News Summary
Generated by OK AI. Editorially reviewed.- आजको युवा पुस्ताले बाँचिरहेको संसार पुराना पुस्ताको भन्दा विल्कुलै फरक छ।
- जीविकोपार्जनका लागि विश्वभर छरिएको र मोबाइल फोनमार्फत जोडिएको यो पुस्तासँग परम्परागत समाजसँगको अपनत्व टुट्दै गएको छ।
- त्यही जराविहीनता र सामाजिक सञ्जालको गुमनाम प्रयोगले आजको राजनीतिक उथलपुथल र विद्रोहलाई मलजल गरिरहेको छ।
जेनजी आन्दोलनको विश्व परिवेश अनि नेपालको सन्दर्भ बारे समाजशास्त्री मिश्रले लेखेको यो लामो आलेख अनलाइनखबरका पाठकका लागि तीन भागमा प्रकाशित छ। प्राध्यापक मिश्र नेपालमा समाजशास्त्रको औपचारिक अध्यापन गराउने पहिलो पुस्ताका प्राज्ञ हुन्। उनले लेखेका ‘पुँजीवाद र नेपाल’, बदलिंदो नेपाली समाज, एसेज अन् द सोसियोलोजी अफ् नेपाल, लोकतन्त्र र आजको मार्क्सवाद जस्ता पुस्तक प्रकाशित छन्।
मिश्रले बदलिंदो नेपाली समाजलाई प्राज्ञिक आँखाबाट चियाउने क्रममा युवा पुस्ताले प्रविधिको माध्यमबाट गरेको विद्रोह, अनि यसले निम्त्याएका विभिन्न खालका नतिजा बारे मिहिन ढंगले यो आलेख शृंखलामा केलाएका छन्।
अझ छोटो सामाजिक पुस्तान्तरणतर्फको यात्रा
जैविक पुस्ताबाट सामाजिक-ऐतिहासिक पुस्तातर्फको रूपान्तरणले शक्तिशाली प्रभावहरू छोड्छ। हामी सबैलाई थाहा भए झैं, सामाजिक–जनसाङ्ख्यिक, आर्थिक, राजनीतिक, सामाजिक-मनोवैज्ञानिक र सांस्कृतिक लगायत परिवर्तन केही समयदेखि तीव्र रहेको छ र यो अर्को एउटा उचाइतिर लम्केको देखिन्छ। यो क्रम केही दशकपछि टुट्न पनि सक्छ। किनकि पछिल्लो २०० वर्षको सामाजिक परिवर्तनको प्रवाह एउटा यस्तो नदी जस्तै रहेको छ, जो केही दशकसम्म बाढी जस्तै तीव्र गतिमा बग्छ र त्यसपछिका केही वर्षहरूमा भने सुस्त र मन्द गतिमा अगाडि बढ्छ।
यद्यपि, अहिलेका लागि भने यो लगभग निश्चित देखिन्छ कि वर्तमानको तुलनामा आगामी दुई दशकमा अझ तीव्र परिवर्तनहरू हुनेछन्। बाढी जस्तै अनियन्त्रित देखिने यस्तो परिवर्तनले अनिवार्य रूपमा आर्थिक, राजनीतिक, सैन्य र सांस्कृतिक परिवर्तन, अन्तरविरोध र प्रत्यक्ष द्वन्द्वको शृङ्खला निम्त्याउनेछ। यी सबैले सामूहिक रूपमा ठूलो स्तरको र गहन सामाजिक-पुस्तागत दरारहरू उत्पन्न गर्नेछन् र वर्तमानको तुलनामा अझ छोटो अवधिभित्रै नयाँ पुस्ताहरूलाई जन्म दिनेछन्।
परिवर्तनका नवीन र बृहत्तर लहरहरूले सम्भवतः आगामी केही दशकसम्म हरेक १० देखि १५ वर्षमा एउटा नयाँ पुस्तालाई जन्म दिन सक्नेछन्। एउटा उदाहरणका रूपमा, डिलमै आइपुगेको ‘एआई एक्स्प्लोजन’ ले थुप्रै प्रभाव निम्त्याउने निश्चित छ: सूचना र ज्ञानको विशाल विस्तारसँगै नक्कली समाचार र दृश्यहरूको अझ ठूलो बाढी आउनेछ। यी सबैलाई फाइदाजनक रूपमा उपयोग गर्न त सकिन्छ, तर यिनले गम्भीर राजनीतिक, आर्थिक, मनोवैज्ञानिक लगायत परिवर्तन र क्षतिका ठूला सम्भावना पनि बोकेका छन्।
एआई र रोबोटिक्सको क्षेत्रमा हुने प्रगतिले सम्भवतः ठूलो स्तरको बेरोजगारी निम्त्याउनेछ, विशेषगरी अदक्ष र दोहोरिने प्रकृतिका कामहरूका साथै तल्लो तहका क्लर्क र डिजिटल कार्यहरूमा यसको प्रत्यक्ष असर पर्नेछ। उच्च सम्भावना रहेका महामारी र युद्धहरूले मानवताको ठूलो हिस्सा विनाश गर्न सक्छन्। दोस्रो, विश्वव्यापी जलवायु संकटले धेरै क्षेत्र र स्थानहरूमा जीविकोपार्जनमा गम्भीर हानि, स्रोत–साधनको अभाव, अनिकाल र जनसंख्याको ह्रास जस्ता समस्याहरू निम्त्याउने सम्भावना छ। जलवायु संकटको प्रभावले जीवन जिउने, फस्टाउने र आबद्ध हुने स्थापित तरिकाहरूलाई पटक-पटक उथलपुथल पारिदिनेछ।
सामाजिक र राजनीतिक अस्थिरता, द्वन्द्व र बसाइँसराइ दैनिकी सरह बन्न सक्छन्, जसले ठूलो संख्यामा सीमान्तकृत समुदायहरू सिर्जना गर्नेछ। तेस्रो, पूँजीवादी विश्व अर्थतन्त्रको प्रवाहमा बढ्दो परिवर्तनका संकेतहरू देखिएका छन्। दोस्रो विश्वयुद्धपछिको नियममा आधारित विश्व आर्थिक शासनव्यवस्थालाई अब आ–आफ्नो स्वार्थपूर्ति गर्ने किसिमले मात्र पालना गरिन सक्छ, जसले विश्वभरि लगानी, रोजगारी, उत्पादन, व्यापार र उपभोगका क्षेत्रमा उच्च स्तरको अस्थिरता पैदा गर्नेछ। विशेषगरी चीनको उदय, जारी मध्यम-स्तरको व्यापार युद्ध, बहुपक्षीयताको तीव्र ह्रास र स्पष्ट रूपमा देखिएको ‘डि-कपलिङ’ (de-coupling) र वि-भूमण्डलीकरणले अन्ततः विश्वभर व्यापक स्तरको राजनीतिक-सैन्य पुनर्गठन निम्त्याउन सक्छ। यस उथलपुथलको समयमा विश्वका धेरै भागहरूमा दक्षिणपन्थी, जातीय र नश्लवादी, राष्ट्रवादी, र संकीर्ण घेराभित्रको राजनीतिले शासन जमाउन सक्ने सम्भावना देखिन्छ।
चौथो, हाल भइरहेको प्रक्रियाकै निरन्तरताको रूपमा तीव्र गैरग्रामीणीकरण अझै अगाडि बढ्नेछ। यस अन्तर्गत मानिसहरू शहरतर्फ बसाइँ सर्ने मात्र नभई; शक्ति, मूल्यमान्यता र मानकका हिसाबले ग्रामीण क्षेत्र स्वयम् शहरकै एउटा छायाको रूपमा परिणत हुनेछ। ठूलो संख्यामा मानिसहरू, समुदाय र नागरिकहरूको जीविकोपार्जन र अभ्यस्त जीवनशैलीलाई संकटमा पार्नेछ। अहिले नेपालमा अनुभव गर्न सकिए झैं, इरानमा भइरहेको एउटा ‘सानो’ युद्धले समेत (वास्तवमा यस्तो युद्ध जसलाई अमेरिकी सरकारले औपचारिक घोषणा समेत गरेको छैन) श्रम आप्रवासन, रेमिट्यान्स, पेट्रोलियम पदार्थ तथा अन्य विभिन्न उपभोग्य वस्तुको आयात र मुद्रास्फीति लगायत क्षेत्रमा नकारात्मक असर पारेको छ। यी सबै परिस्थितिहरूले सामाजिक पुस्ताहरूको निर्माण र अन्तरपुस्तागत द्वन्द्व दुवैलाई अझ सघन बनाउनेछन्।
नयाँ समाजका साथै नयाँ पुरुष र महिलाहरूको निर्माण गर्नेछन्। एक व्याख्यात्मक टिप्पणीको रूपमा भन्नुपर्दा, सबै सामाजिक परिवर्तनले नयाँ व्यक्तिहरूको निर्माण गर्दछ; सामाजिक परिवर्तन हुने तर व्यक्ति उही रहने, यस्तो त हुन सक्दैन। यी रूपान्तरणहरूका कारण अन्तरपुस्तागत सम्बन्ध लगायत उमेरमा आधारित सबै सम्बन्धहरू बदलिनेछन्। यस्ता संक्रमणहरूले पुस्ताहरू बीचको सम्बन्धलाई तोड्ने र पुनः परिभाषित गर्नेछन्, जसले व्यक्तिवाद र एक्लोपनलाई अझ बढावा दिन सक्छ।
यद्यपि यसका लागि यहाँ प्रस्तुत गरिएभन्दा धेरै बृहत्तर अध्ययनको आवश्यकता पर्दछ, तर कसैले यो कुराको परीक्षण गर्नु जरूरी छ कि– पछिल्लो तीन दशकमा नेपाल र यस्तै अन्य विश्वका सीमान्त देशका मानिसहरूले भोगिरहेको सामाजिक (अर्थात् आर्थिक, राजनीतिक र सांस्कृतिक) परिवर्तनको विस्तार र गति, हाल युरोप, अमेरिका र अन्य विकसित मुलुकका मानिसहरूले अनुभव गरिरहेको परिवर्तनभन्दा बढी फराकिलो र तीव्र त छैन?
मेरो आफ्नै अन्तर्ज्ञानले के भन्छ भने- कुनै खास वर्ग वा तप्कालाई मात्र सीमित नभई समग्र जनसङ्ख्यालाई हेर्ने हो भने पछिल्लो तीन दशकमा विश्वका केन्द्रीय र मध्यवर्ती (सेमी-पेरिफेरल) क्षेत्रहरूको तुलनामा सीमान्त क्षेत्रहरूमा भएको जीवनको परिवर्तन धेरै व्यापक र तीव्र रहेको छ। पछिल्लो तीन दशकमा नेपालमा भइरहेको परिवर्तन सन् १८५०–१९०० को बीचमा उत्तर युरोपमा भइरहेको परिवर्तनसँग प्रतिस्पर्धा गर्न सक्ने खालको छ, यद्यपि यी दुई उदाहरणमा परिवर्तनका क्षेत्र र दिशा भने निकै फरक छन्। विशेषगरी, त्यस अवधिमा उत्तर युरोप विश्वको केन्द्रका रूपमा रूपान्तरित हुँदै थियो भने नेपालमा अहिले भइरहेका परिवर्तनहरू मुख्यतया सीमान्तीकरणको प्रक्रियाद्वारा निर्देशित छन्।
यसले हामीलाई पुनः नेपालको जेनजीको सन्दर्भमा ल्याइपुर्याउँछ। अन्य ठाउँमा जस्तै नेपालमा पनि जेनजी (वा सामान्यतया युवा समूह) कुनै एउटा मात्र एकाइ नभएर विभिन्न समूहहरूको समिश्रण हो। अर्थात् जेनजी एक नभएर अनेक हो। जेनजी समूहहरू एक-अर्कासँग भिन्न हुनुको अर्थ यो पनि हो कि यहाँ गरिएका वर्णनहरू जेनजीका सबै उप-समूहमा समान रूपमा लागू नहुन सक्छन्।
नेपालमा जेनजी
यो कुरा पनि ध्यान दिनु जरूरी छ कि सेप्टेम्बर ८-९ मा सार्वजनिक रूपमा देखिएको जेनजी समूहले नेपालका सबै जेनजी समूह वा व्यक्तिहरूको प्रतिनिधित्व गर्दैन। सम्भवतः सेप्टेम्बर ८-९ का जेनजीहरू आफैंले पनि यो कुरालाई सबैभन्दा पहिले स्वीकार गर्नेछन्। सेप्टेम्बर ८ र ९ को अत्यन्तै प्रभावशाली राजनीतिक पहलकदमीमा जुन जेनजीको आवरणमा हाम्रोसामु आयो, त्यो आंशिक रूपमा जनमानसमा यसको आकर्षण बढाउनका लागि लक्षित थियो भन्ने देखिन्छ। यो पनि सम्भव छ कि सेप्टेम्बर ८ र ९ मा नेपाललाई झस्काउने गरी भएको हिंसा आंशिक रूपमा जेनजीको ब्यानरमा गरिएको एउटा ‘फल्स फ्ल्याग अपरेशन’ (छद्म कारबाही)पनि थियो।
पक्कै पनि एउटा विशिष्ट विश्व-ऐतिहासिक संरचनाको खुलासा हुने क्रममा पुराना दलहरू र सत्तारुढ सरकारले आफ्नै चिहान खनेका थिए। सामान्यतया विद्यमान राजनीतिक ढाँचाहरू भत्किंदा यस्तै हुने गर्छ। तर, एउटा मृतप्राय: शरीरलाई खाडलभित्र कसले धकेल्यो भन्ने कुरा चाहिं त्यति स्पष्ट छैन, जति यसलाई देखाउने प्रयास गरिन्छ। अन्य ठाउँमा जस्तै, जब यो ‘खन्ने’ प्रक्रिया विस्तार हुन्छ, तब एक-अर्काको बारेमा थाहै नभएका विभिन्न शक्ति वा एजेन्टहरू त्यो खाडल भर्नका लागि अगाडि आउन थाल्छन्। अन्ततः, त्यो शरीरलाई वास्तवमा कसले तल खसायो भन्ने कुराको अन्योल शायद कहिल्यै हट्न सक्दैन।
तर पनि, सेप्टेम्बर ८ को बिहान निकालिएको प्रारम्भिक छोटो र्यालीका एक प्रमुख आयोजकले पटक-पटक के भनेका छन् भने, सुरुवाती केही घण्टापछि नै उक्त पहललाई ‘हाइज्याक’ गरियो र घुसपैठियाहरूद्वारा हिंसात्मक बनाइयो। केही अन्य समाचार रिपोर्टहरू (जस्तै: रुद्र पंगेनी, अर्चना दर्जी र शमसाद अहमद, “भदौ २३ र २४ को घटनामा सुदन, बालेन र रास्वपा कनेक्सन” हिमालखबर, १४ फागुन २०८२; बसन्त बस्नेत, “बीबीसी डकुमेन्ट्रीले हाम्रासामु छाडेका प्रश्न” अनलाइनखबर, १५ फागुन २०८२ साथै सुविना श्रेष्ठले बीबीसीका लागि तयार पारेको डकुमेन्ट्री हेर्न सकिन्छ) ले पनि उक्त हिंसा र आगजनीमा भनिएका जेनजी बाहेक अन्य शक्तिहरू संलग्न भएको हुन सक्ने सम्भावनालाई संकेत गरेका छन्।
यसले हाम्रा लागि के पनि संकेत गर्छ भने, ती दुई दिनमा जे-जति घटनाहरू भए, त्यसमा जेनजीले एकातिर कर्ता र अर्कोतिर धुमिल पर्दाका रूपमा काम गरे। नेपालका युवाहरू पनि अन्य धेरै ठाउँमा जस्तै पुराना पुस्ताको तुलनामा वस्तुगत रूपमै कठिन परिस्थितिमा छन् र उनीहरूले फरक मूल्यमान्यता एवं कल्पनाशीलतालाई आत्मसात् गरिरहेका छन्। तर सेप्टेम्बर ८ र ९ मा जे भयो, त्यसमा कर्ताको सम्पूर्ण जिम्मेवारी उनीहरूले मात्र लिएको भनेर मान्न सकिंदैन।
नेपालमा जेनजीको जन्म र उदय एउटा यथार्थ र अर्थपूर्ण परिघटना हो। जेनजीको विश्व-ऐतिहासिक उदयका सम्बन्धमा अघिल्लो खण्डमा प्रस्तुत गरिएको तर्कसँग मेल खाने गरी, यस खण्डमा नेपालमा जेनजीको उदयलाई विश्लेषण गर्ने प्रयास गरिन्छ।
आजीविका र पारिवारिक जनसाङ्ख्यिकीमा आएका परिवर्तनहरू
पछिल्लो ३-४ दशकमा नेपालको जनजीवन उथलपुथलपूर्ण परिवर्तनहरूबाट गुज्रिएको छ। जीविकोपार्जनका स्वरूपहरूका साथै वस्तु, सेवा/श्रम र वित्तको विनिमय, ग्रामीण र शहरी जीवनशैली एवं आकाङ्क्षाहरू, नागरिकत्वको दाबी र सरकारबाट प्राप्त हुने सामाजिक सेवाहरू, र विश्वव्यापी श्रम विभाजनमा आबद्धता जस्ता यावत् पक्षहरूमा आधारभूत परिवर्तन आएको छ। अबको खण्डमा, म यीमध्येका केही रूपान्तरण र विशेषगरी युवा पुस्ताका लागि यसले राख्ने अर्थको वर्णन गर्ने प्रयास गर्नेछु।
पाँच दशकअघि नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको वर्चस्व थियो। कुल जनसङ्ख्याको ९० प्रतिशतभन्दा बढी मानिस कृषिमै आश्रित थिए, जसले कुल गार्हस्थ्य उत्पादनको करिब तीन-पाँचौं हिस्सा र कुल निर्यात आम्दानीको ७० प्रतिशतभन्दा बढी योगदान पुर्याउँथ्यो। सन् १९७० मा जीडीपीमा कृषिको हिस्सा ६७ प्रतिशत थियो भने उद्योग, उत्पादनमूलक क्षेत्र र सेवा क्षेत्रको हिस्सा क्रमशः १२ प्रतिशत, २ प्रतिशत र २१ प्रतिशत थियो (शंकर शर्मा, १९८६)। अर्कोतर्फ, आर्थिक वर्ष २०२४/२५ मा जीडीपीमा कृषि, उद्योग र सेवा क्षेत्रको हिस्सा क्रमशः २५ प्रतिशत, १३ प्रतिशत र ६२ प्रतिशत रहने अनुमान गरिएको छ (नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान, २०२४/२५)।
पहिले उपभोगको ठूलो हिस्सा आफैंले उत्पादन गरिन्थ्यो र उल्लेख्य मात्रामा छिमेकी तथा आफन्तहरू बीचको आपसी विनिमयबाट प्राप्त हुन्थ्यो। साना किसानहरू, अर्थात् आफ्नै स्वामित्वको जमिनमा आफैं उत्पादन गर्ने कृषक परिवारहरू नै मुख्य उत्पादक थिए। सामुदायिक दायित्वहरू निकै व्यापक र सघन थिए। समुदायका घरधुरीहरू बीच श्रमको विनिमय ठूलो परिमाणमा हुने गर्दथ्यो। शहर र बजारहरू निकै कम र टाढा-टाढा मात्र थिए। यसका साथै, शहरी क्षेत्र ग्रामीण इलाकाभन्दा निकै फरक र टाढाको विषय थियो। सम्भवतः काठमाडौंको मुख्य शहरी भागबाहेक, मानिसहरू व्यापक रूपमा व्याप्त ग्रामीण सोच र संस्कार भित्रै बाँचिरहेका थिए।

अन्य धेरै देशहरूमा जस्तै, यहाँ पनि जनसाङ्ख्यिकीमा ठूलो परिवर्तन आएको छ। सन् १९७६ मा ६.२ रहेको जन्मदर नाटकीय रूपमा घटेर सन् २०२४ मा दुईभन्दा तल झरेको छ। बाल मृत्युदर लगायत समग्र मृत्युदरमा पनि तीव्र गिरावट आएको छ। अहिले १५ देखि २४ वर्ष उमेर समूहको स्पष्ट जनसांख्यिकीय बहुसंख्या देखिएको छ, जुन जेनजीकै प्रवर्ग हो। घरधुरीको औसत बनावट पनि १९८० को दशकको अधिकांश समयमा ६ भन्दा बढी सदस्यहरू रहेकोमा यो घटेर सन् १९९५ मा ५.७, सन् २०११ मा ४.८ र सन् २०२३ मा ४.४ मा सीमित हुन पुगेको छ (नेपाल जीवनस्तर सर्वेक्षण २०२५)। अहिले शहरी नगरपालिकाहरूमा करिब ७९ प्रतिशत र ग्रामीण नगरपालिकाहरूमा ७२ प्रतिशत जनसङ्ख्या साक्षर भएको छ (नेपाल तथ्याङ्क कार्यालय, २०२४)।
पहाड र हिमाली क्षेत्रबाट तराई वा मधेश क्षेत्रतर्फको आन्तरिक बसाइँसराइ सन् १९५० को दशकमा शुरु भई १९६० को दशकदेखि तीव्र गतिमा अघि बढ्यो। तराई/मधेशको जनसङ्ख्याको अनुपात, जुन सन् १९७१ मा कुल जनसङ्ख्याको ३८ प्रतिशत मात्र थियो, सन् २०२१ मा बढेर ५४ प्रतिशत पुग्यो। अर्कोतर्फ, हिमाली क्षेत्रको जनसङ्ख्याको अनुपात सन् १९७१ मा १० प्रतिशत रहेकोमा सन् २०२१ मा घटेर ६ प्रतिशतमा झर्यो भने पहाडी क्षेत्रमा सो अनुपात सन् १९७१ मा ५२ प्रतिशत रहेकोमा सन् २०२१ मा ४० प्रतिशतमा खुम्चियो (नेपाल तथ्याङ्क कार्यालय, २०२४)।
त्यस्तै गरी, शहर र बजारहरूमा हुने बसाइँसराइको क्रम १९८० को दशकदेखि तीव्र बन्यो। पहाड र हिमाली क्षेत्रबाट हुने अन्तर्राष्ट्रिय श्रम आप्रवासनको इतिहास सन् १८०० को दशकदेखि नै शुरु भएको भए तापनि, देशभरबाट हुने वैदेशिक रोजगारीको यो नयाँ र विस्तारित स्वरूप भने १९९० को दशकको उत्तरार्धबाट तीव्र गतिमा फैलियो। अहिले शहरी र अन्तर्राष्ट्रिय बसाइँसराइ एउटा बाढी जस्तै बनेको छ। शहरीकरणको यकिन दर अझै अनिश्चित छ- विशेष गरी प्रशासनिक निर्णयका कारण “शहरी जनसङ्ख्या” अचानक २२ प्रतिशतबाट बढेर ६७ प्रतिशत पुर्याइएकाले पनि यस्तो भएको हो (नेपाल तथ्याङ्क कार्यालय, २०२४)।
यद्यपि, अन्य सूचनाहरूले भने हामीलाई के बताउँछन् भने नेपालमा गाउँबाट शहरतर्फ हुने बसाइँसराइ अझै पनि तीव्र छ र यो सम्भवतः एसियाकै सबैभन्दा तीव्र मध्येको एक हो। हिमाली र पहाडी क्षेत्रहरूमा अझै पनि ठूलो ग्रामीण जनसङ्ख्या रहेको भए तापनि, मधेश/तराई क्षेत्र भने अत्यधिक रूपमा शहरीकृत भइसकेको छ (नेपाल तथ्याङ्क कार्यालय, २०२४)।
संक्षेपमा भन्नुपर्दा, देशभित्रको भौतिक आवतजावत वा बसाइँसराइ निकै ठूलो स्तरमा भइरहेको छ। र, यसै अनुरुप शहरी जीवन, मूल्यमान्यता र आकाङ्क्षाहरूतर्फको रूपान्तरण अत्यन्तै व्यापक र सघन बनेको छ। यी प्रक्रियाहरूले पछिल्लो २-३ दशकमा थप गति लिएका छन्। यी सबैको अर्थ के हो भने सूचना प्राप्त गर्ने नयाँ तरिकाहरू, शिक्षा र स्वास्थ्यमा सुधार, जीविकोपार्जनका नयाँ माध्यमहरू, पेशागत विविधीकरण र सामान्यतया पूँजीवादी सम्बन्धहरू एवं सार्वजनिक सेवाहरूमा पहुँचको विस्तार नै पछिल्ला केही दशकका प्रमुख विशेषताहरू बनेका छन्।

पछिल्ला तीन दशकहरूमा यस्ता परिवर्तनहरूले अझ उचाइ लिंदै छन्। तसर्थ, तराई/मधेश र शहर-बजारहरूतर्फको भौतिक बसाइँसराइले ठूलो र तीव्र जनसाङ्ख्यिक परिवर्तनलाई मात्र नभई आर्थिक, राजनीतिक र सांस्कृतिक स्थानान्तरणलाई पनि दर्शाउँछ। मूल्यमान्यता र आकाङ्क्षाका दृष्टिले ग्रामीण र कृषि क्षेत्र लगभग पूर्ण रूपमा खोक्रो भइसकेका छन् र शहरी एवं अन्तर्राष्ट्रिय प्रभावका आधिपत्य मुनि दबिएका छन्। तपाईं कुनै ग्रामीण नगरपालिकामा बसिरहनुभएको हुन सक्छ, तर त्यहाँको ग्रामीणताले तपाईंको मूल्यमान्यता र आकाङ्क्षाहरूलाई निर्देशित गर्न लगभग असमर्थ भइसकेका छन्। तपाईं ती ठाउँहरूमा फस्टाउन सक्ने अवस्थामा पटक्कै हुनुहुन्न।
श्रम संरचनाको अर्को पक्ष भनेको देशका शहरी क्षेत्रहरूमा रोजगारीको अभाव हुनुका साथै उपलब्ध अधिकांश शहरी जागिरहरू कम पारिश्रमिक भएका र अस्थायी प्रकृतिका हुनु हो। आप्रवासीहरूको उच्च आपूर्ति र त्यसको फलस्वरूप शहरी क्षेत्रमा सिर्जना भएको मागभन्दा बढ्ता श्रमशक्ति, अनि अधिकांश साना व्यावसायिक प्रतिष्ठानहरू (जस्तै: रेस्टुरेन्ट, निजी विद्यालय, यातायात आदि)ले न्यून नाफा कमाउनाले पनि शहरी श्रमिकहरूको ज्याला अत्यन्तै कम छ, जबकि गाउँको तुलनामा शहरको जीवनयापन खर्च भने धेरै उच्च छ।
यसका साथै, पछिल्ला तीन दशकमा अन्तर्राष्ट्रिय श्रम (र अन्य) आप्रवासन तीव्र गतिमा बढेको छ। लगभग सबै अन्तर्राष्ट्रिय श्रम आप्रवासीहरू १८–४४ वर्ष उमेर समूहका छन्, जसमा आधा संख्या २५–३४ वर्ष उमेरका युवाहरूको छ। हाल राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको हिस्सा करिब २५ प्रतिशत पुगेको छ, जुन कृषि क्षेत्रबाट प्राप्त हुने योगदान बराबर नै हो। शायद योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने, हाल करिब तीन-चौथाइ घरधुरीहरू रेमिट्यान्समा निर्भर छन् र उनीहरूको कुल घरायसी आम्दानीको औसतमा एक-तिहाइ हिस्सा यसैबाट प्राप्त हुने गर्दछ (महेश्वर गिरी, २०२५, एफईएस, ‘इमिग्रेसन फ्रम नेपाल एन्ड इट्स इम्प्याक्ट अन द इकोनोमी’)।
प्रजनन दरमा आएको ठूलो गिरावट र घरधुरीको आकारमा आएको निरन्तरको ह्रास, ग्रामीण समुदायको विघटन, ठूलो स्तरको आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ र तराई/मधेश एवं शहरी क्षेत्रप्रतिको आकर्षणले गर्दा पहाड र हिमाली क्षेत्रका ३३ वटा जिल्लाको कुल जनसङ्ख्यामा नै कमी आएको छ (नेपाल तथ्याङ्क कार्यालय, २०२४)। त्यहाँ यस्ता केही प्रमाणहरू पनि छन् जसले के संकेत गर्छन् भने, कतिपय स्थानमा जनसङ्ख्या रित्तिनुको सम्बन्ध जलवायु संकटसँग पनि जोडिएको छ, जसले गर्दा वर्षा कम हुने वा अनियमित हुने जस्ता समस्याहरू निम्त्याएको छ।
पछिल्ला तीन दशकहरूमा यी प्रक्रियाहरूले खेतीयोग्य जमिन बाँझो रहने क्रमलाई यति अभूतपूर्व रूपमा बढाएका छन् कि यसको आर्थिक, राजनीतिक र सांस्कृतिक प्रभाव निकै ठूलो र दीर्घकालीन हुन सक्छ। विवरण अनुसार उच्च पहाडी भेगमा ४४ प्रतिशत, मध्य पहाडमा २३ प्रतिशत र तराईका तल्लो क्षेत्रहरूमा ३३ प्रतिशत जमिन बाँझो रहेको पाइएको छ (पौडेल र अन्य, २०१४)। न्यून प्रजनन दर र बसाइँसराइ लगायत कारणले घरधुरीको आकारमा आएको संकुचनको अर्थ यो पनि हो कि अब उल्लेख्य संख्याका परिवारहरूले आफ्नो खेतीपाती पुरानो किसिमले सम्हाल्न सक्ने अवस्था नै छैन। यसरी ग्रामीण उत्पादनको पुरानो प्रणाली, ग्रामीण समुदाय र स्वयं ग्रामीण घरधुरी एवं तिनका सदस्यहरू बीचको परम्परागत सम्बन्ध छिन्नभिन्न भएको छ।

जीविकोपार्जनका माध्यमहरू मुख्यतया शहरी र अन्तर्राष्ट्रिय केन्द्रहरूमा गैरस्थानिकीकरण हुनुले ठूलो आर्थिक, राजनीतिक र सांस्कृतिक परिणामहरू निम्त्याएको छ। ग्रामीण क्षेत्रबाट थोरै भए पनि आम्दानी लिनु तर पटक्कै लगानी नगर्नु लामो समयदेखि एउटा मानक बनिसकेको छ। त्यहाँ उत्पादकत्व, ज्याला र नाफाका स्रोतहरू सुक्दै गएका छन्। अधिकांश घरधुरीका लागि जीवन निर्वाह नै असम्भव बनेको छ। उत्पादन र विनिमयका साथै लगानी, रोजगारी र आम्दानीका स्रोतहरू स्थानीय तहबाट बाहिरिंदै गएका कारण स्थानीय समुदायका घरधुरीहरू अब एक-अर्का र आफ्नै समुदायसँग भन्दा पनि शहरी र अन्तर्राष्ट्रिय केन्द्रहरूसँग बढी जोडिन पुगेका छन्।
यस्तो तीव्र प्रहारका कारण समुदायका अन्य घरधुरीहरूसँग हुने गैर-भौतिक विनिमयहरू समेत क्रमशः कमजोर हुँदै गएका छन्। आखिर, एउटा समुदाय वस्तु र सेवाको उत्पादन तथा विनिमयका पुराना स्थानीय सञ्जालहरू र तिनकै आधारमा चल्ने विभिन्न सामुदायिक चाडपर्व, रीतिरिवाज र यस्तै अन्य गतिविधिद्वारा नै जीवन्त रहने गर्दछ त्यो स्थितिमा ठूलो ह्रास आएको छ।
शहर र शहर-इतर
शहरको पुरानो परिभाषा अझै पनि प्रायः भौतिक विशेषताहरूमा नै केन्द्रित रहेको देखिन्छ। जस्तै: निश्चित सीमाभित्रको जनसङ्ख्याको आकार, सामाजिक सेवाहरूको उपलब्धता, वनले ओगटेको क्षेत्रको अनुपात, निर्मित क्षेत्र, कृषि बाहेकका उत्पादनको अनुपात आदि (हेर्नुहोस्: केशव भट्टराई, अम्बिका अधिकारी र शिव गौतम, “स्टेट अफ अर्बनाइजेसन इन नेपाल: द अफिसियल डेफिनेसन एन्ड रियालिटी,” इन्भायरन्मेन्टल च्यालेन्जेज, डिसेम्बर २०२३, खण्ड १३)। नेपाल लगायत विश्वभरि नै ग्रामीण क्षेत्रहरू घट्दै जाने प्रक्रिया यति तीव्र गतिमा भइरहेको छ कि गाउँ र शहरका पुराना प्रवर्गात्मक धारणाहरू अब वैध वा पर्याप्त परिष्कृत छैनन्।
ग्रामीण र शहरी क्षेत्र सधैं एक-अर्कासँग जोडिएको मानिए तापनि, भौतिक भिन्नताका आधारमा गरिने पुराना परिभाषाहरूले यी दुईलाई विशिष्ट र एक-अर्काबाट अलग देखाउने गर्थे। ती पुराना परिभाषा अनुसार, गाउँ र शहर बीचको सम्बन्ध लगभग पूर्ण रूपमा एकतर्फ श्रमको प्रवाह र अर्कोतर्फ वस्तुहरूको र सेवाको बेचबिखनमा मात्र सीमित थियो। तर यो परिभाषाले आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइको त्यो बृहत् एवं चक्रिय स्वरूप र त्यसको प्रभावलाई समेट्न सक्दैन।
ठाउँ ग्रामीण हुने हो कि मान्छे ग्रामीण हुने हो? यदि म चक्रीय प्रणाली अन्तर्गत दुई वर्ष गाउँ र दुई वर्ष शहरमा – अथवा दुबईमा – बस्छु भने म ग्रामीण रहें कि रहेन ? साथै, यसले “ग्रामीण” मूल्यमान्यता र आकाङ्क्षाहरू कसरी शहरी एवं अन्तर्राष्ट्रियतातर्फ “बसाइँ सर्दै” छन् भन्ने कुरालाई पनि बुझ्न सक्दैन। आफ्नै र परिवारका अन्य सदस्यहरूको भविष्य समेतको आकांक्षाले अब गाउँको बसाइ झन्–झन् अस्थायी हुँदै गएको छ।
शहरी क्षेत्रको आर्थिक महत्व सधैं स्पष्ट रहे पनि पछिल्ला दशकहरूमा आर्जन गरेको सांस्कृतिक गरिमा (cultural valorization) भने शहरको पुरानो परिभाषाको हिस्सा थिएन। तर अहिले शहरको काम गर्ने शैली, चिन्तन र कल्पना गर्ने पद्धतिहरू ग्रामीण क्षेत्रमा सहज रूपमा मात्र नभई एक किसिमको वर्चस्वशाली अङ्गालोका साथ प्रवाहित भइरहेका छन्।
ग्रामीण क्षेत्रले, शहरी संस्कृतिको यो हस्तक्षेपसँग जुध्न निकै संघर्ष गरिरहेको हुन्छ, तर प्राय:जसो यसले केही स्थानीय अनुकूलन सहित शहरीपनलाई नै आत्मसात् गर्ने गर्दछ। त्यसैले, भौतिक उपस्थिति र बेग्ला-बेग्लै विशिष्टतामा आधारित गाउँ र शहरको पुरानो अवधारणालाई त्याग्ने बेला अब भइसकेको छ। यसको सट्टा, एउटा यस्तो सांस्कृतिक र राजनीतिक परिभाषा विकास गर्न आवश्यक छ जसले शहरलाई “विकासवादी” खुड्किलोमा अगाडि रहेको र ग्रामीण क्षेत्रको भविष्यको ऐनाका रूपमा स्विकार गरोस्। ग्रामीण र शहरी क्षेत्रलाई एक-अर्काबाट अलग राखेर हेर्ने खालको नभई एक-अर्कासँगको सम्बन्धमा आधारित होस्।
हाल नेपालका जेनजी र युवापुस्ताले भोगिरहेका परिवर्तनहरू अनि हालसालैका जेनजी सम्बद्ध घटनाक्रमहरूलाई गाउँ-गाउँसम्म फैलिएको शहरी र अन्तर्राष्ट्रिय प्रभावको व्यापक सांस्कृतिक महत्वलाई आत्मसात् नगरिकन सही ढंगले व्याख्या गर्न सक्दै सकिंदैन।
अपनत्वमा आएको परिवर्तन (Shift in Belonging)
पछिल्ला केही दशकहरूको प्रमुख र व्यापक पक्ष भनेको संस्कृतिको निरन्तरको गतिशीलता, जीविकोपार्जनका स्रोतहरूमा आएको परिवर्तन र विविधीकरण नै हो। यससँगै, अपनत्वको भावनामा पनि ठूलो फेरबदल आएको छ जहाँ मानिसहरू आफ्ना घरका सदस्य, परिवार, नातागोता, छिमेकी र नजिकका सहकर्मीहरूसँगको गहिरो अपनत्वबाट टाढिन्छन्। यसको सट्टा जोसँग बसिरहेको छ उनीहरूसँगको केही गहिरो सम्बन्ध हुन्छ अनि साथीभाइ एवं सहकर्मीहरूको अलि विस्तारित घेरा निर्माण हुन्छ, जुन संख्यामा ठूलो भए तापनि सम्बन्धका हिसाबले भने निकै सतही हुन्छ।
यीमध्ये धेरै सम्बन्ध प्रायः अल्पकालीन हुने गर्दछन्– केही महिना वा केही वर्षका लागि मात्र। अर्को शब्दमा भन्नुपर्दा, यो नयाँ जीवन “युगौं पुरानो” समाजबाट टाढा, कम आत्मीय, तुलनात्मक रूपमा गुमनाम र व्यक्तिगत पहिचानमा आधारित जीवनतर्फको यात्रा हो। यी विशिष्ट अर्थहरूमा, यो व्यक्तिगत रूपमा “स्वतन्त्र” स्थिति पनि हो। सामाजिक सम्बन्धहरूको यस्तो अस्थायी सञ्जालभित्रको जीवनमा एक प्रकारको जराविहीनता (rootlessness) हुन्छ, जुन अपनत्व र अनपनत्वको बीचमा झुण्डी रहेको हुन्छ।
निरन्तर गतिशील समाजमा एक स्थानबाट अर्को स्थानमा, एउटा जागिरबाट अर्कोमा, र एउटा आशाबाट अर्को आशामा भौंतारिरहँदा स्थायी र दीर्घकालीन सम्बन्धहरू गाँस्न प्रायः कठिन हुने गर्दछ। आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा निरन्तर परिवर्तन भइरहने संसारसँग अभ्यस्त नभएका आफ्ना नातेदार वा आमाबाबुसँगको सम्बन्ध टिकाइराख्नु पनि चुनौतीपूर्ण बन्छ। उनीहरू आफ्ना छोराछोरीले भोगिरहेको नयाँ खालको अप्ठ्यारो परिस्थिति (predicament) लाई न त पूर्ण रूपमा बुझ्न सक्छन्, न त्यसैसँग आफूलाई ढाल्न नै सक्छन्। यो नयाँ जीवन धेरै मात्रामा विभेदकारी र असमान समाजतर्फको प्रस्थान पनि हो।
समग्रमा भन्नुपर्दा, अधिकांशका लागि यो एउटा यस्तो यात्रा हो जसले जीवनलाई एउटा अस्थिर र माथिमाथि छिपछिपे रूपले तैरिरहेको स्थिति (फ्लोटिङ क्वालिटी) प्रदान गर्छ र मानिसको सामाजिक जगलाई क्रमशः क्षय गर्दै लैजान्छ। खासगरी गरिब र सीमान्त समूहहरूका लागि त यसले व्यक्तिगत स्वायत्ततालाई समेत नष्ट गरिदिन्छ, किनकि उनीहरू आफूले नबुझेका र आफ्नो नियन्त्रण बाहिर रहेका शक्तिहरूद्वारा निरन्तर प्रताडित वा प्रभावित बनिरहेका हुन्छन्। यसबाहेक, यो एउटा यस्तो परिवर्तन हो जसले विशेषगरी युवाहरूको ठूलो हिस्सालाई कुनै निश्चित जागिर, स्थान वा आम्दानीको स्तरमा स्थिर भएर रहन दिंदैन। यसको सट्टा, यसले उनीहरूको जवानीको ठूलो समय एक अस्थिर अवस्था र पहिचान सहित बिताउन बाध्य तुल्याउँछ। उनीहरूका लागि यो एउटा अनिश्चितताको अवस्था र ‘जमिनभन्दा माथि तैरिरहेको अर्ध-सर्वहारा’ (फ्लोटिङ सेमी-प्रोलेटारियट) पहिचानतर्फको स्थानान्तरण हो। उनीहरूलाई ‘अर्ध-सर्वहारा’ यस अर्थमा मात्र भनिएको हो कि उनीहरूमध्ये धेरैले, कम्तीमा अहिलेसम्म, परिस्थिति अति नै खराब भएमा “आफ्नै गाउँ” फर्कन सकिन्छ भन्ने सोच पालिराखेका छन्।
उता यो जराविहीन र अस्थिर अपनत्वबाट राजनीतिक सक्रियता र उग्र हिंसा दुवै प्रस्फुटित हुन सक्छन्। यदि यो प्रवृत्ति यसरी नै जारी रहने हो भने, धेरै युवाले आफ्नो पुरानो गाउँसँगको पहिचान तोड्ने सम्भावना प्रबल बन्छ। त्यसपछि उनीहरूमध्ये धेरै समाजको चरम किनारामा धकेलिन्छन् र यीमध्ये केही झन् बढी असन्तुष्ट र आक्रोशित बन्दै जान्छन्।
अर्कातर्फ, एउटा ठूलो हिस्साका लागि भने वर्तमान समय केही हदसम्म दमन र उत्पीडनको बन्धनबाट मुक्त हुने अवसर पनि बनेको छ। यस्ता समूहमा विशेषगरी ग्रामीण क्षेत्र-मुख्यतः तराई/मधेश क्षेत्रका महिला, दलित, कृषि श्रमिक र अन्य शारीरिक श्रम गर्ने मजदुरहरू पर्दछन्। यस प्रक्रियाले यी समूहका केही व्यक्तिहरूलाई निश्चित रूपमा एक स्वायत्त नागरिकको पहिचान दिलाएको छ। तर यीमध्ये धेरैजसोसँग अझै पनि यो नयाँ समाजमा सक्षमतापूर्वक बाँच्नका लागि आवश्यक पर्ने सीप र क्षमताको अभाव छ। त्यसैले, उनीहरूको अवस्था अझै पनि अनिश्चित झैं देखिन्छ।
ग्रामीण र कृषि उत्पादन प्रणालीमा गम्भीर ह्रास हुनुको अर्थ स्थानीय समुदायभित्र अपनत्वमा पनि तीव्र ह्रास आउनु हो। स्थानीय सार्वजनिक स्रोतहरूको संयुक्त व्यवस्थापन र परिचालन तथा निजी उत्पादनका लागि श्रम र अन्य स्रोतहरूको आदानप्रदान नै त्यस्तो तत्व थियो जसले समुदायको जीवनलाई गतिशील बनाउँथ्यो। तर जब जीविकोपार्जनका बाह्य स्रोतहरू (जस्तै शहरी वा अन्तर्राष्ट्रिय रोजगारी र विप्रेषण) महत्वपूर्ण वा प्रमुख बन्न पुग्छन्, तब स्थानीय र निजी उत्पादक स्रोतहरू घट्दै जान्छन्।
फलस्वरुप, विभिन्न कारणले गर्दा जब भौतिक र अभौतिक आदानप्रदानका लागि धेरै केही बाँकी रहँदैन, तब एउटा समुदाय भित्रैदेखि खोक्रो बन्न पुग्छ। यो खोक्रोपनलाई आज जताततै स्पष्ट देख्न सकिन्छ– बाँझो छोडिएका जमिनहरू, झाडीले ढाकिएका रित्ता तथा जीर्ण भवनहरू, बालीनाली नष्ट गर्ने र किसानलाई आतङ्कित पार्ने छाडा “पवित्र” बाँदर एवं अन्य जङ्गली जनावरहरू र शताब्दीयौं पुराना गराहरू भत्किएर भिरालो पाखामा परिणत भएको दृश्यहरू। यसलाई बुढ्यौलीले नुहेका र अशक्त अवस्थामा एक्लै दिन काटिरहेका वृद्धवृद्धाहरूको अवस्थामा पनि देख्न सकिन्छ।

यस्तो लाग्छ कि, या त सार्वजनिक व्यवस्थापनमा ठूलो स्तरको र दीर्घकालीन पुनर्संरचना हुनुपर्छ, वा कुनै शहरी विपत्ति जस्तै अन्तर्राष्ट्रिय द्वन्द्व, महामारी वा ठूलो र निरन्तरको हिंसाले सिर्जना गर्ने व्यापक बेरोजगारी जस्ता परिस्थितिहरू उत्पन्न भएमा मात्रै युवाहरूको एक ठूलो हिस्सा पुन: आफ्ना वृद्ध आमाबाबुसँग खेतीपातीमा जोडिन फर्कनेछन् र नयाँ उत्पादन प्रणाली एवं समृद्ध घरधुरी र समुदायको पुन: निर्माण हुनेछ।
युवा शक्ति
माथि उल्लिखित सबै सामाजिक-ऐतिहासिक घटनाक्रमहरूको परिणामस्वरुप युवाहरूको सापेक्षिक शक्तिमा ठूलो वृद्धि भएको छ। ग्रामीण क्षेत्रहरू, जो अहिले धेरैजसो खोक्रा र बाँझा भएका छन्, जसलाई युवाहरूले परित्याग गरिरहेका छन् र जहाँ अहिले मुख्यतया वृद्धवृद्धाहरू मात्र बसोबास गर्छन्, ती क्षेत्रहरूले आफ्नो आर्थिक, राजनीतिक र सांस्कृतिक शक्ति गुमाइसकेका छन्। (विश्वका विकसित मुलुकका शहरहरूमा जस्तै, अहिले काठमाडौं र राजमार्ग आसपासका उद्यमीहरूले नवीन शहरियाहरूलाई रमाइलो ग्रामीण परिवेशको झल्को दिने नक्कली स्वरुपहरूतर्फ आकर्षित गर्न थालेका छन्; जस्तै: दाउराको आगोमा पकाएको, घरमा बनेको वा आमाले पकाएको खाना; जातीय र ‘प्राचीन’ गहनाहरू; धार्मिक भेलाहरू; र वंशावलीको तयारी एवं प्रकाशन। वास्तवमा, यस्ता नक्कली तर मायालु अभ्यासहरू विश्वभर छरिएका नेपाली डायस्पोरामा पनि व्यापक बन्दै गएका छन्।)
यसको विपरीत, गैर-कृषि “आधुनिक” क्षेत्रका धेरैजसो भाग र शहरी एवं सेवा क्षेत्रको ठूलो हिस्सा युवाहरूका लागि नै बनेका झैं देखिन्छन्। ग्रामीण भेगको तुलनामा शहरहरूमा काम र आम्दानी फेला पार्ने सम्भावना बढी रहन्छ। शहरी काम कहिलेकाहीं मात्र पाइने र कम पारिश्रमिकको भए तापनि, यसले धेरैलाई अझ राम्रो जागिरका लागि सूचनाहरू सङ्कलन र छनोट गर्ने अवधि प्रदान गर्दछ। साथै, शहरी आम्दानीले आफ्नो आर्जनको एक अंश घर पठाउन (रेमिट्यान्स) सकिने झिनो आशा पनि जीवितै राख्छ।
आजको शहरी राजनीतिक चेतनालाई पक्रनु भनेको भोलिको राष्ट्रिय राजनीतिक चेतनालाई पक्रनु हो। शहर र युवाहरूले शक्ति धारण गर्छन् र त्यसलाई साना बजार क्षेत्र र गाउँहरूमा प्रवाहित गर्छन् भन्ने कुरा देशका निर्वाचन र अन्य राजनीतिक घटनाक्रमहरूलाई हेर्दा स्पष्ट हुन्छ। कुनै एउटा दलका लागि शहरी युवाहरूले दिएको मत कसरी अर्को निर्वाचन चक्रसम्ममा ग्रामीण क्षेत्रहरूमा सोही दलको भाग्यमा परिणत हुन्छ भन्ने कुरा हेरे पुग्छ। यो एउटा यस्तो पाठ हो जुन नेपालले सन् १९९० (वि.सं. २०४६) देखि नै सिक्दै आएको छ।

वास्तवमा, शहरी वर्चस्वको पहिलो लहरलाई सन् १९४० र १९५० को दशकसम्म पुगेर पनि हेर्न सकिन्छ, जतिबेला उत्तर भारतका शहरहरूमा बसोबास गर्ने र त्यहाँको उपनिवेशवाद विरोधी आन्दोलनमा सहभागी भएका नेपाली डायस्पोराका युवाहरू अन्ततः नेपालमा लोकतान्त्रिक पहलको नेतृत्व गर्न नेपाल आएका थिए।
शहर, बजार र श्रम आप्रवासनका अन्तर्राष्ट्रिय गन्तव्यहरू- जहाँ नेपालका युवाहरू ठूलो समूहमा सँगै बस्छन् र काम गर्छन्- शक्तिका केन्द्र हुन्। यी स्थानहरूमा युवाहरू बीच आफ्नो थातथलोको बारेमा सघन अन्तरक्रिया हुने गर्दछ। साथै, यस्ता ठाउँहरू लगायत त्यहाँ काम गर्ने युवाहरूलाई भविष्यका संवाहकका रूपमा समेत उच्च महत्त्व राख्दछन्।
शहरले यस्तो एउटा कल्पना वा दृष्टिकोण प्रदान गर्छ, जुन ग्रामीण क्षेत्रमा बस्नेहरूका लागि विरलै उपलब्ध हुन्छ। शहरमै प्रायः गुणस्तरीय एवं उच्च शिक्षा र राम्रो स्वास्थ्य सेवामा सहज पहुँच सम्भव हुन्छ। यसका साथै, शहरले युवाहरूलाई संसारमा भइरहेका नवीन परिवर्तन र “विश्वका तौरतरिकाहरू” सँग अभ्यस्त हुन र ती अनुभवहरूलाई सशक्त बनेर अरूसँग साटासाट गर्न व्यापक सुविधाहरू प्रदान गर्दछ।
वैदेशिक रोजगारीका लागि समुद्र पार जाने युवा कामदारले नगद मात्र पठाउँदैन, बरु स्वदेशमा रहेकाहरूका लागि ज्ञान र सूचना पनि पठाइरहेको हुन्छ। आप्रवासी कामदार भौतिक रूपमा टाढा भए तापनि आफ्नो घरपरिवार, समुदाय र देशसँग निकै नजिक हुन्छ र परिवर्तन भइरहेका तौरतरिकाहरूका बारेमा उनीहरू बीच सघन एवं निरन्तर संवाद भइरहन्छ। भौतिक रूपमा अनुपस्थित रहे पनि आप्रवासी कामदार विकास भइरहेको स्थानीय र राष्ट्रिय इतिहासको एक सक्रिय सदस्य हो। चाहे आन्तरिक होस् वा अन्तर्राष्ट्रिय, आप्रवासीले आफ्नो थातथलोको नागरिकत्व र राजनीतिलाई पुनर्संरचना गर्न सक्रिय भूमिका खेलिरहेको हुन्छ।
विप्रेषणको वा अन्य कतिपय सन्दर्भमा समेत उमेर पुगेका र युवा पुस्ता (जसमा जेनजी पनि समावेश छ) बीचको आपसी राजनीतिक हैसियतमा एउटा ठूलो उलटफेर भएको छ। यहाँ युवाहरू नेतृत्वदायी भूमिकामा छन्, जबकि तुलनात्मक रूपमा पाका पुस्ताहरू एउटा स्थापित “संस्कृति” को संरक्षकका रूपमा मात्र रहेका छन्, जुन संस्कृति अब पुरानो हुँदै गइरहेको छ, यदि पुरातन भइसकेको छैन भने।
मोबाइल फोन र सामाजिक सञ्जाल
निरन्तर गतिशीलताको यस समयमा मोबाइल फोन, विभिन्न वेब प्लेटफर्म र सामाजिक सञ्जालहरू अपनत्व महसुस गराउने सम्भवत: सबैभन्दा महत्त्वपूर्ण साधन बनेका छन्। मोबाइल फोनले घरमा रहेका परिवार र साथीभाइसँग मात्र नभई आप्रवासीहरूका बीचमा पनि सञ्चारलाई सहज बनाउँछ। आप्रवासीहरूका लागि यो उत्तिकै महत्त्वपूर्ण छ किनकि यसले उनीहरूलाई बृहत् विश्वसँग जोड्दछ साथै अपनत्वको भावना निर्माण गर्छ। यसले अत्यन्तै प्रभावकारी र व्यक्तिगत ढङ्गले भौगोलिक सीमाहरू नाघ्न मद्दत पुर्याउँछ।
अझ, सामाजिक सञ्जाललाई एउटै समूहभित्रका मानिसहरू बीच ‘इको-चेम्बरिङ’ का लागि प्रयोग गरिन्छ, जहाँ उनीहरू बाँकी विश्वको आवाजलाई क्रमशः निषेध गर्दै आफ्नै दायरालाई अझ साँघुरो बनाउँछन्। यस प्रक्रियाले सो समूहभित्रको आपसी सम्बन्धलाई झन् बलियो बनाउँछ। शहरी र अन्तर्राष्ट्रिय डायस्पोराले- निहित स्वार्थ भएका केही स्थानीय र अन्य उक्साहट गर्ने व्यक्तिहरूसँग- मिलेर डिस्कोर्ड प्लेटफर्ममा कसरी संवादहरू गरेका थिए भन्ने रिपोर्टहरू सञ्चारमाध्यममा आएका छन्। ती कुराकानीहरू स्पष्ट रूपमा सेप्टेम्बर ८-९, २०२५ का घटनाहरूको पूर्वसंकेत वा आधारका रूपमा देखिएका थिए। (यसबाहेक, डिस्कोर्डका ती कुराकानीहरूमा “मोलोटोभ ककटेल” का ३५६ चोटि उल्लेख भएको रिपोर्ट गरिएको छ (कान्तिपुर, १४ मार्च, २०२६)।
सामान्य अर्थमा भन्नुपर्दा, जसरी टेलिग्राफको आविष्कारले कूटनीतिज्ञहरूको स्वायत्तता खोसेको थियो, त्यसरी नै मोबाइल फोनको आविष्कारले संसार बुझेका युवाहरूलाई घरमा रहेका आफ्ना आमाबाबु, दाजुभाइ, दिदीबहिनी, श्रीमती, नातेदार र साथीभाइको स्वायत्ततालाई कम तुल्याउने अवसर दिएको छ- किनकि उनीहरू ती घरमा बस्नेहरूको तुलनामा धेरै “संसार बुझेका” वा बाठा छन्।
नेपालका जेनजी, विश्वका अन्य ठाउँका युवाहरू जस्तै, मोबाइल फोन र सामाजिक सञ्जालका उपज हुन्। यो एउटा उपयोगी औजार मात्र नभएर यस्तो हतियार पनि हो जसले अरूलाई हानि पुऱ्याउने मात्र होइन, आफ्नै आत्मालाई समेत अँध्यारो तुल्याउन सक्छ। यसभित्र उत्तम र निकृष्ट दुवै पक्षहरू अटाएका छन्: यसले मानिस, स्थान, सूचना र ज्ञानलाई महत्वपूर्ण उद्देश्यका लागि जोड्न सक्छ; तर यसले मानिसका खराब प्रवृत्तिहरूलाई पनि एकठाउँमा ल्याउने र बल पुऱ्याउने काम गर्छ। यसले इमानदार नागरिकतालाई जोगाइराख्न र बाटो बिराएको ठाउँमा त्यसलाई पुनर्जीवित गर्न मद्दत गर्न सक्छ। साथै, यसले नागरिकहरूलाई एउटा अनियन्त्रित भीड र आगजनी गर्नेहरूको सञ्जालमा समेत पतन गराइदिन सक्छ। सन् २०२५ सेप्टेम्बरका ती दुई दिनमा काठमाडौं र नेपालभरि यी दुवै अवस्थाका पर्याप्त प्रमाणहरू देखिएका थिए।
अनलाइनमा संगठित भएका नागरिक समाजका समूहहरू, जसले सरकारी भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धहरू विरुद्ध विरोध प्रदर्शनको आयोजना गरेका थिए, उनीहरू वास्तवमा इमानदार नागरिक र जिम्मेवार शासनको पुनर्स्थापनाका लागि आवाज उठाइरहेका थिए। उनीहरू राजनीतिक दल र सरकारको चरम हस्तक्षेप एवं बढ्दो दण्डहीनता-विशेष गरी दलीय नेताहरू र कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचार-विरुद्ध प्रदर्शन गरिरहेका थिए। यद्यपि, केही घण्टापछि नै, र आंशिक रूपमा सामाजिक सञ्जालकै प्रयोगमार्फत, हिंसा भड्काउन उद्यत एउटा ठूलो भीडले प्रहरी बल र अनुशासित नागरिक समाज दुवैलाई नियन्त्रण बाहिर पुर्यायो। नागरिक समाजका अनुशासित सदस्यहरूले पछि हट्न आह्वान गरे, तर तातिएको वातावरणमा त्यो निकै ढिला भइसकेको थियो।
धेरैले सामाजिक सञ्जाललाई लोकतान्त्रिक शक्तिका रूपमा प्रशंसा गरेका छन्। तर यसले इमानदार नागरिकलाई गम्भीर रूपमा क्षय गर्न पनि सक्छ। सामाजिक सञ्जालको बेनामी (anonymous) नागरिकत्व विरुद्धको गम्भीर पाइला हो। आफ्नो पहिचान लुकाउन सकिने र सार्वजनिक अभिव्यक्तिहरूको स्वामित्व लिनु नपर्ने अवस्थाले गैरजिम्मेवार बोली बाहेक अरू केही सिकाउँदैन। यो वाक् स्वतन्त्रता होइन, बरु वाक् स्वतन्त्रताको विकृत रूप (caricature) मात्र हो। निश्चित रूपमा, केही समय र स्थानहरूमा- जस्तै धार्मिक कट्टरपन्थी, सैन्य वा चरम तानाशाही शासन व्यवस्थामा-गुमनामताले एउटा सुरक्षित आश्रय प्रदान गर्न सक्छ। अन्यथा, गुमनामताले बाक्लो र अपारदर्शी पर्खाल पछाडि बसेर बाँकी समाजलाई पिठ्युँमा छुरा प्रहार गर्न प्रोत्साहित गर्छ, जुन पूर्णतया अलोकतान्त्रिक छ।
‘इको-चेम्बरिङ’ (आफ्नै विचार मात्र गुञ्जिरहने वातावरण) सामाजिक सञ्जालको अर्को अँध्यारो पक्ष हो। अघि उल्लेख गरिए झैं, यसले निरन्तर एउटै साँघुरो दृष्टिकोणलाई मात्र प्रश्रय दिन्छ र नागरिकहरूको ठूलो हिस्साद्वारा खारिएका भिन्न दृष्टिकोणहरूलाई बेवास्ता गर्दै उनीहरूलाई परचक्री ठान्दछ। यसरी इको-चेम्बरिङले लोकतान्त्रिक तवरले लिइने निर्णयभन्दा पनि गोप्य र एउटा निश्चित गुटमा आधारित विश्वास र घोषणातर्फ डोऱ्याउँछ।
यस्ता माध्यमहरूमा ‘फेक पोस्टिंग’ हरूको बाढी नै आउने गर्छ: एउटा प्रतिवेदनले त सन् २०२५ सेप्टेम्बर ८-९ का घटनाका बारेमा गरिएका कुल पोस्टमध्ये कम्तीमा एक-तिहाइ पोस्टहरू झुटो भएको उल्लेख गरेको छ। सामाजिक सञ्जालका विकृतिहरू र यसका सम्भावनाहरू यी घटनाहरूमा पूर्ण रूपमा प्रकट भएका थिए।
बाँकी भाग-३ सोमबार बिहान प्रकाशन हुनेछ।
प्रतिक्रिया 4