ल्याउँछु घरबाट ।’
यो समूह अख्तियारको केन्द्रीय कार्यालय टंगाल पनि पुगेको थियो । त्यहाँ पुगेर पनि भद्रताका साथ आफ्नो माग राख्ने भन्दा पनि लफडा सुरु गर्यो । विशेषाधिकार प्राप्त सरकारी टोलीझैँ केरकार गर्ने उद्देश्य उनीहरूको देखिन्छ । त्यसैले उनले अख्तियारमा पनि प्रमुख आयुक्त प्रेम राईसँग भेट्ने समय मिलाउन भने ।
त्यहाँका कर्मचारीले समय मिलेपछि भेटाउने बताए । शाहीलाई त्यो समय कुर्नु थिएन । ‘सोझो हिसाबले कर्मचारीतन्त्रलाई नगाल्ने रैछ । हामीले जनतालाई के म्यासेज दिने, भित्र भेट्न दिएन भन्ने ? टाइमको कुरै नगर्नुस् । हामी विथआउट टाइमिङ आएको हो । मन्त्रालयमा हरेक ठाउँमा विथआउट टाइमिङ गइरहेका छौं,’ सबैतिर यही शैलीमा आफूहरू पुगेको बताउँदै शाहीले चेतावनीपूर्ण भाषामा बोल्छन्, ‘संवैधानिक आयोगका १२ वटा निकायमा हामी पुगिसकेका छौं । अख्तियारमा मात्र किन भेट्न नमिल्ने ?’
यसरी अरूलाई छड्के जाँच गर्दै विभिन्न कार्यालयमा ‘विथवाउट टाइमिङ’ धाइरहेका उनी आफैं भने विभिन्न आरोप खेपिरहेका छन् । जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त रहेको खबर यसअघि नै प्रकाशित भइसकेको छ ।
०००
जेनजी नाममा विश्वविद्यालयमा समेत अराजकता मच्चिएका घटना आइरहेका छन् । जस्तो, गण्डकी विश्वविद्यालयका पदाधिकारीलाई धम्की दिन केही युवा जेनजीका नाममा पुगेका थिए । गण्डकी विश्वविद्यालय पुगेका उनीहरूको कार्यकक्षमा प्रवेश गरेर रजिष्ट्रारको खोजी गरे । ‘रजिष्ट्रार को हो ?’ भन्दै प्रश्न गर्न थाले ।
विजय पराजुली, निर्दोश विक्रम पौडेल, डिफान भुजेललगायतका युवा जेनजी भन्दै विश्वविद्यालयमा पुगेका थिए ।
गण्डकी विश्वाविद्यालयका रजिष्ट्रार हुन्, कैलाश तिमिल्सिना । उनलाई चिनेपछि जेनजीका नाम लिँदै पुगेका युवाले चर्किंदै निर्देशन दिन थाले । ‘ए तपाईं नै हो यहाँ भ्रष्टाचार र मनपरी गर्ने ? उहाँ बस्नुस्, अरू बाहिर जानुस्,’ अन्य कर्मचारीलाई बाहिर निकालेर ती युवाले तिमिल्सिनालाई भित्र राखे ।
विश्वविद्यालयमा आफूहरू आउन खोज्दा रेस्पोन्स नगरेको भन्दै आक्रोस पोख्न थाले । त्यसपछि विश्वविद्यालयमा भएको बेथिति र रजिष्ट्रारलगायतको मुद्दा अदालतमा विचाराधीन भएकाले एक मिनेटमा पनि पदमा बस्न नमिल्ने भन्दै उनीहरूले राजीनामा माग्न थाले । यसरी विश्वविद्यालयमा पुगेर ‘जेनजी हुँ’ भन्दै अराजकता मच्चाउनेहरू यसअघि नै विवादित पात्र हुन् ।
यसअघि पनि विभिन्न अभियोगमा प्रहरी हिरासत पुगेकाहरू नै विश्वविद्यालयमा पुगेर हप्कीदप्की गरेका थिए । यसरी आफूहरू पटकपटक हिरासत पुगेको कुरा उनीहरूले नै स्वीकारेका थिए ।
‘अरूजस्तो नसोच्नुहोला हामीलाई । कोही बोलाए पनि केही हुन्न, हामी पटक–पटक हिरासत गइसकेका छौं,’ धम्कीको भाषा प्रयोग गर्दै उनीहरू स्वयंले भनिरहेका समाचार अनलाइनखबरमै यसअघि प्रकाशित भइसकेको छ ।
०००
अखिल नेपाल फुटबल संघ (एन्फा) मा पनि जेनजी नाममा एउटा समूह पुगेर त्यस्तै अराजकता मच्चायो । सोमबार केही युवा एन्फामा पुगेर अराजक शैलीमा प्रस्तुत भए । आफू नै सर्वाधिकार रहेझैँ नोकझोंक गरे । एन्फाको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै धर्ना तथा ज्ञापनपत्र बुझाए ।
त्यहाँ पुगेर जेनजीका नाममा ज्ञापनपत्र बुझाउने र युवाहरूलाई धर्नामा सहभागी गराउनेमध्येका एक युवा भने आफैँ बैंकिङ कसुरका आरोपित हुन् । त्यहाँ समूह बनाएर पुग्ने मध्यका ३० वर्षीय अनिश कार्की बैंकिङ कसुरको मुद्दा भोगेका आरोपित हुन् । उनीविरुद्ध काठमाडौं प्रहरीमा मनोहराकै कविराज गिरीले बैंकिङ कसुरमा उजुरी दिएको खुलेको छ ।
कार्की स्थायी घर दोलखा भएपनि हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्दै आएका छन् । उनीसहितका युवाहरूले सोमबार एन्फा महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाएका थिए । यसरी जेनजीको नाममा विभिन्न युट्युबरहरूलाई सरकारी कार्यालय बोलाउने र कर्मचारीमाथि अभद्र शैली देखाउने काममा यो समूह पनि सक्रिय देखिन्छ ।
०००
माथि उल्लेख गरिएका घटना प्रतिनिधि हुन् । यसबाहेक विभिन्न ठाउँमा जेनजीका नाममा अराजक गतिविधि बढिरहेका समाचार बाहिर आइरहेका छन् । गाउँ–टोलमै जेनजीका विभिन्न संगठन खोलेर अनेक खालका माग राख्ने र लफडा गर्ने गरेका छन् । यसरी भदौ २३ र २४ गतेको आन्दोलनलाई दुरुपयोग गर्ने र जेनजीका नाममा अराजकता बढाउनु निन्दनीय रहेको जेनजी अगुवाहरू बताउँछन् ।
जेनजी अगुवा रिजन राना मगर हाम्रा ऐन–कानुन जीवित रहेको अवस्थामा कसैले अराजक शैलीमा दम्भ देखाउनु ठीक नहुने बताउँछन् । यसको लागि सरकारले पनि परिपत्र जारी गरेर सबैलाई संयम हुन आग्रह गर्नुपर्ने आवश्यकता आफूले देखेको उनले बताए ।
‘हाम्रा ऐन–कानुन जीवित छ । त्यसैले त्यसबाहिर हप्कीदप्की गरेर राजीनामा गर्नु ठीक हैन । यो एकदम गलत ट्रेण्ड चलेको छ । आफ्ना माग राख्न पाइयो, तर त्यसको तरिका र सीमा हुन्छ,’ उनले भने, ‘अहिले अनेक खालको त्रास छ । त्यसैले यसमा हामीले नै सहयोग गर्नुपर्छ । आफू नै सर्वेसर्वा ठान्नुभन्दा कानुनी र संवैधानिक परिधिभित्र रहेर आफ्ना माग राख्नु अहिलेको लागि आवश्यक छ ।’
प्रतिक्रिया 4