
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेम राईसहित अन्य आयुक्तको लिखित राजीनामा माग गर्दै अख्तियारमा मंगलबार पत्र दर्ता गर्यो।
- यो अलायन्सले भ्रष्टाचारविरोधी आन्दोलनलाई निरन्तरता दिँदै चुनावमा वैकल्पिक शक्तिलाई अघि बढाउने लक्ष्य राखेको छ।
- अलायन्सले पाँचवटा कोर टिम बनाएर संगठन विस्तार र वैकल्पिक शक्ति निर्माणमा काम गरिरहेको छ।
२१ असोज, काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सका युवाहरू मंगलबार बिहान टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दिन पुगे । उनीहरूको उद्देश्य अख्तियार प्रमुख प्रेम राईसहित अन्य आयुक्तको लिखित राजीनामा माग गर्नु थियो । सोहीअनुसार औपचारिक रुपमा पत्र दर्ता गरे ।
यही समूहले सोमबार दिउँसो चाहीँ विज्ञप्ति जारी गर्दै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित अन्य आयुक्तको राजीनामा मागेको थियो ।
राई लगायतको भूमिका माथि प्रश्न उठाउँदै नैतिक रुपमा राजीनामा दिन अनुरोध गर्यो । यदि अनुरोध बेवास्ता गरिए अख्तियार घेराउ गर्ने चेतावनी यो समूहले दिएको छ ।
जेनजी मुभमेन्ट अलायन्स जेनजीहरूकै एउटा समूह हो, जो गत भदौ २३ गतेदेखि निरन्तर सडकमा छ । यसमा ३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह रहेका छन् ।
यसका अगुवामध्येका एक अमित खनाल (उर्जा) का अनुसार देशभर मोटामोटी हजार जनाभन्दा धेरै यसमा जोडिएका छन् । रुपन्देही, दाङ लगायत जिल्लामा संगठन विस्तारको काम अघि बढाइएको छ ।
यो समूहले आफूलाई भ्रष्टाचारविरोधी आन्दोलन र वैकल्पिक शक्ति समूहको निर्माणमा केन्द्रित गर्ने बताएको छ ।
‘हामी डे–जिरोदेखि भ्रष्टाचारविरोधी आन्दोलनमा छौं,’ अगुवा खनाल भन्छन्, ‘कुनै पनि व्यवस्था परिवर्तन हुँदैमा केही हुन्न, जबसम्म भ्रष्टाचारको जालो तोडिन्न । त्यसैले हामी मुल मुद्दाबाट भाग्दैनौँ । त्यसको लागि अब योजनाबद्ध ढंगले काम गर्छौँ ।’
यो समूहले धर्मनिरपेक्षता, संघीयता, समावेशिता, समानुपातिकता र बहुदलीय लोकतन्त्रलाई आफ्नो बटमलाइन बनाएको छ ।
यी सिद्धान्तमा सहमति जनाउने जोकोहीसँग सहकार्य गर्न तयार रहेको यो समूहले अन्य समूहहरूसँग सहकार्य र एकताको बाटो खुल्ला राखेको बताएको छ ।
तत्कालको लागि वैचारिक मतभेद भएपनि आधारभूत कुरामा एक भएर अघि बढ्नसमेत आफूहरू खुल्ला रहेको यो समूहका सदस्य बताउँछन् ।
जेनजी मुभमेन्ट अलायन्सले हामी नेपाल, मिराज ढुंगानाको टोली, र अन्य साना समूहहरूसँग सम्बन्ध राख्ने प्रयास गरेको छ । तर वैचारिक मतभेद र फरक कार्यशैलीले गर्दा एक हुन समस्या रहेको बताएका छन् । जब अन्य समूहसँग मतभेद बढ्यो, अनि कार्यशैलीलाई लिएर पनि असन्तुष्टि पोखियो, त्यसपछि यो समूह आफ्ना एजेन्डा लिएर स्वतन्त्र रुपले अघि बढ्यो ।
‘हामी नेपालबाट हालसम्म कुनै भौतिक वा नैतिक समर्थन प्राप्त भएको छैन,’ अलायन्सका एक सदस्यले भने, ‘यता तनुजा पाण्डे, युजन राजभण्डारी र रक्षा बमजस्ता व्यक्तिहरूको संविधानका आधारभूत मूल्यमान्यतामा हामीसँग नैतिक समर्थन भने प्राप्त भएको छ । तर, हामीले अहिले गरिरहेको आन्दोलनमा भने उहाँहरूले अहिलेसम्म समर्थन जनाउनुभएको छैन । भरसक अझै सँगै रहेर अघि बढ्न संवाद गरिरहेका छौँ ।’
यसरी एक हुनुको उद्देश्य के हो ? खनाल भन्छन् – अबको चुनावमा वैकल्पिक शक्तिलाई अघि ल्याएर पुराना शक्तिलाई खुम्च्याउन हरसम्भव प्रयत्न गर्ने ।
यो अलायन्सले हर्क साम्पाङ, बालेन शाह, विवेकशील साझा जस्ता वैकल्पिक धारका व्यक्तित्व र समूहहरूसँग सहकार्य गरेर तीन ठूला दलहरूलाई चुनौती दिने रणनीति बनाएको छ ।
सकेसम्म आफूनिकटका उम्मेदवार विभिन्न ठाउँमा उठाउने, नसके उठेका वैकल्पिक शक्तिलाई सहयोग गर्न अभियान चलाउने यसको उद्देश्य छ ।
‘हामीले आन्दोलन गरेर यतिसम्म गर्यौँ । अब एउटै उद्देश्य भनेको चुनावबाटै पुराना दललाई पाखा लगाउने र वैकल्पिक शक्तिलाई अगाडि ल्याउनुपर्छ । हामी नागरिक समाजदेखि सबैतिर क्याम्पेन गरेर त्यस्ता वैकल्पिक शक्ति निर्माणमा जोड दिन्छौँ’ उनले भने ।
तर, कुनै पार्टी नखोल्ने, खुलेकालाई आफ्नो अलायन्सको विचारसँग मिल्ने शक्तिलाई सहयोग गर्ने खनालले बताए ।
यसको लागि जेनजी मुभमेन्ट अलायन्सले आफूभित्रको व्यवस्थित संरचना बनाउने काम गरिरहेको छ । हालको लागि यसमा पाँचवटा कोर टिमहरू छन्, जसमा संगठन विभाग (रिजन राना), कानुन र कागजात विभाग (मोनिका श्रेष्ठ), आइटी र मेलमिलाप विभाग (अमित खनाल ‘उर्जा’), संगठन र कानुन विभाग (अर्नब चौधरी), अनुसन्धान र विश्लेषण विभाग (सुमना लावती), र सामाजिक सञ्जाल विभाग (सौर्य श्रेष्ठ) समावेश छन् ।
यी टिमहरूले आफ्नो क्षेत्र केन्द्रित काम गरिरहेका छन् । जस्तो, संगठन विभागले सबै पक्षलाई एक ठाउँमा ल्याउने प्रयास गर्छ भने अनुसन्धान र विश्लेषण टिमले सल्लाहहरूको सम्भाव्यता जाँच गर्छ । अहिलेको अवस्थामा यसले नागरिक समाज, हाउ टु देश विकासजस्ता समूहहरूबाट सुझाव लिइरहेको छ ।
यसरी क्षेत्र बाँडेर चुनावी दौडमा होमिएको यो अलायन्सले हालै रुपन्देहीमा कमिटी गठन गरेको छ ।
दाङ, धरान, गोर्खालगायत सुदूरपश्चिम क्षेत्रमा पनि संगठन विस्तारको काम भइरहेको छ । ‘हामीले अर्घाखाँचीदेखि काठमाडौंसम्म, फुलढुंगादेखि सुदूरपश्चिमसम्म प्रतिनिधित्व जुटाइरहेका छौं,’ खनालले बताए ।
जेनजी मुभमेन्ट अलायन्सको सुरुवात भने आन्दोलनको तीन दिनपछि (भदौ २६/२७) तिर भएको थियो । ‘हामीले सबै छुट्टिएका साथीहरूलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने सोच्यौं,’ खनालले भने, ‘त्यहीबेलादेखि एक भएर काम गर्ने कुरा भएको थियो । तर, विस्तारै मतभेद देखिन थाल्यो । सबै छरिने, एक हुने छनक नदेखेपछि हामी आफ्ना एजेन्डा लिएर अघि बढ्ने सोच्यौँ । यद्यपि, अरु समूहसँग संवादको प्रयास गरिरहेका छौँ ।’
मण्डला थिएटरमा भएको चिया गफबाट नै यो अलायन्सको आधार तयार भएको थियो । हाल यो समूहमा कुनै औपचारिक अध्यक्ष वा संयोजक छैन, तर पाँचजनाको कोर टिमले नेतृत्व गरिरहेको छ ।
…त्यसपछि बाटो फेरियो
भदौ २३ र २४ गतेको आन्दोलनपछि जेनजीहरु एक हुन अनेक बल गरे । एकातिर यो राजनीतिक विषयमा गैर–राजनीतिक समूह ‘हामी नेपाल’को हाबी थियो भने अर्कोतिर सबै छरिएका जेनजी अगुवाहरु थिए । विस्तारै समूहसमूहमा यो बाँडिन थाल्यो र एक भएर एजेन्डा बनाउन लागिपरिरह्यो, जुन आजपर्यन्त जारी रहेको जेनजी अगुवाहरु बताउँछन् ।
तर, वार्ता प्रक्रियाहरूको बारम्बार असफलता र अन्य समूहसँगको वैचारिक मतभेदले यी एक हुन सकेनन् । बरु क्रमशः जेनजी अगुवाबीचको खाडल स्पष्ट देखिन थाल्यो ।
केही दिनअघि बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा पुग्दा दुई कित्तामा बाँडिएको स्पष्ट देखियो । त्यसैले आन्दोलनको सुरुवातदेखि संगठित हुन खोजिरहेको जेनजी मुभमेन्ट अलायन्सलाई आफ्नै एजेण्डामा केन्द्रित हुने सोचे । यद्यपि, अझै सबैलाई साथ लिएर अघि बढ्ने प्रयत्न भइरहेको उनीहरूको भनाइ छ ।
यसरी आफ्नै एजेन्डामा अघि बढ्ने पहिलो मोड बनेको थियो, बालुवाटारको एक रेष्टुरेन्टको वार्ता । त्यसमा हामी नेपाल हाबी हुँदा प्रदेशदेखि अन्य कमिटीहरु बनाइएका थिए । जसबारे अनलाइनखबरमा यसअघि नै समाचार प्रकाशित भएको छ ।
त्यहाँ सरकारसँग वार्ता गर्न टोली गठनको असफल प्रयासपछि अर्का युवा निकुञ्ज भण्डारीसहित जेनजी मुभमेन्ट अलायन्स र सुदन गुरुङको टिमले सहिद परिवार, घाइते र समावेशी प्रतिनिधित्वसहितको टोली बनाउने प्रस्ताव राख्यो ।
त्यसको लागि जेनजी मुभमेन्ट अलायन्स, हाउ टु देश विकास र इन्डिजेनस जेनजी कलेक्टिभ, जेनजी मुस्लिम नेपालले अन्य १२ वटा जेनजी समूहबीच छलफल गरेर संयुक्त रूपमा तयार पारेको जनादेश ड्राफ्ट पेश गरे ।
यो ड्राफ्टले संविधानका आधारभूत सिद्धान्तहरू (धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशिता, गणतन्त्र, बहुदलीय लोकतन्त्र) लाई जोड दिएको थियो । तर, प्रवेश दाहाललगायतको टिमले सल्लाह नै नगरी उक्त ड्राफ्ट चलायो । संविधानमाथि नै प्रश्न उठ्ने गरी परिवर्तन गर्यो ।
त्यसपछि शान्तिनगरको कोरियन्डर गार्डेनमा अर्को भेला भयो । जसमा पनि एघार सदस्यीय टोली बनाइने भनिएको थियो । जेनजी मुभमेन्ट अलायन्सले आफ्नो रिफाइन गरिएको जनादेश ड्राफ्ट त्यहाँ प्रस्तुत गर्यो । तर, त्यहाँ पनि भद्र सहमति उल्लंघन गर्दै ११ जनाको सट्टा २०/२२ जनाको नाम समावेश गर्यो, जसमा संविधानका गैर–सम्झौतायोग्य सिद्धान्त नमान्ने व्यक्तिहरू रहेको त्यहाँ सहभागी रिजन राना मगर (आदित्य) ले बताए ।
सुदन गुरुङलगायतको यो कदमले अलायन्सलाई ठूलो झट्का लाग्यो । ‘हामीले स्पष्ट भनेका थियौं, हाम्रा नन–नेगोसिएबल सिद्धान्तमा सम्झौता हुँदैन । यस्तो अवस्थामा हामी एउटै टेबलमा बस्न सक्दैनौं,’ रानाले भने ।
त्यसपछि अलायन्सले वार्ता बहिष्कार गर्यो र विज्ञप्ति जारी गर्दै आफ्नो अडान स्पष्ट पार्यो । कोरियन्डर गार्डेनको यो प्रयास पनि असफल भयो, जसले अलायन्स र अन्य समूहहरूबीचको सम्बन्धमा झन दरार ल्यायो ।
यसरी अन्य समूह आफूपनि नमिल्ने अनि तत्कालको लागि आधारभूत एन्जेन्डामा सहमत नभएपछि जेनजी मुभमेन्ट अलायन्सले भ्रष्ट्राचार विरुद्धको आन्दोलनलाई निरन्तरता दिन र चुनावी सरकारलाई सघाएर वैकल्पिक शक्ति वा उम्मेदवारको लागि महोल बनाउन र क्याम्पेन चलाउने गतिविधि बढाउन थालेको छ ।
‘हामीले धेरै कोसिस गर्यौँ । तर जब संविधान र हाम्रा मूल सिद्धान्तहरूमा सम्झौता गर्ने प्रयास भयो, हामीले छुट्टै अघि बढ्ने निर्णय लियौं,’ रानाले भने ।
यद्यपि, अझै पनि अलायन्सले संविधान पक्षधर समूह र व्यक्तिहरूलाई सामूहिक वा व्यक्तिगत रूपमा समावेश गर्दै आफ्नो संगठनलाई मजबुत बनाउन लागि पर्ने बताएको छ, जसको लागि आफूहरुले विभिन्न समूह र व्यक्तिसँग छलफल गरिरहेको रानाले बताए ।
प्रतिक्रिया 4