
सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार’ पत्रकार बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
निर्णायक समितिले सिफारिस गरेपछि पुस्तकालय सञ्चालक समितिले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै ‘सिमसारा’ उपन्यासलाई ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय भएको जनाकारी दिएको हो ।
पुरस्कारको नगद राशि दुई लाखसहित ताम्रपत्र र दोसल्ला छ । उक्त पुरस्कार आगामी कात्तिक १९ गते आयोजना हुने ३४ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा प्रदान गरिने छ ।
पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङकाअनुसार विमल गुरुङ कृति पुरस्कारका लागि आह्वान गरे अनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार, सर्जकहरूबाट १०४ कृति प्राप्त भएका थिए । प्राप्त भएका ती कृतिहरुमध्येबाट यसअघि श्रेष्ठ १० कृति छनौट गरिएको थियो । ती मध्येबाट सिमसारा उपन्यास विमल गुरुङ कृति पुरस्कारका निम्ति चयन गरिएको अध्यक्ष गुरुङले बताए ।
‘सिमसारा’ पछिल्लो समयको सामाजिक यथार्थवादी उपन्यास भएकाले पुरस्कारका लागि चयन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया 4